यता पनि बाछिटाहरू आउलान्

निरन्तरको मिहिनेत, लगाव, त्याग र समर्पणभावले नै मानिसलाई आफ्नो लक्ष्य र उद्देश्यमा सफलता दिलाउँछ भन्ने गतिलो उदाहरण भारतको अबका प्रधानमन्त्री नरेन्द्र मोदी बन्न पुगेका छन् । कुनै बेला चिया बेच्ने एउटा सामान्य किशोर विश्वको चौथो आर्थिक शक्तिको रूपमा स्थापित भारतको प्रधानमन्त्रीजस्तो विशिष्ट र शक्तिशाली पदमा पुग्ने स्थिति उत्पन्न हुनुले कुनै व्यक्तिको सफलताको कडी नै मिहिनेत, समर्पण नै हो भन्ने सहज पुष्टि हुन्छ ।
मोदी, त्यस्ता सौभाग्यशाली व्यक्ति सावित भएका छन्, जसले निरन्तर ओरालो लागिरहेको भारतीय जनता पार्टीलाई एकै पटक शिखरमा पुर्याइदिएका छन् । यसअघि सत्तासीन कांग्रेस (आई)लाई सीमित सिटमा खुम्चिन बाध्य तुल्याइदिएका छन् । र, आफू स्वयम्ले पनि सत्ताको बागडोर सम्हालेर भारतलाई नयाँ दिशातिर लम्काउने औसर बटुलेका छन् । अनुमान गरिएभन्दा बढी मत प्राप्त गरेर सिंगो भारतभरि ‘कमल’को फूललाई मुर्झाउनबाट बचाएका छन् ।
तीन पटकसम्म भारतको औद्योगिक प्रान्त गुजरातको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेर विकासमा ‘गुजरात मोडेल’ निर्माण गर्न सफल मोदीले यस पटक लोकसभाको निर्वाचन लड्दा विकास, भ्रष्टाचारमुक्त प्रशासन र हिन्दुत्वको नारालाई आधार बनाएका थिए । अन्तत: यिनै आधारहरूले भाजपालाई ठूलो शक्तिको रूपमा स्थापित तुल्याइदिएको छ ।
मोदीको उदयसँगै अहिले नेपालका अतिहिन्दुवादी व्यक्ति र समूहबीच खुसीयाली छाएको छ । उग्र हिन्दुत्वको नारा बोकेर चुनावी मैदानमा उत्रिएको भाजपा नेतृत्वको गठबन्धनले अप्रत्याशित रूपमा बहुमत ल्याएपछि नेपालका भुरे हिन्दुवादीहरूमा उमंग छाउनु स्वाभाविकै हो । उनीहरूलाई लागेको होला, भारतमा त हिन्दुवादीहरूको उदय भयो भने अब नेपालमा हुनु कुन अनौठो कुरा भयो र ? तर, नेपालका अतिहिन्दुवादी समूहले बुझ्नुपर्ने कुरा के हो भने, भारतमा हिन्दुवादी पार्टीको उदय भए पनि र धर्मनिरपेक्ष भइसकेको नेपालमा त्यसका हल्का बाछिटाहरू आए पनि त्यसले कुनै तात्विक असर भने पुर्याउँदैन । किनकि, नेपालीहरू धर्मको आधारमा राजनीति गर्नेहरूलाई सख्त घृणा गर्छन् भन्ने कुरा सत्य सावित भइसकेको छ ।
साझालाई बचाउन थालियो
काठमाडौं । पूर्वअध्यक्ष एवम् महाप्रबन्धक ममता झाको चारबर्से कार्यकालमा ३० करोड रुपियाँ ऋणमा चुर्लुम्मै डुबेको साझा प्रकाशनलाई ऋणमुक्त तुल्याई पुरानै स्थितिमा फर्काउन अहिले सेयरधनीहरू तात्तिएका छन् । लामो समयदेखिको विवाद सल्टिएपछि साझाले अहिले गति लिन थालेको छ । साझाका कर्मचारीहरूले पूर्वअध्यक्ष झालाई नहटाएसम्म आन्दोलन जारी राखेका थिए । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झालाई बर्खास्त गरी हटाएपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरेका थिए ।
अख्तियारले झालाई बर्खास्त गरेपछि सरकारले अध्यक्ष तथा महाप्रबन्धकमा शिक्षा मन्त्रालयका सहसचिव दिवाकर ढुंगेललाई जिम्मेवारी दिएको थियो । ढुंगेलले कार्यभार सम्हालेपछि साझालाई सुधार गरी अगाडि बढाउने क्रम सुरु भएको छ । त्यही क्रममा अध्यक्ष ढुंगेलले सरोकारवाला व्यक्ति र निकायहरूसित साझालाई सुधार गर्ने सन्दर्भमा छलफलको क्रमलाई तीव्र पारेका छन् । सोही क्रममा अध्यक्ष ढुंगेलले संर्घर्ष समितिका व्यक्तिहरूलाई बोलाएर सुझाव लिइसकेका छन् भने अन्य सरोकारवालाहरूसित पनि सुझाव लिने तयारीमा जुटेका छन् ।
अहिले साझाले करिब ३० करोड रुपियाँ ऋण विभिन्न बैंक, जनक शिक्षा सामग्री केन्द्र, त्रिवि, उच्च माध्यमिक शिक्षा परिषद्लगायतलाई तिर्न बाँकी छ । कतिपय शाखाका घरभाडा पनि तिर्न बाँकी नै रहेको छ । सबभन्दा ठूलो रकम चाहिँ जनक शिक्षालाई तिर्नु रहेको छ । साझाले जनक शिक्षालाई मात्रै १४ करोड तिर्नुपर्ने छ ।
केही महिनादेखि कर्मचारीहरूको तलब पनि रोकिइरहेको छ । गएको माघ महिनाको तलब खोजखाज गरेर व्यवस्था गरिए पनि त्यसयता तीन महिनाको तलब कर्मचारीहरूले खान पाएका छैनन् । दिनदिनै आर्थिक दूरावस्था झेलिरहेको साझालाई बचाउनका लागि पूर्वअध्यक्ष डा.तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा साझा प्रकाशन सुदृढीकरण समन्वय समिति गठन गरिएको छ । गएको आइतबार गठित उक्त समितिमा १७ जना सदस्य रहेका छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply