वैशाख ९ मा पार्टी एकता, चुनाव चिह्न सूर्य
काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रबीच) को बहुप्रतीक्षित पार्टी एकता आगामी ९ वैशाखमा गर्ने अन्तिम तयारी भइरहेको छ । २२ अप्रिल २००६ मा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ऐतिहासिक दिनको अवसर पारेर एकता घोषणा गर्ने गरी पार्टी एकता संयोजन समितिले तयारी अघि बढाएको हो ।
‘टुंगिन बाँकी विषयमा छलफल हुँदै जान्छ तर वैशाख ९ गते नै घोषणासभामार्फत दुवै पार्टी एक भएको घोषणा गर्ने गरी तयारी अघि बढिरहेको छ,’ एमाले उपाध्यक्ष वामदेव गौतमले बुधबारसँग भने । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअगावै एकता घोषणा गर्ने तयारी भए पनि केही विषय टुंगो लाग्न बाँकी छ । विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने, चुनाव चिह्न र एकतापछि बन्ने सबै कमिटीमा दुवै पार्टीको संख्या अनुपात कति हुनेजस्ता विषय मिलिसकेको छैन । मंगलबार भएको एकता संयोजन समिति बैठकमा राजनीतिक र विधान मस्यौदासम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएका छन् । पार्टीको राजनीतिक कार्यदिशा, आमकार्यदिशा, रणनीतिक लक्ष्य किटान गर्नुका साथै वर्तमान सामाजिक चरित्रको समेत प्रतिवेदनमा विश्लेषण गरेको छ । त्यस्तै, विधान कार्यदलले पनि केन्द्रदेखि तल्ला तहसम्मका कमिटीहरूको संख्या तय गरी प्रतिवेदन बुझाएको छ ।
उच्च स्रोतका अनुसार प्रस्तावनामा एमाले जनयुद्ध स्वीकार नगर्ने तर माओवादी केन्द्रले सशस्त्र संघर्ष या जनयुद्ध गरेको कुरा उल्लेख गरेर चुनाव चिह्न सूर्य कायम राख्ने पक्षमा छ । यो विषयमा माओवादी अध्यक्ष प्रचण्ड पनि करिबकरिब सहमत भइसकेको उच्च स्रोतको भनाइ छ । चुनावी तालमेलकै क्रममा मतदानको सहजताका लागि सूर्य चिह्नमा चुनाव लड्ने समझदारी भइसकेकाले प्रचण्ड यसलाई विवादका रूपमा तन्काउने पक्षमा छैनन् । तर, त्यसभन्दा ठूलो कुरा प्रचण्डको ध्यान एकीकृत पार्टीमा संख्या अनुपातमा देखिएको छ । एकीकृत पार्टीमा दुवै पार्टी अध्यक्ष समान हैसियतमा रहने भएका कारण माओवादी केन्द्रबाट केन्द्रीय कमिटीमा ९९ जना समावेश गर्दा भावी समीकरण कस्तो हुन सक्छ जस्ता विषयमा प्रचण्डले लेखाजोखासहित बढी ध्यान केन्द्रित गरेका छन् । जनमतअनुसार आफ्नो पार्टीले ३० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने भए पनि बाहिर समानाताको स्प्रिटमा एकता हुने आफैंले हल्ला चलाएर उनी ४० प्रतिशत हिस्सा लिने रणनीतिमा देखिएका छन् । पार्टी एकता भइसकेपछि ‘पोजिसन’ कमजोर हुन सक्ने भन्दै वर्षमान पुनजस्ता नेताहरूले बारम्बार होसियारी अपनाउन खबरदारी गरिरहेका कारण पनि प्रचण्ड दबाबमा परेका छन् । तर, एमालेमा भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालदेखि उपाध्यक्ष वामदेव गौतमसम्मका नेताहरू केही लचकता अपनाएर भए पनि एकता घोषणालाई छिटो निष्कर्षमा पु¥याउनुपर्ने पक्षमा छन् । यी सबै पृष्ठभूमिमा दुईचार दिन ढिलाइ भए पनि एकताको सबै विषय टुंगो लागेर ९ वैशाखमै घोषणासभा हुने दुवै पार्टीका नेता–कार्यकर्ता बताउँछन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply