22nd November 2017, Wednesday

E-budhabar

दक्षिण सुडानमा के गर्दै छ नेपाली सेना ?



दक्षिण सुडानमा के गर्दै छ नेपाली सेना ?

१६ महिनाअघि प्रमुख सेनानी भुवन खत्रीले ८ सय ५० सैनिकलाई  जुबामा उतार्दा र अहिलेको समयमा धेरै परिवर्तन आएको छ । संयुक्त राष्टसंघीय शान्ति मिसन (अनमिस)को नेतृत्वमा दक्षिण सुडानको राजधानीमा जुबामा शान्ति स्थापनाका लागि उत्रिएको पहिलो डफ्फालाई बस्नका लागि पालबाहेक विकल्प थिएन । नौ महिना पालमुनि बिताएपछि अहिले नेपाली सेना प्रिफ्याबको घरमा मात्र सरेको छैन, त्यहाँ खटिएका १२ हजार विदेशी सैनिकमध्ये जिम्मा दिएको काम इमानदारीका साथ पूरा गर्ने पहिचान बनाउन पनि सफल भएको छ । त्यही भएर अरू मुलुकका सैनिकलाई भन्दा सुडानमा नेपाली सैनिकलाई अनमिस नेतृत्वले विश्वास गरेको पाइन्छ । अनमिस प्रमुख एलेन मार्गरेटले दुई साताअघि नेपाली पत्रकारहरूसँग भनिन्, ‘नेपाली सैनिकको काम गर्ने तरिकाबाट म प्रभावित छु । दक्षिण सुडानमा शान्ति स्थापनाका लागि नेपाली सेनाले पुर्‍याइरहेको योगदानको म खुलेर प्रशंसा गर्दछु ।’
दुई महिना पहिला चिनियाँ सेना नआउञ्जेल अनमिसको मुख्य कार्यालय रहेको जेबल क्रुजरको पेरिमिटरको सुरक्षा पनि नेपाली सेनाकै जिम्मामा थियो । यतिसम्म कि अनमिस प्रमुख मार्गरेटले कार्यालयबाट बाहिर निस्किँदा नेपाली सेनाकै सुरक्षा प्रयोग गर्ने गरेकी छन् । नेपाली सेनाले धैर्य, वीरता र लगनशीलताका साथ काम गरिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘आफ्नो देशमा भूकम्प जाँदासमेत उनीहरूले काममा कुनै कमी आउन दिएनन्, लगनशीलताका साथ काम गरे । त्यसले हामीलाई थप प्रभावित बनाएको छ ।’
२० लाखभन्दा बढी नागरिकले ज्यान गुमाएको सुडानमा मान्छे मार्नु र मारिनुलाई सामान्य जस्तै मानिन्छ । सन् २०११ जुलाई ९ तारिखमा स्वतन्त्रता पाउनुअघि अलग देशका लागि लडेका दक्षिण सुडान जनताले त्यसपछि पनि शान्ति पाएनन् । डिंका समुदायका राष्ट्रपति साल्भा किर र न्युर समुदायका उपराष्ट्रपति रिक मचारबीच डिसेम्बर २०१३ बाट सुरु भएको जातीय द्वन्द्वमा कतिले ज्यान गुमाए ? लेखाजोखा पनि छैन । त्यसपछि थपिएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दक्षिण सुडानका जुबा, रुम्बेक, बोर, मालाकाल, बेन्टुलगायतका क्षेत्रमा शान्ति सैनिकका क्याम्पहरू राखिएका छन् । दुवै पक्षलाई झगडा गर्न नदिने उद्देश्यले स्थापित ती क्याम्पहरू अहिले दोहोरो मारमा परेका नागरिकका लागि आश्रयस्थल पनि बनेका छन् । जस्तो, राजधानी जुबाको यूएन हाउसको छेउमा रहेका विस्थापितका तीन शिविरमा मात्रै ४० हजार जति विस्थापित बस्छन् । उनीहरूलाई खाना, पानी, शिक्षा, स्वास्थ्य जस्ताको व्यवस्था अनमिसले नै गरेको छ । त्यस काममा सघाउन नेपाली सेना परिचालित छ ।
माथिल्लो नाइल क्षेत्र अपदस्थ राष्ट्रपति रिक मचारको नियन्त्रणमा छ । त्यहाँ बेलाबेलामा खाद्यान्नको अभाव हुँदा नाइल नदीमा बार्ज (पानी जहाज जस्तै) चलाएर सामग्री पठाउनुपर्छ । तर, बाटोमा कतै सरकारी सेना (एसपीएलए) त कतै विद्रोही सेना (एसपीएलए आईओ)ले अवरोध सिर्जना गर्दछन् । लाइफ लाइन नाम दिएको अप्रेसनमार्फत खाद्यान्न त्यता पुर्‍याउन अरू देशका सैनिकलाई पनि भनिएको थियो । तर, उनीहरूले तत्परता नदेखाएपछि नेपाली सेनाले जुबाबाट माथिल्लो नाइलसम्म लगातार पाँच पटक खाद्यान्न पुर्‍याएपछि शान्ति मिसनमा उसको अलग्गै छवि बनेको छ । एकपटकमा एक महिनासम्म लाग्ने उक्त अभियानको नेतृत्व गरेका सेनानी सुमन थापा भन्छन्, ‘बीचमा आउने अवरोध चिर्दै, उनीहरूलाई सम्झाउँदै महिना दिन लगाएर नेपालले उक्त अपरेसन सफल पारेपछि हामीलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आएको महसुस गरेका छौँ ।’ जस्तो, अनमिसका फोर्स कमान्डर मेजर जनरल एहानेस ग्याब्रेमेस्कल टेस्फामारियम भन्छन्, ‘नेपाली सेना धेरै अनुशासित, सहयोगी र उच्च नैतिक बल भएको सेना रहेछ भन्ने हामीले कामबाटै थाहा पाएका छौँ । हामीले दिएका कुनै पनि जिम्मेवारी उसले पूरा गर्न बाँकी राखेको छैन ।’ उनी थप्छन्, ‘यो सबै नेपाली सेनाको व्यावसायिकताले सम्भव भएको हो ।’
जुबामा रहेको अर्जुन बाण गणले बार्ज सुरक्षा, यूएन हाउस सुरक्षा, विस्थापित शिविरहरूको सुरक्षाका साथै ११ क्षेत्रमा बाँडिएको जुबा सहरमा मात्रै २ हजार १ सय पटक गस्ती गरेको छ । गणपति भुवन खत्रीका अनुसार, जुबाकै टम्पिङमा रहेका २१ हजार विस्थापितलाई जेबल क्रुजरमा सार्ने, जुबाबाट लेक स्टेट र बार अल गजल क्षेत्रमा जाने मुख्य आपूर्ति राजमार्गको सुरक्षा गर्ने, लामो र छोटो दूरीको गस्ती गर्ने, झगडा भएकै ठाउँमा पुगेर दुवै पक्षलाई छुट्याउनेदेखि समुदायमा पुगेर शिक्षा र स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने जस्ता काम गरेको छ । १६ महिना नेपाली सेनाको नेतृत्व गरेर नेपाल फर्किन लागेका प्रमुख सेनानी खत्रीले भने, ‘यी सबै काम गरेर हामीले आफूलाई तोकिएको जिम्मेवारी कुशताका साथ बहन गरेका छौँ ।’
चुनौती सामना गर्न सक्ने भएकै कारण अहिले नेपाली सेनालाई जुबामा रिजर्भ फोर्सका रूपमा राखिएको छ । जहाँ जतिबेला खतरा उत्पन्न हुन्छ, त्यहाँ पठाउने गरी उनीहरूलाई तयारी हालतमा राखिएको छ । प्रमुख सेनानी खत्रीले भने, ‘यसबाट पनि हाम्रो आवश्यकताका बारेमा बुझ्न सकिन्छ ।’
उता, राजधानी जुबाबाट ३ सय ८४ किलोमिटर टाढा रुम्बेकमा प्रमुख सेनानी इन्द्रबहादुर शाहको नेतृत्वमा रहेको सूर्य दल गणले पनि समुदायमा पुग्ने र शान्ति स्थापना गर्ने काम गरिरहेको छ । जुबामा जस्ता आन्तरिक विस्थापित त्यहाँ नरहे पनि डिंका समुदायकै बीचमा पनि गाईका लागि लडाइँ पर्छ । त्यहाँका प्रमुख पेसाको रूपमा रहेको गाईपालनको सुरक्षाका लागि एके ४७ हतियार प्रयोग हुनुलाई सामान्य मानिन्छ । त्यही कारण बेलाबेलामा ठूलो लडाइँ हुने र त्यहीँबाट विस्थापित हुने क्रम त्यहाँ पनि नभएको होइन । शिक्षा, स्वास्थ्यका साथै गैरसरकारी क्षेत्रसँग मिलेर जनचेतना जगाउने काममा उक्त गण पनि सक्रिय छ । नेपाली सेनाको पाँचौँ डफ्फाका रूपमा नौ महिना पहिला त्यहाँ पुगेको ७ सय जनाको उक्त गणका कमान्डर शाह भन्छन्, ‘स्थानीय बासिन्दालाई सम्झाई बुझाई गरिरहेका छौँ, अरू सम्बद्ध पक्षहरूसँग मिलेर शान्ति स्थापना गर्न सक्दो कोसिस गरिरहेका छौँ ।’
नेतृत्व छैन
नेपाली सैनिकले दक्षिण सुडानमा उत्कृष्ट काम गरेका छन् भन्दा फरक पर्दैन । अप्ठेरो पर्दा जहाँ पनि उनीहरू नै खटिने गरेका छन् । सबै गरेर झन्डै १८ सय नेपाली सैनिक त्यहाँ तैनाथ छन् । तर, सबभन्दा बढी नेपाली सैनिक त्यहाँ भए पनि माथिल्लो तहमा भने नेपालको नेतृत्व छैन । फोर्स कमान्डर इथोपियाका मेजर जनरल ग्याब्रेमेस्कल टेस्फामारियम छन् भने डेपुटी फोर्स कमान्डरमा चीनका मेजर जनरल याङ च्यांलिङ छन् । यतिसम्म कि चार वटा सेक्टरमा बाँडिएको दक्षिण सुडानका चारै क्षेत्रका सेक्टर कमान्डर पनि अरू नै मुलुकका छन् । दुई साताअघि नेपाली टोलीको प्रतिनिधित्व गरेर त्यहाँ पुगेका महासेनानी जीतबहादुर गुरुङले मिसनका उच्च अधिकारीहरूसँग खुलेरै यो कुरा राखे । उनको भनाइ थियो, ‘तपाईंहरूले पनि भनिरहनुभएको छ, नेपाली सेनाले यहाँ राम्रो काम गरेको छ । हामी अझै राम्रो काम गर्छौं । हाम्रा सैनिकको मनोबल उच्च पार्नका लागि पनि हामीले माथिल्लो तहको नेतृत्व चाहिन्छ ।’ दुई सय जनाको रेकी कम्पनी दक्षिण पठाउन पाउनुपर्ने, रुम्बेकमा रहेको ७ सयको गणलाई ८ सय ५० बनाउनुपर्ने सँगै महासेनानी गुरुङले उठाएको नेतृत्वको दाबीलाई त्यहाँका उच्च अधिकारीहरूले सकारात्मक रूपमा लिएका छन् । राष्टसंघीय महासचिव वान कि मुनकी विदेश प्रतिनिधिका रूपमा मिसनको नेतृत्व गरिरहेकी मार्गरेट, फोर्स कमान्ड र डेपुटी कमान्डर सबैले नेपालको दाबी जायज रहेको भन्दै आफ्नो तर्फबाट सघाउने वचन दिएका छन् । तीन महिना अघिसम्म तत्कालीन सहायक रथी (हाल उपरथी) रमेश पुन डेपुटी फोर्स कमान्डरका रूपमा कार्यरत थिए । अहिले कन्टिन्जेन्ट कमान्डरका रूपमा त्यहाँ पुगेका महासेनानी सुदर्शनविक्रम राणाले पनि उच्च तहको नेतृत्वका लागि पहल गर्ने बताए ।
सीमित साधनस्रोत, फरक भूगोल, संस्कृति र हावापानी अनि फरक भूमिकामा पनि नेपाली सेना उत्तिकै खरो उत्रिएको देखिएको छ । त्यहाँ कार्यरत सैनिकलाई हौसला दिन प्रधानसेनापति गौरवशमशेर राणा आठ महिनाअघि त्यहाँ पुगेका थिए । त्यहाँको निरीक्षणका लागि पुगेका महासेनानी जीतबहादुर गुरुङले भने, ‘हाम्रो कार्यकुशलता, इमानदारी र उच्च मनोबलबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उजागर भएको पाएका छौँ ।’
जुबामा रहेको अर्जुन वाण गणलाई गत भदौ ७ गतेदेखि प्रमुख सेनानी रोशन खड्काको नेतृत्वमा गएको देवीदल गणले बदली गरेको छ । कार्यभार सम्हालेपछि कमान्डर खड्काले भने, ‘यसअघि नेपाली सेनाले निर्वाह गरेको भूमिकालाई अझै उचाइमा पुर्‍याउनेछौँ ।’
नेपाली सैनिकको बदली भएकै दिन दक्षिण सुडानमा शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय समुदायको कडा रबैया र दबाबका कारण दुवै पक्ष सहमतिमा आएका छन् । कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने आशंका कायमै राख्दै हस्ताक्षरित उक्त सम्झौतापछि पहिला अपदस्थ गरिएका रिक मचार नै उपराष्ट्रपतिमा बहाल हुने, ३० महिनाका लागि संक्रमणकालीन सरकार बनाउने, दुवै सेनाका हतियार क्यान्टोनमेन्टमा राख्ने, समायोजना नहुञ्जेल राष्ट्रपति र उपराष्ट्रपति दुवै आ–आफ्नो सेनाको प्रमुख रहने, यही सरकारले निर्वाचन गराउनेलगायका बुँदाहरू समेटिएका छन् । सम्झौताअनुसार राजधानी जुबाको सुरक्षा विदेशी सैनिकले गर्ने प्रावधान अनुसार नेपाली सेनाको भूमिका पनि बदलिन सक्नेछ । आशा गरौँ, दक्षिण सुडानका बासिन्दाले देशमा शान्ति कायम भएको देख्न पाउनेछन् र नेपाली सेना पनि सन्तोषको सास फेरेर स्वदेश फर्किनेछ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा