रेमिट्यान्स क्रान्ति

डेढ दशकयता विदेशी भू–भागमा श्रम बेच्ने नेपालीहरूको लस्कर नै लाग्न पुगेको छ । त्यसअघि पनि नेपाली युवाहरू वैदेशिक रोजगारीका निम्ति बिदेसिने गर्दथे । तर, ०४६ सालको राजनीतिक परिवर्तनपछि क्रमश: झांगिँदै गइरहेको वैदेशिक रोजगारले अहिले निकै व्यापकता पाएको छ र हरेक दिन एक हजारभन्दा बढी नेपाली रोजगारीका लागि बिदेसिइरहेका छन् ।
विगतमा रोजगारका निम्ति विदेश जानेहरूले भोग्नुपरेका अनेक समस्याहरूमध्ये एक आफनो कमाइ सुरक्षित तरिकाले कसरी पठाउने भन्ने नै थियो । त्यतिबेला रकम बैंकको माध्यमबाट मात्र पठाउन सकिने भएको हुँदा त्यो धेरै नै झन्झटिलो माध्यम सावित भइरहेको थियो । आज जसरी तुरुन्तै रकम प्राप्त गर्न सकिन्छ, त्यतिबेला त्यस्तो कुराको कल्पना मात्रै गर्न सकिन्थ्यो । विदेशमा बस्ने नेपालीहरूले भोग्नुपरेको यही समस्यालाई मध्यनजर गर्दै सन् २००१ मा इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) सुरुआत भयो । आईएमईका प्रमुख कार्यकारी–अधिकृत सुमन पोखरेल भन्छन्, ‘निजी क्षेत्रमा आईएमई आउनुअघि विदेशबाट पैसा पठाउनेहरूलाई ठूलो समस्या थियो । त्यतिबेला बैंकिङ माध्यमबाट मात्रै स्वदेशमा पैसा भित्रिन्थ्यो । र, त्यसमा धेरै समय लाग्ने भएको हँुदा जनताले सहज सुविधा पाउँदैनथे ।’ त्यही कारण, वैदेशिक रोजगारमा गएका कतिपय व्यक्तिहरू पैसा आफैं बोकेर स्वदेश फर्किन्थे ।
सन् २००१ मा आईएमईले मलेसियाबाट आफनो सेवा सुरु गर्यो । त्यतिबेला नेपाली कामदारहरूको आकर्षक गन्तव्य मलेसिया नै थियो र दैनिक सयौं मानिस ‘रिंगिट’ भित्र्याउन मलेसिया जान्थे । पोखरेल भन्छन्, ‘हामीले मलेसियाबाट आफ्नो सेवा सुरु गर्यौं । र, हामो सेवा र कार्यशैली देखेपछि मानिसहरूमा विश्वास बढदै गयो र बजार पनि क्रमश: विस्तार हँुदै गयो ।’
रेमिट्यान्स क्षेत्रमा प्रवेश गर्नुअघि पोखरेलले बैंकिङ क्षेत्रको प्रशस्तै अनुभव बटुलिसकेका थिए । वि.सं. ०३५ साल मंसिरमा ललितपुर जिल्लाको लुभुस्थित विष्णुडोलमा जन्मिएका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबीएसको अध्ययन पूरा गरेदेखि नै बैंकिङ क्यारियर सुरु गरेका हुन् । ०५२ सालमा सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमबाट एसएलसी उत्तीर्ण गरेका उनले नेपाल कमर्स क्याम्पसबाट आईकम र शंकरदेवबाटै बीबीएस पूरा गरे । सन् ००३ मा एभरेस्ट बैंकमा वरिष्ठ सहायकको रूपमा प्रवेश गरेका उनले त्यही बंैकमा साढे चार वर्ष काम गर्दा थुप्रै अनुभव बटुले । बैंकिङ क्षेत्रमा काम गरेर माथिल्लो तहमा पुग्नुपर्छ भन्ने सोचसहित बैकिङ क्षेत्रमा प्रवेश गरेका उनले राष्ट्रिय वाणिज्य बैंकको अधिकृत तहमा कार्यरत आफ्नै काकाबाट प्रेरणा लिए । उनी भन्छन्, ‘बैकिङ क्षेत्रमा अवसर छ र मिहिनेत गर्यो भने आफ्नो भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास ममा थियो । र, मैले बैंकिङ क्षेत्रमा प्रवेश गरेपछि अत्यधिक मिहिनेत गरें र मेरो प्रमोसन पनि छिटो–छिटो भयो ।’
एभरेस्ट बंैकपछि ग्लोबल बंैकमा वरिष्ठ अधिकृतका रूपमा प्रवेश गरी त्यहाँ तीन वर्षको अनुभव सँगालेका पोखरेलको रुचि भने नेपाल राष्ट्र बैंकमा काम गर्ने थियो । तर, निजी क्षेत्रका बंैकहरूप्रति तीव्र आकर्षण बढिरहेको तत्कालीन समयमा उनले तत्काल नै एभरेस्टमा काम गर्ने औसर पाए । ‘निजी क्षेत्रका बंैकहरूमा काम गरेर व्यावसायिक क्यारियर बनाउन सकिन्छ भनेर नै आकर्षित भएँ’– उनी भन्छन् ।
करिब सात वर्षसम्म बैंकिङ क्षेत्रमा भिजेका पोखरेलले सन् ०१० मा आईएमईमा महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न पुग्दा बंैकिङ क्षेत्रलाई राम्रैसित बुझिसकेका थिए । दुई वर्षअघि आईएमईको सीईओ भएका पोखरेल अहिले बैंकिङ क्षेत्र पहिलाजस्तो सहज नभएको स्वीकार्छन्, ‘अहिले बैंकिङ क्षेत्र त्यति सहज छैन । अवसरहरू भए पनि पहिलाजस्तो सहज भने छैन । किनकि, देशको आर्थिक वृद्धि आशातीत रूपमा भइरहेको छैन र बजार विस्तार पनि पहिलाजस्तो छैन । अवसरहरू सीमित छन् । बैंकिङ क्षेत्रमा अधिक तरलता छ भने बैंकको पँुजीलाई प्राथमिकता दिएर ल्याइएको नियम (बेसल टु)ले गर्दा पनि समस्या उत्पन्न भएको हो ।’
धेरै वित्तीय संस्थाहरू जन्मिएका कारण गुणात्मकतामा ह्रास आएको स्वीकार्दै अहिले चलिरहेको मर्जरप्रति भने पोखरेल उत्साहित छन् । उनी भन्छन्, ‘मर्जले पँुजीगत हिसाबले बैंकलाई सुदृढ तु्ल्याउँछ । क्षमता पनि अभिवृद्धि हुन्छ र ठूला–ठूला आयोजनाहरूमा लगानी गर्न सक्ने स्थिति उत्पन्न हुन्छ ।’
अहिले रेमिट्यान्स उद्योगमै व्यस्त पोखरेल आईएमईको जिम्मेवारी सम्हालेयता रेमिट्यान्स उद्योगले बेहोर्नुपरिरहेको समस्याप्रति सचेत छन् । पहिलो समस्याका रूपमा उनले वाणिज्य बैंकहरूसितको अस्वस्थ प्रतिस्पर्धा देखेका छन् । उनी भन्छन्, ‘रेमिट्यान्स, निजी क्षेत्रले गर्ने काम हो । वाणिज्य बैंकहरूले खुद्रा रूपमा रेमिट्यान्स व्यवसाय गर्नुभन्दा थोकमा गरे राम्रो हुन्छ ।’ त्यस्तै, अर्को समस्याको रूपमा अवैधानिक माध्यमबाट पैसा पठाइने कार्यलाई आंैल्याउँछन् उनी । भन्छन्, ‘अवैधानिक माध्यमबाट पैसा आउँदा विदेशबाट सिधै नेपालमा आउँदैन । यसले देशलाई घाटा पुर्याउँछ ।’ यस्ता समस्याहरू निदान भए भने मात्र रेमिट्यान्स उद्योगले नेपाली अर्थतन्त्रमा योगदान पुर्याउनसक्ने उनको तर्क छ ।
केही दशकयता नेपाली अर्थतन्त्रलाई भरपर्दो टेको दिने आधारस्तम्भका रूपमा स्थापित रेमिट्यान्स उद्योगले देशको कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान पुर्याउँदै आएको छ । पोखरेल भन्छन्, ‘रेमिट्यान्स उद्योगमा देखिएका समस्या हल गर्ने हो भने जीडीपीमा अझ धेरै योगदान पुग्नसक्छ ।’
मलेसियाबाट यात्रा प्रारम्भ गरेको आईएमईले अहिले २० देशमा सेवा विस्तार गरिसकेको छ । २० देशमा प्रत्यक्ष सेवा दिए पनि संसारभरि नै कारोबार गरिरहेको छ । र, आईएमईले नेपाली बजारमा करिब ३० प्रतिशत स्थान ओगटेको छ । संसारकै सस्तो रेमिट्यान्स सेवा मानिने आईएमईका तात्कालिक कार्ययोजनाबारे पोखरेल भन्छन्, ‘अहिले हामी भारत, कोरियालगायतका देशहरूमा केन्द्रित भएका छौं ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply