अग्रणी बैंक बनाउने ध्येय

अहिले कृषि व्यवसायमा आबद्ध मानिसहरूको आयस्तर क्रमश: खस्किँदै गइरहेको छ । फलस्वरूप, ग्रामीण क्षेत्रमा औद्योगिक उत्पादनको मागमा उत्तिकै कमी आइरहेको छ । कृषि वस्तुहरूको उत्पादन एक स्तरमा रोकिन पनि पुगेको छ । कृषि क्षेत्रको दीघकालीन समाधानका लागि यस क्षेत्रमा वित्तीय संस्थाहरूले लगानीको दायरा फराकिलो पार्नुपर्ने स्थिति उत्पन्न भइसकेको छ ।
तीन दशकअघि राष्ट्रिय वाणिज्य बैंकमा कृषि विशेषज्ञका रूपमा प्रवेश गरी अहिले प्रमुख कार्यकारी–अधिकृतको जिम्मेवारी सम्हालिरहेका कृष्णप्रसाद शर्मालाई कृषि क्षेत्रको विकासप्रति रुचि नहुने कुरै भएन । आफूले अध्ययन गरेको विषय, मध्यमस्तरीय कृषक परिवारबाटै अहिलेको तहसम्म पुगेको अवस्था र बैंकिङ क्षेत्रहरूले पनि कृषिमा लगानी गर्नुपर्ने अनिवार्यताबीच अहिले राष्ट्रिय वाणिज्य बैंकले पनि ग्रामीण तहका किसानहरूमा लगानी गर्ने ढोका खोलेको छ । त्यसो त, बैंकले पहिला पनि कृषि क्षेत्रमा लगानी गर्ने गरेको थियो । तर, विगतमा द्वन्द्व चर्किएका कारण देशका अधिकांश शाखाहरू बन्द हुन पुगे र बैंक पनि केही वर्ष समस्यामा डुब्यो । र, कृषि क्षेत्रमा लगानी गर्ने कार्य बन्द भयो । तर, अब भने कृषिमा लगानी गरी ग्रामीण तहसम्मे बैंक पुग्न लागिरहेको छ । शर्मा भन्छन्– ‘व्यावसायिक कृषि कार्य गर्नेहरूलाई हामी सरल दरमा ऋण दिन्छौं । विगतमा परम्परागत हिसाबले कृषि कर्म गर्नेहरूलाई ऋण दिँदा सफल हुन सकेन । तर, कृषिलाई व्यवसायीकरण गर्नेतिर ध्यान दिँदै हामी लगानी गर्नेछौं । किनभने, अहिले कृषि विकास बैंकले पनि कमर्सियल काम गर्न थालेपछि कृषिमा लगानी पुगिरहेको छैन ।’
२०१६ सालमा पर्वतको चुवा गाविसमा जन्मिएका शर्माले २०४० सालमा रामपुरस्थित कृषि क्याम्पसबाट बीएस्सी उत्तीर्ण गरेपछि बैंकिङ ‘क्यारियर’ सुरु गरेका हुन् । ती दिनहरू सम्झिँदै उनी भन्छन्– ‘त्यतिबेला कृषि क्षेत्रमा राम्रो सम्भावना थियो । छात्रवृत्ति पाएर बाहिरी देशमा पढ्न जान पनि पाइन्थ्यो । र, म आफू पनि कृषि व्यवसायबाटै हुर्किएको हुँदा यही क्षेत्रमा झुकाव रहन पुग्यो ।’ बीएस्सी उत्तीर्ण गरेपछि आफूले अध्ययन गरेको विषय सुहाउँदो कृषि विकास बैंकमा जागिर खाने इच्छा उनमा नपलाएको त होइन । तर, राष्ट्रिय वाणिज्य बैंकमा पनि कृषि विशेषज्ञ नै खुलेको हुँदा यतैतिर उनी आकर्षित भए । उनी भन्छन्– ‘मैले यो बैंकमा जागिर सुरु गरेपछि विकास बैंकहरूसित सम्बन्धित कामहरू गर्न थालें । बैंकको आन्तरिक आवश्यकताको कारणले गर्दा कृषि र घरेलु उद्योगहरू हेर्नेगरी म विशेषज्ञका रूपमा नियुक्त भएको हुँ ।’ पर्वतको कुस्माबाट ०३२ सालमा एसएलसी उत्तीर्ण गरी सानोठिमी क्याम्पसबाट प्रमाणपत्र तह सिध्याएका शर्माले बैंकमा जागिर सुरु गरेपछि व्यवस्थापनमा दक्ष हुनका लागि एमए र एमबीए पनि सिध्याए ।
बैंकको विभिन्न तहमा कार्यरत हुँदै नायब महाप्रबन्धकसम्म भएका शर्मा दुई वर्षअघि खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी–अधिकृतमा नियुक्त भएका हुन् । आफू कार्यकारी–प्रमुखमा नियुक्त भएपछि दशकअघि संकट झेल्न बाध्य यो बैंकलाई कसरी समयानुकूल परिवर्तन गर्दै अगाडि बढाउने भन्ने चिन्ता थियो उनमा । अहिले त्यो चिन्तालाई उनले चिन्तनमा परिणत गरेका छन् र पाँचबर्से भावी रणनीति ल्याएर बैंकलाई त्यही अनुरूप अग्रगति दिने दिशामा क्रियाशील छन् उनी । अहिले बैंकलाई व्यवसाय विस्तार गर्ने, आधुनिकीकरण गर्ने, कर्मचारी संख्या घटाउने, ग्रामीण क्षेत्रसम्म पहुँच पुर्याउने, शाखा विस्तार गर्नेजस्ता कार्यमा गतिशील तुल्याइरहेका छन् । अबको चार वर्षमा कुल निक्षेप १ सय २१ अर्ब, कर्जा ७८ अर्ब, हरेक वर्ष चार अर्बभन्दा बढी नाफा, २ सय शाखा कार्यालय, २ सय नै शाखारहित शाखा कार्यालय र २ सय वटा नै एटीएम पुर्याउने लक्ष्यसहित बैंक लागिपरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ०५९ सालमा ठूला समस्या झेल्नुपर्यो । बैंक समस्याग्रस्त भएपछि ०५९ देखि ०६४ सम्म विदेशी व्यवस्थापनले हेर्यो । र, विदेशी व्यवस्थापन बाहिरिएपछि नेपाली व्यवस्थापनले ०६७ सम्म बैंकको सुधारको क्षेत्रमा काम गर्यो । समस्याग्रस्त हुँदा बैंकको ऋणात्मक पुँजी २३ अर्ब पुगेको थियो । शर्मा भन्छन्– ‘अहिलै बैंकको पुँजी वृद्धि भएर ८ अर्ब ५८ करोड पुगेको छ । र, ऋणात्मक पुँजी घनात्मकमा परिवर्तन भएको छ ।’ समस्याग्रस्त हुँदा ६० प्रतिशतसम्म भाखा नाघेको ऋण थियो तर अहिले भने त्यो ५ प्रतिशतमा झरेको छ । बैंक के कारणले समस्याग्रस्त हुनपुगेको हो त ? शर्माको विश्लेषण छ– ‘बैंकका व्यवस्थापनले समयअनुरूप परिवर्तन गर्न नसकेको हुँदा नै समस्या उत्पन्न भएको हो । समयअनुरूप ढाल्न नसक्नु र नयाँ बैंकहरूसित प्रतिस्पर्धा गर्ने सोचको विकास नहुनु नै समस्या उत्पन्न हुने कारण थियो । र, बैंकिङ क्षेत्रमा खुलापन आउनेबित्तिकै हामीले नयाँ रणनीति पनि बनाउन सकेनौं ।’ आफूहरूले पहिला प्रशासकजस्तो भएर बैंक चलाएको स्वीकार्दे शर्मा भन्छन्– ‘बैंक त व्यावसायिक रूपमा चलाउनुपर्ने रहेछ र अहिले हामीले त्यही बाटो समातेका छौं ।’
आफूले बैंकिङ क्यारियर थाल्दा र अहिले निकै अन्तर आएको पनि शर्मा स्वीकार्छन्– ‘त्यतिबेला हामी र नेपाल बैंक लिमिटेड मात्र थियौं । त्यो बेला निर्देशित बैंक थियो, सबै कुरा राष्ट्र बैंकले तोकेअनुरूप हुन्थ्यो । तर, अहिले सबै कुरा हामी नै तोक्छौं र प्राविधिक हिसाबले पनि अहिले धेरै नै उन्नत छौं ।’ तथापि, अहिले बैंकहरूको संख्यामा उल्लेख्य वृद्धि भए पनि नेपालका ६० प्रतिशत जनता बैंकिङ क्षेत्रबाट बाहिर नै छन् । ‘बैंकिङ दायराभन्दा बाहिरका जनतालाई दायरामा ल्याउन हामी दृढ छौं’– शर्मा भन्छन् । र, एउटा अग्रणी बैंकको रूपमा स्थापित गर्ने ध्येयअनुरूप आफूहरू अगाडि बढिरहेको बताउँदै अबको तीन वर्षपछि राष्ट्रिय वाणिज्य बैंक नयाँ पुस्ताले नेतृत्व गर्ने पनि बताए– ‘अबको तीन वर्षपछि पुराना पुस्ता बिदा हुनेछन् । र, कम उमेर र बढी योग्यता भएका नयाँ जनशक्तिको बाहुल्य हुनेछ । त्यतिबेला पुरानाको अनुभव र नयाँको दक्षता मिसिएपछि यो बैंक देशकै अग्रणी बैंकको रूपमा पुग्नेछ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply