माघ ८ मै संविधान बन्नेमा मलाई शंका छ
– सुरेन्द्रप्रसाद पाण्डे सभासद् तथा पोलिटब्युरो सदस्य, नेकपा (एमाले)० लामो रस्साकस्सीपछि तपाईंको पार्टीको स्थायी र पोलटब्युरो कमिटी गठन भएका छन्, यसलाई कसरी हेर्नुभएको छ ?
– नेकपा (एमाले)को नवांै राष्ट्रिय महाधिवेशनपछि कतिपय मानिसहरूलाई यो पार्टी अब एकताबद्घ भएर जाँदैन कि, पार्टीभित्र यो गुटफुटको प्रक्रिया निर्वाचनको जस्तो कारणले समानान्तर हिसाबले जान्छ कि भन्ने शंकाको अवस्था थियो । लामो समयसम्म बैठक नबसेको स्थिति, कामहरूमा एकरूपता नआएको परिस्थितिमा मान्छेले ती कुरालाई विभिन्न अर्थमा हेरेका थिए । तर, यो बैठकले यो शून्यतालाई पनि तोडेको छ र यो शंकालाई पनि मेटेको छ ।
० अब पार्टी एकताबद्ध भएर जाने कुरालाई सुनिश्चित गरेको छ पनि भन्न सकिन्छ ?
– पक्कै पनि । यो बैठकले त्यो कुराको पनि सुनिश्चितता गरेको छ । त्यो यो बैठकको अर्को सकारात्मक घटना हो भन्ने लाग्छ ।
० कार्यविभाजनको अर्को चुनौतीपूर्ण काम बाँकी नै छ, त्यो पनि सहमतिमै हुने आशा गर्न सकिन्छ ?
– अहिलेको जुन स्प्रिट छ, त्यो सकारात्मक छ । त्यसो हुँदा बाँकी विषयहरू पनि सहमतिका साथ नै सकारात्मक हिसाबले नै टुंगिन्छन् भन्नेमा छु । अहिले मुख्य त कार्यविभाजनभन्दा कार्ययोजना हो, यो धेरै विवाद गर्नुपर्ने विषय पनि होइन । पार्टीको गतिशिलता, पार्टीको भविष्य, पार्टी र जनताको सर्वोच्च हितलाई ध्यानमा राखेर पार्टीले काम गर्ने हो, त्यस सन्दर्भमा विमतिका विषय आउनु हुँदैन । ती विषय र काम सम्पादन गर्नको व्यक्ति कुन ठाउँका लागि फिट हो भन्ने कुरालाई पनि ख्याल गरिनुपर्छ । कहिलेकाँही त्यो कुराको ख्याल गर्दागर्दै पनि पक्षधरताको सानोतिनो छााया पर्नसक्छ । मलाई लाग्छ, त्यो पनि त्यति ठूलो कुरा हुँदैन । हामी सबै सकारात्मक निष्कर्षको खोजीमा हुन्छौं भने त्यो चिजमा क्रमश: समाधान हुनसक्छ ।
० अध्यक्ष ओली र उहाँको भनिने समूह अन्तिमसम्म पनि निर्वाचनवाट पोलिटब्युरो गठन गर्नुपर्ने पक्षमा थियो भनिन्छ, अन्तिममा सहमतिमा आउन के कुरालाई काम गर्यो भन्ने लाग्छ ?
– राष्ट्रिय परिस्थिति, पार्टीभित्रको परिस्थिति नै मुख्य कुरा थियो । एकातर्फ संविधान निर्माण हुन नसकेको र त्यसका लागि विभिन्न विचार बोकेका राजनीतिक शक्तिहरूसँग मुकाबिला गर्नुपर्ने परिस्थिति रहेको र देशको अर्थतन्त्र र समग्र राजनीतिक प्रक्रिया पनि सही ढंगले अगाडि बढ्न नसकेको यो परिवेशमा राष्ट्रिय हित र स्वार्थलाई ध्यानमा राखेर एक ठाउँमा आउनुपर्ने बाध्यता थियो ।
० त्यत्ति कारणले मात्र काम गरेको होला त ?
– अरू पनि कारण थिए । महाधिवेशनपछि पार्टी चिराचिरा जस्तो अवस्थामा छ भन्ने स्थिति थियो । त्यो स्थितिलाई मेट्नुपर्ने सबैभन्दा धेरै दायित्व नेतृत्वलाई हुने नै भयो । नेतृत्वका सामु त्यो दबाब पनि थियो । यो बीचमा केही काम एकलौटी तरिकाले भए, गरे भनेर पार्टीभित्र छलफल पनि चलिरहेको थियो । त्यसैले, समग्रतामा मिलौं न भन्ने हिसाबले नयाँ वातावरण सिर्जना भयो ।
० त्यति कामका लागि यत्रो पाँच महिनाको समय लाग्नु चाहिँ दुर्भाग्यपूर्ण थियो होइन ?
– पाँच महिनासम्म हामी कार्ययोजनामा हिँड्न नसक्दा त्यत्रो समय नोक्सान त भएकै हो । त्यो नहुनुपर्दथ्यो । कमसेकम पाँच महिना गुमाए पनि बाँकी साढे चार वर्षको समयलाई राम्रोसँग सदुपयोग गर्न सक्यौं भने यो नोक्सानको पूर्ति हुन्छ, त्यही दिशामा अब एकताबद्ध भएर नयाँ जोश र जाँगरका साथ अगाडि बढ्नुपर्छ । बितेको कुराप्रति पश्चात्ताप गरेर केही काम छैन ।
० नेपाली कांग्रेसमा ६०–४० को भागबन्डाको कुरा सुनिन्थ्यो, यस पटकबाट तपाईंहरूले पनि त्यसकै सिको गरेर भागबन्डामार्फत पोलिटब्युरो गठन गर्नुभयो होइन ?
– के फर्मुलामा मिले वा सहमति गरे ? भन्ने प्रश्न त मान्छेले गर्न सक्छन् । यसो हेर्दा त्यही पो हो कि भन्ने पनि लाग्न सक्छ । अथवा केही पक्ष त्यस्तो हुन पनि सक्छ । जे सुकै भए पनि हामीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने उद्देश्यले नै यो काम गरेका छौं । यहाँ आइपुग्नका लागि विभिन्न कुराहरूले काम गरेको, प्रभाव पारेको हुनसक्छ । अब त्यस तर्फ जाने भन्दा हामीले जे गरेका छौ, त्यो परिणाम चाहिँ सुखद छ । हामीले जे विधि अपनाए पनि पार्टीलाई एकताबद्ध बनाउनका लागि गरेका छौं । अब त्यसलाई कसरी हुन्छ अझ बलियो, खँदिलो र मजबुत गर्ने कुरा अबको मुख्य कुरा हो ।
० जे विधि अपनाए पनि सहमतिमा काम भयो, राम्रै भयो त जुन अनुहार आएका छन्, के ती सबै न्यायोचित अनुहार थिए भन्ने लाग्छ ?
– यो ठूलो पार्टी हो, हाम्रो केन्द्रीय कमिटी नै १ सय ६१ सदस्यीय छ । त्यसो हुँदा सबै मान्छेका आकांक्षा पूरा गर्ने अवस्था थिएन, रहेन । यो बैठकबाट पनि रह्यो भन्ने मलाई लाग्दैन । कतिपय पाका–पुराना मान्छेहरूलाई कमिटीमा अपेक्षित जिम्मेवारीमा हामीले राख्न सकेनौं । फेरि हामी निर्वाचनको यस्तो अभ्यासबाट आएका छौ कि जो निर्वाचनमा जित्छ ऊ नेता हुने र हार्ने कमिटीमै नरहने । जो मान्छेसँग योग्यता, क्षमता र निरन्तरता छ ऊ चुनाव हारेकै कारण नेता नरहने हँुदैन । प्राविधिक हिसाबले निर्वाचनको कारणबाट सिर्जित भएको हैसियत स्थायी होइन है भन्ने कुरा हरेकले बुझ्नुपर्छ । योग्यता, क्षमता चाहिँ स्थायी कुरा हुन् ।
० हारे पनि तपाईंलगायतका केही नेतालाई स्थायीमा ल्याउने समझदारी भएको छ भन्ने सुनिन्छ, यही कुरालाई स्थापित गर्नका लागि हो त ?
– यो कुरा पनि एउटा पक्ष हो । पार्टीमा निरन्तर काम गरेका, लामो इतिहास भएका योग्य मान्छेहरूलाई जिम्मेवारी दिनुपर्छ । नेतृत्व भनेको त्यसै बन्दैन । नेतृत्व विकास हुन वर्षौं, दशकौं गुज्रेको हुन्छ । यी सबै अनुभवहरूले नै पार्टी मजबुत र परिपक्व हुने हो । त्यसो हुनाले, पार्टी नेतृत्वदेखि लिएर पुराना–नयाँको संयोजनबाट नै अगाडि बढ्छ । त्यसो नगरी पार्टी अगाडि जान पनि सक्दैन ।
० तपाईंलगायतका केही नेताहरूलाई स्थायीमा ल्याउन समझदारी बनेको सुनियो तर घोषणा त भएन नि ?
– केही प्राविधिक कारणले अस्ति घोषणा हुन सकेन । अब छिट्टै होला भन्नेमा छौं । खासगरी मेरो, शंकर पोखरेल र छविलाल विश्वकर्माको नाममा निर्णय भइसकेको कुरा बाहिर सञ्चारमाध्यममा आयो । आन्तरिक कुराकानीमा त्यो भएर बाहिर आएको होला । अन्त्यमा आएर त्यसमा पनि मधेस र जनजातिबाट केही व्यक्ति ल्याएर यो कमिटीलाई पूर्णता दिनुपर्छ भन्ने प्रश्न उठेको हुनाले यो विषयलाई थप छलफलका लागि स्थगन गरिएको हो ।
० यही बैठकले पूर्णता दिन्छ ?
– यही बैठकले दिने भन्ने नै सहमति छ ।
० सहमतिका नाममा विधानको व्यवस्था उल्लंघन गरेर ती कमिटीको आकार बढाउनुभयो होइन ?
– यस्तो दखिएको छ । तर, पार्टीको बृहत्तर हितका लागि कहिलेकाहीँ विधानको अक्षरमा मात्र सीमित हुनुहँुदैन । किनभने, विधानको अक्षरभन्दा पनि व्यावहारिक ढंगले त्यसलाई मिलाउने कुरा महत्त्वपूर्ण हुन्छ । भर्खरै चुनाव भएको अफगानिस्तानमा निर्वाचन भएको केही समयसम्म नतिजा सार्वजनिक गरिएन । को जितेको को हारेको घोषणा गर्न सकेन । अन्त्यमा उनीहरूले एउटा सहमति गरे, जसले धेरै मत पाएको छ भन्ने अन्दाज थियो उसलाई राष्ट्रपति बनाएर जसले प्रतिस्पर्धा गरेको थियो उसलाई एक वर्षसम्म कार्यकारी बनाएर उनीहरू अगाडि बढे । विकासोन्मुख मुलुकहरूमा राजनीतिले परिपक्वता हासिल नगरेको स्थितिमा यस्ता समस्या हुन्छन् र त्यसलाई त्यही उचाइबाट समाधान गर्न सक्नुपर्छ ।
० नवौं महाधिवेशन भएको पाँच महिना हुँदैछ, दशौं महाधिवेशनमा केन्द्रित रहेर समीकरण निर्माण गर्ने खेल तपाईंको पार्टीमा सुरु भइसकेको सुनिन्छ नि ?
– मलाई पनि कसै कसैले यस्तो कुरा सुनाउने गरेका छन् । अहिले नै त्यतातिर लाग्नु भनेको अनुपयुक्त कुरा हो । समय र प्राथमिकताको हिसाबले अहिलेको विषय होइन त्यो । बेमौसममा त्यस्तो बाजा बजाइयो । केही इच्छा चाहना हुनेहरूले बजाएका छन् भने पनि त्यो पुरा हुँदैन ।
० संविधान निर्माणको काम चाहिँ कहाँ पुगेको छ ?
– संविधान निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ । केही कुरामा गाँठो अड्किएर बसेको छ । त्यो गाँठो बिस्तारै खुल्छ कि भन्ने आशमा छु । सुरुङको अन्तिम क्षणमा पनि पिलपिले बत्तीले मानिसमा आशा जगाउँछ भनेझैं केही उज्यालो देखिरहेको छु । समाधान निस्कन्छ भन्नेमा छु म ।
० के कुराले त्यो आशा जगायो ? – पछिल्लो समयमा भएका छलफलहरूको आधारमा नै मैले यो कुरा भनेको हुँ । केही लेनदेन गरेर समाधान खोजौं भन्ने कुराको छलफल हुन खोजेको देखेको छु ।
० ‘संख्या छाड्छौं, पहिचान छाड्दैनौं’ भन्ने एमाओवादीको पछिल्लो धारणा सार्वजनिक भएको छ, मिल्ने छाँट त कहाँ देखियो र ?
– पहिचान कसैले छाड्नै पर्दैन । अहिले एमाले र कांग्रेसले प्रस्तुत गरेको साझा प्रस्तावमा पनि पहिचानको पर्याप्त संरक्षण गर्न खोजेको देखिन्छ । पहिचानका चार–पाँचवटा विषय हुँदा रहेछन् । श्रीलंकामा पहिले तमिल भाषालाई राष्ट्रिय मान्यता थियो । १९९२ को संविधानको संशोधनपछि सिंहली भाषालाई राष्ट्रिय भाषाको रूपमा लिएर तमिल भाषामाथि नियन्त्रणात्मक कुरा गरेपछि विद्रोह भयो र ८० हजारजति मानिसको मृत्यु भयो । त्यहाँ पहिचानको लडाइँ भाषामा थियो । पहिचानको एउटा मुद्दा भाषा रहेछ । भुटानबाट नेपाली खेदिए । त्यहाँ पनि ‘नेपाली भाषा बोल्न पाउँदैनस् र हामीले लगााउने पोसाक नै लगाउनुपर्छ’ भनियो । पोसाक पनि पहिचानको अर्को मुद्दा रहेछ । लेबनानमा संसद्मा त्रिश्चियन र मुस्लिमहरूको निश्चित सिट तोकिएको छ । त्यसकारण अर्को पहिचानको मुद्दा धर्म हुँदोरहेछ । कतिपय देशमा कुन चाड मान्न पाउने/नपाउने भन्ने आधारमा पनि पहिचान स्थापित गरिएको पाइन्छ । पहिचानको अर्को विषय नाम पनि हुन्छ । पहिचानको विषयमा त्यो साझा प्रस्तावमा के भनिएको छ भने, पहिचान दुई वटा कुरामा स्थापित गर्नुस् । एउटा, भाषामा त्रैभाषिक नीति । प्रत्येक प्रदेशमा मुख्य दुइटा भाषा चलाउन सक्ने भनिएको छ । भनेपछि भाषाको समस्या नै भएन । दास्रो, पोसाकको विषयमा प्रदेश आफैंले तोक्न सक्छ । के चाड मान्ने भन्ने पनि गर्न सक्ने भयो । भनेपछि पहिचानको कुरालाई संरक्षण गरेको छ । प्रदेशको नामकरण गर्ने जिम्मा प्रदेश सभालाई नै दिने कुरामा हामी खुला छौं । तपाई आफ्नो नाम आफैं न्वारन गर्नुस् भन्दा त्योभन्दा लोकतान्त्रिक कुरा के हुन सक्छ र ?
० त्यसो भए, समस्या चाहिँ केमा हो त ? – एकथरि पार्टीहरूले ‘१०, १२ वटा प्रदेश’ भनेर आए, अर्काथरिले ‘त्यो ठूलो हुन्छ, देशले धान्न सक्दैन’ भने । संख्याको विवाद पनि एउटा समस्या हो । अर्को, एकथरि पार्टीहरूले एक प्रतिशत जनसंख्या भएकाहरूलाई पनि एउटा प्रदेश हुनुपर्छ भन्ने नाजायज तर्क गरे । त्यसमा पनि उनीहरू इमानदार छैनन् । आफूअनुकुलको कुरा गरिरहेका छन् ।
० त्यसो होइन, खास समस्या चाहिँ माघ ८ पछि को सत्ता समीकरणमा कुरा नमिलेर हो भन्छन् नि ?
– धेरथोर यो राजनीतिसँग जोडिएको छैन त म भन्दिनँ । संविधान निर्माणका कुरा पनि राजनीतिक मुद्दा नै हुन् । कतिपय विषयमा बाहिर एउटा कुरा भइरहेको हुन्छ, भित्र अर्कै विषयमा लेनदेन भइरहेको हुन्छ । त्यसकारण त्यो कुरासँग धेरथोर प्रभावित भएको हुनसक्छ । तर, यतिबेला मूल उद्देश्य सरकारको अदली–बदली होइन, संविधान निर्माणलाई बनाउनुपर्छ । संविधान बनिसकेपछि सरकारमा जाने स्पेस धेरै फराकिलो भएर जान्छ ।
० माघ ८ मा संविधान नआउने चाहिँ पक्का भयो, होइन ?
– माघ ८ मै संविधान बन्नेमा मलाई पनि शंका छ । तर, माघ ८ भित्र मस्यौदा चाहिँ आउँछ । मस्यौदा आयो भने संविधान आयो भन्ने बुझे हुन्छ ।
० सहमतिको दस्तावेजको रूपमा आउँछ कि बहुमतको बलबाट ?
– यो म अहिल्यै भन्न सक्तिनँ । अन्तिम समयसम्म हाम्रो प्रयास सहमतिकै निम्ति हुनेछ । तर, सर्वसम्मति चाहिँ हँुदैन । किनभने, केही दलहरूले हामी जुनसुकै अवस्थामा पनि मान्दै मान्दैनौं भनेका छन् । त्यसरी कसम खाइसकेपछि त सहमति हुने कुरै हँुदैन । सकेसम्म हामी सहमति गर्छौ, सकिएन भने विधि र प्रक्रियामा जान्छौं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply