हाम्रो टाउका गनेर पार्टी विभाजन हुन दिन्नौं
गणेश पहाडी सांसद एवं केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)० नेकपाको संसदीय दलमा पार्टी फुटबाट जोगाउनका लागि भन्दै हस्ताक्षर अभियान चलाउनुभएको छ, के पार्टी फुटको स्थितिमै पुगेर यसो गर्न लागिएको हो ?
दुईवटा कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्र मिलाएर नेकपाको निर्माण भयो । नेकपा बनाइसकेपछि एकताका कामहरुलाई पार्टी एकता घोषणा भएको तिन महिना भित्र सबै टुङ्ग्याउने भनेर भनिएको थियो । तर लामो समयसम्म पनि एकताका प्रक्रियालाई हामीले निष्कर्षमा पु¥याउन सकेनौं । पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकले १५ दिनभित्र एकताका सबै बाँकी कामहरु टुङ्ग्याउनका लागि पार्टी सचिवालयलाई जिम्मेवारी दिइएको हो । तर आजका दिनसम्म आँउदा पनि ति कामहरु हामीले पुरा गर्न सकेका छैनौं । पार्टी एकताका बाँकी कामहरु सम्पन्न गर्न नसकिरहेको अवस्थामा यही बीचमा अब पार्टी सिङ्गो रहँदैन, पार्टी विभाजिता हुन्छ भन्ने खालका जुन कुराहरु बाहिर आए । खासगरी हाम्रो पार्टीभित्र देखिएका अन्तरविरोधहरु अलि ध्वंशात्मक रुपमा अघि बढेका हुन् की भन्ने हामीलाई लाग्यो । स्वभाविक रुपमा एउटा गतिशिल पार्टीभित्र अन्तरविरोधहरु हुन्छन्, तर ति अन्तरविरोधहरुलाई हामीले रचनात्मक ढंगले समाधान गर्नुपर्छ । विधी, प्रक्रिया र पद्दतीभित्र रहेर ति अन्तरिविरोधको समाधान हुनुपर्छ । हामी सामुहिकतामा विश्वास गछौं । त्यसो भएकाले पार्टीका बैठकहरु विधानतः बस्नुप¥यो र पार्टीभित्र देखिएका समस्याहरुलाई समाधान गर्नुपर्ने ठाँउमा अहिले पार्टी फुटकै संघारमा पुगेको हो की भन्ने आभास आम कार्यकर्ताको बीचमा भएको र यसले एक खालको निराशा छाइरहेको र तल तलका कार्यकर्ता पनि विभक्त भएका साथै नेताहह्रुका पक्षमा नारा जुलुस गर्ने, पोष्टर तथा प्लेकार्डहरु प्रदर्शन गर्ने हुन थालेपछि यि कामहरुले पक्कै पार्टीलाई सहि दिशामा लगेको छैन । संघीय संसद भनेको जनप्रतिनिधीहरुको सबैभन्दा सर्वोच्च संस्था हो । यो संस्थामा हामीले प्रतिनिधीत्व गरिरहँदा जनताले एउटा विश्वासका साथ हामीलाई यहाँ पठाइरहँदा हामीले पनि हामीले पनि पार्टीलाई एकतावद्ध बनाउनुपर्छ र यदी पार्टी साँँच्चै विवादको नजिक पुगेको हो भने यसलाई जोगाउनुपर्छ भन्ने मान्यताका आधारमा हामीले यो अभियान सञ्चालन गरेका हौं ।
० नेताहरुलाई दवाव सिर्जना गरी यसरी मिल्नुपर्छ भनेर कुनै उपाय र समाधान चाँही किन सुझाउन सक्नुभएन ?
हामीले अहिले विकल्प दिएका छैनौं र अहिले तपाँइसंग म कुरा गरिरहँदा पनि विकल्प मैले मात्र दिन सक्दीन । अहिले यो नेतृत्व प्रति विश्वास गुमेको छैन । लामो संघर्षबाट खारिएर आएको नेतृत्व अहिलेको नेतृत्व हो ।
समस्या जहाँबाट सिर्जना भएको छ, त्यहीबाट समाधान गरिनुपर्छ भनेर हामीले भनेका छौं । यदी हामी संसदका टाउका गनेर पार्टी विभाजन गर्ने कुनै सपना नेताहरुले देख्नुभएको छ भने तपाँइहरु त्यो सपना नदेख्नुस् । पार्टी विभाजन गर्ने कस्टमा हाम्रो साथ तपाँइलाई रहँदैन । हो, हिजोका दिनमा हामी विभिन्न समुहमा स्वभाविक रुपमा कित्तावन्दी भएकै हो । खासगरी माओवादी धार एउटा र नेकपा एमालेभित्र महाधिवेशनमा दुइ समुह भएर चुनाव लडेको धार दुइवटा भएकै हो । विगतलाई हेरेर विगतमा जस्तै ति सबै मान्छे हाम्रा पछि छन् भनेर तपाँइहरुले नसोचिदिनुस् । पाटी विभाजन गर्ने कुरामा हाम्रो साथ तपाँइहरुलाई रहँदैन भन्ने सन्देश हामीले दिन खोजेको हो । त्यसले गर्दा यदी पार्टी विभाजन गर्ने मानसिकता कसैमा छ भने त्यो कुराले रोक्छ । र, पार्टीलाई एकतावद्ध बनाएर लिएर जाने कुरामा उहाँहरु आउनुहुन्छ भन्ने कुरा हो । नेताहरुबाटै हामीले समस्या समाधानको अपेक्षा गरेका छौं । त्यो भनेको पार्टीका बैठकहरुबाट समाधानको अपेक्षा हो । यदी त्यस्तो भएन भने र यदी सााँचै समस्या बढ्दै गयो र अब पार्टी फुट्नै नै भयो भन्ने अवस्था भयो भने दोस्रो चरणमा हामी समाधान सहित हस्तक्षेपकारी भुमिकामा पनि अगाडि बढ्छौं ।
तपाँइहरुले खास समाधानको विकल्प विना ल्याएको हो हश्ताक्षर केवल चर्चाको लागि मात्र हो पनि भनिन्छ नी ?
होइन, त्यस्तो हुँदै होइन । समस्याको समाधान सहित हामी दोस्रो चरणमा जान्छौं । तर हाम्रो यो अभियानले नेताहरुलाई मिल्न वाध्य पार्छ । हाम्रो पहिलो बुझाई यो छ । यदी भोली त्यो अवस्था आएन भने हाम्रो बुझाई गलत पनि ठहर्ला । हाम्रो अभियानले नेताहरुलाई निष्कर्ष पुग्न वाध्य बनाउँछ । मेरा पक्षमा यति सांसद छन् भन्ने भ्रमबाट उहाँहरु मुक्त भएपछि त नमिलीे के उपाय छ ? तसर्थ नेताहरुलाई यो अभियानले मिल्न वाध्य बनाउँछ भन्ने हाम्रो बुझाई हो ।
० नेताहरु मिल्नुस् मात्र भन्दा त अर्मुत कुरा भएन र, कसरी कुन पद छोडेर के के गरी मिल्दा ठिक हुन्छ भनेर ठोस् अवधारणा ल्याउनु पर्दैन ?
यसरी समाधान हुन्छ भनेर हामीले निष्कर्ष निकालीसकेका छैनौं । यसको निष्कर्ष दोस्रो चरणमा निकाल्छौं । पहिलो चरणमा नेताहरुले नै समाधान ल्याउनुहोला भन्ने आश छ । जहाँबाट समस्या सिर्जना भएको छ, त्यहाँबाट नै समाधान आइदिए राम्रो हुन्छ । नेताहरु आपसी सहमति बनाएर एउटा निष्कर्ष पुग्नुपर्छ भन्ने हाम्रो भनाई छ । पार्टीका हरेक बैठक राखेर यसको टुङ्गोमा पुग्नुपर्छ भन्ने हाम्रो धारणा छ । यदी त्यस्तो भएन भने दोस्रो चरणमा हाम्रो समाधानको विकल्प सहितको अभियान हुनेछ ।
० पहिले पनि केन्द्रीय समिति बैठक बोलाउन यस्ता हश्ताक्षर अभियान चलाउनु भयो तर केही टुङ्गोमा पुगेन, रद्दीको टोकरीमा फलिएजस्तो छ, अबको यो अभियानले निष्कर्ष देला भनेर ढुक्क हुनुहुन्छ ?
निष्कर्षमा पु¥याउने भनेरै यो अभियान सुरु गरिएको हो । अहिले हाम्रो अभियानमा हस्ताक्षर सहित ६३ जना सांसद हुनुहुन्छ । यो संख्यालाई हामी सय नघाउने अभियानमा छौं । सय जना सांसद एक ठाँउमा उभिएर पार्टी नेताहरुलाई जसरी पनि मिल्न दवाव दिइसकेपछि नेताहरु नमिलेर के गर्छन् त । नमिली सुखै छैन । नेताहरुको बल पनि त कार्यकर्तासम्म होला नी त । यदी कार्यकर्ताहरु चाँही विभाजनको पक्षमा देखिएनन् भने, अहिलेको डेडलकको पक्षमा देखिएनन् भने नेताहरु मिलेर जान वाध्य हुनुपर्छ । केन्द्रीय कमिटीको बैठकको हस्ताक्षर मागका सन्दर्भमा पनि प्रक्रियाहरु जारी छ । केन्द्रीय कमिटीका एक चौथाई सदस्यहरुको बैठकको माग गरिसकेपछि विधानतः ३० दिन भित्र बैठक बोलाउनुपर्छ । हामी आशा गरौं, हाम्रा नेताहरुले विधानलाई मिच्नुहुन्न । पार्टीको पद्दतीलाई मिच्नुहुन्न । लामो संघर्ष गरेर आउनुभएका नेताहरु हुनुहुन्छ । त्यसो भएकाले यो विधान अनुसार पार्टी केन्द्रीय कमिटीको बैठकको आवश्यकता अनुसार पक्कै बोलाउनुहुनेछ । यो भन्दा अघि पनि हामीले केन्द्रीय समिति बैठक बोलाउन एक चौथाई सदस्यहरुको हस्ताक्षर सहित आग्रह गरेपछि बैठक बोलाइएको हो । त्यसो भएकाले बैठक हुन्छ भनेर हामलाई विश्वास छ । जुन मागका साथ हामीले केन्द्रीय बैठक बोलाउन माग गरेका छौं, ति मागहरु स्थायी कमिटी बैठक बसाएर समाधान गरियो भने औपचारिकताका रुपमा मात्र पनि बस्न सक्छ । होइन, स्थायी कमिटीबाट समस्या समाधान भएन भने केन्द्रीय कमिटीबाटै समस्या समाधानगर्ने गरी केन्द्रको बैठक बस्न सक्छ ।
० सांसदसंगै पार्टीका केन्द्रीय नेताहरु पनि तपाँइहरु हुनुहुन्छ, पार्टीभित्र प्रष्ट गुट द्खिएको छ, तपाँइहरुको यो अभियान हेर्दा कता लाग्नुहुन्छ, तटस्थ हो तपाँइहरु ?
पार्टी विभाजन गर्ने सन्दर्भमा हाम्रो मत कसैलाई पनि हुँदैन । हामी कुनै समुह, गुटवन्दी वा कुनै नेताका पक्षमा छैनौं । खासगरी ३ वटा नेताको गुट रहेकामा हामी कुनै नेतासंग पनि रहँदैनौं । कुनै पनि नेताले पार्टी फुटाउने हर्कत गरे भने त्यो पक्षमा हाम्रो मत रहने छैन । हाम्रा दवावका कारण नेताहरु त्यो ठाँउमा पुग्न सक्छन जस्तो लाग्दैन । हाम्रो त्यो ठम्याई हो । हामी एकै ठाँउमा उभिन्छौं । तर पार्टीका केन्द्रीय कमिटी बैठकहरुमा आ आफ्नो विचारहरु राख्न सन्दर्भमा, भोली पार्टीले गरेका निर्णयहरुमा आ आफ्ना मतहरु सार्वजनिक गर्ने सन्दर्भमा त स्वभाविक रुपमा संघीय संसदका सदस्यहरु त स्वतः आफ्नो धारणामा आइहाल्छन् नी । त्यसमा त कसैले रोक्नै सक्दैनन् नी । तर हाम्रो अहिलेको आचार संहिताले के भन्छ भने पार्टी विधी, प्रकृया, र पद्धती अनुसार पार्टी चल्नुपर्छ । त्यही अनुसार पार्टीको समस्याहरु समाधान गर्नुपर्छ । हिजो नेताहरुको पक्ष विपक्षमा सडकमा जसरी नारा, जुलुसहरु लगाउने, नेताहरुलाई देवत्वकरण गर्ने, विभिन्न सञ्चारमाध्यमहरुमा आरोप प्रत्यारोप गर्ने जुन कामहरु भएका छन् ति कामहरु रोक्नुपर्छ र त्यसमा हामी लाग्ने छैनौं भनेरआचार संहितामा स्पष्ट ढंगले उल्लेख
गरेका छौं । हामीले अहिले पार्टीलाई एकतावद्ध बनाएर लिएर जाने सन्दर्भमा सबै हामी एक ठाँउमा रहन्छौं । यदी हामीलाई हिसाव गरेर कोही नेताले पार्टी विभाजन गर्छु भन्ने सोच बनाएको छ भने त्यो सपना नदेखे हुन्छ । हामी न माधव नेपालको खेमामा, न प्रचण्डको खेमामा, न केपी ओलीको खेमामा । त्यो सन्दर्भमा हामी एक ठाँउमा छौं । त्यतीखेर हाम्रो गुट भनेको केवल नेकपा हो ।
० माथिल्ला तहका नेताहरुका बेमेलकै बीचमा विभिन्न प्रश्तावहरु पनि आएको छ, वामदेव गौतमले ६ बुँदै प्रश्ताव ल्याएसंगै चमात्कारिक ढंगले तपाँइहरुले पनि यो अभियान सुरु गर्नुभयो भनेर यो अभियान पनि प्रायोजित हो की भनेर आशंका गरिएको छ नी ?
त्यो बुझाई एकदमै गलत हो । बामदेवको ६ बुँदे र हाम्रो यो अभियानबीच केही पनि साइनो–सम्वन्ध छैन । किनकी वामदेव गौतमबाट ६ बुँदै प्रश्ताव आएको १५ दिन पनि भएको छैन । हामीले यो अभियान सार्वजनिक अस्ति मात्र गरेपनि अभियान भित्रभित्रै सुरु गरेको माइतीघरमा नेताहरुका पक्ष र विपक्षमा नारा सुरु गरेदेखि बाटै हो ।
० बाहिर त केही आएको थिएन त ?
हो, त्यो भित्र भित्र सल्लाह हुँदैथियो । कोही नेतालाई राक्षसीकरण र कोहीलाई देवत्वकरण गरेर नाराबाजी हुन थाले । जिल्ला जिल्लामा यो अभियान हुन थाल्यो । समुहवन्दी हुन थाल्यो । विभाजीत हुन थाल्यो कार्यकर्ताको मत । त्यसो भएपछि अब हामीले एउटा अभियान नचाल्ने हो भने समस्या आँउछ भन्ने लागेर हामीले २ महिना अघिदेखि यो अभियान सुरु गरेका हौं । हामीले हस्ताक्षर गरेर राखेका थियौं, तर सार्वजनिक गरेका थिएनौं ।
० पहिलो चरणको दवाव सिर्जना पछि पनि पार्टीभित्रको समस्या जहाँको त्यही रह्यो भने दोस्रो चरणमा कसरी जानुहुन्छ ?
पहिले हामी एकै ठाँउमा बस्छौं । मैले मात्र यसमा भन्ने कुरा आँउदैन । हाम्रो टिम छ । त्यसमध्ये म पनि एक हुँ । हामी बसेर समस्याको सामधान के हो भनेर निचोड सहित अगाडि बढ्छौं । भरसक त्यो अवस्था आँउदैन भन्ने हामीलाई लागेको छ । हाम्रो यो अभियानले नेताहरुलाई एउटा निष्कर्षमा पुग्न पक्कै दवाव सिर्जना गर्छ ।
० ठोस कुरा त हुनुपयो नी, तपाँइको व्यक्तिगत विचारमा विधी र पद्धती अहिले मिचिएको छ कि छैन ?
यो विषयमा त हामीले केन्द्रीय कमिटीको बैठकमा पनि बोलेका छौं । सार्वजनिक विभिन्न फोरमहरुमा पनि बोलेका छौं । हिजो हामीले जनताको बीचमा गरेका प्रतिवद्धताहरु अनुसार हामीले काम गर्न सकेका छैनौं । त्यो निर्मम समिक्षा गर्न जरुरी छ । निर्वाचनको घोषणापत्रमा उल्लेख गरेका कुरा आज अढाई वर्ष हुँदा कति पुरा भयो, भएन ? त्यसको मध्यावधी समिक्षा हुनुप¥यो । त्यसपछि हामील आउने अढाई वर्षभित्र ति बाँकी कामहरु पुरा गर्न सक्छौं की सक्दैनौं, यदी सक्दैनौं भने पनि यति यति मात्र सक्छौं भनेर जनतालाई हामीले प्रष्ट भनिदिनुप¥यो । आज सरकार सञ्चालन गर्ने विषयमा, सरकारको नीति कार्यक्रमा सन्दर्भमा, सरकारका सिद्धान्त र प्राथमिकताहरु आइराख्दा त्यो विषयमा पाटी बसेर, छलफल गरेर पार्टीको फोरमबाट समिक्षा हुनु जरुरी हुन्थ्यो, जुन कुरा हुन पाएको छैन । बजेटको प्राथमिकता के हुने, हामी समाजवादतर्फ कसरी जाने भन्ने विषयमा नीतिगत निर्णय त पार्टीले गर्नुपर्ला नी ? पार्टीले ति निर्णयहरु गरेर सरकारलाई निर्देशन गरिसकेपछि कार्यक्रम सरकारले ल्याउने हो । तर हामी आज त्यसरी जान सकेका छैनौं । आज हाम्रो संसदीय दल जति प्रभावकारी हुनुपर्ने हो, त्यती हुन सकेको छैन ।
० यो सबैको कारण के हो त ?
यो सबै हुनुको कारण पार्टीलाई हामीले सही ढंगले चलाउन सकेनौं । पार्टीलाई हामीले संस्थागत ढंगले चलाउन सकेको भए र संस्थागत ढंगले निर्णय गरेर त्यो निर्णय कार्यान्वयन गर्न सक्यौं भने स्वभाविक रुपमा यि समस्याहरु समाधान हुन्थे ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply