जन्मदेखि नै समावेशी बैंक

देश, गणतन्त्रको दिशातिर उन्मुख भएपछि अभिजात्यदेखि सीमान्त तहका जनताका आकांक्षाहरू पनि एकाएक चुलिनु स्वाभाविकै थियो । देशमा भित्रिएको परिवर्तनको लहरसँगै हरेक क्षेत्र, तह र तप्कामा समावेशीकरणको आवाज तीव्र रूपमा उठ्न थाले । तर, कुनै एउटा यस्तो समय पनि थियो, वित्तीय संस्था स्थापना गरिँदा समावेशीकरणको कुराले मान्यता पाएको थियो । २२ वर्षअघि हिमालयन बैंक लिमिटेड स्थापना हुनुपूर्व तत्कालीन अर्थराज्य मन्त्री महेश आचार्यले बैंकलाई समावेशी बनाए मात्रै लाइसेन्स दिने बताएपछि काठमाडौंको नेवार समुदायबाट एक जना र मारवाडी समुदायबाट एक जनालाई समेटी बैंक स्थापना भयो । बैंकका प्रमुख कार्यकारी–अधिकृत अशोक राणा त्यतिबेलाको स्मरण उतार्दै भन्छन्–‘त्यतिबेला बैंकहरूको लाइसेन्स अर्थ मन्त्रालयले दिन्थ्यो । अर्थराज्य मन्त्रीले समावेशी बनाउनुपर्ने कुरा उठाउनुभएपछि हामीले नेवार र मारवाडी समुदायका व्यक्तिलाई समेटेर बैंक बनायौं । तसर्थ, यो बैंक जन्मदेखि नै समावेशी बैंकको रूपमा परिचित छ ।’ त्यतिबेला खेतान समूह र नरसिंहबहादुर श्रेष्ठ बैंकमा भित्रिएका थिए ।
तत्कालीन समयमा निजी क्षेत्रका बैंकहरू सीमित थिए । हिमालयन बैंकले स्वीकृति पाउनुअघि इन्डोस्वेज, एसबीआई, नबिल, ग्रिन्डलेज र स्टान्डर्ड चार्टज बैंकमात्र सञ्चालनमा थियो । सन् १९९३ मा लाइसेन्स पाएको उक्त बैंकभन्दा अघि एसबीआई बैंकले लाइसेन्स पाए पनि कारोबार चाहिँ उक्त बैंकले नै अगाडि थालनी गरेको थियो । उक्त बैंक स्थापना भएपछि उनी कार्यकारी–निर्देशकको सल्लाहकारका रूपमा कार्यरत रहे । त्यतिबेला, अहिलेजस्तो प्रमुख कार्यकारी–अधिकृत (सीईओ)को पद सुरु भइसकेको थिएन, कार्यकारी–निर्देशकले नै सीईओको जिम्मेवारी निर्वाह गर्थे । दुई वर्षसम्म सल्लाहकारका रूपमा रहेपछि भने उनले उपमहाप्रबन्धकका रूपमा काम गर्न थाले । सो पदमा पाँच वर्ष कार्यरत रहेपछि महाप्रबन्धक र त्यसपछि वरिष्ठ महाप्रबन्धक भएका उनले सन् २००३ देखि भने प्रमुख कार्यकारी–अधिकृतका रूपमा बैंकलाई हाँकिरहेका छन् ।
विगत ११ वर्षदेखि बैंकलाई नेतृत्व प्रदान गरिरहेका राणाले यसअघि भने नबिल बैंकमा केही वर्ष काम गरेको अनुभव बटुलिसकेका थिए । नब्बेको दशकमा अमेरिकाबाट स्नातक गरेर नेपाल फर्किएपछि उनी तत्कालीन नेपाल अरब बैंक (अहिलेको नबिल बैंक)मा सुपरभाइजरका रूपमा प्रवेश गरे । बैंकमा प्रवेश गर्दाका दिनहरू सम्झिँदै उनी भन्छन्– ‘हामीले नै बैंक खोल्न थालेका थियौं तर लाइसेन्स नपाएपछि मैले अर्कै बैंकमा काम गर्न थालेको हुँ ।’ उनले काम गर्दा नबिलमा ३० जना मात्रै कर्मचारी थिए । तर, नबिलमा पाँच वर्ष काम गरेपछि भने उनले आफ्नो व्यवसायलाई अन्यत्रै मोडे । हजुरबुबाले ब्रुअरी कम्पनीको लाइसेन्स लिनुभएको हुँदा त्यसैलाई गति दिन थाले उनले । ‘त्यतिबेला बु्रअरीको लाइसेन्स पाउन निकै गाह्रो थियो । तर, हामीले एक्कासि लाइसेन्स पाएको हुँदा त्यसमै हात हाल्ने निधो गर्यौं’– उनी भन्छन् । सुरुमा, डेनमार्कको काल्र्सवर्ग कम्पनी नेपालमा बियर उत्पादन गर्न राजी थिएन । नेपाली बजार सानो र सीमित भएको हुँदा डेनिसहरूले इच्छा देखाएका थिएनन् । तर, पछि भने डेनिसहरूले संयुक्त लगानीमा खोल्न चाहेपछि सन् १९८९ मा हस्ताक्षर भयो र उनी गोर्खा बु्रअरीको महाप्रबन्धकमा नियुक्त भए । बियर उत्पादनमा लगानी गर्ने तयारी गरिरहँदा तत्कालीन समयमा नेपालमा दुई घटना भए । एउटा, भारतले नेपालमाथि प्रतिबन्ध लगाएको थियो भने अर्को, ०४६ सालको जनआन्दोलन पनि सुरु भयो । नवलपरासीमा बियरको कारखाना खोलेर उत्पादन गर्ने कार्यमा अवरोध उत्पन्न भयो । भारतले नाकाबन्दी लगाएको हुँदा न तेल पाइन्थ्यो, आन्दोलनका कारण न त कतै निस्फिक्री हिँडडुल गर्ने वातावरण नै थियो । ‘तर, हामीले चौध महिनामा नै उत्पादन सुरु गर्यौं’– राणा बताउँछन् । तीन वर्षसम्म गोर्खा बु्रअरीमा कार्यरत रहेपछि भने हिमालयन बैंकको लाइसेन्स लिने प्रक्रियामा उनी सक्रिय रहे ।
सन् १९५९, मे १५ मा काठमाडौंको थापाथलीमा जन्मिएका राणा नेपालको पहिलो गभर्नर हिमालय शमशेरका छोरा हुन् । बैंकिङ क्षेत्रमा प्रवेशको पछाडि उनको पुख्र्यौलीपन जोडिएको छ । राणा प्रधानमन्त्री देवशमशेरको सन्तति राणाको अध्ययन भने विभिन्न मुलुकहरूमा भयो । ०१५ सालमा नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका बुबा हिमालय शमशेरलाई ०१७ सालमा राजा महेन्द्रले राजनीतिक ‘कु’ गरेलगत्तै गभर्नरबाट हटाइए । त्यसपछि उनका बुबा संयुक्त राष्ट्रसंघमा काम गर्न न्युयोर्क गए । बुबा न्युयोर्कमा पाँच वर्ष रहँदा उनले प्रारम्भिक शिक्षा त्यहीँ सुरु गरे । उनले यूएन स्कुलमा नै अध्ययन थालनी गरेका थिए । न्युयोर्कपछि उनको बुबाको सरुवा श्रीलंकामा भयो । श्रीलंकामा बुबा पाँच वर्ष बस्दा उनले त्यहीँको इन्टरनेसनल स्कुलमा अध्ययन गरे । सन् १९७० मा बुबाको पोस्टिङ अफगानिस्तानमा भएपछि उनी नेपाल आएर सेन्ट जेभियर्स र त्यसपछि गोदावरी बोर्डिङ स्कुलमा अध्ययन गर्न थाले । त्यसपछि उनका बुबाको पोस्टिङ बर्मामा भयो । बर्मापछि उनले बेलायतमा गई अध्ययन गर्न थाले । सन् १९७२ मा बेलायत गएका उनले त्यहीँबाट ओ लेभल र ए लेभल उत्तीर्ण गरेपछि थप शिक्षाका लागि अमेरिका गए । अमेरिकाबाट नेपाल फर्किएलगत्तै उनले बैंकिङ क्यारियर सुरु गरेका थिए ।
हिमालयन बैंकको नेतृत्व लिएपछि बैंकलाई नेपालकै अग्रणी बैंकको रूपमा अघि बढाउन उनले अतुलनीय योगदान गरेका छन् । उनी भन्छन्– ‘हाम्रो बैंक एक बिकाउ ब्रान्डको रूपमा स्थापित छ । रेमिट्यान्स व्यापारमा त हामी एक नम्बरमै छौं ।’ हुन पनि, हिमाल रेमिटमार्फत् वार्षिक ९० करोड डलर कारोबार भइरहेको छ । यो आर्थिक वर्षमा १ अर्ब पुर्याउने लक्ष्य रहेको राणा बताउँछन् । त्यसो त, आगामी जुन महिनामा हिमाल रेमिट सुरु भएको १० वर्ष पनि पुग्दैछ । रेमिट्यान्ससँगै सबभन्दा पहिला क्रेडिट कार्ड प्रयोगमा ल्याउने बैंकको रूपमा पनि हिमालयन बैंक नै रहेको छ । कार्ड बिजनेसमा पहिलो बैंक रहेको उक्त बैंकले अहिले भिसा, मास्टर र अमेरिकन एक्सप्रेस ब्रान्डका कार्डहरू प्रयोगमा ल्याइरहेको छ । गएको चैत मसान्तसम्म १ अर्ब ३ करोड मुनाफा कमाउन सफल उक्त बैंकले अबको दुई वर्षभित्र आफ्नो चुक्ता पुँजी ४ अर्ब पुर्याउने लक्ष्य राखेको छ । उनी भन्छन्– ‘अहिले हामी त्यही प्रयत्नमा तल्लिन छौं ।’ अहिले बैंकमा ६२ अर्ब रुपियाँ निक्षेप रहेको छ भने ४३ अर्ब कर्जा प्रवाह भएको छ । यसरी नै, बैंकको अर्को महत्त्वपूर्ण उपलब्धिको रूपमा राइट सेयरबिना नै अहिले बैंकको चुक्ता पुँजी २ अर्ब ९ करोड पुगेको छ, जबकी बैंक स्थापना हुँदा चुक्ता पुँजी ६ करोड रुपियाँ मात्र थियो ।
बैंकलाई अग्रगति दिन सक्षम सीईओ राणा अहिले नेपाल राष्ट्र बैंकले ल्याएको मर्जको नीतिप्रति अत्यन्तै सकारात्मक देखिन्छन् । उनी भन्छन्– ‘मर्जलाई हामीले पहिलादेखि नै स्वागत गरेका थियौं । किनकि, धेरै बैंक हुँदा गुणात्मकतामा र्हास आउने समस्या रहन्छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply