मलाई कारबाही नै हुँदैन, के सामना गर्नुपर्छ र ?
केशव विष्ट सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद्० अख्तियारले तपार्इंको कारबाहीका लागि मन्त्रालयलाई पत्राचार गरेको छ, अब के गर्नुहुन्छ ?
– जुनसुकै कुराको परिवर्तन हुने क्रममा जब क्रिया हुन्छ, अनि त्यहाँ प्रतिक्रिया हुन्छ । सुधार र परिवर्तनका काम गर्न थालेपछि विभिन्न व्यवधान, अवरोध आउँछन् । मैले सुरुमा सदस्य–सचिव हुँदा नै भनेको थिएँ कि सदस्य–सचिवका रूपमा मेरो आगमन सामान्य होइन । म मेरो रहरले आएको होइन, आवश्यकताले आएको हो । उपत्यकाबाहिरको व्यक्ति धेरै मान्छेले विवाद बनाउँदा–बनाउँदै पनि यहाँभित्रको परिवर्तनको आवश्यकताले म सदस्य–सचिव भएँ । म जुन आवश्यकताले आएको हुँ, त्यो पूरा गर्न जस्तासुकै चुनौती सामना गर्न पनि म तयार छु । खेलकुदलाई समृद्ध र गरिमामय क्षेत्र बनाउनका निम्ति र स्वर्णकाल स्थापनाका निम्ति म लाग्छु ।
० सुधारका काम गर्न नदिनकै निम्ति अख्तियार पसेको हो त ?
– हिजोको अवस्थामा बेथितिबाट फाइदा लिइरहेका केही मान्छेहरू थिए । उनीहरूले सुरुदेखि नै ममाथि प्रहार गरेका थिए । आफू हुन चाहने केही मान्छे वा आफू हुन नपाए पनि आफूअनुकूलको मान्छे ल्याउने र हिजोकै अवस्थाबाट झैं केही फाइदा लिन सकिन्छ भन्ने मान्छे र तिनलाई चलाउन अरू विभिन्न शक्तिहरू सक्रिय भएर लागेका छन् ।
० त्यस्ता व्यक्तिहरूको माध्यम अख्तियार बन्यो भन्न खोज्नुभएको हो ?
– त्यही क्रममै सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कतै उनीहरूलाई मलजल गर्ने, प्रोत्साहित गर्ने, राहत दिने काम पो गर्यो कि भन्ने आशंका लाग्न थालेको छ । माध्यम बन्न पुग्यो कि भन्ने लाग्छ । कारबाही भएको व्यक्तिलाई सदस्य–सचिव बनाइयो भनेर जुन कुरा उठाइएको छ । मैले मलाई कारबाही गरेको प्रमाण पेस गर भनेर बारम्बार भनेको छु, त्यो कुरा अख्तियारलाई पनि थाहा छ । कारबाही हुने मान्छेलाई थाहा त हुनुपर्यो नि । यो मितिमा, यसरी, यो कानुनअन्तर्गत कारबाही भएको छ भन्ने प्रमाण त चाहियो नि । त्यो प्रमाण तीन महिनादेखि मैले मागेको मागेकै छु, कोही दिन नसक्ने, अनि कारबाही गरेको भन्दै विगुल फुक्ने ?
० कोरियामा खेलाडी लुकाउनुभएको रै’छ, होइन ?
– खेलाडी लुकाएको अभियोगमा मलाई कारबाही गरियो भनिन्छ तर कारबाही गरेको प्रमाण कहीँकतै छैन । कहीँ माइन्यूटमा हुनुपर्छ, समिति, चिठी, दर्ता, चलानी, कहीँ त हुनुपर्छ । कतै पनि छैन ।
० कहाँ लुकाइयो त त्यो प्रमाण ?
– गरेकै छैन । भएको जम्माजम्मी के हो भने, मन्त्रालयले गठन गरेको एसियन गेमको कार्यसम्पादन तथा व्यवस्थापन समितिले समीक्षा गर्दा, केही खेलाडी नफर्किएको कारणले केही न केही सजग गराउनुपर्छ कि भनेर उनीहरूले सिफारिस गरेको हो । त्यो सिफारिस कारबाही होइन ।
० त्यो सिफारिसमा पनि छ महिना कि एक वर्षका लागि भन्नेमा विवाद छ नि ?
– माइन्यूटमा ६ महिनाका लागि भनेर लेखिएको छ । फेरि त्यसलाई काटेर १ वर्ष भनिएको छ तर त्यो काटेको ठाउँको सही मेरो होइन भनेर मन्त्रीले भनिरहनुभएको छ । त्यो माइन्यूटको फोटोकपी सार्वजनिक गर्न सकिन्छ ।
० कसले गर्यो त मन्त्रीकै नक्कली हस्ताक्षर गर्ने हिम्मत ?
– पाँच पटकसम्म ठूलो पारेर ग्लासबाट हेरिसक्नुभयो, मन्त्रीले, मेरो होइन भन्नुहुन्छ । तर, त्यतापट्टि छानबिन नै छैन । एकछिनलाई मानौं, ममाथि कारबाही नै भएको छ भने पनि त्यो ऐन, नियम र यहाँको कार्यविधिविपरीत भएको छ । अनुशासन समितिले बैठक बसेर सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्छ, छानबिन गर्नुपर्छ र दोषी दखियो भने कारबाहीका लागि परिषद्लाई सिफारिस गर्छ । परिषद्लाई त्यो सिफारिस उपयुक्त लाग्यो भने बोर्ड बैठकबाट निर्णय गर्छ र बल्ल कारबाहीको प्रक्रिया सुरु हुन्छ । तर, यी कुनै चिज पनि गरेको छैन ।
० कानुनको पाटो त्यो होला, तर तपाईंमाथि नैतिक प्रश्न त उठ्यो नि, हैन ?
– म दु:खी भएँ भनेर मैले भनेकै छु । मसँग गएको खेलाडी फर्किएन, लुक्यो, म त्यसमा दु:खी छु, म त्यसको नैतिक रूपमा जिम्मा लिन्छु
भनेको छु ।
० अब के हुन्छ त ?
– केही पनि हुँदैन । हुने नै छ भने मलाई मात्र हुन्छ ? नेपालका चारजना खेलाडी हराए, मसँग गएको त एउटा मात्र हराएको हो । चार जना खेलाडी हराउँदा त्यो बेलाको सदस्य–सचिवले जिम्मा लिनुपर्छ कि पर्दैन ? मैले त एउटा संघको नेतृत्व गरेको हुँ, सिंगो नेपालको जिम्मा लिनेलाई कारबाही हुनु पर्दैन ? अरूमाथि प्रश्न उठ्दैन, अख्तियार आँखा चिम्लेर बस्छ ।
० तपाईंमाथि प्रहार भयो, यो चुनौतीको सामना कसरी गर्नुहुन्छ ?
– कारबाही गर्न योग्य पनि होइन, कारबाही भएको पनि छैन, यो प्रश्न उठाउनु नै बेकार हो । कारबाही भएकै भए पनि यो सदस्य–सचिवका लागि म अयोग्य होइन । त्यो त ऐनले, कानुनले भन्छ । ममाथि कारबाही नै हँुदैन, सामना त के गर्नुपर्छ र ?
० यस्ता कुराले काम गर्न त हतोत्साहित बनाउँदैन र ?
– मलाई केही फरक पार्दैन । म त १३ वर्षको उमेरदेखि राजनीतिमा लागेको मान्छे हुँ । पञ्चायतसँग संघर्ष गरेको मान्छे हुँ । यस्ता कुराबाट म विचलित हुन्न । यसलाई त मैले स्वाभाविक ठानेको छु । जब नयाँ केही काम हुन थाल्छ, यस्ता चुनौती त धेरै आउँछन् । भोलि मेरो हत्या पनि हुुन सक्छ । यहाँभित्र धेरै लोभलाग्दा कुरा छन्, ती कुरा भोलि म खोलिदिनसक्छु तर आज म पदको मर्यादामा बस्नुपर्ने हुन्छ । यहाँभित्रबाट फाइदा लिइरहेकाहरू अहिले आत्तिएका छन् । म कत्ति पनि विचलित छैन, म आफ्नो काममा लागेको लागेकै छु ।
० तपाईंकै पार्टी भित्रबाट पनि तपार्इंविरुद्ध खनिने काम भएका छन् भनिन्छ नि ?
– देखिने खालको छैन । म त पार्टीभित्र त्यस्तो छैन नि भन्छु । अदृश्य ढंगले भएको छ भनेर बाहिर भनेको सुनिन्छ ।
० नियु्क्तिको बेला मै त्यत्रो आतंक मच्चियो नि ? मन्त्रीकै जागिर झन्डै गएन ।
– त्यस्तो भयो तर देखिने गरी केही आएन । केशव विष्ट भएन भनेर पार्टीका कोही पनि व्यक्तिको मुखबाट सुनेको छैन । अर्को यो मान्छे चाहिँ योग्य छ भन्ने पनि आएको छैन । बाहिर सुन्दा हो कि जस्तो लाग्छ तर ठोस रूपमा त्यस्ता कुरा आएका छैनन् । यसलाई म असहयोग ठान्दिनँ ।
० पार्टीभित्रको गुटबन्दीको सिकार भएँ भन्ने लाग्दैन ?
– पटक्कै लाग्दैन । एक त म गुटबन्दीमा विश्वास नै गर्दिनँ । गुट भनेको अस्थायी चिज हो । जतिसुकै गुटबन्दी गर्ने मान्छेले पनि अहिलेसम्म मलाई हानिनोक्सानी पुर्याउन सकेका छैनन् । म ठीक बाटोमा हिँडेको छु भने, कसैले केही बिगार्न सक्दैनन्, ती मान्छे आफैं पराजित हुन्छन् । जो अहिले मेराविरुद्ध लागेका छन् उनीहरूलाई पछि यो ठूलो पश्चत्तापको विषय हुन्छ ।
० सयौं राजनीतिक नियुक्ति भएका छन्, तर तपाईंकै नियुक्ति चाहिँ यतिबिघ्न विवादको विषय बन्यो ?
– यो व्यक्तिगत रूपमा केशव विष्टका कारण यस्तो भएको होइन । व्यक्तिगत रूपमा मलाई मन नपराउने मान्छे कमै होलान् ।
० यहाँभित्रको आकर्षणकै कारण यस्तो भएको हो त ?
– पक्कै हो । हिजोदेखि यहाँभित्र को सेवासुविधामा मोज गरेकाहरूले विवाद निकालेका हुन् । त्यस्तालाई मलजल गर्ने काम पनि भएका होलान् ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply