मैले नसमाएको भए सिधै टाउकोमा हान्ने रहेछ
– ऋषिकेश पोखरेल सभासद्, नेकपा (एमाले)० सोमबार राति संसद्मा के भएको हो ?
– एमाओवादीका सभासद् माइकको फुँदो बोकेर गुटुटु कुद्दै केपी ओलीतिर आयो । मैले च्याप्पै समातें । तर, फुत्किहाल्यो । अनि, त्यसको कोटमा समातेर तानेँ । ओली कमरेडलाई हान्न नपाएपछि मलाई हानेर गयो ।
० त्यो मान्छे चाहिँ को हो ?
– उसले घ्यू रंगको कोट लगाएको थियो, खोइ कताको हो ? मैले नसमाएको भए सिधै अध्यक्षको टाउकोमा हान्ने थियो । खुत्रुक्कै पार्ने थियो ।
० अध्यक्ष ओलीको छातीमा चाहिँ चोट लाग्यो हैन ?
– त्यो चाहिँ पहिले झटारो हानेकाले लागेको हो । माइकको फुँदोले चाहिँ सिधै टाउकोमा हान्ने थियो । उठ्दै नउठ्ने बनाउने थियो नि !
० तपाईंले ठूलो दुर्घटना टार्नुभयो ?
– कम्मरमा समाउन खोजेको तर तेजले आएको मान्छे समातिँदो रहेनछ । चिप्लियो, चिप्लिएपछि कोट समातेर तानें । अनि हात पर पुगेन । त्यही झोकमा मलाई हानेर हिँड्यो ।
० तपाईंलाई चाहिँ कहाँ चोट लाग्यो त ?
– त्यस्तो चोट त लागेन । कम्मरमा त्यही माइकको फुँदोले भ्वाक्कै हिर्कायो ।
० तपार्इंले रोक्नुभयो ?
– हो । ठूलो दुर्घटना हुनबाट बच्यो भन्ने लाग्छ ।
० त्यतिबेला त्यहाँको दृश्य कस्तो थियो, थोरै चित्रण गरिदिनुस् न ?
– उनीहरू अत्यन्तै आक्रामक थिए । के शब्द बोल्ने, के गर्ने भन्ने केही मतलब थिएन । उनीहरूले जे पनि बोलिरहेका थिए । उनीहरूको सबै लक्ष्य चाहिँ केपी ओली र सभामुखमाथि केन्द्रित थियो । माइक भाँचे, कुर्सी भाँचे । कसलाई लाग्छ भन्ने मतलब नराखी परबाट माइकको फुँदाले अन्धाधुन्ध झटारो हाने । माओवादीहरू मुलुकलाई स्थिरता दिने, शान्ति दिने, समृद्धितर्फ मुलुकलाई कसरी लैजाने भन्ने कल्पना गर्नेभन्दा पनि मुलुकमा कसरी आगो लगाउन सकिन्छ, मुलुकमा कसरी नयाँ द्वन्द्व सिर्जना गर्न सकिन्छ र मुलुकलाई कसरी अवरुद्ध गर्न सकिन्छ भन्ने कुरामा उद्यत देखिन्थे ।
० उनीहरूले त संसद्भित्रको संघर्ष हो, संसद्मा हामी हदैसम्मको संघर्ष गर्छौं भनिरहेका छन् नि ?
– त्यसलाई संघर्ष कसरी मान्ने ? सुरुमा बाबुराम भट्टराईको प्रस्तुतिबाटै हामीले के बुझ्यौं भने आम रूपमा केपी ओलीप्रति लक्षित थिए उनीहरू । उनको लामो भाषणको सार चाहिँ केपी ओलीलाई गाली गर्ने थियो । बाबुरामलाई बौद्धिक व्यक्तित्व भन्छन् तर उनको प्रस्तुति चाहिँ एउटा कलेजको विद्यार्थीले भाषण गर्दै अर्को विपक्षी विद्यार्थीलाई गाली गरे जस्तो थियो । प्रक्रियाको हिसाबले शान्त संविधानसभाभित्र सभामुखले चीनकाजी श्रेष्ठलाई प्रस्ताव राख्न समय दिनेबित्तिकै उनीहरू गुटुटु उठे । कोही मञ्चमाथि चढ्ने, कोही कुर्सी तोड्ने, कोही माइक हान्ने, कोही केपी कमरेडमाथि लक्षित गर्ने र त्यत्तिकै आतंक मच्चाउने काम भए । त्यहाँ धेरै नारा जुलुस भएन ।
० उनीहरूले शान्तिपूर्ण प्रतिरोध गरेको भन्दैछन् नि ?
– विध्वंश नै त्रान्ति हो भने त हामीले भन्नु केही भएन । त्यहाँभित्र कुनै सिर्जना थिएन, कुनै सकारात्मकता थिएन । त्यो देख्दा लाग्थ्यो, त्यत्तिकै आतंक मच्चाइरहेको छ । संविधान बन्ने भो भनेर, मुलुक स्थिर हुने भनेर मान्छे आत्तिइरहेको छ । अन्तरिम संविधान छ, नियमावली छ, त्यहाँ प्रचलनमा रहेका सिस्टमहरू छन् तर ती कुनै चिज माओवादीका निम्ति रहेनन् ।
० आफूलाई बेवास्ता गरियो, अस्वीकार गरियो भन्ने उनीहरूको आक्रोश छ, त्यसलाई कसरी लिनुहुन्छ ?
– संविधानसभाले माओवादीलाई जति ‘रेस्पोन्स’ कसैलाई गरेन । एक महिनालाई दिइएको समय तीन महिना पर्खने संविधानसभा नै हो । यही संविधानसभा हो, माओवादीकै लागि तीन महिना पर्खियो । अस्तिको दिन नै हुने संविधानसभाको बैठक उनीहरूकै कारण लम्बियो । आइतबार सहमतिको नजिक पुगियो भन्ने परिस्थतिको सिर्जना भयो, सोमबार बिहान पनि सहमतिका आधार तयार भए, सहमतिको नजिक पुगियो भन्ने कुरा भए । तर, एक ठाउँबाट माओवादी अगाडि बढ्ने र सहमतिको नजिक पुगेको देखाउने र केही क्षण पछाडि त्यही कुरा अस्वीकार गर्ने परिस्थितिसँग जोडिए । माघ ८ भनेको संविधान दिन्छौं भन्ने दिन हो । तर, कम्तीमा पनि एमाले, कांग्रेसलगायतका दलहरूले माओवादीका कारण संविधान दिन नसके पनि संविधान चाहिँ आउँछ है भन्ने परिस्थिति चाहिँ निर्माण गर्नुपर्छ । तर, यो दिशामा अगाडि बढ्ने कुरामा पनि उनीहरूले अवरोध सिर्जना गरे । यो मुलुकमा जातीय राज्य निर्माण गर्न सकिँदैन भन्ने प्रचण्डलाई पनि थाहा छ । यो मुलुकलाई एक मधेस बनाउन सकिन्न भन्ने मधेसवादी दलहरू आफंैलाई थाहा छ । तर, उनीहरू त्यही विषय नै रटान गर्छन् । किनभने, जातीय राज्य बन्न सक्दैन, अर्कोले मान्दैन, अनि संविधान बन्न नदिनका निम्ति अचुक औषधि यही हो भन्ने हिसाबले उनीहरू त्यही कुरा उठाउँछन् ।
० संविधान नबन्दा माओवादी–मधेसवादीहरूलाई फाइदा चाहिँ के होला ?
– संविधान नबन्दा माओवादी मधेसवादीहरूलाई अहिले फाइदा नै छ । पूर्व जाँदा कोसीको छेउमा पेडा पसल छन्, त्यहाँ असली बाजेको पेडा पसल, साँच्चै बाजेको पेडा पसल, पुरानो बाजेको पेडा पसल । पेडा पसल थुप्रै छन्, त्यहाँ । सबै राजनीतिक दलले संविधान निर्माणमा हामी चाहिँ सक्कली हकदार हौं भन्न पाउँछन् । तर, अहिलेका राजनीतिक दलहरू चाहिँ अब मुलुक स्थिर हुने भो, स्थिरतातर्फ जाने भो, शान्ति हुने हो, नयाँ संविधान बन्यो भने थ्रेसहोल्ड हुने भो, त्यसो हुँदा भोलि जनताका बीचमा सकारात्मक कुरा लिएर जानुपर्ने भयो, जनताको बीचमा जाँदा आफनो अस्तित्व के हुन्छ भन्ने यिनीहरूले देखेनन् । त्यसकारण, मुलुकलाई अस्थिरतामा राख्दै आफू समृद्ध हुने उनीहरूले देखे । त्यसकारण आफनो भविष्य सुनिश्चित नदेखुन्जेलसम्म संविधान बन्न नदिने नियत हो यिनीहरूको ।
० आज पनि संविधानसभाको बैठक छ, अब कसरी जाला ?
– सबैभन्दा पहिलो कुरा त एमाओवादीले संविधान निर्माण गर्ने कुरामा सहयोग गर्नुपर्छ । त्यसका निम्ति हामी सबैले आह्वान गर्नुपर्छ । नियावली, संविधान, नियम, कानुन अनुसार अगाडि बढ्न हामी सबैले अनुरोध गर्नुपर्छ । माओवादी संविधान निर्माणको बाधक हो भन्ने कुरा देश–दुनियाँले बुझिसक्यो । त्यो चिज बचाउने हो भने अब उनीहरूले प्रश्नावली समिति निर्माण गर्नका निम्ति सहयोग गर्नुपर्छ । योभन्दा अर्को कुनै बाटो छैन ।
० सोमबार रातिको मुठभेडले अब झन् सहमतिको वातावरण बन्ला र ?
– सहमतिको वातावरण त संविधान घोषणा गर्ने अघिल्लो दिनसम्म रहन्छ नि । माओवादीले मुलुकमा स्थिरता, शान्ति, समृद्धि चाहन्छ भने सहमतिमा आउनै पर्छ । तर, नेपालको सन्दर्भमा अहिलेको संविधान निर्माणको प्रक्रियासँग जोडिएर हेर्दा सहमति भन्ने शब्द नेपाली जनताको प्यारो रहेन । सहमति भनेको, कहिल्यै नमिलौं, देशलाई सधंै भाँडमा राखिरहौं, देशलाई लुटेर खाऔं भन्ने अर्थ निस्कन लाग्यो । त्यसो हुनाले, यो धेरै सहमतिको विषयवस्तुसँग जोडेर होइन, अधिकतम सहमतिको आधार तयार गरेर संविधान निर्माणको प्रक्रियामा अगाडि बढ्नुपर्छ ।
० एमाले अध्यक्ष केपी ओलीमाथि जुन हातपात भयो, यसपछि त अब झन् यो राजनीतिक वातावरण त बिग्रन्छ होइन ?
– राजनीतिक कुरा हो । त्यो आक्रमण केपी ओलीमाथि मात्र भएको होइन । त्यो नेपालको राष्ट्रियतामाथि आक्रमण भएको हो र त्यो राष्ट्रिय एकतामाथिको आक्रमण हो । सिंगो राष्ट्रमाथिको आक्रमण हो । नेपालमा आज राष्ट्रियताको जुन समस्या छ, विखण्डनको जुन समस्या छ, विखण्डनका निम्ति जुन उत्तेजना छ, जाति–जातिबीचमा युद्ध चलाएर रुवान्डा बनाउने जुन कुरा छ, ती सबैको प्रतिवादमा राष्ट्रको नाममा उभिएको एउटा केपी ओलीमाथि आक्रमण गर्नु भनेको कुनै चानचुने कुरा होइन । त्यो चिजप्रति हामी सबैले खेद व्यक्त गर्नुपर्छ । सबै नेपाली जनताले त्यस घटनाप्रति खेद व्यक्त गर्छन् भन्ने मलाई लाग्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply