18th July 2018, Wednesday

E-budhabar

प्रहरीमा दुई अर्बको हतियार खरिदको तयारी



काठमाडौं । नेपाल प्रहरीले विगत पाँच वर्षदेखि रोकिएको हातहतियार तथा गोलाबारुद खरिदका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने अन्तिम तयारी गरिरहेको छ । करिब २ अर्ब रूपैयाँबराबरको सामान खरिदका लागि प्रस्ताव तयार भइरहेको छ । दुई अर्बको सामान खरिद गर्दा कानुनी रूपमा झन्डै ४०÷४५ करोड रूपैयाँ कमिसन आउने भएकाले धेरैका आँखा प्रहरीको सामान खरिदमा सोझिएको छ ।
अहिले नेपाल प्रहरीसँग अरू त कुरै छाडौं टियर ग्याँस र रबरको गोलीसमेत छैन । तत्कालीन गृहमन्त्री वामदेव गौतमकै पालामा प्रहरीले आवश्यक सामान खरिदको तयारी गरेको थियो । तर, प्रस्ताव तयार गर्ने प्रशासन शाखा प्रमुख तत्कालीन डीआईजी राजेन्द्रसिंह भण्डारीले प्रस्ताव मन्त्रालयमा पठाएर त्यसको सम्पूर्ण सूचना सञ्चार माध्यमलाई चुहाएपछि हतियार खरिदको त्यो योजना बीचैमा तुहिएको थियो । त्यसयता कुनै सरकारले हतियार खरिदको काम गर्न सकेका थिएनन् । अहिले भने प्रहरीले राइफल, इटालियन पेस्तोलदेखि लिएर रबरका गोलीसम्म खरिदको प्रस्ताव तयार गरिरहेको छ । त्यसबाहेक भीड तितरबितर पार्ने पानीको फोहरा हान्ने दुइटा वाटर ट्यांक पनि किन्ने तयारी प्रहरीको छ । प्रहरीसँग अहिले एउटा मात्र वाटर ट्यांक छ । हाल प्रबन्ध शाखा प्रमुख रहेका डीआईजी पवन खरेल यही असार ३० मा अवकाश पाउँदै छन् । उनी घर नजाँदै यो प्रस्तावको टिप्पणी उठेमा यसको कमिसन खरेलले पनि पाउँछन् । त्यही भएर असार ३० अगाडि कम्तीमा टिप्पणी उठाउने तयारीमा डीआईजी खरेल दिलोज्यान दिएर लागिपरेको बताइन्छ । यी सामान खरिदका लागि ग्लोबल टेन्डर गर्नुपर्ने भए पनि सरकारले नयाँ कार्यविधि बनाएर जीटुजीमार्फत पनि खरिद गर्न सक्ने बताइन्छ ।
किन बाँडियो अपुग कपडा ?
यसैबीच, डेढ महिनाअघि बाँडिएको चुस्ता पोसाकको विषयलाई लिएर पनि प्रहरीभित्र खैलाबैला उत्पन्न भएको छ । पोसाक बाँढ्ने काम पनि खरेल प्रमुख रहेको प्रबन्ध शाखाले नै गर्छ । प्रबन्ध शाखाले डेढ महिनाजति अघि बाँडेको पोसाकको रङ पहिलेको पोसाकको रङसँग पनि नमिल्दो छ । एकातिर आधाभन्दा कम प्रहरीलाई चुस्ता कपडा बाँडिएको छ भने अर्कातिर बाँडिएको कपडा सिलाएर लगाउनु पनि भनिएको छैन ।
अपुग पोसाक बाँडिएपछि कतै डीआईजी खरेलले जाने बेलामा अलिकति भने पनि कमिसन खान यसो गरेका त होइनन् ? भन्ने प्रश्न प्रहरीभित्रै उब्जिएको छ । तर, डीआईजी खरेलले अपुग पोसाक वितरणको कारण बजेटको अभाव भएको बताए । उनले भने, ‘सरकारले दिएको बजेटले कहिल्यै पनि सम्पूर्ण प्रहरीलाई एकैचोटि पोसाक खरिद गर्न पुग्दैन । त्यो पैसाले जति पुग्छ त्यति खरिद गरेर लामो समयदेखि नपाएकाहरूको पहिचान गरेर वितरण गरिएको हो ।’ तीन वर्षदेखि खरिद हुन नसकेकाले धेरैले पोसाक नपाएको पनि उनले बताए । रंग भने विगतमा केही गाढा नीलो भए पनि यसपटक हलुका नीलो भएको र फेब्रिकमा पनि अन्तर भएको उनले बताए । फेब्रिकका कारण पहिलेको पोसाक केही गह्रुँगो भएर हिँड्दा पनि असजिलो हुने खालको थियो भने यसपटक हलुका खालको भएको डीआईजी खरेलले बताए ।

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

नेकपाको विधान र नियमावली पारित

महाधिवेशन प्रतिनिधि बन्न ओली र प्रचण्डले पनि चुनाव लड्नुपर्ने काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन र अधिवेशनमा प्रतिनिधिमा- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अधैर्यको नमीठो स्वाद

आख्यान र गैरआख्यान दुवै विधाका किताबको अध्ययनमा गहिरो अभिरुचि राख्ने एक जना गम्भीर अध्येताले केही दिनअघि भने, ‘नेपाली लेखकहरूका एकपछि अर्को किताब फितला हुँदै गइरहेका छन् । लेखन- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विडम्बनाको पर्दाफास

हरेक समाज केही न केही विडम्बना, समस्या र द्वन्द्वमा जेलिएका हुन्छन् । त्यस्तो समाजभित्र बाँचिरहेका मानिसहरूका अनेक कथाव्यथा हुन्छन्, अनगिन्ति पीर, सन्ताप, व्यथा, खुसी र उल्लास- ...
पूरा पढ्नुहोस्

छोटकरीमा