एकेडेमीमा गंगाको सम्भावना
काठमाडौं । अढाई महिनादेखि रिक्त रहेको नेपाल प्रज्ञा–प्रतिष्ठानले अब चाँडै नै पदाधिकारी पाउने भएका छन् । प्रज्ञा–प्रतिष्ठानमा पदाधिकारीहरू नियुक्त गर्न आन्तरिक रूपमा गृहकार्य चलिरहेको हुँदा छिटो नियुक्तिको सम्भावना बढेको हो ।
कुलपति, उपकुलपति, सदस्य–सचिव र आठ जना प्राज्ञ नियुक्त हुने प्रतिष्ठानको प्रज्ञा सभामा भने ३१ जना रहनेछन् । र, यी सबै पदहरूमा यस पटक मुख्य राजनीतिक दलहरूबीच बाँडफाँट हुने देखिएको छ । बाँडफाँट हुँदा नेकपा (एमाले)को भागमा कुलपति, सदस्य–सचिवसहित दुई प्राज्ञ, नेपाली कांग्रेसलाई उपकुलपतिसहित चार प्राज्ञ र एनेकपा (माओवादी) र नेकपा–माओवादीले एक–एक प्राज्ञ पाउने सम्भावना रहेको छ । विगतमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गठन भएको प्रज्ञा–प्रतिष्ठानमा कांग्रेसले कुलपति, सदस्य–सचिव पाएका थिए भने एमालेले उपकुलपति पाएको थियो । त्यतिबेला संस्कृति मन्त्रीमा डा.मीनेन्द्र रिजाल थिए । विगतमा कांग्रेसले कुलपति र सदस्य–सचिव पाइसकेको हुँदा र अहिले संस्कृति मन्त्रालय एमालेको भागमा परेको हुँदा ती पदहरूमा एमालेले दाबी गर्न सहज हुनपुगेको हो ।
एमालेको भागमा कुलपति र सदस्य–सचिव पर्ने भएपछि अहिले प्रतिष्ठानको नेतृत्वमा को–को पुग्ने हुन् ? भन्ने चर्चा सुरु भएको छ । यसअघि उपकुलपति भइसकेका गंगाप्रसाद उप्रेतीलाई एमालेले कुलपतिमा पठाउने सम्भावना प्रवल रहेको बुझिएको छ । चार वर्षसम्म विवादरहित ढंगले उपकुलपति चलाएको अनुभव भएको हुँदा उप्रेतीलाई जिम्मेवारी दिने सम्भावना रहेको हो । कुलपतिमा मोदनाथ प्रश्रितको पनि चर्चा भएको थियो । प्रतिष्ठान एउटा प्राज्ञिक थलो भएको र विगत केही वर्षदेखि राजनीतिकभन्दा प्राज्ञिक कार्यहरूमा बढी व्यस्त रहेको हुँदा कुलपतिमा प्रश्रित जाँदा राम्रो हुने अपेक्षा एमालेपंक्तिले राखे पनि प्रश्रित स्वयम्ले नै त्यति चासो नदिएको बताइन्छ । प्राज्ञहरू छनोटका गर्नका लागि एमालेले आन्तरिक रूपमा गठन गरेको कार्यदलका एक सदस्य भन्छन्– ‘हामीले प्रश्रितजीलाई प्रस्ताव गरेका हौं तर उहाँ नजाने मुडमा देखिनुभयो ।’ प्रश्रितले आफूलाई उमेरले साथ नदिने र ०५१ सालमा शिक्षा तथा संस्कृतिमन्त्री भइसकेको हुँदा कुलपतिमा जान सुहाउँदिलो नभएको बताएको बुझिएको छ ।
कुलपतिमा उप्रेतीको सम्भावनासँगै सदस्य–सचिवमा प्रा.डा.जीवेन्द्रदेव गिरीको सम्भावना रहेको बताइन्छ । गिरी, यसअघि प्राज्ञ भइसकेका हुन् । त्यस्तै, सदस्यहरूमा डा.भिक्टर प्रधान, अमर गिरीहरूको सम्भावना रहेको छ भने एक जना महिलालाई पनि प्राज्ञ बनाउनैपर्ने भएको हुँदा महिला प्राज्ञको खोजी भइरहेको छ । ती सदस्यले भने– ‘प्रतिष्ठानमा पठाइँदा सबैतिरको सन्तुलन मिलाएर पठाउनुपर्छ । क्षेत्र, महिलालगायत विधागत रूपमा पकड राख्नेहरूलाई पठाइनुपर्छ । अहिले हामी कसरी सन्तुलन मिलाउने भनेर लागिपरेका छौं ।’
एमालेबाट प्राज्ञमा डा.राजेन्द्र सुवेदी, प्रा.डा.पारसमणि भण्डारी, प्रा.डा.कृष्णप्रसाद घिमिरेको पनि सम्भावना रहेको बताइन्छ । प्रतिष्ठानमा जान इच्छुकहरूसित एमालेको कार्यदलले अहिले बायोडाटा संकलन पनि गरिरहेको छ । उक्त कार्यदलले एमालेको तर्फबाट पठाइने प्राज्ञहरूका नामावलीलाई अन्तिम रूप दिएपछि कांग्रेसका व्यक्तिहरूसित बसेर छलफल गर्ने भएको छ । तर, कांग्रेसबाट प्राज्ञका आकांक्षीहरू धेरै भए पनि क–कसलाई पठाउने भन्नेबारे अहिलेसम्म आन्तरिक गृहकार्य नभइरहेको बताइन्छ । उपकुलपतिमा डा.विष्णुविभु घिमिरेले इच्छा जनाए पनि यसअघि सदस्य–सचिव भइसकेका डा.धु्रवचन्द्र गौतमले पनि इच्छा जनाएको हुँदा सो पदका लागि हानाथाप हुने देखिएको छ । यस पटक सरकारी निकायहरूमा कार्यरत व्यक्तिलाई प्रतिष्ठानमा नलैजान पनि उत्तिकै दबाब परिरहेको छ । विगतमा प्राध्यापन पेसामा रहेकाहरूलाई प्राज्ञ बनाइएको हुँदा यस पटक चाहिँ त्यसो नगरिने बताइन्छ ।
प्राज्ञ परिषद् गठनका लागि यसअघि नै पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री भीमप्रसाद आचार्यको संयोजकत्वमा एउटा छनोट समिति गठन भइसकेको छ । उक्त समितिमा निवर्तमान कुलपति बैरागी काइँला र शिवहरि मरहठ्ठा सदस्य छन् । राजनीतिक दलहरूले नाम सिफारिस गरेर पठाएपछि प्रतिष्ठानलाई पूर्णता दिनेतिर संस्कृति मन्त्रालय लागेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply