आधुनिक बैंकतिर अग्रसर
देशका समुच्च विकासका लागि कृषि क्षेत्रमा लगानी, एउटा अपरिहार्य पक्ष हो । कृषि क्षेत्रको विकासबिना राष्ट्रिय अर्थतन्त्रको दिगो विकास असम्भवप्राय: छ । र, अहिले कृषि क्षेत्रमा लगानी गर्न देशका प्रतिष्ठित व्यावसायिक घरानाहरूदेखि बहुर्राष्ट्रिय कम्पनीहरूसमेत इच्छुक र अग्रसर देखिएका छन् । तर, कृषि क्षेत्रमा कर्जा प्रवाहका साथै कृषकहरूलाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउने हेतुले २०२४ सालमा स्थापित कृषि विकास बैंकले विगत केही वर्षयता कमर्सियल क्षेत्रमा समेत हात हालेपछि उक्त बैंक आफ्नो उद्देश्यबाट विचलित भएको हो कि, भन्ने प्रश्न नउठेको होइन ।
अहिले यस्ता प्रश्नहरू स्वाभाविक रूपमा उठे पनि बैंकका प्रमुख कार्यकारी–अधिकृत तेजबहादुर बुढाथोकी भने बैंकले कृषकहरूलाई लगानी गर्न छाडेकोप्रति सहमत छैनन् । बुढाथोकी भन्छन्– ‘हामीले कृषि क्षेत्रमा लगानी गर्न छाडेका छैनौं । अझ विकसित तुल्याउँदै अगाडि बढिरहेका छौं । र, कृषि क्षेत्रलाई सुधार गरेर लैजाने दिशामा हामी प्रयत्नशील छौं ।’ हुन पनि अहिले बैंकले कृषिमा लगानी गर्ने किसानहरूलाई पूर्ण बैंकिङ सुविधा दिन नयाँ नयाँ योजना अगाडि सारेको छ । बैंकले कृषकहरूलाई लाभान्वित तुल्याउन सरल कृषि कर्जाको अवधारणा ल्याएको छ, जसमा कृषकहरूले १० लाख रुपियाँसम्म कर्जा पाउँछन् । र, कृषकहरूलाई नै लक्षित गरेर कृषक बचत खाता पनि प्रारम्भ भइसकेको छ ।
अढाई वर्षअघि बैंकको प्रमुख कार्यकारी–अधिकृत पदमा चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त भएका बुढाथोकी उक्त बैंकको अनेक आरोह–अवरोहका साक्षी पनि हुन् । विसं २०११ सालमा ओखलढुंगा जिल्लाको सिंहदेवी गाविस–८, कुवापानीमा जन्मिएका बुढाथोकीले रामेछापको साँघुटारस्थित हिमगंगा माध्यमिक विद्यालयबाट ०३० सालमा एसएलसी उत्तीर्ण गरे । त्यतिबेला एसएलसीमा राम्रो प्राप्तांक ल्याउनेले बीएस्सी/एजी गर्नका लागि छात्रवृत्ति पाई अध्ययन गर्न पाउँथे । उनी भन्छन्– ‘हामी गाउँका मान्छे, कुन विषयमा अध्ययन गर्दा राम्रो हुन्छ, त्यति ज्ञान थिएन । तर, मेरो ठूलो बुबाको छोराले बीएड गरेका हुँदा मैले पनि त्यही विषय लिएर पढ्ने निश्चय गरेको थिएँ । तर, उहाँले नै त्योभन्दा कुनै प्राविधिक विषय लिई अध्ययन गर्न सुझाव दिएपछि हेल्थ असिस्टेन्ट पढ्न थालें । त्यसले पनि त्यति आकर्षित गर्न नसकेपछि कृषि विषय लिएर पढें ।’
०३७ सालमा कृषि क्याम्पस, रामपुरबाट बीएस्सी/एजी गरेपछि उनले कृषि विभागमा सेवा सुरु गरे । उनले त्यहाँ जागिरका लागि दरखास्त दिएको तेस्रो दिनमा नै जागिर पाएका थिए । दुई वर्षसम्म विभागमा कार्यरत रहेपछि ०३९ साल असार २५ गते उनी कृषि विकास बैंकमा ऋण अधिकृतको रूपमा प्रवेश गरे । ऋण अधिकृतको उल्लेख्य भूमिका हुने त्यस समयमा उनले आफैंले मागेर सुदूरपश्चिमको दिपायल सरुवा भएर गए । ‘देश हेरौं भन्ने उद्देश्यले दिपायल गएको थिएँ’– बुढाथोकी थप्छन्– ‘सुदूरपश्चिम क्षेत्र हेर्ने, त्यहाँको संस्कृति र रहनसहन बुझ्ने र दुर्गममा बसेपछि मूल्यांकन पनि हुने भएपछि म आफैंले रोजेर गएको हुँ ।’
दिपायलमा डेढ वर्ष व्यतीत गरेपछि विराटनगर हुँदै आफ्नै गृहजिल्ला ओखलढुंगामा प्रबन्धक भएर पुगेका उनलाई त्यहाँ भने नराम्रो झट्का लाग्न पुग्यो । उनले आफ्नै जिल्लामा केही सुधार ल्याउन चाहेका थिए बुढाथोकी भन्छन्– ‘तत्कालीन व्यवस्थाका पृष्ठपोषकहरूले कृषकलाई ऋण दिलाउने नाममा कमिसन खाँदा रहेछन् । तर, मैले कमिसनको जालोलाई हटाएँ र किसानहरूलाई प्रत्यक्षत: लाभ पुग्ने काम गरें । त्यसपछि दलाली गर्नेहरूको दानापानी हरिएछ ।’ तत्कालीन राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा कमिसनको मोहजालमा फसेका पञ्चहरूलगायत प्रमुख जिल्ला अधिकारीले समेत उनीविरुद्ध झोसपोल लगाए । उनलाई पञ्चायतविरोधी व्यक्तिका रूपमा चित्रित गर्दै जागिरबाटै बर्खास्त गर्नुपर्ने कुरा राजासमक्ष बिसाए । उनीमाथि ०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा सरकारी उम्मेदवारलाई नसघाएको, जिल्ला पञ्चायतको सभापतिलाई पनि नसघाएको र व्यवस्थाको विपक्षमा उभिएको आरोप लगाउँदै उनलाई ०४४ सालमा जागिरबाटै बर्खास्त गरियो । ‘शिक्षित व्यक्तिहरूले परिवर्तन चाहनु स्वाभाविकै हो । मैले पनि पञ्चायतकालमा परिवर्तनको पक्षमा आफूलाई उभ्याएको हुँ । तर, मलाई दु:ख दिने काम गरियो । तर, अहिले म जुन ठाउँमा छु र मेरो मनस्थिति बलियो बन्नुमा विगतमा तत्कालीन व्यवस्थाका शासकहरूले दिएका दु:खकै कारण हो ।’ बुढाथोकी विगततिर फर्किंदै भन्छन् ।
बैंकको जागिरबाट बर्खास्त भएपछि विभिन्न गैरसरकारी संस्थाहरूमा आबद्ध भएर काम गरे । न्यूएरालगायत संस्थासित सम्बद्ध रहेर काम गरिरहेकै बेला उनको ०४८ सालमा बैंकमा पुनर्बहाली भयो । बैंकमा पुनर्बहाली हुनुअघि आईडीएसमा पनि उनले काम गरे । त्यहाँ काम गर्दा डा.देवेन्द्रराज पाण्डे र कुलशेखर शर्माको सान्निध्यता पनि पाए । पछि, न्यूएरामै काम गर्दा डा.हर्क गुरुङहरूबाट पनि धेरै सिक्ने औसर पाए । डा.गुरुङले त उनलाई ब्रिटिस काउन्सिलको एउटा आयोजनामा कास्कीमा काम नै गर्न पठाए । उनी भन्छन्– ‘बैंकबाट बर्खास्त भएर एनजीओमा काम गर्दा तलब भने निकै नै आकर्षक थियो ।’ बर्खास्त भएपछि व्यापार गर्ने सोच लिएका बुढाथोकीले व्यापारमा भने हात हालेनन् । उनी भन्छन्– ‘चार वर्षपछि बैंकमा पुनर्बहाली भएपछि क्षतिपूर्ति पाएको रकम र एनजीओहरूमा काम गर्दा आएको रकमबाट मैले काठमाडौंमा घर बनाएँ ।’ बैंकमा पुनर्बहाली भएपछि उनले रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र काठमाडौंको मुख्य कार्यालयमा सेवारत रहेकै बेला ०६७ मा स्वेच्छिक अवकाश लिए । तर, त्यसको ठीक वर्ष दिनपछि उनी सोही बैंकमा खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी–अधिकृत पदमा नियुक्त भए । ‘म प्रमुख भएर आउँदा बैंकको स्थिति त्यति राम्रो थिएन तर अहिले धेरै नै सुधार आएको छ’– बुढाथोकी भन्छन् । हुन पनि, उक्त बैंक विगत दुई वर्षदेखि सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा दरिन पुगेको छ । र, सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकको रूपमा पनि उभिएको छ । साथै, आर्थिक वर्ष ०६९/७० मा बैंकले आर्जन गरेको खुद मुनाफाबाट सेयर सदस्यहरूलाई ३१.५८ प्रतिशत लाभांश दिने तयारी भइरहेको छ र नेपाल राष्ट्र बैंकले पनि स्वीकृति दिइसकेको छ । साथै, गएको आर्थिक वर्षमा सरकारबाट पनि सबैभन्दा बढी आयकर बुझाउने करदाताको रूपमा समेत बैंकले सम्मानित हुने औसर बटुलेको छ । बैंकले गएको आर्थिक वर्षमा २ अर्ब २५ करोड ९९ लाख ४७ हजार नाफा कमाएको थियो ।
सरकारलाई कर तिर्ने बैंकहरूमा पहिलो नम्बरमा उभिएको उक्त बैंकले गएको फागुन मसान्तसम्म ५९.९४ अर्ब कर्जा प्रवाह गरेको छ । त्यसमध्ये ३० प्रतिशत कृषि क्षेत्रमा लगानी रहेको छ । र, फागुन मसान्तसम्म बैंकको कुल निक्षेप ६६ अर्ब २५ करोड रुपियाँ रहेको छ । साथै, उक्त बैंकबाट अहिलेसम्म कर्जातर्फ १ लाख ७५ हजार ८ सय ६५ जनाले लाभ लिएका छन् भने निक्षेपकर्ताहरू करिब ८ लाख ५८ हजार रहेका छन् । एउटा सफल र उत्कृष्ट बैंकका रूपमा कृषि विकास बैंकलाई स्थापित तुल्याउन क्रियाशील बुढाथोकी गर्वका साथ भन्छन्– ‘हामी यो बैंकलाई आधुनिक प्रविधिले युक्त एवम् समृद्ध बैंकको रूपमा विकास गर्न लागिपरेका छौं ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply