– दीपकचन्द्र अमात्य संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री
० तपाईं एकाएक मन्त्री हुनुभयो नि ? – मलाई पनि थाहा थिएन र मेरो अपेक्षा पनि थिएन । नेताहरूले मलाई विश्वास गर्नुभयो र मैले जिम्मेवारी पाएँ । ० नेताहरूले भन्दा पनि झलनाथ खनालले विश्वास गर्नुभयो होइन ? – हो, म झलनाथ खनालसँग ०३२–३३ सालदेखि निकट छु । भन्नेहरूले उहाँकी श्रीमती रविलक्ष्मी चित्रकारसँग मेरो नाम जोडे तर म सुरुदेखि नै जेएन कमरेडसँग नजिक छु । सँगै काम गर्दा उहाँले मलाई नजिकबाट चिन्नुभयो र विश्वास गर्नुभयो । यसमा आश्चर्यको कुरा केही छैन । ० मन्त्री बन्छु भन्ने लागेको थिएन होइन ? – थिएन । जेएन कमरेड उपचारका लागि बेलायत जाने कुरा थियो । त्यहाँ जाने टोलीमा मेरो पनि नाम थियो । मेरो राहादनीमा भिसा पनि लागिसकेको थियो । तर पछि, उहाँ अमेरिका जाने कुरा भयो । मलाई भिसाका लागि प्रक्रिया अघि बढाउन भन्नुभयो । यसो हेर्छु त, जाने सूचीमा मेरै नाम रहेनछ । अनि ‘म अमेरिका नजाने ?’ भनेर सोधेँ । उहाँले ‘तपाईंलाई अरू नै जिम्मेवारी दिने विचार गरेको छु, अमेरिका छोडिदिनूस् न त’ भन्नुभयो । मैले ‘म जस्तो तस्तो जिम्मेवारी लिन्न नि, के हो मलाई पहिला भन्नुपर्छ’ भनेँ । तर, उहाँले केही पनि भन्नुभएन । त्यतिबेला सम्म पनि मलाई थाहा थिएन । ० अरू नै जिम्मेवारी भनेको मन्त्री रहेछ ? – वामदेव कमरेडले पनि तपाईं कतै जीएम–अध्यक्ष भएर गए हुन्छ भन्नुभएको थियो । तर, मलाई त्यस्तो रहर थिएन । म यत्तिकै बसिरहेको थिएँ । आखिर मन्त्री हुँला भन्ने त झन् लागेकै थिएन । म कुनै पदको चाहना गर्ने मानिस होइन । अलि आक्रामक छु, लागेको कुुरा भन्छु । पञ्चायतकालमा प्रतिबन्धित रहेको जुडोको खेलाडी हुँ । त्यही आधारमा मैले पार्टीका कैयौँ कार्यक्रममा सुरक्षा पनि प्रदान गरेको छु । ० कसरी थाहा पाउनुभयो त मन्त्री भएको कुरा ? – त्यस दिन पानी परिरहेको थियो । म साथीहरूसँग बाहिरतिर बसिरहेको थिएँ । बारम्बार फोन बज्यो, मैले उठाइनँ । उठायो भने कुरा गर्नुपर्छ, केही न केही काम हुन्छ, आज पानी परेको दिन भनेर बसेँ । पछि घर जाँदा पो घरका मान्छे रिसाए । टीभीले त मेरो नाम मन्त्री भएको भनेर दिइरहेको रहेछ । ० त्यसपछि के गर्नुभयो त ? –त्यसपछि जेएन कमरेडसँग सम्पर्क भयो । उहाँले ‘अहिलेसम्म ज–जसलाई विश्वास गरेँ, सबैले धोका दिए । अन्तिममा तपाईंलाई मौका दिएको छु, तपाईंका लागि पनि अवसर हो’ भन्नुभयो । त्यसपछि धन्यवाद दिएर ‘सकेको गर्छु’ भनेँ । ० तपाईं मन्त्री हुँदा निकै विरोध भयो नि ? त्यो कुरा नबुझेकाहरूले गरेका हुन् । अरू त अरू तपाईंहरूले पत्रिकामा ‘दीपक अमात्यले राजनीति नै गरेको छैन’ भनेर लेखिदिनुभयो । म कस्तो मान्छे भन्ने बुझ्नुभएकै रहेनछ । त्यो कुरा पढेर मलाई त आश्चर्य लाग्यो नै, अरू साथीहरूलाई पनि आश्चर्य लागेछ । नारायणकाजी श्रेष्ठले त ‘तपाईंलाई साथीहरूले चिनेकै रहेनछन्’ समेत भन्नुभयो । ० तपाईं कस्तो मान्छे हो त ? – म दुई पटक जनप्रशासन क्याम्पसको स्ववियु सभापति भइसकेको मान्छे हुँ । म सभापति हुँदा नारायणकाजी श्रेष्ठ (हाल एमाओवादी उपाध्यक्ष) उपसभापति थिए । गंगालाल तुलाधर, विष्णु रिमाल, खम्ब खत्री, ठाकुरमोहन श्रेष्ठ, नन्द कन्दङ्वा सबैले मलाई दाइ भन्छन् । पञ्चायतकालमा कुन नेतालाई सुरक्षा दिइएन ? माधव नेपाल, झलनाथ खनाल, अमृत बोहरा सबैलाई हामीले नै सुरक्षित राखेको हो । मेरो परिवारमा बुबा सुशीलचन्द्र अमात्य, आमा कमला अमात्यदेखि हामी सबै जेल बसेका छौंँ । जेल नजाने एउटी बहिनी मात्र छ । हाम्रो सम्पूर्ण परिवार नै राजनीतिमा समर्पित छ । ० त्यस्तो मान्छे, राजनीतिमा कतै देखिनुभएन नि ? – पञ्चायतकालभरि हामी गुन्डागर्दीका विरुद्ध लड्यौँ । मीठाराम शर्मालाई अखिल (छैटौँ) बाट हामीले नै पाँचौँमा ल्याएका हौँ । विद्यार्थीका प्रत्येक सम्मेलनलाई हामीले सुरक्षा दियौँ । म अखिलको एकताको पाँचौँको केन्द्रीय सदस्य भइसकेको व्यक्ति हुँ । टंक कार्की, भीम न्यौपाने, भीम रावल, ठाकुरचन्द्र श्रेष्ठ, कोमल भट्टराईहरूलाई सोध्दा हुन्छ । ० राजनीतिमा किन सक्रिय हुनुभएन नि ? – मलाई ०४७ सालमै ललितपुरको जिल्ला सचिव हुन माधव पौडेलहरूले घरमै आएर अनुरोध गर्नुभएको थियो । मैले हुन्न भनेँ । त्यतिबेला आदर्शले काम गरेको थियो । अहिले जस्तो उछिनापाछिन थिएन । कम्युनिस्ट पार्टीको जिल्ला सचिव हुने कुरा चानचुने थिएन । पछि उपसचिव भएँ । ०५१ सालमा काठमाडौँबाट रघु पन्तलाई ललितपुरमा ल्याएर चुनाव उठाउन खोज्दा चित्त बुझेन र जिम्मेवारी छोडिदिएँ । पछि बुद्धिराज बज्राचार्य जस्तो राजावादी र समलिंगीलाई मेयर बनाउँदा पार्टी डुब्छ भनेर २२ वटा वडामध्ये १९ वडाबाट सर्वसम्मत निर्णय गराएँ । त्यतिबेला मलाई पार्टीले स्पष्टीकरण सोध्यो । आखिर मैले भने जस्तै एमालेको किल्ला ललितपुर पूरै बिग्रियो । ललितपुरमा स्थानीय नेतृत्वलाई स्थान दिनुपर्छ भनेर मैले आवाज उठाउँदा नेताहरूले मन पराएनन् । बुद्धिराज बज्राचार्यका मामिलामा सबभन्दा ठूलो भूल सुरेन्द्र पाण्डेले गर्नुभएको हो । पछि माधव कमरेडलाई पनि सबै कुरा भन्यौँ । उहाँले पनि हत्तेरिका भन्नुभयो । तर, त्यतिबेला धेरै ढिला भइसकेको थियो । पछि उनी राजाकै पक्षमा लागे र मन्त्री पनि भए । ० त्यसपछि पार्टी कमिटीमा कामै गर्नुभएन ? – मलाई खासै रुचि नै लागेन । म जनप्रशासन पढेको मान्छे, केही काम गर्नुपर्ला भन्ने सोच थियो । झलनाथ खनाल वन तथा भूमिसुधार मन्त्री हुँदा उहाँसँगै बसेर काम गरेँ । पछि ०५१ मा माधव नेपाल कमरेडले पनि सचिवालयमा राख्न खोज्नुभएको थियो । तर, मैले मानिनँ । उहाँलाई कर्मचारीलाई एक तह बढुवा गर्नुपर्छ भनेर सुझाव दिएँ । आर्थिक विभागमा बसेर पनि काम गरेको छु । ० अब ललितपुरमा पार्टी काम गर्नुहुन्छ ? – साथीहरू आउनुहुन्छ, भेट्नुहुन्छ । हिजो तपाईंले भने जस्तो ललितपुरको स्थानीय नेतृत्वलाई विश्वास नगर्दा र स्थानीयलाई जिम्मेवारी नदिँदा आज पार्टीको यो हालत भयो भनेर चिन्ता व्यक्त गर्नुहुन्छ । वास्तवमा ललितपुर एमालेको ‘प्लास्टर एरिया’ नै थियो । ० कमिटीमा सक्रिय नभए पनि सधैँ सत्ताको वरिपरि चाहिँ हुनुहुन्छ नि ? – ०४७ सालमा जेएन खनाल मन्त्री हुँदा म उहाँसँगै बसेँ । ०५३ सालमा उहाँ मन्त्री हुँदा पनि सँगै बसेँ । ०६७ सालमा प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिवका रूपमा काम गरेँ । मेरो इमानदारीमा कसैले प्रश्न गर्न सक्दैन । त्यत्रा मन्त्रालयमा बसेँ, प्रधानमन्त्रीको स्वकीय सचिव भएर काम गरेँ । तर, मैले मेरो परिवारका वा वरपरका एक जनालाई पनि जागिर लगाइनँ । अरू कति नेताले लगाएका छन् । उनीहरूका धेरै कुरा मलाई थाहा छ । तर, मेरो एउटा पनि गल्ती कसैले देखाउन सक्दैन । ० बालुवाटारमा बस्दा पनि जागिर लगाउनुभएन ? – तपाईंलाई थाहै छ, प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवको जिम्मेवारी कति धेरै हुन्छ । उसले सबै मन्त्रीदेखि मन्त्रालयका सचिवहरूसँग समेत समन्वय गर्नुपर्छ । त्यस्तो बेलामा पनि मैले एक जनालाई जागिर लगाइनँ । म त खाली पद्धति र प्रक्रियामा चल्ने मानिस हुँ । एक पटक सशस्त्र प्रहरीमा आईजी बनाउने कुरा आयो । किशोर लामाको जम्मा १५ दिन बाँकी रहेछ । नबनाउने कुरा थियो । मैले भनेँ– ‘राजनीति गर्ने मानिसको मन्त्री– प्रधानमन्त्री बन्ने रहर भएजस्तै जागिर खाने मानिसको त्यसको सबभन्दा माथिल्लो तहमा पुग्ने रहर हुन्छ ।’ पछि निर्णय पनि त्यही भयो । उनीसँग मेरो चिनजान पनि थिएन । पछि बालुवाटारमा भेट भयो । प्रधानमन्त्रीसहित सबै भएको ठाउँमा मैले देखेपछि भनेँ– ‘मैले तपाईलाई चिन्दै नचिनेर आईजी बनाउनुपर्छ भनेँ । तर, तपाईंको शरीर हेर्दा त आईजीका लागि उपयुक्त हुनुहुँदोरहेनछ ।’ उनी त भुँडीवाल रहेछन् । ० साँच्चि त्यतिबेला ल्हारक्याल लामा नामक आयाराम–गयाराम कसरी मन्त्री भएका थिए नि ? – त्यो त मलाई पनि थाहा भएन । उनलाई मैले मन्त्री हुनुभन्दा १०–१५ दिन पहिला मात्र चिनेको हुँ । पार्टीमा चाहिँ अमृत बोहराले ल्याएको भन्ने सुनेको हुँ । मन्त्री कसरी भए, मलाई थाहा भएन । ० मन्त्रालय सम्हाल्दा कस्तो लाग्यो त ? – मैले अघि नै भनेँ नि जनप्रशासन पढेको र लामो समयदेखि शक्ति केन्द्र नजिक बसेकाले मलाई प्रशासनको ज्ञान छ । मसँगै पढेको चार जना त भर्खरै सचिवबाट रिटायर्ड भए भने अरू कति अहिले सचिव, सहसचिव छन् । मैले मन्त्रालयभित्रको संरचना बुझ्ने र काम गर्ने गरेको छु । लामो समयदेखिको पोखरा विमानस्थल निर्माणको कुरा टुंगो लागेको छ । भर्खरै सम्झौता अनुसार चिनियाँ जहाज आएको छ । त्यसमा पनि लफडा भयो । ० कस्तो लफडा ? – सानोतिनो कुरामा पनि हाम्रा निकायहरू ध्यान दिँदैनन् । चिनियाँ कम्पनीसँग जहाज आउने कुरामा सम्झौता भयो । त्यसका लागि विभिन्न २० वटा सम्झौतापत्रमा हस्ताक्षर पनि भयो । म बेलायत जान लागेको थिएँ । बिहानै वायुसेवा निगमको अधिकारीहरू मकहाँ आइपुगे । ‘जहाज ल्याउन दुई–चार दिन ढिलो हुने भयो’ भने । मैले ‘किन ?’ भनेर सोधेँ । ‘प्राविधिक समस्या पर्यो, अलि दिन ढिला गर्नुपर्ने भयो’ भन्छन् तर कारण दिँदैनन् । मैले ‘म अरू कुरा जान्दिनँ समस्या थियो भने पाँच दिनअघि सही गर्दा ध्यान दिनुपथ्र्यो । सम्झौता अनुसार भनेको दिन, भनेको समयमा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुपर्छ । नत्र म सबलाई निलम्बन गर्छु’ भनेँ । त्यसपछि बल्लतल्ल भनेकै समयमा जहाज अवतरण भयो । ० के समस्या रहेछ त्यस्तो ? – खास केही कारण नै बताउँदैनन् । पहिला आफैँ सही गर्ने, अनि समयमा काम नगर्ने ? जिम्मेवारी कसरी लिने ? अनि कसरी हाम्रो विश्वसनीयता कायम हुन्छ ? चीनबाट अरू पनि जहाज ल्याउनुछ । उताबाट जहाज उड््ने बेला भइसक्यो, यता हुँदैन भन्ने ? ० पर्यटन बोर्डमा पनि गञ्जागोल छ नि ? – विस्तारै ठीक हुन्छ । निलम्बित कामु सीईओ सुवास निरौला सर्वोच्च अदालत जानुभएको छ । स्टे अर्डर ल्याएर आउनुभयो भने त ससम्मान राख्नैपर्छ । अन्यथा नयाँ सीईओ चयनको प्रक्रिया छिटै सुरु हुन्छ । ० भर्खरै हिमपहिरोमा त्यति विदेशी मरे, त्यसले त पर्यटन क्षेत्रमा नकारात्मक असर पार्दैन ? –पार्छ । वास्तवमा हामीले मौसम पूर्वानुमान प्रणाली बलियो बनाउन सकेको भए कम क्षति हुने थियो । थोराङ पासदेखि तल झर्ने बाटोको बीचमा ओढार जस्तो केही बनाउन सकेको भए पनि राहत हुने थियो । हामीले उद्धारका लागि सक्दो कोसिस गर्यौँ । म बिहानैदेखि विमानस्थलमा गएर बसेँ । हामीले ५ सय १९ जनाको उद्धार गर्यौँ । त्यसका लागि कैयौं हेलिकोप्टर उडाउनुपर्यो । विदेशी राजदूत भेटिँदा उद्दार चाहिँ राम्रो गरेको हो भन्ने गरेका छन् । ० उद्धारमा सरकारको धेरै खर्च भयो होला होइन ? – उद्धारका लागि सबै हेलिकोप्टरलाई भनियो । उनीहरू तयार पनि भए । तर, उड्ने बेलामा कोही हाम्रो २५ लाख बाँकी छ भन्छन्, कोही २० लाख बाँकी छ भन्छन् । मैले भनेँ– ‘यस्तो कामको म एक रुपियाँ पनि बाँकी राख्दिनँ, कहाँ सही गर्नुपर्ने हो, गर्छु, काम छिटो गर्नुहोस् ।’ उनीहरूले ‘पहिलाकाले पनि यस्तै भन्थे तर पैसा पाएनौँ’ भनेर गुनासो गरे । मैले ‘त्यस्तो हुन्न, म व्यक्तिले होइन, सरकारले बोलेको हो’ भनेँ र सबैलाई काममा लगाएँ ।
उज्जल पहाडीसम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply