वैकल्पिक कृषि कार्यमा क्युवाले मारेको छलाङ
हाम्रो वैश्विक खाद्यतन्त्र आफ्नो परिस्थितिगत, आर्थिक र सामाजिक पक्षसहित एक बहुआयामिक संकटबाट गुज्रिरहेको छ । यो संकटबाट उम्किनका लागि राजनीतिक र सामाजिक परिवर्तनको आवश्यकता छ, किनकि व्यापक सतहमा विकल्पको विकास गर्न सकियोस् ।
वर्तमान खाद्यतन्त्र उत्पादनकारी छ । यसमा कुनै सन्देह छैन । किनकि, पछिल्लो आधा शताब्दीको तुलनामा विश्वभरि प्रतिव्यक्ति खाद्य उत्पादनमा १५ प्रतिशत वृद्धि हुन पुगेको छ । तर, यो उत्पादन पहिलादेखि नै सीमित व्यक्तिहरूको हातमा छ र आर्थिक तथा पारिस्थितिक रूपले लगातार धेरै नै खर्चिलो हुँदै गएको छ । तसर्थ, दिगोपनको कुरा त छाडिदिउँ, थोरै अवधिका लागि भोक र भोजनको उपलब्धताको ढाँचागत समस्याको समाधान गर्न झनै कठिन हुँदै गएको छ । पछिल्ला बीस वर्षमा संसारभरि, चीनलाई छाडेर, भोका व्यक्तिहरूको संख्यामा ६ करोड वृद्धि हुन पुगेको छ । आर्थिक दृष्टिले किसानलाई पहिलाभन्दा पनि महँगो मेसिन र कृषि–रसायनहरू प्रयोग गर्नका लागि बाध्य पारिएको कारण उत्पादन खर्च बढ्न पुग्यो । जबकि अन्नको मूल्यमा केही दशकदेखि गिरावटको क्रम जारी नै छ । जसले मूल्य–लागतको अनुपात गिरायो, फलस्वरूप संसारभरमा करोडौं किसान घाटाको सिकार भएर टाट पल्टिन पुगे । सामाजिक दृष्टिले, हामी देख्न सक्दछौं कि, खेतीयोग्य जमिन सीमित व्यक्तिका हातमा खुम्चिन पुग्यो । किनकि, अन्न बालीको कम हुँदै गएको मूल्यका कारण साना स्तरका खेतीको घाटा बढ्दैगएपछि सम्झौता गर्न बाध्य तुल्यायो । र, कृषि व्यवसाय गर्ने संस्थाहरू मूलभूत आवश्यकताका वस्तुहरूमा धेरैभन्दा धेरै नियन्त्रण स्थापित गर्दै गइरहेका छन् ।
प्राय: दोहोर्याइरहने एउटा चुनौती हो–जैविक खेती । के यसले वास्तवमै देशका सम्पूर्ण जनताको पेट भर्न सक्छ ? क्युवाको अहिलेको इतिहास– आत्मनिर्भरता, साना खेती र कृषि–पारिस्थितिक प्रविधिगत उद्योगलाई आधार बनाएर खाद्य संकटको समाधान नै हो, यी विकल्पहरूबाट वास्तवमै सिंगो देशका जनताको पेट भर्न सकिन्छ ।
एक संक्षिप्त इतिहास
क्युवाको आर्थिक विकास सन् १९५९ को क्रान्ति र १९८९/९० मा सोभियत खेमासँग व्यापारिक सम्बन्ध टुट्दाखेरिको बीचको अवधिमा दुई बाह्य शक्तिद्वारा निर्धारित भयो । त्यसमध्ये एउटा थियो, अमेरिकी व्यापार प्रतिबन्ध, जो उक्त द्वीपलाई आर्थिक र राजनीतिक रूपबाट तहसनहस तुल्याइदिने प्रयासको एउटा अंश थियो । दोस्रो थियो, क्युवाले सोभियत खेमासँग अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध स्थापित गर्नु । जसमा व्यापारको सर्त अपेक्षतया नरम थियो । अमेरिकी प्रतिबन्धले क्युवालाई अनिवार्य रूपमा सोभियत खेमातिर मोड्न बाध्य पारिरहेको थियो । जबकि रुसी खेमाको नरम व्यापारिक सर्तले ल्याटिन अमेरिका र क्यारेवियनका अरू देशहरूको तुलनामा उक्त द्वीपको तीव्र विकासको सम्भावनालाई खोलिदियो ।
यस प्रकार, क्युवा अधिकांश विकासशील देशको तुलनामा सम्पूर्ण र धेरै तीव्र रूपले आधुनिकीकरण हासिल गर्न समर्थ भयो । १९८० को दशकमा अर्थव्यवस्थामा उद्योगको योगदानको दृष्टिले पूरै क्षेत्रमा अब्बल रह्यो । कुनै पनि अरू ल्याटिन अमेरिकी देशको तुलनामा क्युवाको कृषि क्षेत्रमा मेसिनीकरण धेरै थियो । यद्यपि, तेस्रो विश्वका अन्य देशहरूमा आधुनिकीकरणले जुन अन्तरविरोध उत्पन्न गरेको थियो, त्यसमध्ये केही अन्तरविरोध क्युवामा पनि देखियो । र, क्युवाको विकासको मोडेल अन्तत: निर्भर प्रकारको सिद्ध भइरहेको थियो । कृषिको अर्थ निर्यात गरिने अन्न उत्पादनको व्यापक एकवबर्से उत्पादन र आयात गरिने कृषि रसायन, वर्णशंकर बीउ, मेसिन र पेट्रोलियम पदार्थमा ठूलो मात्रामा निर्भरता हुन गएको थियो । क्युवाको उद्योग व्यापक रूपमा आयात गरिएका लागत सामग्रीमा निर्भर थियो, जबकि क्षेत्रीय मानदण्डको हिसाबले औद्योगिकीकरण धेरै नै थियो ।
तेस्रो विश्वका अधिकांश देशले जुन परिस्थितिको सामना गरिरहेको थियो, त्यसको विपरीत अन्तर्राष्ट्रिय श्रम विभाजन क्युवाको जनताका लागि धेरै ठूलो फाइदा लिएर आयो । समाजवादी खेमा ढल्नुभन्दा पहिले क्युवाले कुल राष्ट्रिय उत्पाद (जीएनपी), पोषण, अपेक्षित औसत आयू र उच्च शिक्षामा महिलाहरूको अंशको मामिलामा उँचो स्थान प्राप्त गरेको थियो । र, चिकित्सकहरूको उपलब्धता, निम्नतम बाल मृत्युदर, आवास, माध्यमिक विद्यालयहरूमा पञ्जिकरण र सांस्कृतिक गतिविधिहरूमा जनताको सहभागिताको सवालमा पूरै ल्याटिन अमेरिकामा पहिलो स्थानमा थियो ।
क्युवाका यी उपलब्धिहरू सामाजिक समानताप्रति सरकारको वचनबद्धता एवं क्युवाद्वारा त्यस गोलाद्र्धका अन्य विकासशील देशहरूको तुलनामा व्यापारमा धेरै नै नरम सर्तमा निर्यात गरिनु, यी दुई संयोगद्वारा सम्भव हुन पुग्यो । १९८० को दशकमा सोभियत संघमा गरिएको चिनीको निर्यातबाट क्युवालाई जुन औसत मूल्य मिल्दथ्यो, त्यो विश्वव्यापी मूल्यको ५.४ गुणा बढी थियो । यसको साटो, क्युवालाई रुसबाट पेट्रोल प्राप्त हुन्थ्यो, जसको एउटा अंश निर्यात गरेर क्युवाले परिवर्तनीय मुद्रा पनि कमाउँथ्यो । चिनीको व्यापारको नरम सर्तको कारण यसको उत्पादन खाद्य पदार्थयुक्त अन्य बालीको तुलनामा धेरै नै थियो । उखु खेतीका लागि छुट्याइएको क्षेत्रफल करिब तीन गुना थियो, जसको कारण खाद्य पदार्थका लागि बाह्य निर्भरता रहिरहन्थ्यो र क्युवाको खाद्य उपभोगमा कुल क्यालोरीको ५७ प्रतिशत आयातबाटै पूरा गरिन्थ्यो । क्रान्तिकारी सरकारको विरासतमा एउटा यस्तो कृषि व्यवस्था मिल्यो, जो खराब हिसाबले ती निर्यात गरिने बालीमाथि केन्द्रित थियो, जसलाई संकेन्द्रित जमिनमा उब्जाइन्थ्यो । १९५९ को प्रथम कृषि सुधारले अधिकांश ठूला पशुकेन्द्र र उखुको खेतीलाई राजकीय फार्ममा समावेश गरियो । १९६२ को दोस्रो कृषि सुधारमा राज्यले खेतीयोग्य जमिनको ६३ प्रतिशत भाग नियन्त्रणमा लियो ।
संकटका उदय
१९८९ को अन्त र १९९० मा जब सोभियत खेमाका साथ व्यापारिक सम्बन्ध टुटिरहेको थियो, तब स्थिति धेरै नै बिग्रियो । १९९१ मा सरकारले ‘शान्तिकालको विशेष अवधि’ घोषणा गर्यो, जसका अन्तर्गत देशमा मूलत: युद्धकालीन अर्थव्यवस्थाजस्तै मितव्ययिता कार्यक्रम लागू गरियो । तेल आयातमा तुरुन्तै ५३ प्रतिशत कटौती गरियो, जसले अर्थव्यवस्था चलाउनका लागि आवश्यक इन्धनको उपलब्धता प्रभावित त गर्यो, विदेशी मुद्रालाई पनि घटाएर सून्यमा ल्यायो, जुन पहिला पेट्रोलियमको पुननिर्यातबाट प्राप्त हुन्थ्यो । मानव उपभोगका लागि गहुँ र दोस्रा खाद्यान्नको आयात ५० प्रतिशतभन्दा पनि धेरै गिर्न पुग्यो । जबकि दोस्रा खाद्य पदार्थमा यसभन्दा पनि धेरै गिरावट आयो । क्युवाले कृषि मल तथा किटनाशक औषधिको उपलब्धतामा ८० प्रतिशतभन्दा पनि धेरै र इन्धन र अन्य ऊर्जा स्रोतमा ५० प्रतिशतभन्दा धेरै गिरावटको सामना गर्नुपर्यो ।
एउटा देश, जसको कृषि क्षेत्र प्रविधिगत उद्योगका दृष्टिले क्यालिफोर्नियाजस्तै थियो, अचानक रासायनिक लागत सामग्रीबाट लगभग विहीनजस्तै हुन पुग्यो । सिंचाइ तथा इन्धन तीव्र रूपमा कम हुन गयो र खाद्य आयात क्षतविक्षत हुन पुग्यो । १९९० को दशकको प्रारम्भमा क्युवाको जनताको क्यालोरी तथा प्रोटिनको औसत दैनिक उपभोग १९८० को दशकको स्तरभन्दा ३० प्रतिशत तल थियो । सौभाग्य, यस्तो थिएन कि, १९८९ पछि उत्पन्न भएको खराब परिस्थितिको सामना गर्नका लागि क्युवा एकदमै तयार थिएन । यी वर्षहरूमा क्युवाले मानवीय संशाधनहरूको विकासमा जोड दिइरहेको थियो । यसरी, क्युवासँग वैज्ञानिक र शोधार्थी कार्यकर्ता मौजूद थिए, जो संकटको सामना गर्नका लागि आविष्कारक विचारका साथ अगाडि बढ्न सक्थे । क्युवाको जनसंख्या ल्याटिन अमेरिकी देशको कुल जनसंख्यामध्ये २ प्रतिशत छ, तर क्युवासँग वैज्ञानिकहरू चाहिँ ११ प्रतिशत छ ।
वैकल्पिक प्रविधि
यस संकटको सामना गर्नका लागि क्युवाको सरकारले राष्ट्रको कृषि क्षेत्रलाई अभूतपूर्व मात्रामा बदलेर अत्यधिक मूल्ययुक्त कृषिबाट कम मूल्ययुक्त र आत्मनिर्भर कृषिमा बदल्ने राष्ट्रिय प्रयास सुरु गर्यो । रासायनिक लागत सामग्रीको अत्यन्त कम उपलब्धताका कारण राज्यले तीव्र रूपमा त्यसको ठाउँमा स्थानीय उत्पादन र धेरैजसो सवालमा जैविक खेती प्रचलित तुल्याए । यसको अर्थ थियो– कीराहरूसँग मुकाविला गर्नका लागि जैविक किरानाशक वा त्यसको प्राकृतिक शत्रुको उपयोग, बोटविरुवाको प्रतिरोधक प्रकार, बाली चक्र, बोटविरुवामा रोगहरूको सामना गर्नका लागि त्यसको सूक्ष्मजीवि प्रतिद्वन्द्वीहरूको प्रयोग गरेर यस्तो खेती गरियो, जसले जमिनलाई पूरै ढाक्ने काम गर्यो । कृत्रिम मलखादलाई जैविक मलखाद, कीराहरू, कम्पोष्ट र अन्य जैविक मलबाट, प्राकृतिक चट्टानी फास्फेटबाट, पशुहरूको गोबरको मल र हरिया खाद्यबाट तथा चरनमा रहेका पशुहरूलाई सामेल गरेर प्रतिस्थापित गर्ने काम भयो । ट्याक्टरको ठाउँमा, जसका लागि इन्धन, टायर र स्पेयर पार्टस अधिकांश उपलब्ध हुँदैनथे, पशुहरूबाटै काम चलाउने क्रम पुन: सुरु भयो ।
वैकल्पिक दृष्टान्त
क्युवाको यस्तो अनुभवले हामी खाद्यतन्त्रको वैकल्पिक दृष्टान्तको खाका कुन हिसाबले देख्न सक्छौं ? अथवा, क्युवा हरेक नजरमा यस्तो एक्लो उदाहरण हुन्, अन्य देशका लागि तयार पाठका रूपमा हामी क्युवाको अनुभवलाई सामान्यीकरण गर्न सक्दैनौ ? पहिलो कुरा, समकालीन क्युवाले आफ्नो पारम्परिक बुद्धिमत्तालाई पूरै बदल्यो । हामी भन्दछौं, साना देशले आफ्नो जनताको पेट भर्न सक्दैन । किनकि, स्थानीय कृषि उत्पादनको कमी पूरा गर्नका लागि त्यस्ता देशलाई आयातको आवश्यकता पर्दछ । तर, जब क्युवाको मुख्य व्यापार सम्बन्ध समाप्त भयो, उसले आत्मनिर्भरताका लागि लामो बाटो लियो । हामी सुन्दछौं कि, खेतीमा प्रयोग गरिने कृत्रिम रसायनबिना कुनै पनि देशले आफ्नो जनताको पेट भर्न सक्दैन । तर, क्युवाले वास्तवमै यस्तो गरिरहेको छ । हामी भन्दछौं कि, पर्याप्त मात्रामा भोजन उत्पादन गर्नका लागि ठूलो आयामको कार्यकुशल निगम, फार्म वा राजकीय फार्मको आवश्यकता पर्दछ । तर, क्युवालाई खाद्य संकटबाट मुक्ति दिलाउनमा हामी साना किसान र बागवानीहरूको भूमिका देख्दछौं । वास्तवमा, अनुदानयुक्त मेसिन र आयातित सामानको अभावमा ठूला उत्पादन इकाईहरूका तुलनामा साना खेत कैयौं गुना कार्यकुशल हुन्छ । हामी पटक–पटक सुन्दछौं कि, खाद्यान्नको कमीको जवाफ केवल अन्तर्राष्ट्रिय खाद्य अनुदानमात्र हुन सक्छ, तर क्युवाले स्थानीय उत्पादनबाटै यसको विकल्प खोज्यो ।
यसरी, वैकल्पिक प्रतिमानको तत्वका रूपमा यी अनुभवहरूका सारलाई यसरी राख्न सकिन्छ :
रसायनको ठाउँमा कृषि परिस्थितिगत प्रविधि : क्युवामा मुख्य बालीको बीचमा अरू बाली उमार्ने, जैव किटनाशक र कम्पोष्ट, कृत्रिम किटनाशक तथा मलका अन्य विकल्पको प्रयोग गरियो ।
किसानलाई उचित मूल्य : अन्नबालीको उच्च मूल्यका कारण क्युवाका किसानले उत्पादनलाई बढाए । जब मूल्य कृत्रिम रूपमा तल राखिन्छ, तब किसान उत्पादनका लागि प्रोत्साहनबाट हरेक ठाउँमा वन्चित रहन्छन् र प्राय: यस्तो हुने गर्दछ । फेरि जब उनीहरूलाई कुनै प्रोत्साहन मिल्छ, त्यतिबेला परिस्थिति जस्तोसुकै होस्, उनीहरू उत्पादन गर्दछन् ।
जमिनको पुनर्वितरण : लागत सामग्रीको उपलब्धता कम हुने स्थितिमा साना किसान र फलफूल खेती गर्नेहरू नै क्युवाको उत्पादनकर्ताहरूमा सर्वाधिक उत्पादन गरिरहेका छन् । यथार्थ त के हो भने, संसारभरिका ठूला फार्महरूको तुलनामा साना फार्म, प्रतिइकाई जग्गामा धेरै नै उत्पादन गर्दछन् । क्युवामा जमिनको पुनर्वितरण गर्नु अपेक्षतया सजिलो थियो, किनकि भूमिसुधारको ठूलो हिस्सा यस अर्थमा सम्पन्न गरिएको थियो कि, त्यहाँ भूस्वामी थिएनन्, जो परिवर्तनको प्रतिरोधमा खडा हुन्छन् ।
स्थानीय उत्पादनमा विशेष जोड : व्यक्तिले आफ्नो भोजनका लागि विश्व अर्थव्यवस्थाको मूल्यगत उन्मादी उतारचढाव, लामा दूरीको परिवहन र महाशक्तिहरूको ‘शुभेच्छा’माथि निर्भर रहनु पर्दछ । स्थानीय र क्षेत्रीय स्तरमा उत्पादित केही पदार्थ अत्यधिक सुरक्षा प्रदान गर्दछ र साथै त्यसले स्थानीय आर्थिक विकासलाई प्रोत्साहित गर्नका लागि आपसी सम्बन्ध स्थापित गर्दछ । यति मात्र होइन, यस्तो उत्पादन पारिस्थितिक दृष्टिले धेरै नै उन्नत हुन्छ, किनकि अन्तर्राष्ट्रिय परिवहनमा खर्च गरिएको ऊर्जा काम नलाग्ने हुन्छ र पर्यावरणका लागि विनाशकारी पनि हुन्छ ।
आफ्नो ‘विशेष अवधि’ को समयमा खेतहरूमा शक्तिचालिक मेसिनहरूको प्रयोग गर्नमा असमर्थ हुनुका कारण क्युवाको अवस्था विचित्र थियो, जसमा उसले पशुहरूबाट जोत्नेजस्ता विकल्प खोज्न बाध्य भएको थियो । विकासको यस्तो अवस्थामा क्युवा वा अरू कुनै पनि देशका लागि यो कुरा लगभग असम्भव छ, कि खेतहरूमा मेसिनको प्रयोग त्यतिसम्म मात्र बन्द गर्नु उचित हुन्छ, जबसम्म उसलाई त्यस्तो गर्न बाध्य पारिँदैन । फेरि पनि विकासका लागि संघर्षशील देशका लागि यसबाट महत्वपूर्ण पाठ मिल्दछ ।
क्युवाको अनुभवले के देखाउँछ भने, उचित पारिस्थितिक प्रविधिमा आधारित साना र मध्यम आकारको खेतीद्वारा हामी देशको जनतालाई राम्रो खाद्यान्न उपलब्ध गराउन सक्छौं । यसो गरेर हामीले खाद्य पदार्थको मामिलामा धेरै आत्मनिर्भर हुनसक्छौं । किसानहरूलाई आफ्नो उत्पादनका लागि राम्रो मूल्य मिल्नु पर्दछ, यस्तो हुँदा नै उनीहरूलाई उत्पादन गर्नका लागि प्रोत्साहन मिल्दछ ।
(रोजेट, अमेरिकाको क्यालिफोर्नियाको ओकल्यान्डस्थित खाद्य तथा विकास नीति संस्थान/फुड फस्र्टका कार्यकारी निर्देशक हुन् । उनले मेडिया बेन्जामिनसँगको सहकार्यमा ‘दि ग्रिनिङ अफ द रिभोल्युसन : क्युवाज् एक्सपेरिमेन्ट विथ् आर्गेनिक एग्रिकल्चर’ नामक पुस्तक पनि लेखेका थिए । यो लेख, मन्थली रिभ्युबाट लिइएको हो ।)
सम्बन्धित समाचार
- भारतमा ९२ सांसद निलम्बित
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
- अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
- इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
- इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
- इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न एमालेको माग
Leave a Reply