संविधान संशोधनपछि मधेस विस्तारै सहज बन्दैछ
रामचन्द्र यादव सांसद, नेकपा (एमाले)० तपाई मधेसबाट प्रतिनिधित्व गर्नेे जनप्रतिनिधि, तपाईं आफू तराई–मधेसमा जाने अवस्था अहिले छ कि छैन ?
– मलाई यो प्रश्नको जवाफ दिन अप्ठेरो लागिरहेको छ । म दसैंमा पनि गएको थिएँ, सात दिन बसेर आएँ । आन्दोलनको केन्द्र मानिने लहानमै तीन दिन बसें । पुसको तेस्रो साता गाईघाटमा अञ्चलस्तरीय कार्यकर्ता भेला थियो, त्यहाँ पनि पुगें । केही दिन आफ्नो निर्वाचन क्षेत्रमा पनि बिताएँ । जान सक्ने अवस्था नै थिएन भने म कसरी गएँ ?
० बाहिर प्रचार गरिए जस्तो अन्य दलका नेताहरूका लागि असुरक्षित अवस्था छैन त्यहाँ ?
–असुरक्षित अवस्था छ । त्यहाँ व्यक्तिपिच्छे असन्तुष्टिहरू छन् । हाम्रै पार्टीका कार्यकर्ताहरूका पनि असन्तुष्टि छन् । ती असन्तुष्टि मसँग पनि छ, पार्टीसँग पनि छ ।
० के छन् तपाईंको पार्टीप्रतिको असन्तुष्टि ?
– अहिले संविधान संशोधन भएको छ । हामीले योभन्दा धेरै पहिले १० बुँदे ज्ञापनपत्र पार्टी अध्यक्षलाई दिएका थियौं । पार्टीका वरिष्ठ नेताहरूसँग दर्जनौं पटक छलफल पनि गरियो । अहिले गरिएको संशोधन उहिल्यै गरिदिएको भए आज मधेसमा यो अवस्था हुने थिएन ।
० संविधान संशोधनपछि पनि मधेसको आन्दोलन त रोकिएको छैन त ?
– यो चाहिँ कठिन कुरा हो । त्यहाँका जनतासँग जोडिएका मूल कुरा भनेका दुई वटा हुन् । पहिलो समावेशी समानुपातिक प्रतिनिधित्वको कुरा हो । यो अन्तरिम संविधानमै भएको व्यवस्था थियो । सामाजिक न्यायको हकमा सात वटा मात्र क्लस्टर थिए । समानुपातिक समावेशीको कुरा असोज ३ गते जारी भएको संविधानबाट हटाइयो । हामीले प्राप्त गरेका अधिकार पनि यो संविधानले खोसिदियो भन्ने छाप मधेसका आमजनतामा पर्यो । संसद्बाट पारित हुनुअगाडि हामीले भन्दा पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले ती कुरा संशोधनबाट हल गर्छौं भन्नुभयो । तर, ती कुरालाई मान्छेले विश्वास गरेरनन् । दोस्रो, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको कुरा छ । त्यसमा अहिले पनि भाषा परिमार्जन मात्र गरिएको छ । त्यतिबेला भूगोल र जनसंख्यालाई आधार लिएर भनिएको थियो । त्यसमा के भ्रम पर्यो भने, भूगोललाई आधार लिने हो भने जनसंख्याको अर्थ हुँदैन । अहिले जनसंख्यालाई मुख्य आधार मानेर दोस्रो आधार प्रदेशभित्रका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र हुने गरी भूगोललाई पनि आधार मान्ने भनिएको छ । यो पनि मोटामोटी अन्तरिम संविधानको भावनाअनुरूप आएको छ । यो कुरा उहिल्यै स्पष्टरूपमा आइदिएको भए, जनता आम रूपमा आन्दोलिन हुने थिएनन् ।
० आमरूपमा जनता आन्दोलित हुने थिएनन् भन्नुभयो, मधेस आन्दोलनमा एमाले, कांग्रेसलगायतका पार्टीका कार्यकर्ता पनि सहभागी छन् र ?
– यो आन्दोलनमा मधेसकेन्द्रित दलका कार्यकर्ता मात्र छैनन् । आमरूपमा, बौद्धिक क्षेत्रका मान्छे पनि छन् अरू दलका कार्यकर्ता पनि छन् । एमालेकै समर्थकहरू, हामीलाई भोट हालेकै मान्छेहरू, कांग्रेसलाई भोट हालेकै मान्छेहरू पनि आन्दोलनमा सरिक भए ।
० संशोधनअघि त तपाईंहरूकै पनि असन्तुष्टि थिए, पार्टी नेतृत्वलाई ज्ञापनपत्र पनि बुझाउनुभयो, अब चाहिँ तपाईंहरूको असन्तुष्टि हल भएको हो ?
– सीमांकनको विषयमा अझै पनि असन्तुष्टि छ । दुनियाँलाई अझै पनि जगजाहेर नै छ कि २ नं प्रदेश सामथ्र्यका आधारमा कमजोर छ । यो कुरा हामीले निरन्तर भन्दै आएका छौं । सीमांकनलाई अझै परिमार्जन र व्यवस्थित गर्नुपर्नेछ । सीमांकनका विषयमा दुईथरी अतिवाद छन् । एउटा, कुनै पनि हालतमा पहाड मिसाउनै हुन्न भन्ने मधेसवादी दलहरूको अतिवाद र अर्को पहाडमा मधेस मिसाउनै हुन्न भन्ने अतिवादभित्र हामी फसेका छौं । मधेसलाई सामथ्र्य र पहिचानका आधारमा संरक्षण गर्ने हो भने तराई–मधेसलाई चुरेसँग अलग गर्नै हुन्न । यसो गरियो भने संघीयता पनि मजबुत हुन्छ ।
० मधेसको समस्या सम्बोधन गर्न भनेरै संविधान संशोधन भएको छ, अब मधेसको आन्दोलनको भविष्य कस्तो देख्नुभएको छ ?
– मधेसवादी दलहरूले ‘यो संशोधनको अर्थ छैन, अपूरो छ, हामीसँग छलफल नै नगरी गरियो’ भनेका छन् । तर, समानुपातिक समावेशी र निर्वाचन क्षेत्रका सम्बन्धमा मोटामोटी उहाँहरूको कुराहरू सम्बोधन भएका छन् । यद्यपि केही असन्तुष्टि अझै छन् । मूल कुरा उहाँहरूलाई ‘सेफ ल्यान्डिङ’का लागि कठिन भइरहेको छ । सीमांकनको पुनरावलोकनलाई उहाँहरूले बटम लाइन बनाउनुभएको छ ।
० ‘फेस सेभिङ’ चाहिँ किन ? अहिले आन्दोलन कमजोर हुँदै गएको हो र ?
– उहाँहरूले जनताका बीचमा जे कुरा भन्नुभएको छ, त्यो कुराले उहाँहरूलाई नै अप्ठेरोमा पारेको छ । जनताका बीचमा सीमांकनको पुरावलोकन हाम्रो बटम लाइन हो भन्नुभएको छ । त्यसैको आडमा ६० जना भन्दा बढीको सहादत भइसकेको छ । बरु तीन महिनाभित्रै भए पनि ती कुराको समाधान राजनीतिक सहमतिबाट खोजौं भनिरहनुभएको थियो, अहिले संशोधनबाट यी कुराको उपेक्षा भएको उहाँहरूले देख्नुभएको छ ।
० सीमांकनको मात्र कुरा होइन, मधेसवादी दलहरूले निर्वाचन क्षेत्र निर्धारणको पछिल्लो व्यवस्थालाई पनि मानेका छैनन नि ? जिल्लामा कम्तीका १ निर्वाचन क्षेत्र किन भन्ने, प्रदेशको जनसंख्यालाई आधार मान्नुपर्ने तर्क छ नि ?
– अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि भूगोललाई उपेक्षा गरेको पाइँदैन । भारतमै पनि लक्ष्यदीप, गोवा जस्ता निर्वाचन क्षेत्र छन् । हामीले पनि अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार दुईटा निर्वाचन गरेकै हो । मनाङ जस्ता जिल्लालाई पनि एउटा निर्वाचन क्षेत्र मानेकै हो ।
० त्यस्ता जिल्लालाई विशेष संरक्षित क्षेत्र मानौं भन्ने उनीहरूको कुरा पनि जायज छैन र ?
– ती कुरा कसरी व्यवस्थापन गर्न सकिन्छ गरे भयो तर भूगोललाई उपेक्षा गर्न सकिँदैन । तर, भूगोलका नाममा जनसंख्यालाई उपेक्षा गरेर अतिवाद लाद्ने काम गर्नु हुँदैन ।
० यो आन्दोलनमा तपाईंकै पार्टीका कार्यकर्ता पनि सहभागी छन् भन्नुभयो तर तपाईंकै पार्टीका नेताहरू यो आन्दोलन मधेसको अधिकारका लागि नभएर राजनीतिक स्पेस जोगाउनका लागि मात्र भएको बताउने गरेका छन् नि ?
– राजनीतिक गर्नेहरू जो सुकैले पनि आफ्नो स्पेस जोगाउने काम गर्छन् । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । ०७० को निर्वाचनले मधेसवादी दललाई त्यहाँका जनताले विस्थापित गरेका थिए तर उनीहरूलाई फेरि स्थापित गर्ने ठाउँ एमाले, एमाओवादी र कांग्रेसले दिए । त्यहाँका जनताका प्रतिनिधि हामीले भनेका कुरा नसुन्ने अहिले आन्दोलन भइसकेपछि त्यसलाई स्वीकार्ने काम भएको छ । पार्टीका नेताहरूको चिन्तनका कारण यस्तो भइरहेको छ ।
० तपाईंको पार्टीले मधेसमा संविधान बुझाउने अभियान थालेको थियो, कति सफल भयो त ?
– कुनै–कुनै ठाउँमा राम्रैसँग सम्पन्न भए, कार्यक्रम सफल पनि भए । कुनै ठाउँमा जिल्ला कमिटीको बैठकसमेत बस्न सकेनन् । जनकपुर जाने अवस्था छैन, अञ्चलको कार्यक्रम बर्दिवासमा भयो । सगरमाथाको कार्यक्रम लहान, राजविराजमा गर्न सकेनौं, उदयपुरमा गर्यौ । तर, संविधान संशोधनपछि हामीले गुमाएका कुरा फेरि नेताहरूले फर्काएका छन् भन्ने विश्वास जनतालाई भएको छ । अब बल्ल अन्य राजनीतिक दलले गतिविधि गर्ने वातावरण बनेको छ ।
० मधेसको केन्द्र रंगेलीमा पनि भयो नि कार्यक्रम त ?
– कार्यक्रम भयो, तर त्यसको परिणाम के भयो भन्ने हामी सबैले देखे भोगेकै छौं ।
० यो घटनालाई कसरी लिनुभएको छ ?
– जुन घटना भएको छ, यो दु:खद छ । जुन पक्षबाट कमजोरी भएको हो, त्यो पक्ष आलोचित हुर्नैपर्छ । सहादतप्राप्त नेपालीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।
० यो घटनाले अझै पनि अन्य दलले मधेसमा कार्यक्रम गर्न सक्दैनन् भन्ने पुष्टि गरिदियो हैन ?
– अब वातावरण खुकुलो बन्दै गएको छ । वातावरण बन्दै छ । वातावरण बनाउने कुरामा हाम्रो पार्टी पनि लागिरहेकै छ । एमालेलगायतका दलहरू यसमा गम्भीर भएरै संविधान संशोधन गरेका हुन् । संशोधन भइसकेको हुनाले अब वातावरण सहज बन्ला ।
० वातावरण सहज हुनेमा अझै विश्वस्त हुनुहुन्न ?
– केही खोसिएका कुरा आइसकेका छन् । हामी पनि त्यहाँ स्थापित हँुदै छौं । तर, सीमांकनलगायतका केही कुरामा हामी आफैं पनि सन्तुष्ट छैनौं । असन्तुष्टिकै बीच हामीले पनि संविधानमा हस्ताक्षर गरेकै हौं । संविधान भनेको संशोधनीय दस्तावेज भएकाले यसमा अपुग कुराहरू भोलि पनि समावेश गर्दै जान सकिन्छ । त्यसैले मधेसवादी दलहरूले आन्दोलन स्थगित गरेर मधेसको जनजीवन सामान्य बनाउन भूमिका खेल्नुपर्छ । त्यो भूमिका खेल्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।
० मधेस आन्दोलनको निसाना तुलनात्मकरूपले एमालेमाथि भएको देखिन्छ, मधेसमा फेरि ०७० को जस्तै उपस्थिति हासिल गर्न कति सजिलो देख्नुहुन्छ ?
– एमालेप्रति आक्रोश छ भन्ने कुरा सत्य हो । मधेसमा अरू पार्टीका कार्यालय जलाउने, अन्य राजनीतिक पार्टीका नेताहरूको अपमान गर्ने, हात हाल्नेसम्मका काम गरे । राजनीति गर्ने पार्टीहरूका लागि ती सुहाउने काम होइनन् । ०६४ मा गुमेको स्पेस हासिल गर्न ०७० मा जुन मेहनत गर्यौं, फेरि त्यही मेहनत गर्न आवश्यक छ । जनतालाई बुझाउन केही समय लाग्ला तर हामी सफल हुन्छौं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply