सभापतिले सम्पुर्ण गल्ती स्वीकार्नु भएको छ
अर्जुननरसिंह केसी, नेता नेपाली काँग्रेस० हेटांडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले पार्टीभित्रका मतभेदहरु व्यवस्थापन गर्छ भनेको झनै बढायो हैन ?
आंशिक रुपबाट आएका यी कुराहरु सत्य हुन् । किनभने यसले अलि व्यापक रुपबाट समिक्षा, विश्लेषण हुनुपथ्र्यो । वस्तुगत परिस्थितिलाई यर्थाथ खोतलेर अब जाने बाटोको तय गरोस् भन्ने मेरो अभिलाषा हो । म जस्तै धेरैको अभिलाषा हो । आवरणमा बाहिर जे देखिए पनि आन्तरिक रुपबाट त्यो हुन सकेन ।
० तर २१ बुँदे घोषणा पत्र त सहमतिमै जारी भएको छ नि ?
उद्घाटन सत्रमा वक्ताका कुरामा देखिएका विवाददेखि पछिसम्म पनि सबैको राय लिएर समाधानको बाटो निकाल्नुपर्ने जुन परिस्थिति निर्माण हुनुपथ्र्यो त्यस्तो भएन । अलिकति आफ्ना आफ्ना अनुकुल बनाउनको निम्ति निर्देशित गर्ने र मेनुपुलेशन भनौं वा घुमाउरो बाटोबाट आवरणमा बाहिर देख्दाखेरी सहमतिमै गरिएजस्तो देखिएपनि त्यहाँ अत्याधिक मात्रामा सभापतिहरुले अत्यन्त खरो कुराहरु प्रस्तुत गरेका छन् ।
० खरो भन्नाले कस्ता कुराहरु आएका थिए् ?
निर्वाचनमा जिल्ला सभापतिहरुलाई पुर्ण रुपबाट उपेक्षा गरिएका कुराहरु, अन्तिम बेलासम्म टिकट परिवर्तन गर्ने र केन्द्रबाट हस्तक्षेप गर्ने खालका कुराहरुदेखि लिएर धेरै यस्ता कुराहरु छन् । प्रदेश समितिहरु गठन नभएका र प्रदेश समिति गठन गर्दाखेरी नेपाली काँग्रेसको संविधानको धारा १२को वेवास्ता गरिएकासम्मका कुराहरु छन् । प्रदेश समिति गठन गर्दा प्रस्ट रुपबाट तदर्थ समिति नै गठन गर्दा अहिले नेपाली काँग्रेसको त्यो प्रदेशबाट जति महाधिवेशन प्रतिनिधीहरु छन्, उनीहरुबाटै निर्वाचन गर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि त्यसलाई केन्द्रबाट तदर्थ समिति मनोनित गर्ने भारी प्रयास भएको हो । र, त्यस्तो प्रस्ताव पारित गर्न त्यहाँ पनि चलखेल भएकै हो । तर त्यसलाई स्विकार गरिनन । विधानकै प्रक्रियाबाट हुनुपर्छ भन्ने अडान सभापतिहरुले लिए र आफ्ना विवेकले ल्याएका सत्यहरु उहाँहरुले अभिव्यक्ति गर्नुभयो । मैले यसपाली सिङ्गै सभापति सम्मेलनले जुन दिशा निर्देश गर्ने आशा गरेको थिँए, तदनुरुप नभएपनि एउटा कुरा चाँही राम्रो के भएको छ भने पहिलोचोटी एकवर्षपछि केन्द्रीय कार्यसमितिमा हामीले अनेक अनुनय, आग्रह र विनय गर्दाखेरी पनि जुन कुरा सभापतिजीले स्विकार गर्नुभाथ्यो, टिकट वितरणमा मेरो गल्ति भएकै हो, मैले सभापतिहरुलाई उपेक्षा गर्नु बेठिक थियो भन्ने कुरा भन्नुभयो । हो, त्यसलाई चाँही म सकारात्मक दृष्टिकोणले लिन्छु ।
० यो भेलाको ठोस उपलव्धी के रह्यो त ?
मान्छेबाट गल्ति हुन्छन् । मान्छेको जीवनको यात्रा भनेको नै गल्तिहरु हुने, गल्तिहरुलाई सुधार्दै त्यसलाई आत्मसाथ गरेर अघि बढ्ने प्रवृतिको विकास भयो भने हामीसंग प्रशूत सुधारको बाटो पनि खुला रहन्छ । अहिले नेपाली काँग्रेसले चुनौतीपुर्ण कालखण्डमा अड्किएको छ । त्यो बेलामा पाटीभित्र समग्र रुपबाट टुटेर फुटेर होइन जुटेर एउटा निश्चीत अवधारणा, सिद्धान्त, बैधनिकता, पारदर्शीताको आधारमा अगाडि बढ्नुपर्छ । म त बडो स्पष्ट छु कि एक्लै एक्लै कोही पनि मै हुँ मान्छे अगाडि बढेर अहिलेको चुनौति सामना गर्न सकिन्न । त्यो ठाँउमा हामी सबैजना सामुहिक एकताको जरुरी पर्छ । त्यो सामुहिक एकता कसरी स्थापना हुन्छ भने भएका कुराहरुलाई गल्ति महशुस गरेर अब आउने बाटोहरुमा सामुहिकता र सहभागितापुर्ण निर्णयद्धारा हुन्छ । त्यस्तो परिस्थिति चाँही बनिसकेको छैन तर मैले सभापतिले गल्ति भएको कुराको ढिलै भएपनि महशुस सार्वजनिक रुपबाट गर्नुलाई मैले सकारात्मक रुपबाट लिएको छु ।
० सम्मेलनमा पार्टीको पराजयको जस पार्टी सभापतिले नै लिनुपर्छ भन्ने ढंगले कुराहरु पहिलेदेखि नै जोडतोडले उठेको सन्दर्भ र टिकट वितरणमा आर्थिक चलखेल, महाअभियोग प्रकरण, आइजी प्रकरण, राजदुत नियुक्तीमा आर्थिक चलखेल जस्ता कुराहरु चाँही छलफलको विषय बनेन ?
भन्नेहरुले भनेका छन् । सभापतिहरुबाट त्यो अभिव्यक्ति नआएको होइन । तर अहिले यो सबै चिजलाई खोतलखातल पारेर, उधिनेर भन्दा पनि गल्तिहरुलाई महशुस गरेर जानुपर्छ भन्ने हो । मैले त सुरुको दिन अर्थात निर्वाचन पछि पहिलोचोटी बसेको बैठकमै बडो प्रस्टतापुर्वक नै भनेको थिँए कि अहिलेको नीतिमा देखिएको विचलन, नेतृत्वमा देखिएको कमजोरी, संगठन र संरचनागत रुपले देखिएका त्रुटी, अवयवस्था, अपारदर्शीता र विधिविहीनताको यो जुन पराकाष्ठा पुगेको छ, यथास्थितमा हामी यो पार्टीलाई फेरी पुर्नजिवित गर्न सक्दैनौं । त्यसलाई सुधारको आवश्यकता छ । हाम्रँ धेरै कुरामा परिवर्तन गर्नुपर्छ ।
० नेतृत्व नै परिवर्तन गर्नेसम्मका कुराहरु पनि त आएका थिए ?
अब दृढतापुर्वक हामीले एउटा नयाँ बाटो अख्तियार गर्नैपर्छ । मैले त्यो बैठकमा भनेको छु की मलाई कुनै अफ्ठेरो छैन की यसको सुधारको नेतृत्व स्वयम् सभापतिजी लिनुहोस् । किनभने मैले पनि भोट दिएर तपाँइलाई सभापति बनाएको हो । सभापति बन्नका निम्ति मेरो पनि सहयोग भएको नाताले पहिलो मेरो हक पनि लाग्छ र दायित्व पनि हो तपाँइलाई सहयोग गर्ने । होइन तपाँइ, यसको सुधारको पक्षमा हुनुहुन्न, जे गरेको त्यो ठिक ठान्नुहुन्छ भने रामचन्द्रजी तपाँइ प्रतिपक्षमा लडेको पार्टीभित्रको आन्तरिक प्रतिपक्षी नेता हो । तपाँइ दृढतापुर्वक उभिनुस् तर फलामको खुट्टटा लिएर, परालको खुट्टा लिएर होइन । म तपाँइलाई साथ दिन तयार छु सुधारको निम्ति । होइन, तपाँइ पनि गर्नुहुन्न भने युवा नेताहरु कस्सिएर छ–सात जना जो देखा परेका छन्, एउटा मुभमेन्टको युवा अभियानकै रुपमा, तपाँइहरु पनि नलक्पकाईकन अगाडि बढ्नुहुन्छ भने तपाँइहरुको सहयोगीको रुपमा पनि काम गर्न तयार छु । मैले कुनै महत्वकांक्षा भन्दा पनि मिशन लिएर काम गरौं भनेर आग्रह गरिरहेको छु । भोली जो जो जहाँ जहाँ रहेपनि अहिले यसलाई पुर्नजिवीत गर्ने हाम्रो दायित्व हो । होइन, तपाँइहरु पनि अल्मलिनुभने म आफु विवेकले जे देखेको छु, म मेरो विवेकसंग सम्झौता गर्दिन भनेर पहिलो दिन भनेको हुँ । र मैले , जिम्मेवारीको कुरा पनि बडो त्यहाँ प्रस्टसंग भनेको छु । हामी सबैले आ आफ्नो स्थानमा आ आफ्नो हैसियत अनुसारको जिम्मेवारी लिनुपर्छ भनेको थिँए । पहिलो जिम्मेवार सभापति, दोस्रो जिम्मेवार महामन्त्री, तेस्रो जिम्मेवार पदाधिकारी र हाम्रो वरिष्ठ नेता अनि चौंथोमा भनेको म जस्तै केन्द्रीय समिति र संसदीय समितिमा बसेकाहरु । अनि त्यसपछि हाम्रँ क्षेत्र, जिल्ला, गाँउ, नगरहरुमा पनि कसरी पुर्नजिवित गर्ने, त्यसका निम्ति के सुधार गर्नुपर्छ त्यतातिर सोचौं । त्यो हामीसंग रहेको सामुहिक जिम्मेवारीलाई हामीले आ आफ्नो स्थानबाट आफुले गरेको गल्तिलाई महशुस गरौं तर त्यो हैसियत अनुसारको हुनुपर्छ भन्ने हो । यो बेला मैले हैसियत अनुसारको उत्तरदायित्व र जिम्मेवारी ग्रहण गरौं भन्दा त्यती पनि मान्न तयार नभएका सभापतिजीले यो भेलामा जुन भन्नुभयो त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।
० पदाधिकारी मनोनयनबारे पनि त विवाद छ नि हैन ?
पदाधिकारी मनोनयनमा त्रुटी भएको छ । विगतको परम्पराहरुमा मनोनितको शिफारीश गर्ने पनि निर्वाचित केन्द्रीय कार्यसमितिले नै हो । तर त्यस्तो शिफारीश गदौखेरी कमसेकम एकजना चाँही पार्टीभित्रको आन्तरिक प्रतिश्पर्धा गर्ने पक्षलाई समेट्ने एउटा परम्परा नै स्थापित भएको थियो । शुसील कोइरालाले नमिलेपछि १० महिना लगाएर भनेपनि मिलाएर त्यसै गरेर गर्नुहुन्थ्यो । अब अहिले यस्तो जटिल अवस्थामा सभापतिजीले कसैलाई सम्वन्ध राखेर एउटा सहमति गर्नेतिर लाग्दै लाग्नु भएन । आफ्नै ढंगले उहाँले नियुक्तिहरु गर्नुभयो । अब अरु बाँकी कुरा पनि सबैको सहमतिले खुला छलफल गरेर गरियो भने त्यो सकारात्मक होला । नत्र भने यो विनासकाले विपरीत वुद्धि भनेजस्तो त्यही ढंगको स्थिति आउला ।
० अब दरिलो प्रतिपक्षी नेता पनि देखिएन, तपाँइको भुमिका चाँही के हुन्छ त ?
धेरैचोटी सबै साथीहरुसंग बसेर गरिएका कुुराकानीका क्रममा मैले अहिले हामी को कुन पद भनेर नेतृत्वको महत्वकाँक्षी भन्दा मिसन प्राप्ती गर्ने महत्वकाँक्षामा लागौं भनेको छु । यो पार्टीलाई पुर्नजिवन गर्नका लागि त्यो आवश्यक छ । म अहिलेको यथास्थितिमा पार्टीभित्र सुधार हुनुपर्छ भन्ने पक्षधर हो । त्यो पक्षधरको नाताले त्यस्तो दृष्टिकोण राख्ने साथीहरु सबैलाई समेटेर संयोजन गर्नुपर्छ । मेरो तागतले भ्याएसम्म मैले संयोजन गरेको पनि छु । हामी त्यही ढंगले अगाडि बढ्दै जान्छौं । त्यसभित्र सुधार गर्ने हो भने सभापति लगायत सबै बसेर एउटा बाटो तय गर्न सकिन्छ ।
० अब सभापतिहरुको भेलापछि पाटीको गतिविधी चुस्त दुरुस्त हुन सक्ला त ?
आशा गरौं । हामी अब नयाँ उर्जा ल्याँउछौं । सभापतिजीले नै पहलकदमी लिनुभयो भने सबैभन्दा राम्रो हुन्छ । नभए महासमिति होला । त्यसले पनि एउटा निष्कर्ष र टुङ्गो देला । अहिले सभापतिहरुले भनेको जस्तो न बकुल्लाको चाल न हाँसको चाल भनेको जस्तो अहिले जस्तो निर्णय हुँदैन ।
० सरकारको कामको कस्तो समिक्षा गर्नुहुन्छ ?
संघीय संरचना भनेकै अधिकार प्रत्यायोजित गर्दै गाँउ, नगर र प्रदेशहरुमा पु¥यउने र गाँउ, नगर, प्रदेश र केन्द्रमा सन्तुलित गर्ने हो । शक्तिलाई विकेन्द्रीत गरेर केन्द्रले संयोजनको भुमिका खडा गर्नुपर्ने हो । त्यो भन्दा बढ्ता केन्द्रले अत्याधिक शक्तिशाली हुने खालको सोच ल्याएको छ, अहिलेको सबैभन्दा खतरनाक सोच त्यही हो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply