हिमाल, पहाड र तराई छुट्याएर संघीयतामा जानु हुँदैन
– लालबाबु यादव सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय० माघ ८ मा संविधान आउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
– अझै पनि दलहरूबीच सहमति भयो भने माघ ८ मा संविधान आउँछ । प्रजातन्त्रका केही आधारभूत सिद्धान्तहरू हुन्छन् । ती सिद्धान्तमा कसैले बीचमा दायाँ–बायाँ गर्न सक्दैन । ती सिद्धान्त हामीले पहिचान गर्यौं भने मलाई लाग्छ, संविधान मस्यौदा गर्न त्यति समय लाग्दैन । जस्तो दक्षिण अफ्रिकामा एकै दिनमा ३८ वटा एजेन्डा पारित भएका थिए । संविधानमा सरकारको स्वरूपको कुरा निर्धारण गर्नुपर्छ । संसदीय प्रणालीमा जाने हो कि राष्ट्रपतीय प्रणालीमा भन्ने कुरा तय हुनासाथ अरू कुरा मिलेर जान्छन् ।
० त्यसो भए राजनीतिशास्त्रको आँखाबाट हेर्दा, सहमति भयो भने माघ ८ मा संविधान आउने सम्भावना अझै देखिन्छ ?
– पहिलो संविधानसभाको निर्वाचनपछि पनि मलाई तीन महिनामा संविधान बन्छ ? भनेर सोधिएको थियो । मैले सहमति भयो भने १५ दिनमै बन्छ भनेको थिएँ । सबै कुरा राखियो भने संविधान बन्दैन । संविधानमा दुई/तीन वटा कुरा राख्नुपर्छ । एउटा, प्रस्तावना । यो छोटोमा राख्नुपर्छ । मौलिक अधिकार राख्ने, राज्यको नीति, निर्देशक सिद्धान्त र सरकारको स्वरूप राखिदिने । बाँकी कुरा त संसारका सबै संविधानमा हुने आधारभूत कुराहरू भइहाल्छन् । जहाँसम्म संघीयताको विषय छ, त्यो अहिले टुंगिँदैन, बाँकी राख्नुपर्छ ।
० सरकारको स्वरूपमा पनि त सहमति देखिँदैन नि ?
सरकारको स्वरूपको कुरा गर्दा एकथरीले संसदीय र अर्काथरीले राष्ट्रपतीय प्रणालीको कुरा गरिरहेका छन् । दुवैले नछाड्ने हो भने बीचको विनविन बाटो जान सकिन्छ । राष्ट्रपतिलाई संवैधानिक बनाइदिने अनि प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवैको निर्वाचन जनताबाट गर्न सकिन्छ ।
० त्यसमा फेरि शक्तिको द्वन्द्व हुन्छ कि ?
– हुँदैन । प्रधानमन्त्री त जनताबाट चुनाव जितेर आएको हुन्छ । उपप्रधानमन्त्री त प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो वा प्रधानमन्त्रीको मृत्यु भयो वा अविश्वासको प्रस्ताव आयो भने त्यस बेलामा काममा आउँछ । त्यसलाई अरू अधिकार हुँदैन । अमेरिकामा उपराष्ट्रपतिलाई त्यही अधिकार हुन्छ । यसमा पनि १५ दिनमा दुईचोटि मतदान गराउने होइन, जसले सबैभन्दा बढी मत ल्याउँछ, त्यसैलाई बनाउनुपर्छ । अनि प्रधानमन्त्रीलाई स्वतन्त्र मन्त्रीमण्डल बनाउन दिनुपर्छ । मन्त्रीमण्डललाई संसद्बाट अलग राख्नुपर्छ ।
० दलहरूबीच अहिले जसरी, जुन रूपमा छलफल भइरहेका छन्, त्यसबाट सहमति जुट्ने सम्भावना देख्नुहुन्छ ?
– छलफलमा नेताहरूले जहिले पनि आफ्नो स्थान के हुन्छ भन्ने ध्यानमा राखेर कुरा गरिरहनुभएको छ । सबैको निजी चाहना हावी भएपछि त्यसबाट सामूहिक चाहना पूर्ति हुँदैन ।
० तपाईंको भनाइको अर्थ कसैलाई राष्ट्रपति, कसैलाई प्रधानमन्त्री चाहिएको छ ?
– ‘म कुरा गर्न जान्छु, ठीक छ– संविधान बनोस्, तर मेरो तत्कालको स्पेस कहाँ हो ?’ भन्ने नै अहिलेको मूल समस्या हो । निजी चाहना छाडेर जनताको चाहनामा जाने हो भने १५ दिनमा संविधान बन्छ । प्रत्येक शीर्षस्थ नेतालाई संविधान बन्दा मेरो स्थान कहाँ हुन्छ भन्ने चिन्ता छ ।
० संघीयता पनि एउटा चर्को विषय छ नि त ?
– संघीयता गाह्रो विषय नै हो । जुन मुलुकमा पनि गाह्रो हुन्छ र पहिलो संविधानसभामा पनि ५२ वटा मोडलहरू आएका थिए । ती मोडलहरू आफ्नै कम्प्युटरमा बसेर निकालिएका थिए । जनतासँग भेटेर, गाउँ–गाउँमा गएर, त्यहाँको मनोवृत्ति बुझेर बनाएको होइन । संघीयता यति छिटो पनि हुँदैन । यदि संविधान समयमै ल्याउने हो भने संघीयताका लागि एउटा आयोग बनाउनुपर्छ । त्यो आयोग स्वतन्त्र हुनुपर्छ र त्यसको आयु कम्तीमा तीन वर्ष हुनुपर्छ ।
० संघीयतालाई थाती राखेर पनि संविधान जारी गर्न सकिन्छ त ?
– अरू उपाय नै छैन । भारतमा संविधान जारी भइसकेपछि जवाहरलाल नेहरूले सन् १९५१ मा संघीयतासम्बन्धी आयोग गठन गरेका थिए । त्यही आयोगले रिपोर्ट दिएपछि मात्रै संघीयताको टुंगो लागेको थियो । हाम्रोमा संघीयताका विषयमा आयोग बनाएर सोचविचारका साथ सबै कुरा विचार गरेर संघीयताको मोडल बनाउनुपर्छ । राजनीतिक तहबाट संघीयताको विषयमा टुंगो लाग्नु एउटा कुरा हो तर विज्ञहरू राखेर त्यसलाई गम्भीरताका साथ समाधान गर्नुपर्छ ।
० यहाँ त मूलभूत विषयहरूमा नै मतभिन्नता छ । जस्तो जातको आधारमा संघीयता, भूगोलको आधारमा संघीयताका कुरा आएका छन् ?
– जातको आधारमा संघीयता कसरी हुन्छ ? पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १ सय २५ जातजाति छन्, १ सय २ भाषाभाषी छन् । के ती सबैलाई राज्य दिएर सम्भव हुन्छ ?
० तर यसअघि संविधानभामै पहिचानको कुरा गरेर….!
राज्यको पुन:संरचना समितिले लिम्बुवान प्रदेशको प्रस्ताव गरेको छ । त्यहाँ लिम्बुको जनसंख्या जम्मा २७ प्रतिशत छ । एक जातको पहिचान दिने तर अरूको नदिने हो भने ऊ सडकमा जान्छ कि जाँदैन ? किराँतमा ३४ प्रतिशत राई छन्, बाँकी अन्य जाति छन् । काठमाडौंमा ३६ प्रतिशत नेवार छन्, बाँकी अन्य जाति छन् । अनि, कसरी जातीय राज्य बनाउने ?
० मधेसमा सिंगो भूगोलको एक प्रदेशको माग उठिरहेका छ नि ?
एक मधेस एक प्रदेशको कुरा उठिरहेको छ । मिथिला–भोजपुरामा ७० लाख जनसंख्या छ । जबकि, जडान प्रदेशमा ४८ हजार जनसंख्या छ । यति असमानता पनि हुन्छ ? यो त मधेसकै लागि पनि घाटा हो ।
० कसरी ?
एक मधेस एक प्रदेश भयो भने त पुरै मधेसमा एउटै राज्यपाल, एउटै मुख्यमन्त्री, एउटै सचिवालय, एउटै आइजीपी, एउटै लोकसेवा आयोग हुन्छ । पाँच वटा राज्य भए भने त सबै पाँच–पाँच वटा हुन्छन् । मैले मधेसमा गएर यो कुरा राख्दा ‘होइन–होइन । हामी एक मधेस–एक प्रदेश मान्दैनौं’ भन्ने पाएको छु ।
० मधेसमा दुई प्रदेशको कुरा आइरहेको छ, यसलाई चाहिँ कसरी हेर्नुभएको छ ?
– संघीयतामा पाँचदेखि सात प्रदेश बनाउँदा मधेसमा दुई प्रदेश ठीकै हुन्छ ।
० त्यसमा पनि त पहाड र मधेसलाई अलगको कुरा आएको छ ?
– त्यो हुँदैन । कुनै पनि हालतमा हिमाल, पहाड र मधेस छुट्याउनु हुँदैन । विश्वमा ७० वटा मुलुक थिए । त्यो बेला पनि नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक थियो । यहाँ कहिल्यै पनि सामाजिक सद्भाव बिथोल्ने जातीय र धार्मिक द्वन्द्वहरू भएका छैनन् । २०६२ देखि यस्ता कुराहरू आएका छन् । नेपाललाई यदि बनाउने हो भने पहिलेको जस्तो मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई मिलेर बसेको जस्तो नेपाल चाहिन्छ । मैले देखेको छु, तराईको मान्छेले गोरखामा ५० रोपनी जग्गा भाडामा लिएर जहुँवाली लगाएर आफ्नो बालबच्चा पढाएको छ । रामेछाप, बाजुरा, बझाङतिर पनि मैले मधेसी समुदाय देखेको छु, उनीहरूसँग भेटेको छु । उनीहरूले त्यहाँ आफूहरूलाई राम्रो भएको मसँग नै बताएका छन् । वास्तवमा पहाड र मधेसीको अनुभूति हुने भनेको काठमाडौंमा मात्र हो । यहाँका मान्छेले मधेसीलाई ‘धोती,’ ‘भैया’ भन्ने र उनीहरूका ढक तराजु खोसिदिने गर्दछन् । यसले चाहिँ अलिकति समस्या देखिएको हो । जुन कुरा अविलम्ब बन्द गर्नुपर्छ ।
० हिमाल, पहाड, तराई मिलाउनुपर्छ भन्नुभयो तर यसलाई ‘महेन्द्रीय’ राष्ट्रवाद भनेर निकै भत्र्सना गरिएको पाइन्छ नि ?
– त्यो पनि गलत हो । इतिहासमा सबैले गलत नै गरेका छन् र ? मैले धुलिखेलमा एउटा कार्यपत्र प्रस्तुत गरेको थिएँ । त्यहाँ मैले जातीय कुराको विरोध गरें । एक जना सभासद्ले आज घम्साघम्सी हुन्छ भन्नुभयो । मैले भनें– ‘म कलम चलाउने मान्छे हुँ, म खुकुरी चलाउने मान्छे होइन ।’ उहाँले ‘यदि जातीय संघीयता भएन भने रगतको खोलो बगाइन्छ’ भन्नुभयो । मैले भनें– ‘हेर्नुस् रगतको खोलो त १५ हजारले बगाइसके । अब कति बगाउनुहुन्छ ? एउटा कुरा भन्छु– पृथ्वीनारायण शाह गोरखाका राजा थिए । उनले नेपाल एकीकरण गरे । तर, गोरखा नाम राखेनन्, नेपाल राखे । गोरखा राजधानी राखेनन्, काठमाडौंमा राखे । २ सय ४० वर्ष पहिला पनि सामूहिक पहिचान लिएर गए । तर, आज हामी जातको कुरा गरिरहेका छौं । यो त कविलापन्थी भयो ।’ त्यसपछि उहाँले ‘आज मलाई चित्त बुझ्यो, अब जातजातिको कुरा उठाउँदिन’ भन्नुभयो । त्यसकारण, हामीले वस्तुस्थितिबारे बताउनै सकेका छैनौं ।
० यसलाई त अहिले पहिचानविरोधी कुरा पो भनिन्छ त ?
म नुवाकोट गएको थिएँ । त्यहाँ मैले कुनै पनि हालतमा जातीय संघीयता हुँदैन भनें । त्यहाँ पनि एक जनाले धेरै विरोध गर्नुभयो । मैले भनें– ‘ब्रुनो र माक्र्स दुवै ज्यूज थिए, दुवै जर्मन थिए । दुवै ज्यादै मिल्ने मित्र थिए । माक्र्सले आफूलाई जर्मन सम्झन्थे, ब्रुनो आफूलाई ज्यूज सम्झन्थे । अनि माक्र्सले भनेछन्– ‘तिमी आफैं आफूलाई जर्मन होइन ज्यूज भन्छौ भने जर्मनले तिमीलाई किन जर्मन मान्ने ?’ अनि उसले भनेछ– ‘ठीक छ, म जर्मन त जर्मन नै हो तर ज्यूज जर्मन । पहिला जर्मन हुँ अनि ज्यूज ।’ म एउटा निवेदन गर्छु । मेरो नाम लालबाबु यादव हो । लालबाबु यादव विहारमा लालु यादव हो । उत्तर प्रदेशमा मुलायम सिंह यादव हो । मेरो सम्बन्ध जातिसँग हुन्थ्यो भने तपाईंहरूसँग हुने थिएन । तर, आज म यहाँ छु । किनकि, म पहिले नेपालको हुँ । म यहाँबाट विदेश जाँदा ‘मधेसको लालबाबु यादव हुँ’ भन्यो भने कसैले चिन्दैन । उहाँले मलाई ‘तपाईं मधेसी हुनुहुन्छ कि हुनुहुन्न ?’ भनेर सोध्नुभयो । मैले भनें– ‘मधेसी त म हुँ । मधेसीमा ५६ जातजाति छन् । त्यो पनि म छु । तर, पहिला म नेपाली ।’ ‘तपाईंलाई मधेसी पार्टीले कुनै पद दिए जानुहुन्छ कि जानुहुन्न ?’ भनेर फेरि सोध्नुभयो । मैले भनें– ‘म क्षेत्रीय पार्टीबाट कुनै पनि पदमा जान्न ।’ उहाँले ताली बजाउनुभयो । उहाँहरूले पनि ‘अब हामीले जातीय कुरा छाड्यौं’ भन्नुभयो । आजभन्दा तीन–चार दिन पहिला वसन्तपुरमा एउटा कार्यक्रम भएको थियो । मैले पनि बोलेको थिएँ । त्यो सुनेपछि क्रान्तिकारी विद्यार्थी संघले मसँग आफ्नो कार्यक्रममा बोल्न आउन आग्रह गर्यो । मैले भनें– ‘तपाईंहरू जातीय कुरा गर्नुहुन्छ, मेरा कुरा त मिल्दैनन् ।’ उनीहरूले भने– तपाईंको भाषणबाट हामी कन्भिन्स भइसक्यौं ।’ भक्तपुरका नेवार पनि त्यहाँ आएका थिए । उनीहरूले पनि ‘पहिले हामीलाई नेपाली बनाइदिनुपर्यो’ भने ।
० विभेद हटाउने उपाय के हुन्छ होला त ?
– दुई वटा कुरा छन् । एउटा, मधेसका मान्छे जो काठमाडौंमा बसेका छन्, त्यसलाई भन्ने गरेको पनि सुनिन्छ । म तपाईंहरूकोमा गएँ, राम्रोसँग खाना पनि खुवाउनुभयो तर हेपेर ‘यादव कहाँ गयो ?’ भन्नुभयो भने चित्त दुख्छ । त्यसकारण, काठमाडौं बसेका जाति पनि तराईवासी छन्, उनीहरूलाई सद्भावपूर्वक दाइ भन्ने, उनीहरूको ढक–तराजु नछिन्ने, राम्रो व्यवहार गर्ने भयो भने धेरै सद्भाव बढ्छ ।
० तराईको एकथरी नेताहरूले पहाडको उपनिवेश भयो भन्ने शब्द प्रयोग गर्नुहुन्छ ?
– पहिचानमा केही प्रश्नचिह्न लगाएकै हो । मधेसीको राष्ट्रियता र संघीयतामा प्रश्न लगाएकै हो । उनीहरूलाई सम्मान दिनुहोस् । उनीहरू साम्प्रदायिक छैनन्, यदि थिए भने माधव नेपाल रौतहटबाट चुनाव जितेर कसरी आउनुभयो । केपीजी झापाबाट, सुशील कोइराला बाँकेबाट र शेरबहादुरजी कैलालीबाट चुनाव जितेर आउनुभयो । अन्त हार्नुभयो, जातीय कुरा गर्नुहुन्छ तर त्यही मधेसले प्रचण्डलाई जिताएको हो । जनताले साम्प्रदायिक बनाएको हो कि राष्ट्रिय एकताको प्रतीक ? उहाँले बुझ्नुपर्यो । नेताभन्दा जनता अगाडि छन् । नेता क्षेत्रीय, जातीय छन् । जनता चाहिँ राष्ट्रिय छन् । त्यसको राम्रो उदाहरण मधेस नै छ ।
० तराईमा मधेसवादी भन्ने पार्टीहरूको कमजोर उपस्थितिले पनि त्यस्तै देखाउँछ हैन ?
– एकल जातीय पहिचानसहितको संघीयता दोस्रो संविधानसभा चुनावले अस्वीकार गरिसकेको छ । एक मधेस एक प्रदेशलाई पनि मधेसका जनताले असफल गराइदिएका छन् । यदि उहाँहरूले जनादेश मान्नुहुन्छ, प्रजातन्त्रमा विश्वास गर्नुहुन्छ भने यो कुरा मान्नुपर्छ । ‘मधेसीहरू आफ्ना छोरी, श्रीमती सांसद बनाउँछन् र त्यही भएर यिनीहरूमाथि हाम्रो विश्वास छैन’ भनेर त्यहाँका जनता आज सिधै भनिराखेका छन् ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply