एमालेमा आ–आफ्नै एजेन्डा

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन आउन डेढ महिना बाँकी छ । मौसममा चढिरहेको गर्मीसँगै एमालेको महाधिवेशन पनि दिनदिनै तात्तिँदै गइरहेको छ । नेताहरू आन्तरिक भेटघाट र छलफलमा व्यस्त रहेकै बेला अब भने सार्वजनिक मञ्चहरूबाटै नवौं महाधिवेशनबाट पार्टीलाई कस्तो बनाउने, कसरी अग्रगति दिने र पार्टीभित्र हुर्किरहेको खराब प्रवृत्तिहरूको कसरी अन्त्य गर्ने भन्ने सन्दर्भमा बहस सुरु भएको छ ।
हिजो काठमाडौंमा आयोजित एक विचारगोष्ठीमा एमालेका अध्यक्षका सम्भावित प्रत्यासीदेखि अरू शीर्ष नेताहरूले नवौं महाधिवेशनपछि पार्टीलाई कुन रूपमा अगाडि बढाउने भन्नेमा निकै जमेर बहस गरे । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ६५ वर्ष पुगेको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘जनताको बहुदलीय जनवादको २० वर्ष र एमालेको नवौं राष्ट्रिय महाधिवेशन’ विषयक गोष्ठीमा अधिकांश नेताले महाधिवेशनकै सन्दर्भमा रहेर आफ्नो विचार सार्वजनिक गरे । नेताहरू निकै तीतो–पिरो बहसमा उत्रिने अपेक्षा राखिए पनि अधिकांश नेताले अत्यन्तै संयमित रूपमा आफ्ना विचार राखेका थिए ।
एमालेको आसन्न नवौं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने अपेक्षा गरिएका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई शुद्ध, क्रान्तिकारी र रूपान्तरणकारी शक्तिका रूपमा स्थापित गर्न पार्टीभित्र देखापरेका खराब प्रवृत्तिहरू बढार्नुपर्नेमा जोड दिनुभयो । उहाँको विचार थियो–‘अहिले पार्टीभित्र अराजनीतिक प्रवृत्ति छ्यापछ्याप्ती बढेको छ । पार्टीभित्र लुम्पेनवादी चरित्र हावी भएको छ । निम्न पुँजीवादी चरित्रले पनि उत्तिकै स्थान पाएको छ । हामीले तिनै प्रवृत्तिहरूलाई हुर्काइरहेका छौं । तर, अबको महाधिवेशनमा ती सबै प्रवृत्तिहरूबाट मुक्त भएर क्रान्तिकारी विचार बोक्ने चुस्त र दुरुस्त पार्टी बनाउने दिशामा केन्द्रित हुनुपर्छ ।’ आगामी महाधिवेशनमा लोकतन्त्रको बलियो खम्बा र राष्ट्रियताको भरपर्दो शक्ति एमाले नै हो भन्ने मान्यतालाई स्थापित गराउन लागि पर्नुपर्ने बताउँदै नेता नेपालले भन्नुभयो– ‘पार्टीभित्र भागबन्डा लगाउने प्रवृत्तिले पार्टीलाई फाइदा गर्दैन । त्यस्तो प्रवृत्तिको समुल अन्त्य गरिनुपर्छ । एउटा वर्ष एउटालाई र अर्को वर्ष अर्कोलाई दिने कुरा झनै खराब छ । पार्टीमा सबै योग्य छन् र योग्यताको आधारमा नै नेतृत्व चयन हुनुपर्छ ।’
वरिष्ठ नेता नेपालले एउटा अर्को सन्दर्भमा भन्नुभयो– ‘विगतमा देशमा गणतन्त्रको आन्दोलन चर्किरहँदा हाम्रै पार्टीभित्रका केही व्यक्तिहरूमा गणतन्त्र स्थापना हुने कुराप्रति विश्वास थिएन । गाडा चढेर अमेरिका जानु र नेपालमा गणतन्त्र आउनु एउटै कुरा हो भन्थे । यस्तो निराशावादी चिन्तन हाम्रै नेताहरूमा समेत थियो ।’ नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक उथलपुथल अहिले पनि जारी रहेको बताउँदै नेता नेपालले भन्नुभयो– ‘जनताको बहुदलीय जनवाद लामो वैचारिक संघर्षपछि जन्मिएको सिद्धान्त हो, यो कतैबाट फुत्त झरेको सिद्धान्त होइन ।’ नेता नेपालले विचारलाई ढाकछोप गर्न नसकिने भएको हुँदा कम्युनिस्ट पार्टी विचारमा चल्ने पार्टी भएको र विचारको सवालमा व्यापक छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा पनि राख्नुभएको थियो ।
एमाले स्थायी समिति सदस्य एवम् अध्यक्षका अर्का आकांक्षी केपी शर्मा ओलीले नवौं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिनुभयो । उहाँको भनाइ थियो– ‘नवौं महाधिवेशन अहिले देखिएका चुनौतीहरूलाई सामना गर्नेमा केन्द्रित हुन्छ । सातौं महाधिवेशनजस्तो यो महाधिवेशन हुँदैन । हामी सातौंमा गैरलेनिनवादी भयौं र आठौंमा आउँदा स्वीकार्यौं । कहिलेकाहीँ हामी अनावश्यक विवादमा फस्छौं ।’ नवौ महाधिवेशनले सिंगो पार्टी पंक्तिलाई एकताबद्ध र गतिशील बनाउनेतिर ध्यान दिने बताउँदै उहाँले भन्नुभयो– ‘नवौं महाधिवेशनले पार्टीलाई एकताबद्ध तुल्याउन सम्पूर्ण हिसाबले मजबुत जग तयार पार्नेछ । यो साँच्चैको एकताबद्ध हुनेछ, लेखाइमा होइन, यथार्थमै एकताबद्ध हुनेछ । र, नवांै महाधिवेशन एउटा कोसेढुंगा सावित हुनेमा द्विविधा छैन ।’
नेता ओलीले समाज परिवर्तनका अभिभारालाई समुचित ढंगले अगाडि बढाउन जबज आएको बताउँदै भन्नुभयो– ‘देशलाई मार्गदर्शन गर्ने यो बाहेक अर्को कुनै विचार छैन । आज पनि जबज गतिशील छ र समयअनुरूप यो अध्यावधिक पनि भइरहेको छ ।’ उहाँले नेपाली समाजको विशेषता बुझेर नै जननेता मदन भण्डारीले जबजको सिद्धान्त प्रतिपादन गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष झलनाथ खनालले पार्टीलाई मजबुत बनाउनका लागि नवौं महाधिवेशन उपयोगी हुने बताउँदै समग्र व्यवस्थापन गरेर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीलाई एकताबद्ध पारेर लैजानुको विकल्प छैन ।’ उहाँले जबजको नयाँ सामाजिक–आर्थिक ढाँचा तय गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले उपाध्यक्ष वामदेव गौतमले भने अध्यक्षमा ओलीलाई समर्थन गर्दै भन्नुभयो– ‘मैले नवांै महाधिवेशनमा केपीलाई अध्यक्ष बनाउनुपर्छ भनिसकेको छु । मेरो विचार पनि नयाँलाई अध्यक्ष दिनुपर्छ भन्ने हो । नयाँलाई दिँदा पार्टी नयाँ ढंगले अघि बढ्छ । केपीले सातौंदेखि नै नेतृत्व लिन खोजिरहनुभएको थियो । सातौंदेखि नै नेतृत्व लिन खोजिरहेको मान्छेलाई दिनुपर्छ भनेर म उहाँको पक्षमा लागेको हुँ ।’
महासचिव ईश्वर पोखरेलले भने अब एमाले आर्थिक र सामाजिक रूपान्तरणमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘एमालेको नवौं महाधिवेशन सामाजिक र आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्छ । हिजोका राजनीतिक अधिकारप्राप्तिका कुरा र उपलब्धिहरूको व्याख्या गरेर मात्रै अब एमालेको राजनीति चल्दैन । र, आगामी चुनौतीहरूलाई सामना गर्नसक्ने नेतृत्व नै अब एमालेलाई चाहिन्छ ।’
फाउन्डेसनका अध्यक्ष तथा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त विचार गोष्ठीले एमाले महाधिवेशन पूरै होमिइसकेको संकेत दिएको थियो । एमाले सचिव शंकर पोखरेलले भने विचार गोष्ठीमा प्रवेश गर्दै जबज नेपाली राजनीतिको मार्गदर्शक सिद्धान्त बनिसकेको बताउँदै भन्नुभयो– ‘दस वर्षसम्म हतियार बोकेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र यथास्थितिमा फसेको नेपाली कांग्रेसलाई लोकतन्त्र स्थापनामा ल्याउन जबजकै भूमिका रहेको कुरालाई जोकोहीले स्वीकार्नैपर्छ ।’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply