भिबोरलाई गति दिने बाटोमा

करिब पाँच वर्षअघि घरजग्गा कारोबार उत्कर्षमा थियो । देशको राजधानीदेखि अधिकांश जिल्ला सदरमुकामहरूका जग्गा धमाधम प्लटिङ गरेर तीव्र किनबेच भइरहेको थियो । दसबर्से युद्धको समाप्ति र देशमा नयाँ राजनीतिक माहोल उत्पन्न भएको हुँदा त्यतिबेला घरजग्गा व्यवसाय फस्टाउने वातावरण बनेको थियो र त्यो समय घरजग्गा व्यवसायको क्षेत्रमा स्वर्णिम दिनहरू थिए ।
घरजग्गा व्यवसाय चम्किरहेकै बेला भिबोर विकास बैंकका तत्कालीन सञ्चालकहरूले त्यही क्षेत्रमा नै बैंकिङ लगानी गर्ने सोच र उद्देश्य अघि सारे । बैंकका संस्थापक प्रमुख कार्यकारी–अधिकृत अजय घिमिरेले दूरदृष्टिसहित घरजग्गा व्यवसायमा लगानी गर्न चाहेका थिए । विकास बैंकहरू स्थापना गर्ने लहर चलिरहेको त्यो बेला भिबोरले भने बिल्कुलै भिन्न सोच राखेर अरु बैंकहरूले गरेभन्दा पृथक् काम गर्न चाहेको थियो । विकास बैंकहरूले गर्न पाउने कामकै दायराभित्र घरजग्गा कारोबार रहेको हुँदा र नेपालमा विकसित आवास योजना भित्र्याउने र सबै जनताले लाभ लिन सक्ने उद्देश्यअनुरूप यी सबै काम भएका थिए ।
तर, समय र परिस्थिति सदैव एउटै रेखाबाट गुज्रिँदैन । अहिले भिबोरको प्रमुख कार्यकारी–अधिकृतको जिम्मेवारी सम्हालिरहेका झलकप्रसाद खनाल विगतमा बैंकले समस्या भोग्नुको पछाडि रहेका कारणहरू खोतल्दै भन्छन्– ‘हामीले बैंकिङ कारोबार सुरुआत गरेको दुई वर्षपछि नै घरजग्गा व्यवसाय सुस्ताउन पुग्यो । र, घरजग्गामा नै कारोबार गर्ने मुख्य उद्देश्य राखेका हामीले स्वाभाविक रूपमा त्यसको असर पर्न थाल्यो ।’ उनी थप्छन्– ‘यो बैंक कुनै समयमा घरजग्गामा आफंैले प्रसस्त लगानी गरेको बैंक हो । आफैले जग्गा किन्ने, अपार्टमेन्ट बनाउने र घरजग्गाको विकासमा लगानी गरेको बैंक हो यो ।’ बैंकले जुन क्षेत्रमा लगानी गरेको थियो, त्यही क्षेत्रको कारोबार ठप्प भएपछि समस्या निम्तिनु स्वाभाविकै थियो । तर, पन्ध्र महिनाअघि भिबोरको जिम्मेवारी सम्हाल्न पुगेका खनाल अहिले बैंक पुरानो स्थितिबाट मुक्त हुने दिशातिर क्रियाशील रहेको बताउँछन् । हुन पनि, बैंकले काठमाडौंको कमलपोखरी र पुल्चोकमा अपार्टमेन्ट तयार पारेर बेच्ने उद्देश्यसाथ काम चालू राखेको थियो भने ललितपुरको बुङमतिमा ३ सयवटा घडेरी प्लटिङ गरेर बेच्ने उद्देश्य सँगालेको थियो । तर, घरजग्गा कारोबारमा आएको मन्दीसँगै सोचेअनुरूप बिक्री हुन सकेन । खनाल भन्छन्– ‘केही अझै बिक्री हुन बाँकी छ । बुङमतिमा अझै ३०/४० रोपनी जग्गा छ भने धेरैजसो बिक्री गरिसकेका छौं ।’
भिबोरले घरजग्गामा साढे २ अर्बभन्दा लगानी गरेको थियो । तर, अब १५/२० करोड मात्र घरजग्गामा फसेको छ । खनाल भन्छन्– ‘हामी आउँदो असार मसान्तसम्ममा सबै जग्गा बेचेर सिध्याउँछौं । किनकि, अहिले हामी हिजो लगानी गरेका जग्गाहरू बेच्दै, अन्य क्षेत्रमा लगानी गर्दै अघि बढिरहेका छौं ।’ नेपालको बैंकिङ क्षेत्रमा पूरै बीस वर्ष भिजेका खनाल वि.सं.२०११ साल फागुन ८ गते तनहुँ जिल्लाको स्थानथोक गाविसमा जन्मिएका हुन् । प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा पूरा गरेका उनले २०२९ सालमा गाउँफर्क माध्यमिक विद्यालय, तनहुँबाट एसएलसी उत्तीर्ण गरेपछि भने पोखराको वातावरणमा अध्ययन गर्ने मौका पाए । उनले पृथ्वीनारायण क्याम्पस, पोखराबाट प्रवीणता प्रमाणपत्र तह र जनप्रशासन क्याम्पसबाट स्नातक गरे । र, फिलिपिन्सबाट बिजनेस एन्ड एमबीए गरेका उनको बैंकिङ क्षेत्रमा प्रवेश भने २०५० सालमा भएको हो । फिलिपिन्समा अध्ययन गर्न जानुअघि उनमा कुन विषय अध्ययन गर्नेभन्न द्विविधा नरहेको होइन । उनी भन्छन्– ‘सुरुमा मलाई मास कम्युनिकेसन अध्ययन गर्ने विचार थियो । तर, त्यतिबेला सरकारी सञ्चारमाध्यमहरू मात्र रहेको हुँदा उक्त विषय पढेर आफ्नो विकास गर्न नसकिने देखें । किनकि, सरकारी सञ्चारमाध्यमहरूमा काम गरेर आफूलाई विकास गर्न सकिँदैनथ्यो । त्यसपछि मैले अध्ययनको क्षेत्र परिवर्तन गरें र अलि व्यापक क्षेत्र समेट्ने बिजनेस एन्ड एडमिनिस्ट्रेसन गरें । र, अध्ययन सिध्याएर नेपाल फर्किएपछि नेपाल इन्डोस्वेज बैंकमा कर्जा अधिकृतका रूपमा प्रवेश गरेँ ।’
उनले बैंकिङ क्षेत्रमा प्रवेश गर्दा नेपालमा सीमित बैंकहरू मात्रै थिए । करिब आधा दर्जन निजी बैंकहरू मात्रै अस्तित्वमा थियो । तर, बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि भने उनले विभिन्न गैरसरकारी संस्थाहरूमा काम गरे । २०४१ देखि ०४९ सम्म उनले डीसीपीजस्ता संस्थामा आबद्ध भई काम गरे । उक्त संस्थाले शैक्षिक सामग्री र सञ्चारको क्षेत्रमा काम गथ्र्यो । गैरसरकारी क्षेत्र त्यागेर बैंकिङ क्षेत्रमा प्रवेश गर्नुको मुख्य उद्देश्य बैंकिङ क्षेत्रमा नै भविष्य देखेको उनको स्वीकारोक्ति छ । त्यही भएर, गैरसरकारी संस्थामा त्यतिबेला १० हजार रुपियाँ तलब भए पनि उनले ७ हजार २ सय ५० रुपियाँ तलब पाइने बैंकको जागिर रोजेका थिए । तथापि, बीस वर्षअघि सात हजार तलब थाप्ने खनाल अहिले भने महिनामा करिब साढे तीन लाख तलब थाप्छन् ।
इन्डोस्वेज बैंकमा कार्यरत रहेको नौ वर्षपछि उक्त बैंक नेपाल इन्भेस्टमेन्ट बैंकको रूपमा परिवर्तित भयो । त्यसपछि उनी इन्भेस्टमेन्टमा छ वर्ष कार्यरत रहे । ‘इन्भेस्टमेन्टमा कार्यरत रहेकै बेला म ज्योति विकास बैंक स्थापना गर्न गएँ । म गएपछि नै ज्योतिले लाइसेन्स पायो र मैले उक्त बैंकमा साढे तीन वर्ष काम गरें’– खनाल सम्झिन्छन् । ज्योतिपछि भने उनले सिद्धार्थ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सम्हाले तर सिद्धार्थमा उनले नौ महिना मात्र आफ्नो दक्षता देखाउन पाए । उनी भन्छन्– ‘ज्योति छाडेको तीन महिनामा सिद्धार्थमा गएँ र सिद्धार्थ छाडेको पन्ध्र दिनमा भिबोरमा आएँ । अहिले भिबोरको जिम्मा सम्हालेको पनि पन्धै्र महिना भयो ।’
घरजग्गा व्यवसायमा मन्दी भित्रिएपछि भिबोरले अन्य विकास बैंकजस्तै विभिन्न क्षेत्रमा लगानी गर्न थाल्यो । त्यही क्रममा, जलविद्युत्, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी सुरु भयो । अहिले भिबोरले स्टन, रुरु, झ्यारी र गेलुङ जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ भने पाइपलाइनमा जोगमाई र बेनी जलविद्युत् आयोजना रहेको छ । साथै, कृषितर्फ माछा पालन र कोल्डस्टोरेज निर्माणतिर लगानी गरेको भिबोरले अहिले पूर्वाञ्चलमा निर्माणाधीन अवस्थामा रहेको बी एन्ड सी अस्पतालमा पनि लगानी गरेको छ । ९१ करोड ७० लाख रुपियाँ कुल पुँजी रहेको भिबोरको कारोबार अहिले छ वटा शाखाबाट सञ्चालित छ भने करिब १२ हजार निक्षेपकर्ता हुनुका साथै ६ सय ५० भन्दा बढीलाई कर्जा प्रवाह गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply