चेम्बरमा दुई दशकको सहयात्री

लामो समयसम्म संक्रमणकाल रहँदा राष्ट्रिय जीवनका हरेक क्षेत्र र तहमा गहिरो असर पुर्याउँछ । अर्थतन्त्रको गतिशिलतामा ह्रास आउनुका साथै उद्योगधन्दाहरू अपेक्षाकृत रूपमा फस्टाउन सक्दैन । यो निर्विवाद सत्यलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले राम्रैसित आत्मबोध गरेका छन् । र, वर्तमान संक्रमणकाललाई लामो समयसम्म नलम्ब्याउन चेम्बरका पदाधिकारीहरूले सरकारसित हरेक पटक आग्रह गर्नु एउटा नियमित क्रियाजस्तै भइसकेको छ ।
राजनीतिक स्थायित्व कायम हुँदा उद्योग/व्यापारजस्ता क्षेत्र फस्टाउने यथार्थलाई नकार्न सकिँदैन । बस्नेत त्यही सत्यबोध गर्दै भन्छन्– ‘हामीले राजनीतिक दलहरूलाई निर्धारित समयावधिमै संविधान निर्माण गर्न केन्द्रित हुन आग्रह गरिरहेका छौं । जनताले चाँडै संविधान पाउनुपर्ने हाम्रो अनुरोध हो ।’ संविधान निर्माणसँगै स्थानीय निकायको निर्वाचनमा पनि उनको जोड रहेको छ । किनकि, स्थानीय निर्वाचनबाट मात्रै राजनीतिक स्वतन्त्रता, स्थायित्व र विकासको सुखद् अनुभूति तल्लो तहसम्मै जनताले सँगाल्न पाउँछन् ।
चेम्बर अफ कमर्समा एउटा जुग नै बिताइसकेका बस्नेत तीन वर्षअघि अध्यक्षमा निर्वाचित भएपछि उद्योग, वाणिज्य क्षेत्रका समस्याहरू केलाएर निदानको बाटो खोज्दै थिए । तर, चेम्बरभित्र उत्पन्न विवाद र त्यसपछिको असहज वातावरणले गर्दा एक वर्षसम्म उनले केही काम नै गर्न पाएनन् । तर, अहिले विवाद सल्टिएको छ । र, वर्तमान कार्यसमितिले नै निरन्तरता पाउने र चुनाव पनि यही कार्यसमितिले नै गर्ने गरी विवाद किनारा लागेको छ । तसर्थ, अहिले अध्यक्ष बस्नेत उद्योग व्यवसाय क्षेत्रले भोग्नुपरिरहेका समस्या निप्टारा गर्नेतिर हरेक पल सरकारलाई घच्घच्याइरहेका छन् । उनी भन्छन्– ‘हामीले थुप्रै समस्या झेलिरहेका छौं । सुरुमा त सरकारले लगानीको वातावरण बनाउनुपर्छ । त्यस्तो वातावरण नबनी कोही पनि जोखिम मोलेर लगानी गर्न चाहँदैनन् । त्यस्तै, दिनदिनै बढिरहेको पेट्रोलियम पदार्थको समस्या हल गरिनुपर्छ, श्रम समस्या समाधान गरिनुपर्छ, सम्पत्तिमाथिको अधिकार सुनिश्चित गरिनुपर्छ र लगानीको क्षतिपूर्तिको नियम–कानुन बनाइनुपर्छ ।’
उद्योग–व्यवसाय गर्नेहरूले झेल्नुपरेको अर्को ठूलो समस्या लोडसेडिङको समस्या हो । उनी भन्छन्– ‘सरकारले आगामी ३ देखि ५ वर्षसम्म १२ सय मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय योजना स्वीकृत गर्नु अनिवार्य छ र त्यसका लागि आवश्यक प्रसारण लाइन पनि निर्माण गर्नुपर्छ ।’ सरकारले कृषि, पर्यटन, जलविद्युत्, पूर्वाधार विकास र सेवा क्षेत्रका उद्योगहरूलाई विशेष प्राथमिकता दिनुपर्नेमा पनि उनको जोड छ । उनी भन्छन्– ‘हामी आयात प्रतिस्थापन गर्ने विषयमा कृषि क्षेत्रलाई लक्षित गरी सहकारीहरूसित एकीकृत कार्य गर्ने पक्षमा पुगेका छौं ।’
काठमाडौंका रैथाने बासिन्दा बस्नेत वि.सं.२०१० साल माघमा काठमाडौं–२४, भोसिकोटोलमा जन्मिएका हुन् । उनको पुर्खा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि शाहसँगै गोरखाबाट काठमाडौं आएका हुन् । सैनिक सेवामा पारंगत बस्नेतहरूलाई तत्कालीन राज्य व्यवस्थाले असनमा स्थापित गरेको थियो । उनी भन्छन्– ‘हामी असनका काजी हौं । त्यहाँबाट छुट्टिएर भोसिकोटोलमा आएको पनि थुप्रै पुस्ता भयो ।’ आफ्नो पुर्खाले सैनिक सेवामा दक्षता देखाए पनि र बुबाले नेपाल प्रहरीमा सेवा गरे पनि उनले भने पुख्र्यौली पदचाप पछ्याउन चाहेनन् । शंकरदेव क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक उनको रसबस व्यापार–व्यवसायमै बस्यो । उनी भन्छन्– ‘म सन् १९७६ मा व्यापार क्षेत्रमा प्रवेश गरेँ । सुरुमा मैले आयात–निर्यातमा हात हालेँ । दाजुको साथीसित सहकार्य गरेर काम गरे पनि डेढ वर्षपछि भने मैले फेन्सी सामानहरू आफंैले आयात गर्न थालेँ ।’ छिटो आम्दानी हुने भएको हुँदा उनले तयारी पोसाक, तयारी खाद्यान्न, फोटोग्राफी, कम्प्युटर र त्यसका पार्टपुर्जाहरू, विद्युतीय सामानहरू आयात गर्दथे । त्यसरी नै, तयारी पोसाक, चाँदीका गहनाहरू, मूर्ति र कार्पेट चाहिँ उनी निर्यात गर्थे । उनी भन्छन्– ‘मैले कार्पेट, तयारी पोसाक, पश्मिना र जडिबुटीजन्य सामानहरूको उद्योग पनि खोलेँ । र, पछि मिनरल वाटर उद्योग पनि सञ्चालन गरेँ ।’ उनको बस्नेत ऊनी धागो कटाइ उद्योग, ओमशान्ति पश्मिना उद्योग, सुजित कन्सर्न एन्ड ब्रदर्स, बस्न्यात कम्पनी लिमिटेड आदि उद्योग छन् ।
अध्ययनमा सदैव अब्बल रहने बस्नेतसित आफूले अध्ययन गरेकै क्षेत्रमा हात हालेर सफलता बटुलेको अनुभव छ । व्यापार–व्यवसायमा क्रियाशील रहेकै बेला उनी ०४९ सालमा चेम्बर अफ कमर्सको कार्यकारिणी सदस्यमा निर्वाचित भए । त्यसयता उनी चेम्बरको एकपछि अर्को तहमा उक्लिँदै गए । दुई पटक चेम्बरको कार्यकारिणी सदस्य भएपछि चेम्बरभित्रकै भन्सार समितिमा सभापति भएर उनले लामो समय काम गरे । त्यसपछि चेम्बरको एक कार्यकाल सचिव, दुई कार्यकाल महासचिव, एक–एक कार्यकाल प्रथम र वरिष्ठ उपाध्यक्ष भएका उनी ०६७ सालमा चेम्बरको अध्यक्ष निर्वाचन भए । तर, आन्तरिक विवादका कारण उनलाई एक वर्ष भने काम गर्ने वातावरण मिलेन । तर, अहिले पुन: साठी वर्ष पुरानो, ऐतिहासिक र जेठो संस्थालाई गतिशील तुल्याउन उनी सक्रियतापूर्वक लागिपरेका छन् ।
अहिले चेम्बरले ६३ वटा जिल्ला उद्योग वाणिज्य संघसित सहकार्य गरिरहेको छ । उनी भन्छन्– ‘जिल्लाका उद्योगी–व्यवसायीहरूले भोग्नुपरिरहेका झन्झटहरूमा हामीले सहयोगी भूमिका खेलिरहेका छौं ।’ तथापि, आफ्नो तीनबर्से कार्यकालमा केही तनाव झेल्नुपरे पनि अग्रजहरूको पदचिन्ह पछ्याउँदै चेम्बरलाई गतिशील तुल्याउन कुनै कमी हुन नदिएको उनको तर्क छ । यही बीचमा उनले अमेरिकाको लसएन्जलस, न्युयोर्क, बाल्टिमोर र बोस्टनमा व्यापार अन्तक्र्रिया गर्नुका साथै अमेरिकाका २७ प्रान्तमा व्यवसाय गर्ने नेपालीहरूलाई समेत समेट्ने कार्य भएको छ ।
यसरी नै, उनकै पहलमा अमेरिका, जापान, कोरिया, अस्ट्ेरलियालगायत विभिन्न १७ देशमा चेम्बरको अवैतनिक प्रतिनिधिसमेत राखिएका छन् । ती प्रतिनिधिहरूले नेपाली उत्पादनको नमुना प्रदर्शनका साथै बजार प्रवद्र्धन कार्यमा उल्लेख्य भूमिका खेल्ने गरेका छन् । तथापि, चेम्बरको दुई दशकका सहयोगी बस्नेतको दैनिकी भने उद्योग–वाणिज्य क्षेत्रमा संलग्न भएकाहरूको हकहितको पक्षमा उभिँदै, उनीहरूको उद्योगधन्दाको सम्बद्र्धन गर्दै र देशले अवलम्बन गर्ने अर्थ, वाणिज्य र प्रशासनिक नीति नियमहरूमा सरकारलाई सल्लाह दिँदै बित्ने गरेको छ । र, अहिले उनी आफूले गरेका कार्यहरूप्रति गौरवबोध भइरहेको बताउँछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply