ल्हारक्याललाई ‘ठूलै माछो पो पाइयो’ भनेर मजाले छोप्यौं
– पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष, एनेकपा (माओवादी)० न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरूपमा कुरा मिलिसकेको रहेछ । संघीयतामा पनि दुवै पक्ष सहमतिको नजिक रहेछन् । किन कुरा बिग्रियो एकाएक ?
– तपाईंले भने जस्तै स्थिति पनि हो । त्यस दिन (माघ ५ गते) म अब गतिरोध तोड्नुपर्छ, ‘रिजर्भेसन’ राखेर भए पनि अघि बढ्छु भनेर गएको थिएँ । मैले मदन भण्डारीलाई सम्झें । ‘शासकीय स्वरूपमा स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं’ भनेको थिएँ । एमालेले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो । यसबाट म आशावादी पनि थिएँ । उहाँहरूले नमानेपछि त्यसमा ‘नोट अफ डिसेन्ट’ लेखेर अघि बढ्ने मेरो विचार थियो । तर, उहाँहरूले अस्तित्व नै स्वीकार गर्न चाहनुभएन र कुरा बिग्रियो ।
० केपी ओलीले माघ ५ गते बिहान तपाईंसँग कुरा हुँदा ‘चुम्बन गर्न मात्रै बाँकी थियो, अरू सबै मिलिसकेको थियो’ भन्नुभएको छ नि ?
– त्यस्तो पनि थिएन । कुरा केही बाँकी नै थिए । तर, मूल रूपमा धेरै कुरा मिलेका थिए । बडो हार्दिक कुराकानी भएको थियो । तर, पछि उहाँहरू बढी उत्तेजित हुनुभयो ।
० तपाईंको कुरा सुन्दा ‘यहीँनेर मिल्दै मिलेन’ भन्ने ठाउँ कम देखिन्छ । के केपी ओलीसँग दूरी बढेका कारण नै ‘डेडलक’ उत्पन्न भएको हो ?
– नेपालको राजनीतिको एउटा विशेषतालाई पूरै दुनियाँले स्वीकार गरेको छ, प्रश्ांसा गरेको छ । ‘त्यत्रो युद्ध, द्वन्द्वलाई पनि संवादद्वारा शान्ति प्रक्रियामा रूपान्तरण गर्न सक्ने, यत्रा ठूल्ठूला राजनीतिक मुद्दाहरू पनि निर्वाचनद्वारा, संविधानसभाद्वारा निकास दिनसक्ने पार्टी र नेतृत्व’ भनेर राम्रो सन्देश छ । त्यसमाथि अहिले पछिल्लो चरणमा पनि जतिसुकै तिक्तता र तिखो अन्तरविरोध भए पनि सहज ढंगले आपसमा बस्ने, कुरा गर्ने, समस्याको निकास खोज्ने या निरन्तर त्यो प्रक्रिया जारी राख्ने रूपमा पनि नेपालका पार्टी र नेताहरू परिचित छन् । पछिल्लो पटक नेपाली कांग्रेसमा नेतृत्व नयाँ आयो । नेकपा (एमाले) मा पनि नेतृत्व नयाँ आयो । हिजो युद्ध, द्वन्द्वका बेलामा शान्ति प्रक्रियाका लागि के कस्तो मिहिनेत गर्नुपरेको थियो भन्ने कुरा जस्ताको तस्तै बुझ्न नयाँलाई गाह्रै हुँदोरहेछ । आफंैले भोग्नु र अरूबाट सुन्नु अलिक फरक हँुदोरहेछ । तैपनि, मैले शान्ति प्रक्रियाको एउटा हस्ताक्षरकर्ता हुनुका नाताले ओलीजी र सुशीलजीसँग लगातारै वार्ता, संवादको प्रक्रियामा बस्ने, मतभेद भए पनि त्यसलाई सुल्झाउने प्रयत्न गर्ने गर्दै आएको थिएँ ।
० कुरा कहाँनेर भड्कियो त ?
– माघ ५ गतेको दिनभरिको कुरा हेर्नुभयो भने पनि मैले आफ्नो तर्फबाट वार्ता–संवादलाई निरन्तरता दिएकै थिएँ । त्यही दिन बिहान पनि सुशीलजी र ओलीजीसँग अलग्गै कुराकानी गरेर समस्या समाधान गर्न खोजेकै हो । तर, दुर्भाग्य के भइदियो भने, उहाँहरूले ५ गतेपछि ‘अब वार्ता नगर्ने’ भन्ने निर्णय गर्नुभयो । मैले सभामुखलाई ‘सहमति नजिक पुगे जस्तो अवस्था देखिन्छ, त्यसैले १० दिन जति संविधानसभा स्थगित गर्नुस्, अनि वार्ता गर्दा टुंगिन्छ’ भनेँ । सभामुखले ‘त्यसो भए सुशीलजी र ओलीजीसँग एक पटक कुरा गर्नुपर्यो’ भन्नुभयो । ‘हामी तयार छौं’ मैले भने । म, विजय गच्छदार र उपेन्द्र यादव गएका थियौं । एकछिनपछि उहाँले ‘उहाँहरूले त तपार्इंहरूसँग वार्ता नगर्ने भन्नुभयो’ भन्नुभयो । वार्ता बहिष्कारको सुरुआत चाहिँ ओलीजी र सुशीलजीले नै गर्नुभएको हो ।
० विषयलाई मैले अझै साँघुरो पार्न चाहेको– व्यक्तिगत रूपमा केपी ओलीसँग तपार्इंको तिक्तता बढेका कारण यो समस्या आएजस्तो लाग्दैन ?
– रूपमा त त्यस्तो देखिएको छ । तर, फेरि पनि मूल कुरा दृष्टिकोणकै हो । केही सैद्धान्तिक प्रश्नमा उहाँसँग कुरा मिलेको छैन । हिजो एमालेले लिएका नीतिहरूभन्दा उहाँ पछाडि फर्किनुभएको छ ।
० तपाईंहरू एमालेप्रति बढी नै आक्रामक किन हुनुहुन्छ ?
– हामी छैनौं । हामी त वामपन्थी शक्तिका नाताले एमालेसँग परिवर्तनका मुद्दामा एक भएर जान चाहन्छौं । तर, एमाले आफ्नै घोषणापत्रबाट पछाडि फर्केको छ । चुनावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा लिएर गयो तर अहिले कांग्रेसको प्रस्तावमा सहमत भयो । चुनावमा जाँदा घोषणापत्रमा बहुपहिचानको कुरा लिएर गयो तर अहिले कांग्रेसले जे भन्छ, त्यसैमा सहमत भयो । यसबाट एमाले आफ्नै अडान र एजेन्डाबाट पछि फर्किएको छ । हामीले यही कुरा भनिरहेका छौं ।
० सत्तापक्षले ‘दुई तिहाइको प्रक्रियाबाट बनाउँछौं’ भनेर प्रक्रिया सुरु गरेको करिब एक महिना भयो, थप प्रक्रिया अगाडि बढेको छैन । तपाईंहरूले ‘आन्दोलन’ भनिरहनुभएको छ । अब दुवै पक्ष थाकुन्जेल कुर्नुपर्यो जनताले ?
– नियति त तपार्इंले भनेजस्तै देखिन थाल्यो तर सचेत प्रयत्न गर्यो भने थाकिराख्नु पर्दैन । हामी शान्ति सम्झौताबाट आएका हौं, संविधानसभाबाट पनि त्यसरी नै आएका हौं, अघिल्लो पटक एउटा पार्टी ठूलो थियो, एउटाको बहुमत थियो, अहिले अर्काको भएको छ । यसलाई सहज रूपमा लिने, शान्ति सम्झौता र अरू सहमति अनुसार नै जाने भन्यो भने तुरुन्तै समस्या हल हुन्छ । तर, यो संविधानसभालाई शान्ति सम्झौता, ठूलो क्रान्ति, आन्दोलन र सहमतिको परिणाम नठान्ने हो भने राजनीतिक द्वन्द्वको स्थिति रहिराख्छ ।
० दुवै पक्षका अभिव्यक्तिहरू झन् चर्को देखिन थाले । अहिले डा.बाबुराम भट्टराईले ‘०४७ को संविधानको गाता फेर्न लागेको, प्रतिगामी’ भन्ने जस्ता शब्दहरू प्रयोग गर्न थाल्नुभएको छ । यसले त सहमति गर्नलाई अप्ठ्यारो पार्दैन र ?
– समानुपातिक, समावेशी वा पहिचान, संघीयता, राज्यको पुन:संरचनासँग सम्बन्धित विषयमा कांग्रेस र एमालेले बडो अपारदर्शी तरिकाले नौबुँदे प्रस्तुत गरे । मैले माथि पनि भनेँ, एमालेले जे भनेर मत मागेको थियो, त्यो पनि त्यहाँ छैन । बरु, कांग्रेसले जे भनेर मत मागेको थियो, त्यतातिर एमाले गएजस्तो देखियो । त्यहाँबाट प्रतिगामी दिशातर्फ जाने खतरा पैदा भयो भन्ने त हामीलाई लागेको हो तर प्रतिगामी भई नै सक्यो भन्ने चाहिँ होइन । एमाओवादी र अरू पार्टीहरूलाई माइनस गर्ने जुन तरिका अपनाइयो, त्यो चाहिँ बेठीक हो भन्ने अहिले पनि हामीलाई लाग्छ । त्यसभन्दा अगाडि कति राम्रो तरिकाले छलफल भइराखेको थियो, कुरा मिल्दै पनि गइरहेको थियो । दुई–चार महिना ढिला भएर पनि त केही बिग्रिहाल्दैनथ्यो । अहिले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जस्ता चीज उल्ट्याउन चाहिँ कसैले सकिहाल्ने बेला भएको छैन ।
० मेरो प्रश्न यहीँनेर हो, जब तपाईंहरूले नै उठाएका यी कुरा स्थापित हँुदै छन् भने अरू कुरामा चित्त बुझेन भन्दैमा प्रतिगमनको आरोप लगाउन मिल्ला र ?
– मैले अघि पनि भनें, जे–जे कुरामा हामीले अलिकति प्रगतिशील, अग्रगामी भन्ठानेको हो, त्यो नौबुँदेमा छैन । निर्वाचन प्रणाली मिश्रितमा जाने खालका केही कुरा त छन् । तर, यो कुरा पनि मौखिक छ, कहीँ पनि लिखित छैन । लिखित प्रस्तावमा अहिले पनि प्रत्यक्ष निर्वाचन प्रणाली मात्र छ, प्रतिनिधिसभालाई । अर्को कुरा, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्री भन्नेमा सबैको सहमति भइसकेको थियो । तर, त्यहाँबाट पनि पछि हट्ने काम भयो । नौबुँदेमा संवैधानिक अदालतको कुरा पनि छैन । अदालतको मामिलामा पनि पहिले भएको सहमति र समझदारीबाट पछि हट्ने काम भयो । पहिचानमा आधारित संघीयता हामी सबैले स्वीकारेको कुरा हो, पहिचानका पाँच आधार भनेर । तर, उहाँहरूले पेस गरेको प्रस्तावमा त्यो पनि छुटाइयो । पहिचान झल्किन दिइएन । यसरी हेर्दा, दिशा चाहिँ प्रतिगमनतिर गयो । यद्यपि, ‘उहाँहरूले अहिले भर्खरै गणतन्त्र नै उल्ट्याउन खोज्नुभयो’ भन्ने हाम्रो आरोप होइन । यदि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता सबैको विरोध गरेको भए त हामीले ‘संविधानसभा सदाका लागि छाड्यौं, द्वन्द्वमा गइहाल्यौं’ भन्नुपथ्र्याे । तर, त्यसो भनेका छैनौं । त्यसको अर्थ, त्यहाँ ठाउँ छ भन्ने हो ।
० अस्ति तपाईं यस्तै भन्दै काठमाडौं बाहिर जानुभएको थियो, छिट्टै फर्कंदा आशा पनि पलाएको थियो तर….
– अहिले जनपरिचालन गर्न हामीले कार्यविभाजन गरेका छौं । बाबुरामजीलाई पश्चिम, मलाई मध्य र नारायाणकाजीजीलाई पूर्वी क्षेत्र पर्यो । काठमाडांै उपत्यका जसलाई हामी ‘नेवा राज्य’ भन्छौं, यसको वरिपरिको ताम्सालिङ, भोजपुरा (बारा, पर्सा, रौतहट) र उता सप्तरीसम्म मिथिला गरी चार वटा राज्य मलाई परेको छ । तलका दुईटा राज्यको सकेर केन्द्रको मध्य यही भएकाले काठमाडांै आएको हुँ । गएको गएकै गर्ने भन्ने होइन ।
० संविधानसभा अनिश्चितकालसम्मका लागि स्थगित भएको छ, यसलाई उपलब्धिमूलक बनाउनका लागि अब के कदम चाल्नुहुन्छ त ?
– यसलाई हामीले ‘सकारात्मक’ भनेका छौं । संविधानसभा अनिश्चितकालसम्म बन्द हुनुले सहमतिको एउटा वातावरण बनाउनेतिर संकेत गरेकै छ । प्रधानमन्त्रीजी वा एमालेका नेता साथीहरूलाई हाम्रो भनाइ के छ भने ‘अब शान्ति सम्झौताका सहयात्रीहरूको सहमतिबाटै संविधान बनाइन्छ, तपार्इंहरू आउनूस्’ भन्ने आधिकारिक र प्रामाणिक आधार हामीलाई चाहिन्छ । त्यसो भयो भने मलाई लाग्छ, चीज फेरि अगाडि बढ्छ ।
० प्रधानमन्त्रीले यहीँ (घरमै) आएर तपाईंलाई अनुरोध गरिसक्नुभएको छ…
– यहाँ आएर अनुरोध त गर्नुभयो तर उहाँले कुनै पनि कुरामा प्रतिबद्धता जनाउनुभएन । हिजो कोर्स अलिकति गलत दिशातिर गयो, त्यसलाई सच्याइन्छ भन्ने खालको कुनै कुरा गर्नुभएन । मैले उहाँलाई भनेको कुरा तपाईंरूरुलाई सुनाउँछु । तपाईंहरूसँग तरबार (बहुमत) त छ । कसैले नभने पनि छ । त्यो तरबारलाई हातमा लिएर होइन, म्यानमा राखेर आउनूस्, हामी वार्ता गर्न तयार छौं । उहाँले ‘म त्यो सक्तिनँ’ भन्नुभयो । अप्ठ्यारो त्यही परेको हो ।
० एउटा प्रश्न सोध्न छुटाइयो भने अन्तर्वार्ता नै अपूरो होला– ल्हारक्याल लामा चाहिँ अहिले कहाँबाट आइपुगे ?
– खै, त्यो त तपाईंहरूले थाहा पाउने कुरा हो । मलाईभन्दा बरु तपाईंहरूलाई सोध्न मन लागेको छ । तपार्इंहरू (एमाले)ले लगेर सभासद् बनाउनुभयो, ठूलै मान्छे रहेछ भन्ने पारिदिनुभयो । फेरि मन्त्री बनाउनुभयो । ‘ठूलै माछो पो पाइयो’ भनेर हामीले मजाले छोप्यौं । अहिले बौद्धधर्मावलम्बीबाट हाम्रो कोही पनि परेनन् । पहिले हामीले भिक्षु आनन्दलाई बनाएका थियौं । ल्हारक्याल बुद्धिज्ममा पीएचडी पनि गरेको, त्यो समुदायमा स्थापित नै हो भनेर बनाइएको हो । केही दिन पहिले होटल र्याडिसनमा उनीहरूको एउटा कार्यक्रम थियो । त्यहाँ उनको हाउभाउ हेर्दा मलाई र बाबुुरामजीलाई पनि यिनको यो समुदायमा राम्रै प्रभाव रहेछ भन्ने परेपछि हामीले राखेका हौं । तर, यो झन्डै–झन्डै भूतले खाजा खाने बेलाजस्तो परेछ । मैले अस्ति पार्टीको एउटा भेलामा पनि भनें, ‘उनको विवादास्पद भन्ने कुराको प्रमाणित भयो भने कुनै पनि बेला कारबाही गर्न कुनै कठिनाइ छैन ।’
० बाहिर आफ्नै कार्यकर्ताबाट आएका विरोधहरू हेर्दा गलत निर्णय गरिएछ जस्तो लाग्दैन ?
– समय ठीक भएन भन्ने त लागेको छ । एमालेबाट विद्रोह गरेर आउनेबित्तिकै हामीले उहाँलाई समानुपातिकको सूचीमा राखेका थियौं । समानुपातिक सूचीमा राखेपछि उहाँ सभासद् हुन योग्य त हुनुभयो नि † कसैले त्यतिबेला एक शब्द उठाएनन् । पार्टीमा पनि एमालेबाट आउनासाथ केन्द्रीय सल्लाहकारमा राख्यौं । त्यतिबेला पनि कसैको विरोध भएन । अनि हामीले के गरी थाहा पाउने कि यत्रो विरोध हुन्छ भन्ने कुरा ।
० केपी ओलीले १० अर्बको कुरा उठाएपछि तपाईंहरूलाई चोट पर्यो, कडा प्रतिक्रिया पनि दिनुभयो । तर, एक जना व्यापारी अजय सुमार्गीको बैंकमा अड्केको पैसासँग तपाईंको चिन्ता छ भन्ने सुनिन्छ नि ?
– यो बिल्कुल झूटो कुरा हो, सयका सय । संसारको कुनै बैंक, कुनै अर्थशास्त्री र कुनै विद्वानले प्रमाणित गर्न सक्दैन । मसँग यसको कुनै सम्बन्ध छँदा पनि छैन । त्यहाँ चार पैसा मेरो छँदा पनि छैन । तर, बजारमा यति ठूलो हल्ला बनाइयो, वास्तवमा माओवादी नेतृत्वले नेपालको शान्ति प्रक्रिया अगाडि बढाउनका निम्ति खेलेको भूमिकाका कारण माओवादी जसरी स्थापित भयो, त्यसलाई बदनाम गर्ने नियोजित षड्यन्त्रअन्तर्गत यो भयो भन्ने मलाई लाग्छ । म चुनौती दिन सक्छु, कहीँ कतै चार पैसा माओवादीको या प्रचण्डको देखियो भने म जस्तोसुकै सजाय भोग्न पनि तयार छु ।
० अजय सुमार्गीसँग तपाईंको सम्बन्ध के हो त ?
– यो कुरा पक्का हो कि अजय सुमार्गीलाई मैले शान्ति प्रक्रियामा आएपछि चिनेको हुँ । त्यसभन्दा पहिले मेरो कुनै परिचय थिएन । गिरिजाबाबुले नै मलाई चिनाउनुभएको हो । त्यतिबेला कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री हुनुभयो, उहाँसँग सम्पर्क भएपछि मैले चिनेको हुँ । चिनेपछि, रूपचन्द्र विष्टसँगको मानिस भनिसकेपछि समान्यत: हामीले राम्रो सोचेर उनको राम्रो हुन्छ भने होस् भनेर त सोचियो नै । तर, त्यसभन्दा बाहेक केही पनि छैन । तर, मान्छेहरूले ज्यादती नै गरे । मलाई बदनाम गर्ने वर्गीय षड्यन्त्रबाहेक यो कुरामा कुनै पनि सत्यता छैन ।
० ओलीले उठाएको १० अर्ब त्यसैसँग……
– जहाँसम्म केपी ओलीले अस्ति ‘३ अर्ब दिँदा संसद्को ४० दिनको आन्दोलन रोके अब १० अर्ब दियो भने फेरि रोक्छन्’ भन्नुभयो, यो साह्रै तल उत्रेर भनिएको कुरा थियो । त्यो ३ अर्ब हामीले लिएका थिएनौं । सहिद, बेपत्ता परिवारका लागि दिइएको थियो । ओलीजीले त्यसो भनेपछि पार्टीको केन्द्रीय कमिटीमा पनि छलफल भयो । यत्रो नेताले ‘यस्तो भाषा किन प्रयोग गरेको ?’ भन्ने भयो । मैले पत्रकार सम्मेलनमा ‘यो प्रश्नको जवाफ दिन मलाई लाज लागेको छ’ भनेँ । १९ दलको बैठकमा आइसकेपछि यो मानसिक सन्तुलन बिग्रेकाले भन्ने कुरा हो, होइन भने किन भनियो छानबिन होस् भन्ने कुरा भयो । यो कुराको ‘कडा ढंगले जवाफ दिनुपर्छ’ भनियो । त्यतिन्जेलसम्म मलाई कैयौं मानिसले ‘तपाईंले ओलीले त्यस्तो भन्दा पनि कुनै जवाफ नै दिनुभएन’ भनेका थिए । मैले दिएको जवाफ पुगेनछ भन्ने मलाई परेको थियो । १९ दलको बैठकमा एक दुई जना साथीले कडा ढंगले नै मस्यौदा गरेर आउनुभयो । त्यो हामीले माइन्यूटमा गरेको निर्णय भने होइन । शब्द प्रयोगमा ओलीजीले अलि बढी सोच्नुपर्छ भन्ने मेरो भनाइ छ ।
० यस्ता कुराले तपार्इंहरूको बीचमा दूरी बढाउन भूमिका खेलिरहन्छ हैन र ?
– अलिकति तिक्तता बढाइराखेको छ । उहाँले एक थोक भन्नुहुन्छ, मलाई एउटा प्रतिक्रिया हुन्छ । फेरि मैले भन्छु, उहाँलाई अर्को प्रतिक्रिया हुन्छ । यस्तो त भएकै छ । तर, सँगै बसिसकेपछि हामी त्यसको समीक्षा पनि गर्छौं । फेरि उहाँको पनि एउटा स्वभाव छ, उस्तै भइहाल्छ ।
० पहिला लिंग खुलेन भनेर हेप्नुभयो, अहिले कडा भयो भनेर आपत्ति जनाउनुहुन्छ ?
त्यस्तो पनि होइन । उहाँलाई परम्परागत, सम्भ्रान्त वर्गको नेता हुन्छु, कांग्रेसलाई पनि क्रस गर्छु भन्ने परेको छ । त्यही भएर उहाँले आफ्नै एजेन्डा पनि छोड्दै जानुभएको छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply