सुध्रनकै लागि हो भने प्रचण्डले टाउको फुटाउनु पर्दैन
गंगा लामा एमाओवादी नेता० यतिका वर्ष माओवादीमा लाग्नुभयो, युद्धमा घाइते हुनुभयो, अपांग हुनुहुन्छ तर अहिले आफ्नै पार्टी एमाओवादीमा अलिक किनारा लागेजस्तो हुनुभएको छ, किन ?
– राजनीतिमा यस्तै हुँदोरहेछ । हिजो हामीले फरक खालको सपना देखेका थियौं । हिजो हामी जे चिजको विरोध गथ्र्यौ, अहिले त्यही चीजलाई स्वीकारेर अगाडि बढिरहेका छौं । हिजो हामी संसदीय बाटोबाट समाज बदल्न सकिँदैन भनेर हिँड्यौं तर अहिले हामी त्यही बाटोमा आएका छौं । हिजो हामीले देखेको सपनाको हत्या भयो ।
० हिजो के सपना देख्नुभएको थियो ?
– नयाँ जनवादी क्रान्ति सफल पार्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने अर्थात् शोषणविहीन समाजको कल्पनाका कुरा हामीलाई पढाइएको थियो । त्यो खालको सपना हामीलाई बुन्न लगाइयो । छुट्टै खालको उन्मुक्ति हुने समाजको कल्पना हामीले गर्यौं । तर, अहिले त्यो पूरा हुने कुनै लक्षण देखिएन । त्यसो हुनाले हामी स्वाभाविक रूपमा त्यो आन्दोलनबाट बाहिरियौँ । हिजो त्यो आन्दोलनमा रहेका धेरै पुराना मान्छेहरू आज विस्थापित भएका छौं ।
० संसदीय राजनीतिक धारबाट समाज बदल्न सकिँदैन भन्ने निष्कर्षमा पुग्नुभएको हो ?
– त्यस्तो पनि होइन । अहिलेको नेतृत्वसँग कुनै भिजन नै भएन । हिजो हामीलाई जुन ढंगले पढाइयो वा स्कुलिङ दिइयो तर अहिले आइपुग्दा नेताको दिमागमा केही छैन । नेतृत्व आत्मकेन्द्रित मात्र भयो ।
० तपाईंको पार्टीमा आज जुन नेतृत्व छ, हिजोको नेतृत्व पनि त त्यही त हो नि ?
– त्यही हो तर नेतृत्वले बाटो परिवर्तन गर्यो । हिजो जुन बाटोबाट जाँदैछ भन्ने हामीलाई लागेको थियो, अहिले त्यो बाटो छाडेको छ । त्यो बाटो छाडिसकेको अवस्थामा हामीले त्यहाँभित्र
मुक्ति देखेनौं ।
० नेतृत्व हिँडेको अहिलेको बाटो कुन हो ?
– कुन बाटो भन्दा पनि अलमलिएको जस्तो छ । कुहिरोको काग जस्तो भएको छ । कहाँ जाने भन्ने छैन । संगठनमा कुनै व्यवस्थापन छैन । केही गर्न सकिराखेको देखिँदैन । पुरै अस्तव्यस्त छ । यस्तो भएपछि त्यहाँ बसिराख्नुको औचित्य पनि के भन्ने पनि लाग्छ ।
० यस्तो हुँदा हुँदै किन बसिरहनुभएको छ ?
– म आफैले पार्टी छाडेको छैन । मूल कुरा भावनाको पनि हुँदोरहेछ । हामीले उठ्दा, बस्दा, हिँड्दा, खाँदा जहिले पनि पीडाबोध गरिराखेका छौं । एकातिर हाम्रा सपनाहरू पूुरा नहुनु, अर्कातिर शारीरिक रूपमा पनि यो अवस्था (अपांग)मा हुँदाखेरि र नेतासँग कुनै निकास नहुँदा स्वाभाविक रूपमा हाम्रो काम उनीहरूलाई सत्तोसराप गर्ने हुँदोरहेछ । यहाँसम्म आइपुग्दा नेताहरूमा निकासभन्दा पनि विक्षिप्तता देखेपछि यस्तो पार्टीमा के बस्नु जस्तो हुँदोरहेछ । तर, हाम्रो यत्रो लगानी कहाँ छ त ? एनेकपा माओवादीमै थियो । हामीले पसिना त्यहीँ बगायौं, रगत त्यहीँ बगायौं । शारीरिक रूपमा जे त्याग गर्नुपर्ने थियो त्यही पार्टीमा त्याग गर्यौं । त्यस अर्थमा स्वाभाविक रूपमा त्यो पार्टीको माया लाग्दो रहेछ । तर, नेतृत्वको अस्तव्यस्तता, विक्षिप्तता देख्दा त्यहाँ के बसिराख्नु जस्तो स्थितिबाट
गुज्रिरहेको छु ।
० गत संविधानसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नं ४ बाट उठ्न चाहनुभएको थियो तर टिकट नपाएपछि नेतृत्वलाई गाली गर्न थाल्नुभयो भन्छन् नि ?
– त्यो बिल्कुल होइन । मलाई टिकट दिएको भए पनि म लड्ने मान्छे होइन । संसदीय बाटोबाट जान आर्थिक रूपमा पनि सक्षम हुनुपर्छ । त्यो मसँग छैन । पार्टीले खर्च गर्ने भन्ने कुरा जो नेतृत्वसँग नजिक छ उसैले पाउने रहेछ । हिजो यही ठाउँमा मेरो टाउकोको मूल्य तोकिँदैगर्दा यही ठाउँमा काम गरेको हुनाले, यहाँको सबै कुरासँग म परिचित भएको हुनाले म आशावादी हुने त भइहाल्यो । तर, पार्टीको स्थिति देख्दै गर्दा त्यहाँ चुनाव जित्ने कुरामा म विश्वस्त नै थिइनँ । त्यसमा पनि मैले जित्न सक्ने भन्ने कुरै थिएन ।
० आकांक्षा नै थिएन भने पासाङविरुद्ध बागी उम्मेदवारी दिने कुरा किन गर्नुभयो ?
– मैले मिडियाबाजी पनि गर्थे, त्यो बेला । पासाङजी ‘फाइटर’ हो भन्ने कुरामा म विश्वस्त छु तर राजनीतिक मान्छे हो कि होइन, उहाँले त्यहाँ जित्नुहुन्छ कि हुँदैन भन्ने कुरामा म त्यति विश्वस्त थिइनँ । जित्न सक्ने, राजनीतिक प्रकारको मान्छे आउनुपर्यो भन्ने मेरो भनाइ थियो । उहाँ त्यो खालको मान्छे होइन भन्ने मेरो बुझाइ भएकाले एक खालको थ्रेट गर्नका लागि मैले बागी उम्मेदवारी दिने कुरा गरेको थिएँ । तर, उम्मेदवारी नै दर्ता गर्ने प्रक्रियामा जाने मेरो योजना थिएन । टिकट दिएको भए पनि लिने पक्षमा म थिइनँ । म ब्यालेटको राजनीतिबाट केही कुराको आशा गर्ने मान्छे नै होइन ।
० त्यसो हो भने, एमाओवादीमै किन बस्नुभएको थियो त, तपाईंको विचार त विप्लवसँग मेल खाँदोरहेछ त ?
– पार्टी प्लटिङ गर्ने कुराको पनि म पक्षमा रहिनँ । पार्टीभित्रै संघर्ष गर्नुपर्छ र त्यसलाई ठीक ढंगले नेतृत्व गरेर लैजानुपर्छ भन्ने कुरा हिजो हामीलाई सिकाइएको हो । उहाँहरूले पार्टीलाई प्लटिङ गर्ने, विभाजन गर्ने कुराले कस्तो परिणाम दिन्छ भन्ने कुरा हामीले देखिरहेका छौं । विप्लवजीले अहिले नै हिजोको जस्तो आन्दोलनको आँधीबेहेरी सिर्जना गर्न सक्नुहोला त ? बुलेटको राजनीतिक गर्न सक्नुहुन्छ त ?
० त्यही प्रश्न म गर्दैछु, के अहिले उहाँले बन्दुकको राजनीति गर्न सक्नुहोला त ?
– सक्नुहुन्न । युवाहरूमा त्यस्तो चाहना देखिँदैन । यद्धपि, नेतृत्वले बाटो बिराएको हुनाले असन्तुष्टिहरू एकीकृत भएका होलान् । तर, अहिले नै त्यस्तो खालको भिजन बनिसकेको उहाँले नेतृत्व गरेर नयाँ खालको आन्दोलन गरिहाल्नुहोला भन्नेमा मलाई बिश्वास लाग्दैन । प्रचण्ड, बाबुराम जस्तै उहाँहरू पनि अलमलिइरहनुभएको छ । डेढ दुई वर्षको यो अवधिमा असन्तुष्ट केही मान्छेलाई जम्मा पार्नेबाहेक उहाँहरूले पनि के नै गर्नुभयो र ?
० नेतृत्वलाई सही दिशामा हिँडाउन नसक्नु तपाईंहरूको पनि त कमजोरी होइन र ?
– स्वाभाविक रूपले हाम्रो पनि कमजोरी छ तर हामीले कोसिस गरिराखेका छौं । संघर्ष त बादलजीले पनि गर्नुभयो होला, वैद्यजीले पनि गर्नुभयो होला, हामी सबैले गरेकै हो । फुटेको पनि हो । तर, सत्ताको नजिक पुगिसकेपछि चेत नखुल्दो रहेछ सायद । चेत आउने, सुध्रिनेभन्दा बरु विभाजन हुने विचार आउँदो रहेछ नेताहरूको । उहाँहरू त विक्षिप्त हुनुहुन्छ । मेरो टाउको फरटाएर शुद्धीकरण हुन्छु भन्नुहुन्छ । टाउको फुटाएर शुद्धीकरण हुने होइन, पार्टीभित्र नै त्यो खालको संयन्त्र निर्माण गर्नुपर्यो ।
० अहिले पार्टी पंक्तिसँग सम्पर्कमा नै हुनुहुन्न ?
– त्यति सम्पर्कमा छुइनँ । सम्पर्कमा थिएँ भने पार्टी ठीकै छ भनेर तपाईंसँग बहस गरिरहेको हुन्थें होला । उहाँहरूलाई हामी त बोझ जस्तो भएका छौ । भैंसीलाई सिंग भारी नहुनुपर्ने तर घाइते, अपांग, बेपत्ता, सहिद परिवारले गुनासो मात्र गर्छन् भनेर नेताहरू बोलिराखेको हामी सुन्छौं । के हामी उनीहरूलाई बोझ बन्नका लागि मात्र यो आन्दोलनमा अगाडि बढेका थियौं ? सबैलाई समेटौं, व्यवस्थापन गरौं भन्ने नै छैन ।
० सबैलाई समेट्ने प्रयास त गरिराखेको छ त, ल्हारक्याल लामाहरू त अटेका छन् ?
– त्यही त ल्हारक्यालहरूलाई ल्याएर पार्टी बनाइराख्नुभएको छ । हामी घाइते, अपांग, सहिद परिवारसँग अब ल्हारक्यालहरूबाटै पार्टी बनोस् भनेर शुभकामना दिनुको विकल्प पनि छैन । युवराज लामाहरू ल्याइएका छन्, ल्हारक्यालहरू ल्याइएका छन्, लक्की शेर्पाहरू ल्याइएका छन् । सायद उहाँहरूले क्रान्ति गर्ने होला । हामी पुरानाहरू बोझ भएका छौं । हाम्रा त गुनासा मात्र हुने भए ।
० अहिले जहाँ भए पनि पर्सि १५ गतेको आन्दोलनमा आउनु भनेर पार्टीले आह्वान गरेको छ नि ?
– उहाँहरूले आह्वान पनि गर्नुभएको छ, धम्क्याउनु पनि भएको छ । यो अभियानमा आउनु भएन भने पार्टी सदस्यता खारेज गरिन्छ पनि भन्नुभएको छ । हाम्रो पार्टी सदस्यता छ कि छैन त्यो पनि करिब–करिब थाहा नभएको अवस्थामा छौं हामी । पार्टी कमिटी छ कि छैन त्यो पनि थाहा छैन । हामी त जनता भयौं । म २९ गतेको बन्दको कार्यक्रममा गएको थिएँ । तर, त्यही पार्टीमा अहिले नयाँ जन्मेका मान्छेहरू सोमबहादुर तामाङ, ल्हारक्याल लामाहरू चार पांग्रेमा आउँदै गर्दा हाम्रा स्कुटीहरूलाई लात्ताले हान्छन् । हामीहरूलाई त्यहाँ आन्दोलनबाट खेद्छन् । हामीलाई विस्थापित गराउन खोज्छन् । ‘हिजोको ब्याज खाएर बस्ने तिमीहरूको समय होइन, हामीले नेतृत्व गर्ने हो’ भन्छन् । हेरौं हामी पनि, हामीसँग हेर्नुको विकल्प छैन ।
० हेरेर बस्ने को त किरिया गर्नेसम्मका कुरा आएका छन् नि ?
– हो, हेरेर बस्नेको किरिया नै गर्ने कुरा पनि आएका छन् । जुम्लामा चैतभित्र नगए मरेको भन्ने सम्झेर काजकिरिया गरिन्छ भनेर कथा सुनाइयो । ठीकै छ, हाम्रो किरिया नगर भनेर रोइकराइ गर्ने स्थितिमा पनि छैनौं हामी । हामी जस्ता उत्पीडितहरू पनि यही समाजमा रहने हो । पछि फेरि एकीकृत भएर नयाँ आन्दोलनको सुरुआत गरौंला ।
० तपाईंको पार्टीले पर्सिको आन्दोलनलाई प्रतिष्ठाको विषय बनाएको छ, सोचेजस्तो आन्दोलन सफल हुने देख्नुहुन्छ ?
– आफ्नो माग पूरा नहुँदा स्वाभाविक रूपमा सडकमा जाने कुरा हुन्छ । तर, यो आन्दोलनमा मान्छेहरू आउने र त्यसले कुनै परिणाम दिने कुरामा मलाई विश्वास छैन । मुख्य कुरा परिणाम के दिन्छ भन्ने हो । के त्यो दिन सत्ता कब्जा गर्छौ त ? ते मास जाने कहाँ हो ? सिंहदरबार हो कि ? अथवा अरू दरबारतिर हानिने हो कि ? राम्रै उपस्थिति भयो र त्यसले एउटा धक्का दिन सक्यो भने केही साथीहरूको आत्मसन्तुष्टिसम्म हुन सक्ला । थेग्नै नसक्ने मास आए पनि हुने चाहिँ के हो त ? त्यसले कुनै परिणाम देला भन्ने लाग्दैन ।
० आफ्नो अध्यक्षलाई तपाईंले त नजिकबाटै चिन्नुभएको होला, उहाँलाई अहिले सुरक्षा थ्रेट भएर त्यसो भनिरहनुभएको हो कि राजनीतिक स्टन्डका लागि भनिएको हो ?
– एउटा परिस्थितिमा यस्तो कुरा आएको भए एउटा कुरा हुन्थ्यो तर पटक–पटक यस्तो कुरा आइरहेको छ । विगतलाई हेर्दा पनि सुरक्षा थ्रेट नआएको होला भन्न सकिन्न । पार्टीभित्रका असन्तुष्टि पनि कैयौं छन् । चियापान कार्यक्रममै थप्पड हानियो । विस्तारित बैठकमै कुर्सी हानाहान भए । राष्ट्रिय राजनीतिमा पनि त्यो अवस्था नहोला भन्न सकिन्न । थ्रेट भए पनि आत्तिनुपर्ने अवस्था भने होइन । भई हाले पनि के भो त ? यो देशका लागि बलिदान दिने कोणबाट पनि सोच्नुपर्यो । बीसौं हजारले बलिदान दिएका छन्, उहाँ चाहिँ आत्तिहाल्नुपर्ने, विक्षिप्त भइहाल्नुपर्ने के कारण ? यो मान्छे चाहिँ देश र जनताका लागि चाहिने मान्छे हो भन्ने व्यक्तित्व बनायो भने जनताले, पार्टी कार्यकर्ताले नै सुरक्षा दिन्छन् ।
० त्यसो हो भने, के अब एमाओवादी विघटनको दिशातिरै गएको हो त ?
– मैले त बारम्बार भन्ने गरेको छु कि पार्टी विघटनकै दिशामा गइरहेको छ । अर्को चुनावसम्मका लागि जनताका आँखामा हामी अगाडि बढ्न खोजिरहेका छौं भन्ने पार्नका लागि पनि यो आन्दोलनको तयारी गरिएको हुनसक्छ । तर, पार्टी कहाँ छ र ? संगठन कहाँ छ र ? विघटन हुदै गइरहेको छ । ०६४ मा सबैभन्दा ठूलो बनेको पार्टी अहिले ०४८ को अवस्थामा पुगेको छ । नसुध्रिने हो भने समाप्त भएर जाने खतरा छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply