तराई – मधेसमा पनि धेरै सिट एमालेले नै ल्याउँछ
लालबाबु पण्डित, नेता, नेकपा (एमाले)० मधेसकेन्द्रित दलहरूको मोर्चा राजपाले फेरि निर्वाचनमा नआउने भनेको छ, आन्दोलनको समेत घोषणा गरिसक्यो, यसले त परिस्थिति बिग्रियो नि होइन ?
– अहिले स्थानीय तहको चुनावलाई कुनै पनि बहानामा कसैले पनि भाँड्नुहुँदैन । मधेसमा मधेसी जनताले आफ्ना जनप्रतिनिधि छिटोभन्दा छिटो रोज्न चाहेका छन् । जनप्रतिनिधि नहुँदा हुने भ्रष्टाचार र बेथितीहरूलाई जनप्रतिनिधिमार्फत नियन्त्रण गर्न चाहेको हुनाले लोकतन्त्रको अभ्यासमा सबैभन्दा प्रमुख कुरा के हो भने स्थानीय तह नै बलियो आधार भएकाले यसको चुनावमा घरघर, गाउँगाउँ, टोलटोलबाट सक्रियताका साथ लागिसकेको हुनाले कसैले यसलाई अवरोध पु¥याउनुहुँदैन । अवरोध पु¥याए चुनाव भाँड्ने बाटोमा गए यो मधेसी जनतामाथि नै नेपाली जनतामाथि नै विश्वासघात गरेको हुन्छ । ऊ जनताको प्रतिनिधि हुँदैन । जनताको प्रतिनिधि हुनबाट डराएर स्वोघोषित नेताहरू र त्यो पार्टी निर्वाचनपश्चात् समाप्त हुन्छन् । समाप्तिको बाटोमा लागेको हुनाले अहिले नानाथरी बहाना गरेर जसरी भए पनि चुनाव हुन नदिने, चुनाव भाँड्ने अभियानमा लागेको हुनाले त्यो कुनै पनि हालतमा सफल हुँदैन ।
० दोस्रो चरणको निर्वाचन राजपाको असहमति र अवरोधका बाबजुद सफल हुन्छ ?
– मूल रूपमा यो दोस्रो चरणको निर्वाचन सफल हुन्छ । र, छिटफुट एकदुई ठाउँमा बाँकी रहन गएको खण्डमा त्यसलाई पुनः १४ गतेपश्चात् मतदान गरेर जनताको निर्वाचित प्रतिनिधि हुनेछन् । स्थानीय तहबाट अब जनताको प्रतिनिधिबाहेक अरू कसैले शासन गर्नेछैनन् ।
० सत्तामा रहेका विजय गच्छदारले पनि दुई नम्बर प्रदेशको निर्वाचन पछि सार्न प्रस्ताव गरेका छन्, २ नम्बर प्रदेशमा चाहिँ यो चुनाव कत्तिको चनौतीपूर्ण छ ?
–केहीकेही थोरै समस्या त होला । समस्या नभएको कुनै ठाउँ हुँदैन । दुई नम्बर प्रदेशमा पनि चुनाव सफलतापूर्वक सम्पन्न हुन्छ ।
० हिजो एमालेको राजविराजको कार्यक्रम स्थल तोडफोड भयो, मधेसमा एमालेमाथि लगातार प्रहार भइरहेको छ, यसले समस्या ल्याउँदैन ?
– मधेसमा एमालेमाथि मात्र होइन, कांग्रेसकै पनि झन्डा जलाउँदै गरेको यहाँहरूले देख्नुभएकै होला । हिजो कांग्रेस र माओवादी मात्र दूधले नुहाएको भन्ने हल्ला गलत साबित भएको छ । एमालेको निम्ति होइन, समस्याचाहिँ राष्ट्रको निम्ति आउँदै छ । भड्काउनका निम्ति केही घटना गराइरहेका छन् । तर एमाले भड्किँदैन, निर्वाचनबाट उनीहरूलाई जवाफ दिन्छ ।
० तपार्इं विराटनगर महानगरपालिकामा मेयरमा उठ्ने हल्ला थियो तर जानुभएन ?
– मैले विराटनगरको मेयरको निम्ति कुनै इच्छा–आकांक्षा राखेकै थिइन, मैले लगातार भन्दै आएको थिँए कि युवा साथीहरू एकसेएक सक्षम छन् । त्यसकारण नेकपा (एमाले) युवा साथीहरूलाई लिएर अघि बढ्नुपर्छ । म बरु उहाँहरूलाई जिताउन लाग्छु । अहिले पार्टीको स्थायी कमिटीले कमरेड विनोद ढकाललाई उम्मेदवार बनाएको छ । उहाँको नेतृत्वमा विराटनगरले चुनाव जित्छ भन्ने हाम्रो विश्वास छ । त्यति मात्र होइन, हामी सबै मिलेर हाम्रो पार्टीको उमेदवारलाई हामी जिताउँछौं, हामी त्यही अभियानमा लागिरहेका पनि छौं ।
० विराटनगर खासगरी मुस्लिम र मधेसीको बाहुल्य क्षेत्र भनिन्छ, उम्मेदवारको जातीय सन्तुलनले पनि समस्या आउला भन्छन् नि ?
– बाहुल्यचाहिँ मुस्लिम र मधेसी समुदायको नै होइन तर राम्रै उपस्थिति छ । त्यसकारण नेकपा एमालले विराटनगरमा अहिले मेयरको मात्र उम्मेदवारी घोषणा गरेको छ । उपमेयरलगायत वार्ड र वार्डको सदस्यहरूमा सबैको प्रतिनिधित्व हुने गरी सबैको अनुहार देखिने गरी उम्मेदवारी दिन्छ र जित्ने गरी लाग्छ ।
० अब अन्य पदहरूमा कुनै मधेसी दलसँग तालमेल हुने सम्भावना छ भनिन्छ नि ?
– हामीले विश्लेषण गरिरहेका छौं । विश्लेषणपश्चात् अन्तिम उम्मेदवारी आउँछ ।
० एमालेलाई खासगरी पछिल्ला दिनमा मधेसविरोधी मानिएको छ । एमाले मधेसको एजेन्डामा कठोर बन्यो भनिएको छ, तपाईंको भनाइ यसमा के छ ?
– एमाले मधेसी जनताको प्रिय पार्टी नै हो । तर केही जो मधेसको पनि विकास चाँहदैनन्, मधेसमा शान्ति चाहँदैनन्, अनि साँच्चैको मधेसीको भावना नबुझ्ने र कतिपय आयातित कुराहरू बोक्ने व्यक्तिहरू भएका कारण उनीहरूले लगाएको आरोप सत्य होइन । जहिलेजहिले नेकपा एमालले सरकार बनाएको छ, त्यहीबेला सबैभन्दा बढी बजेट मधेसमा पठाएको छ । मधेसकेन्द्रित कार्यक्रमहरू चाहे आफ्नो गाउँ आफैं बनाऔं चाहे सामाजिक सुरक्षा भत्ता, चाहे गरिबलाई घर बनाइदिने जनता आवास कार्यक्रम, सीमामा रहेका गरिबी घटाउनका निम्ति सिमा क्षेत्रका गरिबी घटाउने विशेष कार्यक्रम र विशेष बजेटको व्यवस्था, तराई–मधेसका सदरमुकामहरूलाई विकास गर्न विशेष बजेटको व्यवस्था, तराई–मधेसमा रहेका सडकहरूलाई चारलाइन गर्ने व्यवस्था, हुलाकी राजमार्गमा सबैभन्दा बढी पैसा छुट्ट्याएर आफैं पनि बनाउन सक्षम छ भन्ने सन्देश दिने गरीकन नेकपा एमालले अभियान नै चलाइरहेको स्थितिमा नेकपा (एमाले) भन्दा बढी कसैले पनि अहिलेसम्मको इतिहासमा तराई–मधेसमा योगदान पु¥याएको छैन । फेरि पनि नेकपा (एमाले) ले तराई–मधेसका जनताका साथसाथै सिंगै नेपाललाई सुखी र सम्पन्न बनाउन, समृद्धिको बाटोमा अगाडि बढाउन र अझै अहिले तराई–मधेसकै द्वन्द्वमा बढी आजित भएर सबैभन्दा बढी विदेशको अरबमा जाने युवाहरू अझै दुई नम्बर प्रदेशकै भएको अझै त्यसमा पनि सबैभन्दा बढी धनुषा र सिरहालगायतकै हुने भएकाले तराई–मधेसका जनताले र नेताले पनि बुझ्नुप¥यो । त्यहाँको पार्टीले पनि बुझ्नुप¥यो कि हाम्रो बढी क्रान्तिकारिता देखाउने नाममा यहाँ विकास टाढा पुु¥याएको, युवाहरूलाई पलायन र अरबतिर पु¥याएको देखि लिएर तराई–मधेसको भावनाविपरीत सामाजिक विभेदलाई छोडेर सामाजिक सद्भाव जोड्नेभन्दा फोड्ने बाटोमा लागेको हुनाले गर्दा अहिले तराई–मधेसका युवाहरूले तराई–मधेसबाट कुनै पनि पहाडको बासिन्दा बसाइँ नसरोस् भनेर अभियान पनि सुरु गरिसकेको र विगतमा जुन गलत बाटो देखाएर दुःखकष्ट दिने काम भएको थियो, त्यसको पश्चात्ताप एक भएर सामाजिक सद्भावका साथ राजनीतिक एकताका साथ विकास निर्माणमा लाग्ने गरीकन लागेको छ र म अहिले भन्न चाहन्छु यो दुई नम्बर प्रदेशमा चुनाव हुनासाथ जति धेरै सिट एमालेले ल्याउँछ, त्योभन्दा बढी कसैले ल्याउँदैनन् र त्यो सिट ल्याइसकेपछि अहिले एमालेलाई तराई–मधेसविरोधी भन्नेहरू त्यतिखेर नांगिनेछन् र उनीहरू चित खाएर आफूले गरेको अपराधको पश्चात्ताप गर्नुपर्ने नै हुन्छ । त्यसकारणले पश्चात्ताप गर्ने दिन यो चुनावपछि आउँदै छ । यो कुरा जनताले बुझिसकेको हुनाले गर्दा अहिले नेकपा (एमाले) को पक्षमा तराई–मधेसमा लहर छ र दुई नम्बर प्रदेशमा पनि सबैभन्दा ठूलो पार्टीका रूपमा धेरै ठाउँमा जित्ने गरीकन नेकपा विजय यात्रामा अगाडि बढेको छ ।
० राष्ट्रियताको मुद्दा पेचिलो बन्दै गएको छ । तर यो बेला मधेसकेन्द्रित दल भने आयातित एजेन्डामा चल्छन् भन्छन्, तपाईंलाई कस्तो लाग्छ ?
– मलाई दुःख लाग्छ कि कतिपय नेपालकै नेताहरूको संकुचित सोचका कारण आफ्नो मनोकांक्षा पूरा नहुँदा नेपालको संविधान मान्दिनँ, नेपालको ऐनकानुन मान्दिनँ, नेपालमा बसेर म विदेशीको कुरा मात्रै मान्छु भनेर अहिले जसले आफ्ना अभिव्यक्तिहरू दिइरहेका छन्, तिनीहरूले नेपाल र नेपालीको तराई–मधेसको जनताको भावना बुझेकै छैन र उनीहरूले बुझ्ने कोसिस नै गरेका छैनन् । त्यसकारण तिनीहरू तराई–मधेसका नेता नै हुन सक्दैनन् । उनीहरू जनताबाट निर्वाचित हुन नसक्ने भएकाले भाग्नेबाहेक, लुक्नेबाहेक, तर्किनेबाहेक अन्य उपाय केही देखेकै छैनन् ।
० के त्यसो भए जस्तोसुकै अवरोधका बाबजुद निर्वाचन सफल हुन्छ त ?
निर्वाचन कुनै हालतमा पनि सफल हुन्छ । निर्वाचनमा नेकपा (एमाले) पहिलो चरणको निर्वाचनमा जति पद ल्यायो, त्योभन्दा बढी ठाउँमा विजय गरेर नेपाल र नेपालीको समृद्धिका निम्ति स्थानीय तहदेखि नै स्थानीय सरकारदेखि नै नेपाल बनाउने अभियानमा नेकपा (एमाले) लागेको छ । यो अभियानलाई नेपाली जनताले साथ दिनेछन् । साथ पाउन नेकपा (एमाले) जनताको साथमा छ । नेपालीको शिर ठाडो पार्नेछ, नेपालको समृद्धिलाई अगाडि बढाउनेछ । यही आशा र विश्वासको मत नेकपा (एमाले) लाई दिन म आग्रह गर्दछु ।
शान्तराम बिडारीसम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply