बाबुरामका मानिस टुहुरा ‘सनकी निर्णय कारक’
काठमाडौं । सनकका भरमा पुष्पकमल दाहालसँग टक्कर लिए जस्तो गर्ने र उनले फकाएपछि तत्कालै लल्याकलुलुक परिहाल्ने एमाओवादी नेता बाबुराम भट्टराईको कार्यशैलीका कारण उनको समूहका नेताहरू हैरान बनेका छन् । यही स्वभावका कारण विगतमा ज्यादै अप्ठ्यारो अवस्थामा साथ दिएकाहरूले पनि धमाधम छाड्दै गएका छन् भने बाँकी रहेकाहरू पनि टुहुरो बन्ने अवस्था देखिएको छ ।
हालै विराटनगरमा सम्पन्न सम्मेलन बहिष्कार गरेर सपरिवार मानसरोवर यात्रामा निस्केपछि भट्टराई निकटस्थहरू बिचल्लीमा परेको बताइन्छ । आफूले मियो मानेको नेताले पदमा नबस्ने भन्दै बैठक बहिष्कार गरेपछि उनलाई पछ्याउँदै १५ जना केन्द्रीय नेता बाहिरिएका थिए । तर, त्यसबाट दाहाल पछि हटेनन् र आफूपक्षीय नेताहरू मात्रै राखेर केन्द्रीय कमिटी घोषणा गरे । सम्मेलनबाट बाहिरिएका मध्ये भट्टराई–पत्नी हिसिला यमी त उनीसँगै मानसरोवरतिर हिँडिहालिन् । त्यसबाहेक टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, नवराज सुवेदी, वामदेव क्षेत्री, प्रभू साह, कुमार पौडेल, खगराज भट्ट, देवी खड्का बलावती शर्मा, गंगा श्रेष्ठ, हेमराज भण्डारी, खिमलाल देवकोटा र रामरिझन यादव यसबीचमा दोधार देखिए । एउटै पार्टीमा बसेर भट्टराईलाई नै साथ दिऊँ, उनको स्वभावका कारण पनि सधैंभरि दाहाल पक्षको तारो भइने, अलग पार्टी बनाऊँ, उनैले खुट्टा नटेक्ने हुन् कि भन्ने पीर ती नेताहरूलाई छ । युद्वकालदेखि नै भट्टराईको यस्तो खाले सनकपूर्ण र ढुलमुले चरित्रले पनि उनीहरूलाई दोबाटोमा पुर्याएको बताइन्छ ।
भट्टराईको पदमा नबस्ने घोषणा यो नै पहिलो होइन् । ०६० सालमा फुन्टिवाङमा सम्पन्न बैठकमा पनि नेतृत्व केन्द्रीकृत गर्ने अध्यक्ष दाहालको प्रस्तावको कडा विरोध गर्दै उनले पद त्यागको घोषणा गरेका थिए । त्यतिबेलाका एक सहभागी भन्छन्– ‘स्थायी समितिका सदस्य बसेको मञ्चबाट तल झरेर उनी पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्य बस्ने ठाउँमा पुगेका थिए । तर, चिया ब्रेकमा दाहालसँग केही छिन कानेखुसीपछि उनी फेरि स्थायी समिमतिका सदस्य बस्ने लहरमै उक्लिए र तपाईंमा विलीन भएँ भन्दै दाहालसँग अंकमाल गरे ।’ अहिले पनि विराटनगर सम्मेलन बहिष्कार गरेर बाहिरिँदा उनले ‘पार्टीको नेता प्रचण्ड नै हुन्, अहिले हाम्रो केही कुरामा असहमति छ, महाधिवेशनसम्म यही पार्टीमा बसेर संघर्ष गर्छौं’ भन्नुलाई बार्गेनिङकै रूपमा हेरिएको छ ।
तर, भट्टराई चीनको मानसरोवरमै रहेका बेला काठमाडौंमा भने उनको समूहका दुई नेता टोपबहादुर रायमाझी र गंगा श्रेष्ठले चाँडै नयाँ पार्टी जन्मिने सार्वजनिक गरेर वातावरण तताएका छन् । उनका समूहमा बाँकी नेताहरूको चाहना यस्तो भए पनि नयाँ पार्टी बनाउने कुरामा भट्टराईले नै खुट्टा नटेक्ने जानकारहरू बताउँछन् । माओवादीमा रहँदा भट्टराई निकट मानिएका विश्लेषक मणि थापा भन्छन्– ‘उहाँ नयाँ कुरा ल्याउनुहुन्छ तर त्यसमा अडिन सक्नुहुन्न । सम्मेलनभन्दा महिनांै अगाडि पत्रिकामा लेख लेखेर नयाँ शक्तिको खाँचोको बहस अगाडि सार्नुभयो तर सम्मेलनमा पुग्दा फरक प्रस्ताव त लैजान सक्नुभएन नै, अध्यक्षको प्रतिवेदनको मूल स्प्रिटमा मेरो सर्मथन छ, तर केही टिप्पणी भनेर सात बुँदा अगाडि सार्नुभयो ।’
सांगठनिक शक्ति खिइँदै गएका बेला भट्टराईले नयाँ पार्टी जन्माउने सम्भावना देखिँदैन । थापा थप्छन्– ‘भट्टराई पनि राजनीतिज्ञभन्दा बढी खेलाडी जस्ता देखिन थाल्नुभएको छ ।’ भट्टराईलाई कमजोर बनाउन दाहाल हरेक पटक सफल भएको थापाको बुझाइ छ । ‘दाहालले हरेक पल्ट भट्टराईका एक–एक जनालाई ‘भिक्टिम’ बनाउने गर्नुभएको छ, जसको सिकार म स्वयम् भएको छु’– थापाले भने ।
युद्धकालमा भट्टराईलाई काँध थापेका दीनानाथ शर्माले उनलाई छाडेको धेरै भइसकेको छ । ०६० सालकै लाभाङ बैठकमा सात र चौध बुँदे असहमति दर्ज गरेबापत पार्टीले भट्टराईसँगै पत्नी यमी र शर्मालाई कारबाही गरी बन्दी बनाएको थियो । भट्टराईकै स्वकीय सचिव भएर काम गरेका डोरप्रसाद उपाध्यायले पनि अहिले उनको साथ छाडिसकेका छन् । उनलाई विगतमा वैचारिक हिसाबले सहयोग गर्ने नेता राम कार्कीले साथ छाडेको दुई वर्षभन्दा बढी भइसकेको छ ।
पछिल्लो समयमा भट्टराईलाई भीमप्रसाद गौतम, भरतप्रसाद साह, कल्पना धमला, दधिराम न्यौपाने, अशोक जयशवाल, अजयशंकर दास नायकलगायतले साथ छाडेको दाहाल समूहको दाबी छ । तर, भट्टराई समूहका नेता गंगा श्रेष्ठ उक्त कुरा स्वीकार्दैनन् । मानसरोवर यात्राबाट फर्किएका नेता भट्टराईलाई स्वागत गर्न हिजो विमानस्थल पुगेका श्रेष्ठले त्यहीँबाट बुधबारसित भने– ‘भरत साह एक जनाले छाड्नुभएको हो अरू सबै हल्ला मात्र हो, कल्पनाजी त सुत्केरी भएर सम्मेलनमा नै जानुभएको थिएन ।’ भट्टराईको नेतृत्वसँग एक छिनमा रिसाएर कडा निर्णय लिने र एकैछिनमा मिल्ने स्वभावले तपार्इंहरूलाई अप्ठ्यारो बनाएको छैन भन्ने प्रश्नमा श्रेष्ठले भने– ‘यो वास्तवमै गम्भीर कुरा हो, यसबारेमा यस पटक हामी उहाँसँग बसेर गम्भीर कुरा गर्छौं ।’ नयाँ पार्टी जन्माउने कुरामा भने उनले आजसम्ममा एउटा नयाँ निर्णय लिने बताए । तर, कस्तो नयाँ निर्णय भन्ने खुलाउन चाहेनन् ।
नयाँ पार्टी खोल्न पनि भट्टराईका लागि सहज नभएको बताइन्छ । एक त पार्टीभित्र उनका भनिएकाले धमाधम साथ छाडेका छन् भने अर्कातिर नयाँ कोही पनि उनको समूहमा भित्रिएका छैनन् । त्यति मात्र होइन, पार्टीको सानो झुण्डले नयाँ पार्टी बनाउने कुराको कुनै तुक नभएको विश्लेषक थापा बताउँछन् । बरु, त्यही पार्टीमा बसेर संघर्ष चलाएमा त्यसमा उनलाई उनका समूहका नेताको पनि सहयोग प्राप्न हुने थापाको ठम्याइ छ ।
सैद्घान्तिक मुद्दामा भन्दा धुर्की देखाउन अनुसन्धान र अन्वेषणको काम गरेर बस्छु भन्ने कुरा गरेर एमाओवादीभित्रको लफडाको नायक बनेका भट्टराईका सहयोगीहरू उनको कुरालाई नियोजित तरिकाले बंग्याइएको दाबी गर्छन् । श्रेष्ठ भन्छन्– ‘उहाँले संसारभर क्रान्ति भए, तुरुन्त प्रतिक्रान्ति पनि भए, आन्दोलनको उपलब्धि रक्षा गर्न सकिएन भन्ने सन्दर्भमा यो कुरा भन्नुभएको थियो तर त्यसलाई हलुका ढंगले प्रचार गरियो ।’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply