हामी राजसंस्थालाई बोक्ने पार्टी मात्र होइनौं
कुन्ती शाही, सभासद्, राप्रपा नेपाल० संविधान जारी गर्नुपर्ने दिन माघ ८ नजिक आइसक्यो, चटारो त बढेको होला नि ?
– हामी त एकदमै फुर्सदिला पो भएका छौं । केही काम नभएका जस्तो बनाइएको छ । कामको चटारो हुनुपर्ने बेला अवस्था नाजुक छ ।
० संविधानसभाको बैठक बसिरहेको छ, छलफल चलाइएकै छ त, फेरि किन फुर्सदिला ?
– राजनीतिक संवाद समितिले जुन प्रतिवेदन पठाएको छ, त्यसको विषयवस्तुमा होइन कि त्यो प्रतिवेदन के गर्ने भन्नेमा छलफल चलेको छ । संविधानसभाभित्र रहेकामध्ये सबैभन्दा महत्त्वपूर्ण मानिने संवाद समितिले आफ्नो जिम्मेवारीबोध गरेर काम नगरेको अवस्थामा संविधानसभाको पूर्ण बैठकले अन्तिम पटक भनेर सहमति भएका विषयमा सहमति गरेर र असहमतिका विषयमा प्रश्नावली बनाएर संविधानसभा बैठकमा पेस गर्ने जिम्मा दिएको थियो । त्यो समय गुज्रिसकेपछि जसरी प्रतिवेदन आयो, त्यसमा आफैं प्रश्नचिन्ह खडा भएको छ ।
० सभासद् नै फुर्सदिलो हुुनु संविधान निर्माणका लागि राम्रो संकेत हो त ?
– नेपाल र नेपालीका लागि यो दुर्भाग्य हो । हामीले पटक–पटक माघ ८ भित्र जनतालाई संविधान दिनैपर्छ भनेका छौं । हामी जनताका प्रतिनिधि (६०१) ले सहमति जुटाएर संविधान दिन नसक्ने हो भने जाने कहाँ ? त्यसको पनि निकास त होला नि ? तर, निकास नै खोजिँदैन । सहमतिका नाममा शीर्ष नेताहरू पटक–पटक बैठक बस्नुहुन्छ । तर, उहाँहरूको चाल–चलन, संस्कार त हिजो संविधानसभा विघटन हुँदा हामीले देखेकै हो नि †
० प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बैठक गर्छन् तर तपाईंहरूको दललाई वास्तै गरिएको छैन, हैन ?
– पक्कै पनि । राप्रपा नेपालसँग सहमति गर्नु पर्छ कि पर्दैन भन्ने कुरा उहाँहरूले अहिलेसम्म महसुस गर्नुभएको छैन । हामीलाई नेपाली जनताले चौथो शक्ति बनाएर संविधानसभामा पठाएका छन् तर हामीलाई वास्ता गरिँदैन । यो विडम्बना हो ।
० संविधान निर्माणको विकल्प त तपार्इंहरूसँग पनि त होला नि ? के छ विकल्प ?
– हामीले माघ ८ मै संविधान जारी गर्नका लागि विकल्प दिएका छौं । त्यो भनेको, संविधान निर्माणमा नमिलेका विषय शीर्ष नेताहरूलाई जिम्मा दिने होइन । सकेसम्म संविधानसभाकै पूर्ण बैठकमा छलफल चलाएर सहमति निर्माण गर्नुपर्छ, सहमति हुन सकेन भने जनमत संग्रहमा गएर ती विषयवस्तु टुंगो लगाउनुपर्छ । सहमतिका नाममा किन समयको नाश गरिरहने ?
० तपाईंहरू गुमनाम हुने तर तपार्इंहरूभन्दा साना मधेसवादी शक्तिहरूको राइँदाइँ देख्दा कस्तो लाग्छ ?
– त्यही त अचम्म । त्यही भएर कहिलेकाहीँ यहीँनेर प्रश्न जन्मन्छ साथै आशंका पनि । हिजो पहिलो संविधानसभामा तिनै शक्तिहरूको बीचमा सहमति नभएर संविधान जारी हुन नसकेको हो । तिनै विवादहरू अहिले पनि जहाँको तहीँ नै छन् । जनताले आज हामीलाई चौथो शक्ति बनाएर पठाएपछि हाम्रो भावनाको पनि कदर गर्नुपथ्र्याे, ती बैठकमा बस्दा हामीले पनि निकासका कुरा गर्नसक्थ्यांै होला तर हामीलाई पुछिँदैन ।
० मरिसकेको राजसंस्थालाई अझै पनि बोकेर हिँडेकाले बेवास्ता गरिएको हो त ?
– मरिसकेको राजसंस्था भन्न मिल्दैन । कुनै पनि सिद्धान्त मर्दैन । हामी राजसंस्थालाई बोक्ने पार्टी मात्र होइनौं । संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र हाम्रो सिद्धान्त हो । सबै नेपाली अट्ने सिस्टम तयार गरौं भनेका हौं हामीले, मरिसकेको राजसंस्था ब्यँताऊँ भनेका होइनौं । ठूला भनिने कतिपय राष्ट्रमा अझै पनि राजासहितको प्रजातन्त्र छ । सिस्टमलाई कसरी जनतामुखी बनाउने भन्ने कुरा मुख्य हो, जो नेताहरूको हातमा हुन्छ ।
० राजासहितको प्रजातन्त्रको सपना हझै पूरा होला भन्ने लाग्छ ?
– म त यसमा पूरा विश्वस्त छु । म राजा वा राजपरिवारबाट कुनै सेवा–सुविधा प्राप्त गरेको व्यक्ति होइन । म आफैंले संघर्ष गरेर राजनीतिमा यहाँसम्म आइपुगेकी हुँ । तर, म के देख्छु भने यो मुलुकको स्थायित्व, आर्थिक उन्नति र राष्ट्रियताका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ । जातीय सद्भाव कायम गर्दै मुलुकलाई एकताको प्रतीकका रूपमा उभ्याउनका लागि पनि त्यो आवश्यक छ । हामीले त माओवादीदेखि राजावादीसम्म अट्ने संस्थाको परिकल्पना गरेका हौं ।
० राजावादी भनेको तपाईंहरू नै हो, अहिले पनि अटिरहनुभएकै छ त ?
– हामीलाई राजावादी पनि भनिन्छ तर हामी राजावादी होइनौं । राजावादी भन्ने अर्कै एउटा समूह छ ।
० राजासहितको प्रजातन्त्रको सिद्धान्त बोक्ने तपाईंहरू नै टुक्रा–टुक्रा भइसक्नुभयो त ?
– व्यक्तिगत इच्छा र आकांक्षाले बढी महत्त्व पाउन खोज्यो भने त्यतिबेला टुटफुटको अवस्था सिर्जना हुँदोरहेछ । यो कुनै पनि राजनीतिक दलका लागि राम्रो कुरा होइन ।
० व्यक्तिगत इच्छा र अकांक्षाले पार्टी फुटायो भन्ने आरोप त तपाईंको अध्यक्ष कमल थापामाथि लागेको छ नि ?
– हाम्रो अध्यक्षलाई त्यस्तो आरोप लगाई राख्दा धेरै कुराको ख्याल गर्नुपर्छ । हिजो यो पार्टीको आकार र हैसियत सानो हुँदा म यो पार्टीमा लागेकी हुँ । राजसंस्थाबाट फाइदा लिएका धेरै मान्छे पाखा लागिरहँदा, राजासहतिको प्रजातन्त्रको कुरा गर्दा अछूतको जस्तो व्यवहार गरिने अवस्था हुँदा हामी यो पार्टीमा लाग्यौं । हाम्रो सोच आफ्ना लागि होइन, देश र जनताका लागि थियो ।
० दुई–दुई पटक संविधानसभाको सदस्य भइसक्नुभयो, राजनीतिक फाइदा त तपाईंले पनि लिनुभयो नि ?
– यति चाँडै यो लाभ प्राप्त गर्छु भन्ने मैले सोचेकी पनि थिइनँ, मेरो चाहना पनि थिएन ।
० यो लाभ प्राप्त हुन के कुराको संयोग मिल्यो त ?
– संघर्ष, लगनशीलता र जनताले पार्टीप्रति देखाएको सद्भाव, माया र ममताले नै आज म यो ठाउँमा आइपुगेकी हुँ ।
० तपार्इंकै पार्टीमा बाबुको कारणले छोराले र दाइको कारणले भाइले पनि त लाभ लिइरहेका छन् नि हैन ?
– बाबुका लागि छोरा, दाइका लागि भाइ, ससुराका लागि बुहारी भन्ने कुरा आएका छन् । जहाँसम्म दाइका लागि भाइ भन्ने कुरा छ त्यो गणेश थापालाई भनिएको हो । २६ जनाको कोटामा राजनीतिबाहेक कुनै पनि क्षेत्रमा विशिष्टता हासिल गरेका राष्ट्रिय व्यक्तिलाई ल्याउनुपर्ने भएकाले खेलकुदमा ख्याति कमाएको नाताले उहाँ छनोटमा पर्नुभएको हो । उहाँ कमल थापाको भाइ भएकै कारण आक्षेप आएको हो, उहाँ आफंैमा नराम्रो व्यक्ति होइन ।
० कलाकारितामा विशिष्टता हासिल गरेका व्यक्ति पनि त थिए नि तपाईंकै पार्टीमा लागेका ?
– पक्कै पनि हुनुहुन्थ्यो तर अदालतको आदेशको कारणले पनि ती व्यक्तिलाई ल्याउनसक्ने अवस्था बनेन ।
० बाबुको नाममा छोरा पनि भएका छन् क्यारे, केशरबहादुर विष्टको छोरा पनि सभासद् हुनुहुन्छ….
– पक्कै पनि बाबुको कारण छोरा पनि भएका छन्, ससुराको नाममा बुहारी भएका छन् । त्यो भइराख्या मान्छेलाई साँच्चै अन्याय भएको पो हो कि भन्ने लाग्छ तर उहाँहरूको योग्यता–क्षमता केलाएर हेर्ने हो भने पार्टीलाई चाहिने व्यक्तिहरू आउनुभएको छ ।
० तर, त्यही नै तपार्इंको पार्टी विभाजनको मूल कारण बन्यो नि ?
– कहिलेकाहीँ त्रुटि पनि हुन्छ, त्यसबाट पाठ सिक्नुपर्छ । पटक–पटक गल्ती गर्नु चाहिँ हुँदैन । सानोतिनो गल्तीमा त्यसैलाई मुद्दा बनाएर पार्टी विभाजन गर्नु दुखद् कुरा हो । मन्त्री, सभासद् बन्नका लागि मात्रै बनाएको पार्टी हो यो भन्ने सम्झने हो भने त्यो पार्टी अगाडि बढ्न नै सक्दैन । असन्तुष्टि थियो भने पार्टीभित्र त्यसलाई पोख्ने धरै ठाउँ छन् । पार्टीका सहअध्यक्ष भइसकेको मान्छे भनेको हाम्रो अभिभावक हो । त्यो नेतृत्वबाट हामी गाइडेड भएर ठूलो अभियानको रूपमा पार्टीलाई अगाडि बढाइरहेका छौं भने तिनै नेताको सोच यति सानो हुनु राम्रो कुरा होइन ।
० तपाईंको पार्टी, पार्टी जस्तो नै छैन, कमल थापाले जे भन्यो त्यही हुन्छ भन्छन् नि ?
– कमल थापाले बोल्नेबित्तिकै त्यो पार्टीमा सबै कुरा हुन्छ भनेर आक्षेप लगाउने गरिन्छ । तर, त्यस्तो होइन । अध्यक्षज्यूले कुनै विचार व्यक्त गरेपछि त्यो विचारलाई पुष्टि नगरेसम्म हामी सहमति जनाउँदैनौं । हामी कार्य सम्पादन समितिमा पनि छलफल गर्छौं, केन्द्रीय कार्यसमितिमा पनि छलफल गर्छौं । अध्यक्षज्यूले सबै प्रस्तावित विषयवस्तुलाई पुष्टि गर्नुपर्छ । यो पार्टी एकल नेतृत्वबाट चलेको भन्ने एउटा मात्र प्रमाण देखाइदिनुस् । तर, यो पार्टी अहिले जहाँसम्म आइपुगेको छ, कमल थापाज्यूकै कारणले हो । उहाँ माथि औंला उठाउनु, आशंका गर्नु भनेको अन्याय हो । उहाँले आफूपछिको नेतृत्वको विकास पनि गर्नुभएको छ ।
० संविधानसभामा करिब ५ वर्षको तपार्इंको अनुभवले के भन्छ, माघ ८ मा संविधान आउँछ ?
– म त निराश छु । सभामुखले सोमबारसम्मको समय दिनुभएको थियो । त्यो उहाँको बाध्यता हो । उहाँले भनेको कदम अलोकतान्त्रिक नै हो तर त्यो बाध्यता पनि हो । त्यो बाध्यताको सिर्जना किन गराइएको त ? उहाँले भने जसरी नै संविधान ल्याउने हो भने ६०१ सदस्यीय संविधानसभा किन बनाइएको ? राजनीतिमा नैतिकता नै भएन । माघ ८ मा संविधान आउन नसक्नेतिर बढी कदमहरू चालिएका छन् ।
० केही महिनाअघि मात्र विवाह गर्नुभयो, राजनीतिमा स्थापित भएर मात्रै विवाह गर्ने प्रण गर्नुभएको थियो ?
– होइन । विवाह भन्ने कुरा लेखेरै आउनु पर्दो रहेछ । कुन बेला गर्ने, कुन बेला नगर्ने भन्ने कुरा नै थिएन । घर परिवारबाट विवाहका लागि धेरै प्रस्तावहरू आएका थिए । तर पनि, खै त्यतिबेला जुरेन । अहिले जुर्यो । अहिले पनि म अब चाहिँ विवाह गर्छु भनेर भएकै होइन । अपर्झट प्रस्ताव आयो, पोजेटिभ भइयो ।
० बुहारी भएपछि राजनीतिक यात्रामा असजिलो त पर्ला नि, होइन ?
– हरेक महिलाका लागि बुहारी भएपछि यस्तो समस्या आउँछ । तर, मेरो हकमा त्यस्तो हुँदैन । मेरो सासू, ससुरा स्वर्गवासी भइसक्नुभएको छ, श्रीमान् दाजु–भाइबाट अलग भइसक्नुभएको छ । हिजो माइतीमा हुँदा भदा–भदैनीहरूको म अभिभावक थिएँ, आज मैले अभिभावक पाएकी छु । कहिलेकाहीँ बाटो बिराउँदा बाटो देखाइदिने मान्छे पाएकी छु । त्यो भएर राजनीतिका लागि अझै सजिलो होला ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply