हाम्रा मन्त्रीको के कुरा, सरकारले नै राम्रो काम गरेको छैन
दीपक बोहरा महामन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टी० राप्रपा र राप्रपा नेपालबीचको एकता प्रक्रियाको कुरा फेरि सेलायो त ?
– सेलाएको छैन । सोमबार बिहान पनि हाम्रो यस विषयमा कुराकानी भएको थियो । चैत महिनाभित्रै एकता गरिसक्ने लक्ष्यका साथ हामी अगाडि बढेका थियौं । तर, सकिएन ।
० एकताको आवश्यकता किन देख्नुभयो ?
– देशलाई अहिले एउटा राष्ट्रवादी शक्तिको खाँचो छ । त्यो शक्ति निर्माण गर्नुपर्छ भन्ने राप्रपा र राप्रपा नेपालबीच सहमति भएकाले त्यसैलाई केन्द्रबिन्दुमा राखेर मेलमिलापको कुरा अगाडि बढाएका हौं ।
० तपार्इंहरू र राप्रपा नेपालबीच कतिपय सैद्धान्तिक मुद्दामा नै आनतानको फरक छ, कसरी सम्भव होला यो एकता ?
– हो, हामीबीच कतिपय कुरामा भिन्नता छ । हाम्रो पार्टीले संघीयता र गणतन्त्रमा मत हालेको छ, उहाँहरू ती दुवैको पक्षमा हुनुहुन्न । हामीले धर्मनिरपेक्षता मानेका छैनौं, त्यसमा जनमत संग्रह हुनुपर्छ भनेका छौं भने उहाँहरूले हिन्दुराष्ट्र भन्नुभएको छ ।
० यी तपार्इंले भनेका जटिलताको बीचमा एकताको सम्भावना कति छ ?
– दुवै पार्टीले महसुस गरेको कुरा के हो भने हामीबीच नीतिमा फरक त छ तर अहिले देशको राष्ट्रियता कमजोर भएको छ । विदेशी चलखेल बढेको छ, राष्ट्रवादी शक्ति कमजोर भएका छन् । त्यसकारण त्यो शक्ति निर्माण गर्नुपर्छ, नेपाल रहे मात्र नेपालका पार्टी रहने हुन् भन्ने भएर हामीले एकता प्रक्रिया अगाडि बढाएका हौं । राष्ट्रियतालाई बलियो बनाउन प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माणलाई केन्द्रबिन्दु मानौं र संवाद गरौं भनेर लागेका हौं ।
० बटम लाइन के त ? तपार्इंहरूले गणतन्त्र, संघीयता छाड्ने वा नछाड्ने ? राप्रपा नेपालले राजतन्त्र छाड्ने कि नछाड्ने ?
– उहाँहरूको नीति प्रस्ट रूपमा बाहिर आएकै छ । हाम्रो पनि प्रस्ट रूपमा बाहिर आएकै छ । यी कुरा खुला रूपमा अगाडि आएको हुनाले अहिले शक्ति निर्माणका क्रममा कहाँसम्म जाँदा नेपाली जनतालाई पाच्य हुन्छ भन्ने कुरा ध्यानमा राखेर हामी अगाडि बढेका छौं । दुई किसिमका विचार बोकेर अगाडि बढ्दा तत्कालै परिणाम आउँदो रहेनछ । यो एक महिनाका बीचमा हामीले धेरै विकल्पका बारेमा छलफल गरेका छौं । अन्तत्वगत्वा हामी एकीकरण भएरै छाड्छौं र नेपाली जनतालाई स्वीकार्य हुने राष्ट्रवादी शक्ति निमार्ण गरेरै छाड्छौं ।
० त्यसो भए, संघीयता, गणतन्त्र जस्ता विषय थाती राखेर भने पनि एकता चाहिँ गर्नुहुन्छ ?
– संघीयतामा हामी गईसकेका छौं । राप्रपा नेपालले हिन्दुराष्ट्र भनेको छ, हामीले जनमत संग्रह भनेका छौं, यसमा हामी नजिक छौं । हामीले संघीयता भनेका छौं, उहाँहरूले विकेन्द्रीकरण भन्नुभएको छ, यसमा पनि धेरै फरक छैन ।
० मुख्य समस्या त गणतन्त्र कि राजतन्त्र भन्ने मै छ नि, हैन ?
हो, यही एउटा विषयमा समस्या छ । यसमा हामी दुवै पार्टीले गहनताका साथ छलफल गर्नुपर्ने जरुरत छ । अन्य कुरामा सबै कुरा थाती राख्नुपर्ने आवश्यकता छैन । कांग्रेस र एमालेले बुझाएको संविधानका अन्तर्वस्तुको नौबुँदे अवधारणामा हामीले पनि समर्थन जनाएका छौं । त्यसैको सेरोफेरोमा राप्रपा नेपालसँग हाम्रो कुरा मिल्न सक्छ ।
० पूर्वराजाको सक्रियता बढिरहेका बेला कुनै बेलाका राजावादी शक्तिहरूबीचको एकताको चर्चालाई अर्थपूर्ण रूपमा हेरिएको छ नि ?
– राप्रपा गणतन्त्रमा मत हालेको पार्टी हो । सक्रियता त कसैको पनि हुनसक्छ । त्यो सक्रियताले हामी प्रभावित भएका होइनौं । अहिले देशको मौजुदा स्थितिमा एउटा शक्ति निर्माण गर्ने क्रममा हामी दुई दलले यसलाई स्वीकार गरेर अगाडि बढेका मात्र हौं ।
० गणतन्त्रमा मत हालेको पार्टी, एकताका नाममा त्यसबाट पछाडि हट्ने सम्भावना छ कि छैन ?
– पछाडि फर्कनै पर्दैन । दुवैले त्यो राष्ट्रवादी शक्ति निर्माण गर्ने कुरालाई प्रधानता दिने हो भने त्यो शक्ति कसरी निर्माण हुन्छ भन्ने प्रमुख कुरा हो । नेपाली जनताको चाहना के छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । त्यसलाई केन्द्रमा राख्ने हो भने अरू कुरा समायोजन गर्न सकिन्छ । अहिले नै हामीले ‘उहाँहरूले गणतन्त्र मान्नुभयो’ भन्यौं भने त्यो गलत हुन्छ । उहाँहरूले ‘राप्रपाले गणतन्त्र छाड्यो’ भन्नुभयो भने पनि गलत हुन्छ । त्यसकारण समस्या जटिल हुँदाहुँदै पनि शक्ति निर्माण गर्नका लागि के–के विकल्पहरू हुन सक्छन् भनेर हामीले विकल्पको खोजी गर्नुपर्ने हुन्छ ।
० एकता कहिले हो कहिले तर बागलुङको उपनिर्वाचनमा त साझा उम्मेदवार खडा गरिदिनुभयो त ?
– उहाँहरूले उम्मेदवार उठाउनुभयो, ‘हामीलाई समर्थन गरिदिनुपर्यो’ भन्नुभयो। हामीले समर्थन गरिदिएका हौं । तर, परिणाम राम्रो आएन । त्यो चुनावले नेपालमा कांग्रेस र एमाले दुईटा दललाई मात्र मान्यता दिएको अवस्था छ । अरू सबै दलको जमानत जफत भयो । एउटा राष्ट्रवादी शक्तिको खाँचो छ भन्ने कुरा यो निर्वाचनको परिणामले पनि देखाएको छ । एमाओवादीले आफूलाई वैकल्पिक शक्ति भन्थ्यो तर उसैको जमानत जफत भयो । ऊ वैकल्पिक शक्ति हुन सक्दैन भन्ने यो निर्वाचनले देखायो ।
० एकताको प्रयास गरिरहनुभएको छ, तर यसलाई तपार्इंकै पार्टीका शीर्ष नेता सूर्यबहादुर थापाले रुचाउनुभएको छैन भनिन्छ नि ?
– वार्ता कमिटी बनाउँदा उहाँसमेत बसेर बनाएको हुनाले त्यो भन्न मिल्दैन । हरेक पार्टीभित्र संघर्ष चलेको हुनाले राप्रपाभित्र पनि संघर्ष चलेको छ भनेर स्वाभाविक रूपमा प्रचारमा ल्याइएको हुनसक्छ । यस्तो शक्तिको निर्माण गर्नुपर्ने कुरा उहाँले नै धेरै पहिल्यैदेखि गर्दै आउनुभएको हो । त्यसैले उहाँ यो एकताको विपक्षमा हुनुहुन्न ।
० तपाईंको पार्टीभित्रै आन्तरिक एकता कमजोर छ, लोकेन्द्रबहादुर चन्दहरूको छुट्टै असन्तुष्ट समूह छ, यस्तो अवस्थामा राप्रपा नेपालसँग एकता के सम्भव होला र ?
दलभित्रको मतभिन्नतालाई हेर्दा नीतिमा फरक छैन । केही प्राविधिक समस्या छन्, जसलाई हामीले हल गर्न सकेका छैनौं । यो अलग्गै पाटो हो ।
० प्रस्ट भन्दा नेताको व्यवस्थापनमा समस्या भएको हो ?
– हो, सही कुरा हो । नेताहरूको व्यवस्थापनको कुरा एउटा हो तर सैद्धान्तिक रूपमा अलग नभएको पार्टी भएकाले त्यति गाह्रो पर्दैन । तर, हामी र राप्रपा नेपलका बीचमा एकीकरण भनेको कठिन नै हो ।
० एकीकरण गर्दा पनि त फेरि नेताको व्यवस्थापन नै मुख्य चुनौती होला ?
– यदि आफूलाई केन्द्रबिन्दुमा राखेर एकता खोजेको हो भने एकता हुँदैन । कमल थापाजी वा पशुपतिशमशेरजी दुवै जनाले मसँग कुरा हुँदा खुला विचार पाएको छु । नेतृत्व हाम्रा लागि गौण हो, एकता महत्त्वपूर्ण हो भनेर दुवै जनाले भन्नुभएको छ । उहाँहरूले भनेको कुरालाई अन्तिमसम्म पनि आत्मसात् गर्नुहुन्छ भने एकता हुन्छ ।
० पार्टीको नेतृत्व एउटाले र संसदीय दलको नेतृत्व अर्कोले गर्ने गरी नेतृत्वको कुरा अगाडि बढेको हो ?
– त्यसरी पनि मिलाउन सकिन्छ ।
० त्यसो हुँदा दलको नेता छाड्न तयार हुनुहुन्छ ?
पार्टी एकता हुन्छ, पार्टी बलियो हुन्छ भने सानातिना कुरामा अल्झिनु हुँदैन । मेरो कारण वैकल्पिक शक्ति निर्माणमा अवरोध हुन्छ भने म बाधक बन्दिनँ ।
० तपार्इंको पार्टी पनि सरकारमा छ, सरकारको कार्यशैलीबाट कति सन्तुष्ट हुनहुन्छ ?
– यो सरकार त संविधान ल्याउनका लागि बनाइएको हो । हाम्रो त सांकेतिक उपस्थिति मात्र हो । यो सरकारले राम्रो काम गरेको छ भनेर कसैले भन्दैनन् । यसलाई हामी संक्रमणकालको सरकार भन्छौं । संविधान ल्याउनका लागि बनाइएको हो । सबैलाई अह्वान गर्दा हामीले पनि संविधान ल्याउनका लागि सहभागिता जनाएका हौं ।
० आफ्नै पार्टीका मन्त्रीबाट पनि सन्तुष्ट हुनुहुन्न ?
– एउटा मन्त्रीको मात्र के कुरा गर्ने ? समग्र सरकारको कुरा गर्दा त्यत्ति सकरात्मक देखिँदैन । जनताको चाहना अनुसारको काम भएको छैन ।
० संविधान निर्माणमा देखिएको गतिरोध त हटेन, यसलाई कसरी लिनुभएकोछ?
– सहमति भन्ने कुरा तीन वटा दलको प्राइभेट लिमिटेड भएको छ । अघिल्लो संविधानसभामा संविधान नलेखिनुमा यिनै तीन–चार वटा दल कारक थिए, अहिले पनि तीनै दलका कारण अलमल भएको छ । चार जना, छ जना, १२ जनामा कुरा गरेर संविधानसभालाई पाखा लगाउन खोजिँदैछ । नत्र खुलस्त छलफल गर्नुपर्छ । संसद्भित्र छलफल गर्न नमान्ने, भित्र–भित्र कुना–कुनामा छलफल गर्ने अनि छलफल गरेको कुरा पनि साँचोसँग बाहिर नल्याउने ? अनि कसरी हुन्छ ? हामीले नौबुँदेमार्फत स्पष्ट कुरा राखेका छौं, ३० दलले पनि आफ्नो कुरा स्पष्टसँग राखेर आउनुपर्छ ।
० यो संविधानसभा पनि असफल हुने तपाईंको ठम्याइ हो ?
– यो संविधानसभाले संविधान दिन्छ । यसमा चाहिँ म विश्वस्त छु । नदिई हामीलाई धर छैन । यस पटक पनि हामीले संविधान नल्याउनुको अरू कुनै विकल्प छैन । त्यसकारण पनि संविधान आउँछ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply