“अनुमोदन गर्न प्रस्ताव “
काठमाडौं । ‘मैले त आज के–के हुने भयो भन्ने सोचेको थिएँ । हिजो ऋषि धमलाकोमा मैले नबोलेका कुरालाई बंग्याएर प्रचार गरियो । हाम्रो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले यहाँ जे बोल्नुभयो, त्यसबाट म प्रभावित भएको छु । मेरो विचारमा उहाँको यस भनाइलाई केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नुपर्छ ।’
माथिको भनाइ गत शनिबार एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमले केन्द्रीय कमिटीको बैठकमा व्यक्त गर्नुभएको हो र पाठकहरूले थाहा पाइसक्नुभयो– उहाँले बोल्नुअघि वरिष्ठ नेता माधव नेपालले बोल्नुभएको रहेछ । कुरा के परेछ भने अघिल्लो दिन गौतमले बैठकमा सहभागी नभएकामा नेपालमाथि कारबाही गर्नुपर्छ भनेर सार्वजनिक रूपमा बोल्नुभयो भन्ने प्रचार भएको थियो । केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता नेपालले यस विषयलाई उठाउने कुरा त्यस दिन बिहानैदेखि मिडियाले भनिरहेका थिए । यसबाट गौतमलाई ‘के–के हुने भयो र आज नराम्रो मार खाइने भयो’ भन्ने लागेको रहेछ । तर, वरिष्ठ नेता नेपालले आफू अस्पतालमा बोलाइएको बैठकमा किन नगएको भन्नेबारेमा केन्द्रीय सदस्यहरूलाई चित्त बुझ्ने गरी सविस्तार बताउँदै त्यही आधारमा कारबाही गर्ने भए गरेर देखाउन चुनौती दिँदा गौतमसँग कुनै जवाफ भएन । साथै, पार्टीभित्र विवाद भए पनि एकताबद्ध रूपमा पार्टीलाई अघि लैजानका लागि आफ्ना तर्फबाट कुनै कसर बाँकी नराख्ने र यस्ता झिनामसिना कुराले आफूलाई कुनै असर नपुर्याउने नेपालको अभिव्यक्तिपछि बैठकमा अरूलाई झंै गौतमलाई पनि चित्त बुझेछ । अनि तुरुन्तै प्रभावित भइहाल्ने गौतमले जुरुक्क उठेर भन्नुभयो– ‘वरिष्ठ नेताका भनाइलाई बैठकले अनुमोदन गरेर संस्थागत गर्नुपर्छ ।’
त्यस दिन माधव नेपालले बैठक सुरु हुनासाथ समय लिएर सवा घन्टा बोल्नुभएको थियो । ग्रान्डी होटलमा डाकिएको बैठकमा आफू नजानुका कारणबारे उहाँको भनाइ थियो– ‘पहिलो त जस्तै आपतकालीन अवस्थामा पनि अस्पतालमा बैठक बसिँदैन । रिसोर्टमा बस्नु र अस्पतालमा बस्नु फरक कुरा हो । दोस्रो, त्यहाँ केपी कमरेड मात्र हुनुहुन्थेन, अरू बिरामी पनि थिए, तिनीहरूलाई पनि असर पर्छ । तेस्रो, स्वयम् केपी कमरेडको स्वास्थ्यका लागि पनि त्यसरी दु:ख दिनु हुँदैन । जबकि, बैठक अस्पतालमै बसे पनि दिउँसो त उहाँ उपस्थित हुन सक्नुभएनछ । यो त अमानवीय कुरा हुन्छ ।’
मन्त्रीबारे मौनता !
आफूलाई उपेक्षा गरेर तीन नेताले भागबन्डाका आधारमा मन्त्री चयन गरे पनि वरिष्ठ नेता नेपालले त्यसबारेमा कुनै टिप्पणी गर्नुभएन । उहाँको भनाइ थियो– ‘मलाई यो प्रक्रियामा चित्त बुझेको छैन । वामदेव कमरेड सुझाव माग्न भनेर आउनुभएको थियो । मैले मेरो हैसियत सुझाव दिने होइन भनेर पठाइदिएँ । जो–जो कमरेडहरू मन्त्री बन्नुभएको छ, मेरो शुभकामना छ, हाम्रै कमरेडहरू बन्नुभएको छ । तर, जुन तरिकाले पार्टी चलाउन खोजिँदैछ, के यसरी पार्टी चल्छ ?’
वरिष्ठ नेता नेपालले जतिसुकै चुनौती भए पनि त्यसलाई मिलेर र एकताबद्ध भएर सामना गर्न पार्टी पंक्ति तयार हुनुपर्ने बताउनुभयो । ‘हाम्रा बीचमा विवाद होलान्, बहस होलान् तर सम्मुखमा स्थानीय चुनाव छ, महाधिवेशन छ, त्यसमा हामीले मिलेर सामना गर्नुपर्छ, एकताबद्ध भएर सामना गर्नुपर्छ’– उहाँको भनाइ थियो ।
गौतमद्वारा नबोलेको स्पष्टीकरण
अघिल्लो दिन ‘ममाथि विगतमा माधव नेपालले कारबाही गर्नुभयो, अहिले उहाँमाथि कसले कारबाही गर्ने ?’ भनेर ऋषिको क्लबमा पुगेर बोल्नुभएका गौतमले बैठकमा भने आधा घन्टासम्म आफूले बोल्दै नबोलेको, आफूलाई परिबन्दमा पारिएको र वरिष्ठ नेतालाई आफूले त्यस्तो कुरा भन्नै नसक्ने स्पष्टीकरण दिनुभयो । गौतमले रोचक पाराले भन्नुभयो– ‘ऋषिले धेरै दिन किचकिच गर्दा पनि म गएको थिइनँ । हिजो अभिनन्दन गर्छु भनेपछि लौ न त भनेर गएँ । त्यहाँ त उसले अन्टसन्ट सोध्यो । ‘तपाईंको वरिष्ठ नेताले गल्ती गर्नुभयो, कारबाही गर्नुहुन्छ कि हुन्न ?’ भनेर सोधेको सोध्यै गर्यो । मैले उहाँ हाम्रो पार्टीको दोस्रो नेता हो, अध्यक्षपछिको आसनमा बस्नुहुन्छ, म सेरेमोनियल उपाध्यक्षले कसरी कारबाही गर्ने ? उहाँमाथि कसले कारबाही गर्न सक्छ र ? भनें । तर, बाहिर त वामदेवले माधव नेपालमाथि कारबाही गर्नुपर्छ भन्यो भनेर प्रचार भएछ । यो पूर्णत: गलत कुरा हो ।’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply