माओवादीका टाउकेहरूले कार्यकताको दबाब थेग्न सक्ने अवस्था छैन
मणि थापा, महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी० विभाजित कम्युनिस्ट पार्टीहरूलाई एक बनाउने तपाईंको अभियान कहाँ पुगेको छ ?
– पहिला माओवादी आन्दोलनका धाराहरूलाई एक ठाउँमा पार्ने, दोस्रोमा वामपन्थी आन्दोलनसँग संयुक्त मोर्चा कायम गर्ने भन्ने हाम्रो लक्ष्य हो । त्योअनुसार अहिले माओवादी आन्दोलनका धाराहरूसँग एकताको प्रक्रिया करिबकरिब अन्त्यतिर पुगिरहेको छ । माओवादी धाराहरू एक ठाऊँमा आउने सम्भावना ७५ प्रतिशत पुगेको छ ।
० मोहन वैद्य नेतृत्वको पार्टीमा अहिले भइरहेको छलफल सकारात्मक भए त्यो एकताको प्रक्रिया शतप्रतिशत पूरा हुने हो ?
– हो । अहिले मोहन वैद्यजीहरूको पार्टीको बैठक चलिरहेको छ । त्यसमा केन्द्रीय कमिटीका बहुमत सदस्यहरूले अब माओवादी आन्दोलनको एकता र वामपन्थीहरूका बिचमा कार्यगत एकता आवश्यक छ भनेका छन् । त्यो बहुमतलाई वैद्यजीको नेतृत्वले कसरी संश्लेषित गर्छ, त्यो पछि थाहा होला । तर, माओवादी आन्दोलनको धाराहरूका बीचमा अब एकता हुनुपर्छ भन्ने जनता, कार्यकर्ता, सहिद परिवार, बेपत्ता परिवार, हिजोको जनमुक्ति सेना सबैको एउटै आवाज छ । त्यो आवाजलाई करिबकरिब सबै पार्टीले स्वीकार गरेका छन् ।
० पछिल्लो समयमा बाबुराम भट्टराई अलग हुनुभयो, हेमन्तप्रकाश वलीले भर्खरै नयाँ पार्टी घोषणा गर्नुभयो, ती शक्तिबीच कसरी एकता सम्भव होला र ?
– यहाँ फुट भनेर सानासाना विभाजनको हिसाब गरिएको छैन । तिनले कुनै ऐतिहासिक महत्त्व पनि राख्दैनन् ।
० बाबुरामको शक्तिलाई त कसरी सानो मान्न सकिएला र ?
– मैले साना भनेर हेमन्तप्रकाश वलीजीहरूको फुटलाई भन्न खोजेको हुँ । जहाँसम्म बाबुरामजीको कुरा छ, उहाँ माक्र्सवादबाटै बर्हिगमन भएको हुनाले उहाँका बारेमा धेरै छलफल गर्नपर्छ जस्तो लाग्दैन । किनकि, अब बाबुरामजीसँग माओवादी आन्दोलनको लिगेसी रहेन ।
० अनि, नेत्रविक्रम चन्द ‘विप्लव’ नि ?
– उहाँको पनि वामपन्थी धारा नै हो, तर अलिकअलिक अल्ट्रानेटतिर हुनुहुन्छ । हामीले कुरा गरेको चाहिँ माओवादीभित्र पनि वामपन्थी धाराको हो । त्यो धाराको ७५ प्रतिशतचाहिँ एकतामा आउने पक्षमा छ ।
० तपाईंको त्यो परिभाषाभित्र चाहिँ कोको पर्छन् नि ?
– एमाओवादी, वैद्यजीको माओवादी, मातृका यादवको माओवादी र हामीहरू हौं । यसमा अरू सबै एक किसिमको निर्णय प्रक्रियामा पुगिसकेका छन् । अब वैद्यजीहरू मात्र बाँकी हुनुहुन्छ । वैद्यजीहरूको पनि केन्द्रीय कमिटीका बहुमत सदस्यहरूको मत माओवादी आन्दोलन धु्रवीकरण हुनुपर्छ भन्ने छ ।
० त्यहाँभित्र यो एकताको बहस सुरु भएको एक वर्ष पनि बढी भएको छ, हलो अड्किएको केमा रहेछ ?
– वैचारिक, राजनीतिक सम्पूर्ण कुराको निक्र्योल गरेपछि एकता गर्नुपर्छ भन्ने एउटा धारा छ, अर्को वैचारिक, राजनीतिक बहस, छलफल गर्दै मुख्यत: अहिलेको जनताको चाहना र राष्ट्रको आवश्यकतालाई मध्यनजर गर्दै एकतामा जानुपर्छ भन्ने अर्को धारा छ । त्यो अलिकति राजनीतिक, वैचारिक छलफल पनि गर्दै जाने र अहिले मुख्यत: जनता, राष्ट्रको आवश्यकता पूरा गर्ने गरी त्यो कोर्स अगाडि बढाउने कुरामा बहुमत पुगेको हुनाले अन्तत: त्यो अब पार्टी एकताको प्रक्रियामा गयो भन्ने हाम्रो विश्लेषण हो ।
० व्यक्तिगत टकराव, नेताका जुँगाको लडाइँ आफ्ना ठाउँमा छन्, विभाजनको पछि सैद्धान्तिक कारण पनि छ । एमाओवादीले पुँजीवाद आइसक्यो भन्छ, वैद्य माओवादीले पुँजीवादी क्रान्ति भएकै छैन भन्छ । यो अलगअलग सिद्धान्त बोक्ने पार्टीबीच एकता केकालागि भन्ने प्रश्न उठ्छ होला नि ?
– त्यो त निश्चित रूपले उठ्छ । नेपाली समाजमा अलिकति परिवर्तन भएको छ भन्नेमा राइटदेखि लेफ्टसम्मका नेपाली कम्युनिस्टहरू सबै एक ठाउँमा छन् । त्यो परवर्तनलाई के नाम दिने भन्ने कुरा मात्र हो । कुनै एउटा पार्टीको दस्तावेजलाई मात्र आधार बनाउन थालियो भने एकता सम्भव छैन । सबै पार्टीले १० वर्षको जनयुद्धको मूल्यांकन गर्दै १० वर्षको शान्ति प्रक्रिया, अहिलेको आर्थिक राजनीतिक र अन्तर्राष्ट्रिय परिस्थिति सबैको मूल्यांकन गरेर मात्र नयाँ परिस्थितिबारे मूल्यांकन हुन्छ । अहिले भनिएका कुरा सबै पार्टीका आफ्ना कुरा हुन् । सबै कम्युनिस्ट धाराले आफ्ना कुरा होइन कि सामूहिक कुरा के हुन्छ भन्नेमा ध्यान दिए भने त्यो सिद्धान्त एकताका लागि बाधक हुन्छ भन्ने मलाई लाग्दैन ।
० सैद्धान्तिक कुराहरूलाई पछि छलफल गर्दै जाउला भनेर गरिएको एकता कति स्थायी रहला ?
– यो एकता भनेको फूटपछिको एकता हो । नेपालका सबै राजनीतिक पार्टीहरूमा एउटा ठूलो फुटपछि एकता कायम भएको छ । त्यो एकता नेपाल समाज, नेपाली संस्कृतिअनुरूपकै भएको छ । सायद माओवादी पनि त्यही कोर्सभित्र छ भन्ने मलाइ लाग्छ ।
० एकतामा केन्द्रित वैद्य माओवादीभित्रको बहस हेर्दा त्यहाँ व्यक्तिगत टकरावका कारण पनि एउटा पक्ष खासगरी सीपी गजुरेल समूह एकता विरोधी कित्तामा उभिएको देखिन्छ । यो अवस्थामा बहुमतको निर्णयबाट एकतामा जाँदा फेरि अर्को फुट हुने खतरा कतिको देख्नुहुन्छ ?
– यी सबै खतराहरू छन् । तर, अहिले मूल माओवादी धारा र यसलाई सहयोग गर्ने जनसमुदायचाहिँ पार्टी एकताको पक्षमा छ । जुँगाको लडाइँ पनि देखिए । हैसियतहरूलाई पनि मान्छेले प्रस्ट बनाइदिए । अहिलेको परिवर्तन र जनता तथा कायकर्ताको चाहनालाई बुझ्न नसक्नेहरू आउटडेटेड हुन्छन् । यस्तो हरेक ठाउँमा हुन्छ । जुँगाको लडाइँ अहिले मुख्य होइन, अहिले मुख्य भनेको माओवादी आन्दोलनको धारा एक ठाउँ हुनुपर्छ भन्ने जनता, कार्यकर्ता, शुभचिन्तकको दबाबलाई स्वीकार गर्नु हो । जुँगाको कुरा गर्नेहरू असफल हुन्छन् भन्ने कार्यकर्ताको स्प्रिट छ ।
० एकता प्रक्रियामा पदीय भागबन्डा पनि महत्त्वपूर्ण कुरा हुन्छ, सबै माओवादी पार्टीहरूको सांगठनिक संरचना नै ठूलो छ, पदीय भागबन्डा मिलाउन पनि महाभारत होला नि ?
– नेपालका राजनीतिक पार्टीहरूमा मुख्य झगडा नै पदका निम्ति हुन्छ । यो नेपालकै रोग हो । यो रोगबाट एमाओवादी अछुतो हुने कुरै भएन । यसमा त झन् ठूलो रोग छ । तर, समयको दबाब छ, त्यसले माओवादी आन्दोलनलाई रक्षाको प्रश्न बनाएको हुनाले ती सानातिना झैझगडा समाधान हुने स्थितिमा छ ।
० प्रचण्डले पटकपटक धोका दिएको हुनाले उनलाई विश्वास गर्न सकिन्न भन्ने जबर्जस्त मत वैद्य माओवादीभित्र छ, त्यसैले एकतालाई अप्ठ्यारोमा पारेको छ भन्छन् नि ?
– अहिले माओवादी आन्दोलन नै अप्ठ्यारोमा छ । माओवादीको समाजीकरण पनि भइसकेको छैन । त्यसकारण धेरै अप्ठ्यारा पनि छन्, तर जनता, कार्यकर्ताको दबाब कुनै पनि हालतमा तिमीहरू एक ठाउँमा आऊ भन्ने छ । त्यो दबाबमा माओवादीका ठूलाठूला सिङ पनि झुक्ने पक्षमा छन् । माओवादीका टाउकेहरूले त्यो दबाब थेग्ने अवस्था म देख्दिनँ । जसले आफूलाई ठूलो टाउको भनेर गर्व गर्छ, ऊ नै धेरै तल पुगिसकेका छन् भन्ने कुरा ती प्रवृत्तिले र हामीहरू सबैले बुझिसकेका छौं ।
० समग्र कम्युनिस्ट आन्दोलनबीचको एकताचाहिँ कति सम्भव देख्नुहुन्छ ?
– समग्र कम्युनिस्ट आन्दोलनबीचको एकता अहिले सम्भावना छैन । तर, वामपन्थीहरूबीच संयुक्त मोर्चा आवश्यक छ । यदि हामी बचेखुँचेको सामन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही प्रवृत्तिको विरोधी हौं भने वामपन्थीहरूबीच सहकार्य आवश्यक छ । को–कति वामपन्थी छन् भन्ने कुरा यसले पनि निक्र्योल गर्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply