विप्लवले त्यस्तो उत्ताउलो काम नगर्लान्
मुमाराम खनाल, वामपन्थी विश्लेषक० नेकपा–माओवादीको विभाजनलाई कसरी लिनुभएको छ, यो स्वाभाविक थियो कि अस्वाभाविक ?
– अस्वाभाविक हो भन्ने मलाई लाग्दैन । जुन पार्टीले जुन मुद्दाहरूलाई लिएर आफूलाई संगठित गरेको हुन्छ, ती मुद्दाहरूबाट त्यो पार्टी बरालिन्छ, पर जान्छ, त्यसमा विद्रोह आउनु स्वाभाविक हो । माओवादीमा एक पटक होइन, त्यस्तो विग्रह सुरु भएको चार–पाँच पटक भइसक्यो । जनयुद्ध सञ्चालन गरेर सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत नयाँ जनवादी क्रान्ति गर्ने र सशस्त्र संघर्षमार्फत् त्यो उद्देश्य पूरा गर्ने भनेर त्यो शक्ति संगठित भएको थियो । तर, त्यसबाट भिन्न परिस्थितिमा गएपछि यो विग्रह आउनु स्वाभाविक हो ।
० फुटको यो विप्लव नेतृत्वको शक्ति फेरि बरालिने सम्भावना छ कि छैन ?
– झन् बढी हुन्छ । पहिलो कुरा त यो माओवादीको मुख्य नेतृत्वको समस्या हो । शान्ति प्रक्रियामा आइसकेपछि उनीहरूले आफ्नो सशस्त्र संघर्ष छाडेर शान्ति प्रक्रियामा किन आइयो भन्ने कुरालाई प्रस्ट पार्नुपर्दथ्यो । अन्तर्राष्ट्रिय अनुभव पनि थुप्रै थिए । दक्षिण एसियाकै अनुभवहरू पनि थिए । हाम्रै देशका अनुभवहरू पनि थिए । त्यो अनुभवमा टेकेर माओवादी नेतृत्वले दुईटा कुरा गर्नु हुँदैनथ्यो । फेरि विद्रोहको बाटो, सशस्त्र संघर्षको बाटो जाने हो भनेर कार्यकर्तालाई अल्मल्याउनु हुँदैनथ्यो । उसले प्रस्ट भन्न सक्नुपर्दथ्यो– अन्तर्राष्ट्रिय अनुभवका हिसाबले नेपालको कम्युनिस्ट आन्दोलनको अनुभवका हिसाबले अब सशस्त्र संघर्षको गुञ्जायस छैन । अब पार्टीले शान्तिपूर्ण ढंगमा संविधान निर्माणमार्फत् नेपालको वाम आन्दोलनमा आफूलाई श्रेष्ठ सावित गर्नेछ भनेर सैद्धान्तिक रूपमा प्रस्ट पारेको भए समस्या हुँदैनथ्यो ।
० मुख्य नेतृत्वको चरित्र ढुलमुले भएर समस्या देखिएको हो ?
– हो । कार्यकर्तालाई फेरि पनि हामीले हिजोकै जस्तो जनयुद्ध गर्ने हो, अहिले त यो ट्याक्टिसको रूपमा मात्र अपनाएका हौं भन्ने एकातिर, अर्कातिर अन्तर्राष्ट्रिय समुदाय र संसदीय राजनीतिक दलका नेताहरूलाई ‘हामी शान्तिपूर्ण रूपमै आएको हो, हामी कहिल्यै हतियार उठाउँदैनौं, हामीलाई विश्वास गर्नुस्’ भन्ने । माओवादीको नेतृत्वले हाम्रो कार्यनीति के हो, हामी कता जाँदैछौं भन्ने नै थाहा पाएन । जसको भविष्य अन्धकार हुन्छ त्यसलाई अतित प्रिय लाग्छ ।
० हामी सशस्त्र संघर्षमै जान्छौं भनेर विप्लवले एकोहोरो चरित्र नै देखाएछन् त, त्यो कति फलदायी होला ?
– फलदायी हुँदैन । सन् १९७० यताका यस्ता खालका सबै आन्दोलनका नियति एउटा मात्रै भएर दोहोरिएको छ । या त सत्ताको भीषण कोपभाजनमा परेर समाप्त भएको छ, या त त्यही देशका विभिन्न प्रजातान्त्रिक मोडलहरूसँग समझदारी गर्दै अगाडि आएको छ । यी दुईभन्दा भिन्न परिणाम कहीँ पनि देखिएको छैन । कम्बोडियाको क्रान्तिपछि त्यस्तो खालको क्रान्ति सफल भएको देखेका छैनौं ।
० त्यसो भए नेपालमा संघर्षको आवश्यकता नै समाप्त भएको हो त ?
– पुँजीवादसँगको संघर्ष आवश्यक छ । नेपालका वामपन्थीहरूमा दुईखालका अतिवादी चिन्तन हावी छन् । एउटाले सशस्त्र संघर्षबाहेक संघर्षको रूप नै हुँदैन भन्ने । अर्कोथरिले पुँजीवादसँग संघर्ष गर्ने नाममा सम्झौता गर्दै जाने । यी दुई प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलनलाई बचाउनु जरुरी छ ।
० त्यसो भए अहिले विप्लवले जुन यात्रा तय गरेका छन्, त्यो आफैं सिद्धिने यात्रा हो ?
– हाम्रो जस्तो देशमा हिंसाको ठूलो ‘स्कोप’ रहेछ भन्ने कुरा यसभन्दा अघिका आन्दोलनबाट थाहा पायौं । आफ्नो उद्देश्यका हिसाबले त विफल हुन्छ तर यसलाई एउटा शक्तिमा बदल्न त्यस्ता आन्दोलनहरू सफल हुँदारहेछन् ।
० एउटा संघर्ष त जनताले भोगिसके, हिजो प्रचण्डले आर्जन गरेको जस्तो शक्ति अब विप्लवले आर्जन गर्ने सम्भावना रहन्छ र ?
– त्यस्तो हुन पनि सक्छ । सत्ताधारीहरूले कसरी आफूलाई परिमार्जित गर्दै लैजान्छन् भन्ने कुरामा यो भर पर्छ । अहिले पनि नेपाली जनताको समस्या जस्ताको तस्तै छ ।
० त्यो आन्दोलनबाट ती समस्याको समाधान सम्भव छ र ?
– त्यो आन्दोलनबाट पनि नेपाली जनताका तमासा समस्याको समाधान सम्भव छैन । तर, त्यसलाई भजाएर एउटा पार्टी वा एउटा नेतालाई अलिक शक्तिशाली बनाउन र मूलधारको राजनीतिमा अलिक बार्गेनिङ गर्ने हैसियतको बनाउने सफलता चाहिँ मिल्दो रहेछ । प्रचण्डको त्यो कुराबाट आकर्षित भएर अहिले विप्लवसँग जाने पनि होलान् । अथवा, यसरी नै क्रान्ति सम्भव हुन्छ भन्ने विश्वास पनि होला ।
० तपाईंले देखेको त्यहाँभित्रको चरित्र चाहिँ कुन हो ? प्रचण्डबाट आकर्षित चरित्र कि क्रान्तिप्रतिको विश्वास ?
– मैले त प्रचण्ड बन्ने लालसा नै देख्छु । यति ठूलो आन्दोलनले अहिले जुन परिणाम दिएको छ, त्यो परिणामलाई बेवास्ता गरेर त्यही प्रकारको आन्दोलनको पुनरावृत्तिको कुरा कसैले गर्छ भने त्यो भन्दा ठूलो अवसरवाद केही पनि हुँदैन । त्यो अवसरवादको परिणाम अहिले आएको जति पनि आउँदैन । अहिले विप्लवहरूले यही नै गर्छौं भनेर भनेका छैनन् । सशस्त्र संघर्ष, सर्वहारा वर्गको अधिनायकत्व, नयाँ जनवादी क्रान्ति भनेको कम्युनिस्ट साहित्य हो । चिनियाँ साहित्यबाट प्रभावित भएको जमातले त्यो साहित्य त छाडेको छैन तर त्यसलाई कर्ममा रूपान्तरण गर्छन् कि गर्दैनन् भन्ने सवालमा मलाई लाग्छ विप्लव पनि अनुभवले खारिएको नेता भएकाले त्यस्तो खालको उत्ताउलो र केटाकेटी काम गर्दैनन् भन्ने विश्वास गरौं ।
० गरेछन् भने नि ?
– गरेछन् भने त्यसले नेपाली समाजमा सामाजिक विध्वंसलाई त जन्म देला तर सामाजिक विध्वंसको प्रतिफल नकारात्मक नै हुनेछ ।
० विप्लवको पछाडिको हुल हेर्दा पनि त्यति धेरै आकर्षित भए जस्तो देखिँदैन होइन ?
– एउटै पुस्ताले उस्तै खालको आन्दोलन गर्छु भन्दा कसैको पनि आकर्षण रहँदैन । माओवादी आन्दोलनमा नलागेको एउटा पुस्ता त्यसमा लाग्न सक्छ । माओवादी आन्दोलन स्थगित भएको पनि १० वर्ष पुग्न थाल्यो । यो १० वर्षको दौरानमा त्यतिबेला १० वर्षका मान्छे २० वर्षका मान्छे १८ वर्षका भए । आन्दोलनलाई परोक्ष रूपमा हेर्ने त्यो पुस्ताचाहिँ आकर्षित रहला तर हिजो लडेको पुस्ता चाहिँ यो आन्दोलनप्रति आकर्षित रहँदैन ।
० हिजो सुरुमा त्यो आन्दोलनमा लागेका तर बीचमा छाडेका केही मान्छे जाँदैनन् भन्ने पनि सुनिन्छ नि ?
– यस्तो प्रकारको आन्दोलनको उद्घोष हुनेबित्तिकै दुईथरि चिजले काम गर्छ । एउटा, अवसरवादले काम गर्छ । त्यसबाट अवसर लिने जमात आकर्षित हुन सक्छ । दोस्रो, सशस्त्र आन्दोलनसँग विश्वास गर्नेहरू पनि आकर्षित हुन्छन् । विभिन्न उद्देश्यले आकर्षित भएकाहरूलाई व्यवस्थापन गर्न त्यस्तो खालको आन्दोलन सफल रहँदैन । केही मान्छे आकर्षित हुँदैमा वा नहुँदैमा त्यो आन्दोलनको सफलता वा असफलताको मापन हुँदैन । माओवादी आन्दोलनमा थुप्रै असन्तुष्टि छन् । अभिजात वर्गमा रूपान्तरण भएको नेतृत्वपंक्तिप्रति कार्यकर्तामा आक्रोश छ । त्यो आक्रोशको अभिव्यक्ति यस्तो खालको आन्दोलनबाट बदला लिने ढंगको हुनुहुँदैन । एउटा व्यक्ति वा समूहले बदला लिनु स्वाभाविकै होला तर त्यो बदलवाको भावले सामाजिक रूपान्तरणको प्रक्रियामा योगदान चाहिँ गर्दैन ।
० अहिले एनेकपा (माओवादी) शान्ति संविधानको बाटोमा छ, विप्लवले सशस्त्र संघर्षको बाटो रोजेका छन्, वैद्य माओवादी चाहिँ यता न उताको हुँदैछ हैन ?
– उहाँहरूका लागि बाटो छैन । उहाँहरू विद्रोहको लाइन भनेरै आउनुभएको हो । त्यो लाइन असफल भयो । त्यही कारण त्यहाँ विद्रोह पैदा भएको हो । उहाँहरूको बाटो भनेको एमाओवादीसँगको एकता नै हो । त्योभन्दा भिन्न बीचको बाटो छैन ।
० एमाओवादीले संविधानसभा छाडे मात्र एकता हुन्छ भनेका छन् वैद्यले, यो अवस्थामा एकता चाहिँ कसरी सम्भव होला ?
– संविधानसभा पनि छाड्ने, सडक संघर्षलाई संयोजन गर्न पनि नसक्ने भयो भने त्यो झन् उपलब्धिविहीन हुन्छ । अहिले संघर्षको सबैभन्दा घनीभूत थलो भनेको संविधानसभा नै हो । संविधानसभा बाहिर गएर कसैले पनि नेपाली जनताको आकांक्षा र चाहनालाई पनि पूर्ति गर्दैनन् ।
० हिजो बाबुराम र विप्लवकै कारण एकता नभएको कुरा बाहिर आएको थियो, अहिले बाबुराम त्यही भित्र रहेको अवस्थामा वैद्यसँग एकता सम्भव होला ?
– कुनै एक जना बाधक भएर एकता हुने वा नहुने होइन । मुख्य कुरा एजेन्डा हो । एजेन्डामा कुरा नमिलेको चाहिँ सत्य हो । हिजो फुटेका हुन्, पहिले एउटै पार्टी भएकाले रणनीतिक कुरा मिल्छन् । कार्यनीतिक कुरा नमिलेर मात्र छुट्टिनुभएको हो । कार्यनीतिक प्रश्नमा तत्काल भोलिबाट के गर्ने भन्ने कुरा हो ।
० पद, संगठनसँग जोडिएका कुरा पनि होलान् नि ?
– त्यो पनि छ । पार्टीका पदहरू हुन्छन् । सबैलाई भूमिका दिनसक्दैन पार्टीले । त्यहाँ पक्षपात हुन्छ । नेतृत्व पक्षपाती छ । यस्तो संसदीय व्यवस्थामा खुला राजनीतिमा आइसकेपछि सरकारमा जाने हैसियत पार्टीको बनेपछि राजनीतिक पदहरू नगदमा रूपान्तरण हुन्छन् । त्यसकारण पनि असन्तुष्टिहरू बढ्दै जान्छन्, अनि भूमिकाको खोजी हुन्छ । न्याय, अन्यायको कुरा हुन्छ । सबैले आफ्नो योगदानलाई बढी देख्छ । यी सबैको समष्टिको रूपमा एमाओवादीमा विग्रह उत्पन्न भएको हो । यसलाई संयोजन र व्यवस्थापन गर्ने हैसियतमा नेतृत्वमा नरहेका कारण एउटा तप्का बाहिरियो । अब त्यसलाई एकताबद्ध बनाउन फेरि पनि पदीय भागबन्डा, तात्कालिक कार्यनीतिको कुरा आउँछ । एउटा शक्ति संविधानसभाभित्रै छ, अर्का बाहिर छ । सबैभन्दा ठूलो बाधक त त्यही भइहाल्यो ।
० त्यसो भए यो संविधानसभा छउन्जेल एकता सम्भव छैन ?
– यो संविधानसभा रहुञ्जेल एकता धेरै सम्भव रहन्न । एकथरिले भित्र आइज भन्छ अर्कोथरिले बाहिर आइज भन्छ । यो संविधानसभाले संविधान जारी गरिसकेपछि मात्र त्यो एकता सम्भव छ ।
० संविधान निर्माणको गतिरोध अझै हटेको छैन, बाधक कसलाई देख्नुभएको छ ?
– आफ्नो राजनीतिक लाइनलाई कसरी स्थापित गर्ने भन्ने कोणबाट मात्र यी विवादहरूलाई विवादको रूपमा देखाइएको छ । यथार्थमा एमाओवादीको पनि कुनै विवाद छ जस्तो लाग्दैन । संघीयतामा ७ बाट ८ वटा प्रदेश बनाउनु कुनै क्रान्तिकारिताको परिचायक होइन ।, मूलत: उहाँहरूले एक दुईवटा जातीय पहिचान झल्कने प्रदेशको चाहना राख्नुभएको छ । वर्गीय मुद्दा छाडिसकेपछि सामाजिक विविधताका मुद्दाहरूमा हात हाल्नुभएको हो । किनकि, उहाँहरूलाई राजनीति गर्न अरू मुद्दा बाँकी रहेनन् ।
० तर, जातीय पहिचानको गलत मुद्दामा हात हाल्नुभयो होइन ?
– हो, त्यसको एउटा परिणाम भोगी पनि सक्नुभयो । नेपाल असाध्यै धेरै जातीय विविधताले भरिएको मुलुक हो । यस्तो मुलुकमा एकल जातीय पहिचानको संघीयता धेरै विवादित हुन जान्छ । त्यो असाध्यै राम्रो पनि हुनसक्ला । तर, त्यस्तो जोखिमपूर्ण अभ्यास गर्ने कि नगर्ने भन्ने प्रश्न हो ।
० अहिले फेरि संविधान निर्माणमा सहमति जुटाउन दलहरू जुर्मुराएका छन्, कति सार्थक होला ?
– सहमति त भइसकेको छ । यसपछिको ‘पावर सेयरिङ’ कसरी गर्ने भन्नेमा बढी केन्द्रित छ । तर, एकखालको सहमति बनिसकेको छ । संघीयताको मामिला अनुसूचीमा राखेर वा प्रदेश सभालाई जिम्मा दिएर जाने गरी सहमति भएको हुनसक्छ । वा, संख्या र नामकरण नगरी संघीयतामा जाने प्रारूप तयार होला ।
० शासकीय स्वरूपमा पनि त मतभिन्नता छ नि ?
– संघीयतामा केही लचकता हुने हो भने संसदीय अभ्यासलाई नै अगाडि बढाउने हिसाबले सबै एक ठाउँमा देखिएका छन् । यसमा धेरै पृथक् भएका छन् । एउटा ‘बटमलाइन’ खडा गर्न कृत्रिम प्रकारको असमझदारी बनाइएको मात्र हो ।
० माघ ८ मा संविधान आउँछ त ?
– माघ ८ मा त आउँदैन । दुई–तीन महिना ढिला होला । वैशाखसम्म आउला ।
० आउन चाहिँ आउँछ ?
– आउँछ । माओवादी पनि यो संविधानभन्दा बाहिर जानसक्ने सम्भावना छैन । कि विप्लवको लाइनमा जानुपर्यो । अरू राजनीतिक दललाई पनि माओवादी र मधेसलाई बाहिर राखेर संविधान जारी गर्न सक्ने परिस्थिति नै छैन । किनभने, यो सम्पूर्ण प्रक्रिया माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनकै लागि भएको हो । त्यसकारण दलहरू सहमतिमा जान्छन् । अहिले जुन रस्साकस्सी देखिएको छ, त्यो अन्तिममा दबाब सिर्जना गर्दा देखिएको हो । दबाब सिर्जना गर्न भनेको अन्तिममै हो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply