खाने २०, निकालिने २
काठमाडौं । पवित्र लुम्बिनी क्षेत्रभित्र अपवित्र कामहरू बढ्दै गएका छन् । लुम्बिनी विकास कोषका पदाधिकारीहरूको अकर्मण्यताका कारण अपवित्र कार्यहरू हुनुका साथै कर्मचारीहरूमा भ्रष्ट मानसिकतासमेत वृद्धि हुँदै गएको पाइएको छ ।
केही दिनअघि लुम्बिनीमा त्यस्तै एउटा घटना हुन पुगेको छ । चैतको दोस्रो साता ताइवानबाट २०–२५ जनाको समूह लुम्बिनी घुम्न आएको थियो । उक्त समूहका मानिसहरूले मृत्यु भएका आफ्ना आफन्तको नङ र हड्डीसमेत लिएर आएका थिए । बुद्धको जन्मथलोमा ती चिजहरू सेलाउँदा पुण्य पाउने धार्मिक मान्यताले गर्दा ती ताइवानी तीर्थयात्रीहरूले आफन्तका नङ र हड्डी लिएर आएका थिए ।
विश्व सम्पदा सूचीमा आबद्ध लुम्बिनीमा मृतकका शरीरका कुनै पनि अंग सेलाउन वा गाड्न मिल्दैन । तर, ती ताइवानी तीर्थयात्रीहरूले ल्याएका मृतकका अंगहरू भने मायादेवी मन्दिरको परिसरमै गाडिएको पाइएको छ । ताइवानी भिक्षुहरूले सुरुमा कोषका सुरक्षा प्रमुख सबिर अहमद खाँसँग ती चिजहरू लुम्बिनी क्षेत्रभित्र गाड्न अनुमति मागेका थिए । तर, उनले लुम्बिनीभन्दा बाहिर गाड्न निर्देशन दिएको बताइन्छ । तर, ताइवानी भिक्षुहरूले भित्रै गाड्ने प्रयत्न गरे र कोषका सुरक्षाकर्मी, सशस्त्र प्रहरी र दंगा प्रहरीका मानिसहरूलाई २ लाख रूपैयाँ दिएर ती चीजहरू गाड्न पुगेका थिए ।
ताइवानी भिक्षुहरूले मायादेवी मन्दिरको पुरानो पीपलको रूखको पश्चिमी क्षेत्रमा खाल्टा खनेर मृतकका नङ र हड्डी गाडेका थिए । यसरी, सुरक्षाकर्मीहरूलाई पैसा दिएर ती चिजहरू गाडिएपछि कोषले पुरातत्व अधिकृत हिमालकुमार उप्रेती र प्रशासकीय अधिकृत चूडामणि भट्टराई सम्मिलित छानबिन कमिटी बनाएको थियो । उक्त छानबिन समितिले ताइवानीहरूसित पैसा लिने कर्मचारीहरू २० जना रहेको प्रतिवेदन तयार पारेको थियो । २० कर्मचारीमा कसैले १ हजार र कसैले २÷३ हजार पाए पनि धेरै रकम बुझ्ने कर्मचारीको थिए भन्ने कुरामा चाहिँ प्रतिवेदन मौन रहेको बताइन्छ ।
ताइवानीहरूले घुसस्वरूप दिएको रकम २० जनाले लिए पनि कोषले दुई कर्मचारीलाई मात्र कारबाही गरेको छ । कारबाही हुने कर्मचारीहरूमा गार्ड कमान्डरद्वय धन्नाराम श्रेष्ठ र मोहम्मद सोयब मुसलमान रहेका छन् । ताइवानीले दिएको पैसा लिने सबैलाई कारबाही हुनुपर्ने कुरा उठे पनि अरू सबैलाई चोख्याएर दुई जनालाई मात्र कारबाही हुनु आश्चर्यजनक रहेको बताउन थालिएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply