सदनमै नजाने भए देउवाजी किन दलको नेता बन्नुभएको ?
चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस० महाधिवेशन भएयता नेपाली कांग्रेसका हरेक निर्णय निक्कै विवादास्पद भएका छन् नि ?
– कुनै पनि संस्था, पार्टी वा राष्ट्रलाई अगाडि बढाउन मूल नेतृत्वको महत्वपूर्ण भूमिका हुने गर्छ । हामी त्यही क्रमअनुसार हाम्रो राष्ट्र निर्माणका निम्ति, राष्ट्रको प्रगति र समृद्धिका निम्ति नेतृत्व निर्माण गछौं । र, त्यसैका लागि नेतृत्वको आवश्यकता पर्ने गर्छ । त्यसका निम्ति देशमा राम्रा पार्टीहरू हुनुपर्छ । राम्रा पार्टी सञ्चालन गर्न नेताहरू योग्य, राम्रा, सक्षम, दूरदर्शी र पारदर्शी हुनुपर्छ । उनीहरूले राष्ट्रलाई पहिलो प्राथमिकता, दोस्रोमा जनता, तेस्रोमा विचारलाई ठान्नुपर्छ । यो तीनवटैलाई जोड्न सक्ने राम्रा नेता पार्टीमा आवश्यक पर्छ । विगतमा नेपालमा ००७ सालदेखि ०४६ सालको आन्दोलनसम्म त्यसको प्रतिनिधित्व नेपाली कांग्रेसले गरेको थियो । माओवादी हिंसालाई अन्त्य गर्नदेखि संविधानसभाको चुनाव गराउन र संविधान निर्माण एवं त्यसको कार्यान्वयनका निम्ति उसले नेतृत्व गरेको हो । तथापि, महाधिवेशनयता यस्तो देखिएन । हामीले जुन आशा र भरोसाका साथ हामीले शेरबहादुरजीलाई सभापति बनायौं, उहाँले त्यो आशा पूरा गर्न सक्नुभएन । त्यही पार्टीका आधारमा उहाँ चारचोटि प्रधानमन्त्री हुनुभयो । पार्टी सभापति बन्नुभयो । तथापि उहाँले यो पार्टीको सम्मान गर्नुभएन । पार्टीको विधानको पालना गर्नुभएन । यो अत्यन्तै दुःखद पक्ष हो ।
० पार्टीका सबै कुराको गम्भीर समीक्षा हुन छोड्यो भन्ने गुनासो छ, महासमिति बैठक डाकिए पनि सार्दै गइएको छ, के सभापतिजी विषयवस्तु र समस्यादेखि भाग्दै जानुभएको हो ?
– विषयवस्तुबाट भाग्नेभन्दा पनि विधानतः काम हुनुप¥यो भन्ने हाम्रो माग छ । नेपाली कांग्रेसको विधानमा वर्षको एकपटक महासमिति बैठक गर्नुपर्ने हुन्छ । तर, उहाँ यस्तो व्यक्ति हुनुहुन्छ कि न उहाँले महासमिति बैठक बोलाउनुहुन्छ, न बोलाइएको समयमा गर्नुहुन्छ, न उहाँलाई कुरा सुन्ने फुर्सद हुन्छ, न उहाँले कुनै विषयमा बोल्नुहुन्छ । देशमा यत्रा राष्ट्रिय विषयहरू छन्, न तिनलाई सम्बोधन गरेर भन्नुहुन्छ । राष्ट्र यति कमजोर भइसक्यो । दुई तिहाइ ल्याएको सरकार छ । काम गर्न सक्नु छैन । यसलाई प्रतिपक्षले त हरेक तार्किक विरोध गरेर औषधिको काम गर्नुपर्ने हो नि, यो सरकारले काम गरेन भने भोलि हामी चलाउँछौं भन्ने आभास दिनुपथ्र्यो नि त, प्रतिपक्षी पार्टीको हैसियतले । केही पनि छैन । तसर्थ, यी सबै कुराको छलफल महासमितिमा गर्नुपथ्र्यो । तर, उहाँ समयमा महासमिति बोलाउन चाहनुहुन्न । तसर्थ, महासमिति पनि अब कसरी जान्छ, यसलाई हेरौं एकपटक ।
० यी सबै आधारमा पार्टी नेतृत्व फेलियर भइसक्यो भन्ने निष्कर्षमा पुग्न सक्छौं त हामी ?
– अहिलेको हाम्रो पार्टीभित्रको नेतृत्व समयको मागअनुसार, जनताको सोचअनुसार चल्न सकेको छैन ।
० तपाईंले त यस्तो नेतृत्वको अनुहार अर्को जुनीमा पनि हेर्न नपरोस् भनेर सार्वजनिक अभिव्यक्ति दिनुभयो ?
– हाम्रो देश सबैभन्दा राम्रो देश हो । एकातिर युरोप हिउँ नै हिँउको देश । त्यो देशलाई मान्छेले स्वर्ग बनाए । अर्कोतिर अरब जहाँ त्यति धेरै गर्मी छ, त्यो देशलाई पनि मान्छेले स्वर्ग बनाए । हामी त आखिरीमा स्वर्गमा जन्मेका हौं । नेपालजस्तो देश जहाँ २०÷२० मिनेटमा नयाँनयाँ हावापानी छ, प्रकृतिले यति धेरै साथ दिएको छ । यस्तो देशमा जन्मिएका मान्छे अरब जानुपर्ने ? यहाँका जुनसुकै विचार बोकेका नेतृत्व, बहुलवादी विचार बोकेका हुन् वा साम्यवादी विचार बोकेका हुन् वा चाहे राजा हुन्, सबैले वरिपरि गरिब राखेर ससाना झुपडी राखेर बीचमा ठूलो घर बनाउने कल्पना गरे । यत्रो राजनीतिक आन्दोलन नेपालमा भयो कि विगतमा ठूला र त्यागी नेताहरू जन्मिए । तिनका अनुयायीहरूको अदूरदर्शिताले हाम्रा युवाहरू एक्काइसौं शताब्दीमा अरबको उच्च तापक्रममा मजदुरी गर्न जानुपर्ने ? के पाप गरेर आइयो यिनीहरूसित परियो, अर्को जुनीमा पर्न नपरोस् भनेर मैले कामना गरेको हुँ ।
० शेरबहादुर नेतृत्वमा आएपछि पार्टी लथालिंग भयो भन्नुको तात्पर्य कोइराला परिवारले चलाउँदा चाहिँ पार्टी व्यवस्थित थियो भन्ने हो ?
– मैले विगतका धेरै कुरालाई कोट्याउन चाहन्नँ । कांग्रेसमा पनि र अन्य हरेक पार्टीमा पनि इमानदारीपूर्वक भन्दाखेरि वर्तमान नेतृत्वले समष्टिगत रूपमा राष्ट्रलाई आफ्नो ठान्न सकेन । उनीहरू गुटउपगुटभन्दा माथि उठ्न सकेनन् । अब नेतृत्वमा जोसुकै भए पनि नयाँ मान्छे आउनुपर्छ । उमेर भएको आइदियो भने उसलाई समाजमा रिटायर्ड हुँदाखेरि मान्छेले औंलो ठड्याउँछन् भन्ने कुराले लाज हुन्छ । अब आज हो कि भोलि हो कि भनेर बिदा गर्ने र बिदा हुने मनस्थितिमा रहेका नेताहरूबाट देश चल्दैन । देश आर्थिक रूपले झनै विपन्न हुन थाल्यो । हामीले बनाएको संरचनाले जनतालाई महँगी बढ्यो, भ्रष्टाचार बढ्यो । हत्याहिंसा बढेको छ । न सरकार चलाउन सक्छन्, न पार्टी चलाउन सक्छन् । को हिजो थियो वा कुन परिवार थियो भन्ने कुरा होइन, जोसुकै भए पनि पहिलो मेरो देश, मेरा जनता, मेरो दृष्टिकोण, यी तीन कुरा सबैको साझा बन्नुपर्छ भन्ने मेरो मान्यता हो । यस्ता भावना बोकेका व्यक्तिहरूले अब हरेक पार्टीमा नेतृत्व गर्नुपर्छ । त्यस्तो प्रकारको नेतृत्वलाई बिदाइ गर्नुपर्छ ।
० कांग्रेसमा पनि युवानेताहरूको व्यापक दबाब थियो । युवाहरू एकजुट भएर पुरानालाई विस्थापन गर्ने अभियानमा तपाईं, विश्वप्रकाश शर्मालगायत लाग्नुभएकै थियो, तर विश्वप्रकाशजीलाई सभापतिले प्रवक्ताको जिम्मा दिएपछि उहाँ पनि लोभिनुभयो भन्ने गुनासो छ नि ?
– अवसर आउँदा नलोभिने व्यक्तिहरू नेपालमा एकदम कम छन् । सेक्सपियरको जस्तो जीवन्त तिमी रहने कि नरहने ? प्रश्न यो हो । तिम्रो भौतिक शरिर छन् भने मान्छेले सबैले मान्लान् । भौतिक शरिरको अन्त्यपछि तिमीलाई कति जनाले मान्लान्, त्यसैले मान्ने काम गर भन्छन् नि । त्यसैले विगतमा त्यो मनस्थिति बोकेका दुईचार जना नेता हुनुहुन्थ्यो । गणेशमान, बीपीजी, सुवर्ण, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, पुष्पलालजीहरू । यसप्रकारको नेताहरू नेपालमा हुनुहुन्थ्यो, जसले देशलाई फरक तरिकाले लानुपर्छ भन्ने सोच्नुहुन्थ्यो । त्यसपछिका नेताहरू सत्तास्वार्थमा लिप्त छन् । उदाहरणका लागि सुशील कोइरालाले नाम कमाउनुभयो । उहाँलाई विदेशका प्रधानमन्त्रीहरूले पनि आफ्नो गुरुजस्तो ठान्थे । उहाँ उदाहरणीय बन्नुभयो । अरू नेताहरू त्यसरी बन्न सकेनन् । सबैलाई पैसा चाहियो । ठूला महलहरू चाहिए । होची मिन्ह बन्न त चाहेनन् नि कोही पनि । म कुटीमा बसेर मेरो देश बनाउँछु भन्ने उदाहरणीय बन्न त चाहेनन् नि । सबै क्लबका ठगजस्ता भए । कहाँबाट कसरी लुट्ने भन्नेजस्तो भयो । तसर्थ, हामीहरूले अब देशमा नयाँ तरिकाले परिवर्तन गरेर देशलाई यसरी लथालिंग छोड्नुहुँदैन । सबै सबैले नयाँ तरिकाले सोच्नुपर्छ ।
० यी विकृतिविसंगतिविरुद्ध पाटीभित्रैबाट तपाईंहरू जस्ताको पहल के हुन्छ ?
– म त सधैं परिवर्तनको पक्षधरता लिएर हिँड्ने एउटा मान्छे हुँ । मेरो विचार पनि सधैं परिवर्तनलाई आत्मसात् गर्दै जानुपर्छ भन्ने हुन्छ । युवाहरू जति छन्, तिनलाई एक ठाउँमा ल्याउने हो । तसर्थ, युवाहरू पनि कता को गए भन्दा पनि हाम्रो पार्टीमा युवाहरू विचार र दृष्टिकोण भएका राम्रा छन् । सयमा १÷२ प्रतिशतले राम्रो गर्छन् भने पनि त्यसको असर हुँदैन । मलाई लाग्छ, हाम्रा पार्टीभित्रका युवा तथा जवानहरू सबै एक ठाँउमा आउँछन् ।
० विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पनि विवाद बढेको छ, रामचन्द्र पौडेल पक्षधरसँग यसबारे सभापतिले सल्लाह नै गर्नुभएन भन्ने कुरा पनि आइरहेको छ ?
– विजयजीलाई पार्टी एकीकरण गर्दाखेरि ल्याउने भन्ने कुरा राम्रै हो । तर, हाम्रो विधानमा भएको प्रावधानमा बाधाअड्काउ फुकाएर लिएर आएको भए हुन्थ्यो । विधान पालना गर्नुपर्नेमा सभापतिले पेलेर जाने भएका कारण यो एउटा विवाद जन्मिएको हो । नत्र भने हामीले पार्टी मिलाएर जाने, व्यवस्थित गर्ने कुरामा हाम्रो केही भनाइ होइन ।
० अहिले पूर्वउपसभापति प्रकाशमान सिंहले पनि विधिविधानमाथि कोही छु भनेर नसोचे हुन्छ भन्ने चेतावनी दिएका छन्, त्यस्तै तपाईंहरू जत्तिका असन्तुष्टहरूको अब अर्को मोर्चा बन्छ कि के हो ?
– असन्तुष्टहरूको भन्दा पनि विचारको मोर्चाबन्दी हुन्छ । अहिले साथीहरूले यो पार्टीलाई विचारशून्य बनाएका छन् । सरकारमा जाँदा र नजाँदा पनि हरेक पदहरूलाई एउटा बेच्ने वस्तु (कमुडिटी) बनाएका छन् । त्यसबाट पार्टीलाई मुक्त गर्नुपर्छ भन्ने कुराको एउटा मोर्चा आवश्यक छ । यसमा अधिकांश सामेल हुन्छन् ।
० कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन भनेर सर्वत्र आलोचना छ नि ?
– बहुदलीय व्यवस्थामा सबैभन्दा ठुलो भूमिका कि प्रधानमन्त्रीको हुन्छ कि प्रतिपक्षी नेताको हुन्छ । अहिले त प्रतिपक्षी नेता भनेको कांग्रेस सभापति देउवाजी हो । उहाँले सदनमा गएर दुई÷तीन घण्टा बोल्नुपर्ने हो । हरेक इस्युमा बोल्ने हो । अरूलाई बोलाउने होइन नि । संसारमा चलेको व्यवस्था नै त्यही हो । हरेक इस्युहरू उठाउने, सरकारबाट त्यसको जवाफ लिने, सरकारले गरेका नचाहिँदा कुराहरूको विरोध गर्ने, महँगी र भ्रष्टाचारको विरोध गर्नुपर्ने हो । यस्ता कुराहरूमा धारावाहिक ढंगले कुरा राख्नुपर्ने हो तर छैन । एउटा प्रधानमन्त्री छन्, उनी नबोलेर काम गर्नुपर्नेमा उनी बोलेको बोल्यै गर्छन्, हावादारी कुरा गर्छन् । अर्को संसदमा गएर जो धारावाहिक बोल्नुपर्ने हो, बोल्दै बोल्दैनन् । त्यसकारण, यो अवस्था भएको छ । प्रतिपक्षीको नेतामा चिन्तन कम भयो । संसदको रेकर्ड हेर्दा प्रचण्डजी र शेरबहादुरजी त सदनमा जानुहुन्न । सदनमै नजाने भए किन भएको त सांसद ?
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply