उपनिर्वाचनमा को–को ?
काठमाडौं । आगामी असार ८ गते हुने संविधानसभाको उपनिर्वाचनका लागि राजनीतिक दलहरूले भित्रभित्रै तयारी थालेका छन् । क्षेत्रीय भेलादेखि कार्यकर्ता भेटघाटमा व्यस्त दलहरूले आन्तरिक रूपमा सम्भावित उम्मेदवार छनोट गरिरहेको बुझिएको छ ।
गत मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा दुई वटा क्षेत्रबाट विजयी सभासद्हरू नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं–२, एमालेकै उपाध्यक्ष वामदेव गौतमले बर्दिया–१, नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले चितवन–४ र वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली–६ छाडेकाले ती ठाउँमा उपनिर्वाचन हुँदैछ ।
चार क्षेत्रमा हुने उपनिर्वाचनमा विगतमा एमाले र कांग्रेसले दुई–दुई सिट जिते पनि यस पटक एमालेले एक सिट बढाउने सम्भावना बलियो छ । काठमाडौं–२ मा नेपालले भारी मतले जितेकाले यस पटक पनि त्यो क्षेत्र गुम्ने कुनै गुन्जायस छैन । अघिल्लो चुनावमा नेपालले २१ हजार ७ सय ४८ मत ल्याउनुभएको थियो भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी प्रतिमा गौतमले १२ हजार ४ सय ७५ मत ल्याएकी थिइन् । तेस्रो स्थानमा रहेका एमाओवादीका लीलामणि पौडेलले जम्मा ७ हजार १ सय ५४ मत ल्याएका थिए ।
यो क्षेत्रबाट एमालेले लोकप्रिय नेता नारायण ढकाललाई उठाउने सम्भावना प्रबल रहेको बुझिएको छ । ०५१ को उपनिर्वाचनमा ढकाल यही क्षेत्रबाट विजयी भएका थिए । यद्यपि, एमाले पंक्तिमा यस क्षेत्रबाट सम्भावित उम्मेदवारका रूपमा नवराज पराजुली, सुवर्ण श्रेष्ठ, कृष्णहरि थापा, सरिता न्यौपाने, बुद्धभक्त चित्रकार, मणिराम फुयाललगायतको नाम पनि लिने गरिएको छ । कांग्रेसले भने अघिल्लो पटक पराजित गौतमलाई नदोहोर्याउने बुझिएको छ । कांग्रेस स्रोतका अनुसार ०६४ को चुनावमा उम्मेदवार बनेका दीपक कुइँकेल वा ०५१ को उपनिर्वाचनमा एमालेका नारायण ढकालसँगै पराजित लोकेश ढकालमध्ये एकलाई उम्मेदवार बनाउने भएको छ ।
उता, एमाओवादीभित्र कसलाई उठाउने भन्ने कुनै तयारी नभएको बताइन्छ । ‘क्षेत्रमा उम्मेदवार हुने खालका कोही छैनन्, टुरिस्ट ल्याउने होला, कसलाई ल्याउँछन्, थाहा छैन’– माओवादी निकट स्रोतले भन्यो । अघिल्लो पटक पराजित लीलामणि त्यसयता क्षेत्रमै नगएको र फेरि उठ्ने रुचि पनि नदेखाएको बताइन्छ ।
प्रधानमन्त्री कोइरालाले छाडेको चितवन–४ मा कांग्रेसभित्र टिकटका आकांक्षीहरूको सूची लामो छ । कोइरालाको विरुद्ध बागी उम्मेदवार दिएर विकास कोइराला कारबाहीमा परेपछि अरूले भाग्य चम्किएको ठाने पनि यो क्षेत्रमा यस पटक एमालेले जित्ने आधार बलियो रहेको बताइन्छ । कांग्रेसबाट जिल्ला सभापति टेकबहादुर गुरुङ, जेसिस सभापतिसमेत रहेका दिनेश कोइराला र रामकृष्ण घिमिरेको नाम चर्चामा छ । गुरुङलाई २६ को मनोनयनमा नपारे टिकट दिनैपर्ने बाध्यता कोइरालालाई छ । अर्का दाबेदार घिमिरे उपसभापति रामचन्द्र पौडेलनिकट मानिन्छन् । एमालेले भने अघिल्लो पटक कोइरालासँगै पराजित दिलकुमारी रावल (पार्वती)लाई नै दोहोर्याउने बुझिएको छ । यो क्षेत्रमा कोइरालाले २० हजार ७ सय ६० मत ल्याएका थिए भने रावलले १० हजार ६७ मत ल्याएकी थिइन् । राम्रो लहर हुँदा पनि कांग्रेसका ‘हेबिवेट’ उम्मेदवारकै कारण त्यसबेला रावल पराजित भएको चर्चा क्षेत्रमा चल्ने गरेको छ । यो क्षेत्रमा एमाओवादीको पुरानै उम्मेदवार चित्रबहादुर श्रेष्ठलाई उभ्याउने बुझिएको छ । यो क्षेत्रमा एमालेबाट रामजी सापकोटा, विजय सुवेदी, विष्णु तिवारी, विष्णु महतोको नाम पनि चर्चामा छ ।
एमाले उपाध्यक्ष गौतमले भारी मत अन्तरले जितेको बर्दिया–१ एमालेका लागि सुरक्षित क्षेत्र हो । यहाँबाट एमालेले स्थानीय रूपमा लोकप्रिय नेता श्याम ढकाललाई उठाउने बुझिएको छ । यहाँबाट गौतमले १८ हजार ३ सय ४७ मत ल्याएर जितेका थिए भने कांग्रेसका भुवनेश्वर चौधरीले ८ हजार ५ सय ९५ र एमाओवादीका भवनकुमार थारूले ११ हजार ६ सय २८ मत ल्याएका थिए । यहाँ कांग्रेस र एमाओवादीले पुरानै उम्मेदवारलाई दोहोर्याउने सम्भावना रहेको छ । यद्यपि, कांग्रेसबाट सोदे विष्ट र एमाओवादीबाट केशव पौडेलको नाम पनि चर्चामा छ ।
कांग्रेसका वरिष्ठ नेता देउवाले छाडेको कैलाली–६ मा भने कांग्रेसबाट पूर्वमेयर किशोर बम, जिल्ला सभापति नरनारायण शाह मनु, सुनिल भण्डारी र दुर्गा ओझाको नाम चर्चामा छ । तुलनात्मक रूपमा क्षेत्रमा भण्डारी लोकप्रिय भए पनि उनी कोइराला गुटको भएकाले उनको सम्भावना कम भएको बताइन्छ । उनीहरूमध्ये बम र साह मात्र देउवा निकट हुन् । त्यसैले यी दुईमध्ये एकले टिकट पाउने कांग्रेस स्रोतले बतायो । एमालेले यहाँबाट पुरानै उम्मेदवार महेश्वर पाठकलाई उठाउने बुझिएको छ । देउवासँग ८ हजार मत अन्तरले पराजित पाठकले अर्को उम्मेदवार हुनासाथ कडा टक्कर दिने बताइन्छ । पाठकबाहेक ०६४ को निर्वाचनमा लडेका दीपक देवकोटा, ०५१ मा डोटीबाट लडे पनि अहिले कैलाली बसाइँ सरेका नन्दलाल जोशीको नाम पनि चर्चामा छ । १६ हजारको विरुद्ध ४ हजार मत ल्याएकी एमाओवादीकी लीला भण्डारीलाई यस पटक नदोहोर्याउनेबारे छलफल भएको बुझिएको छ । माओवादीले यो क्षेत्रमा गत निर्वाचनमा कैलालीकै ५ नं. क्षेत्रबाट पराजित लेखराज भट्टलाई उठाउने आन्तरिक तयारी गरिरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply