बढी बाठो हुँदाको परिणाम

नेपाल प्रहरीका गिने–चुनेका केही सीमित इमानदार अधिकृतहरूको नाम लिनुपर्दा रमेश खरेल छुट्दैनन् । पाएको जिम्मेवारी इमानका साथ पूरा गर्ने, कसैसँग नझुक्ने, मोलाहिजा नगर्ने र हक्की स्वभाव भएका कारण उनी प्रहरी संगठनभित्र मात्र नभएर सार्वजनिक रूपमा पनि अरू प्रहरी अधिकृतभन्दा लोकप्रिय छन् । उनको सौभाग्य नै भन्नुपर्छ, यदि अभिलेखमा हेर्ने हो भने प्रहरी महानिरीक्षकले भन्दा बढी मिडियामा स्थान उनले पाउने गरेका छन् । त्यही भएर पनि होला, पहिला ए(सपी र अहिले एसएसपी हुँदा उनले दोहोर्याएर काठमाडौंका प्रहरी प्रमुख हुने मौका पनि पाए । शंका छैन, दुवै पटक उनले राम्रो काम गरेका छन् । तर, हालै एक सार्वजनिक कार्यक्रममा उनले आफ्ना हाकिमहरू एआईजी हुनका लागि ब्रिफकेस बोकेर नेता र मन्त्रीको ढोका चाहरिरहेको अभिव्यक्ति दिएपछि उनी विवादमा आएका छन् र प्रधान कार्यालयले उनलाई काठमाडौँबाट मुख्यालयमा फिर्ता बोलाएको छ ।
रमेश खरेलले भनेका कुरा आधारहीन होइनन् । यदि करोडौँ रकमको चलखेल हुन्थेन भने चार महिनासम्म कहिले नियमावली, कहिले मापदण्ड र कहिले के भन्दै एआईजी बढुवा रोकिने थिएन । सिधै नियम, कानुन र प्रक्रिया अनुसार सरुवा, बढुवा र पदोन्नति गर्ने भए तेस्रो पटक वामदेव गौतम दाम्लो चुँडालेर गृहमन्त्री बन्न आउने थिएनन् भन्ने कुरा पनि कसैबाट छिपेको छैन । वामदेव गौतमको विगत, कार्यशैली र स्वभाव हेर्दा उनले केका आधारमा बढुवा गर्लान् भन्ने पनि स्पष्टै छ । त्यस्तो अवस्थामा रमेश खरेलले नभने पनि ब्रिफकेसको खेल भइरहेको छ भन्ने कुरा सबैले बुझेकै छन् । तर, प्रहरीको बर्दीमा उनले जे भने, त्यो चाहिँ अनुशासनको दायरामा पर्दैन र स्वाभाविक लाग्दैन । बर्दीको मर्यादा हुन्छ, जुन उनले राख्न सकेनन् । अघिल्लो पटक काठमाडौँबाट बाहिरिँदा पनि उनले सनक देखाएका थिए । बढुवा भइनँ भनेर उनले चार्ज नै नबुझाएर र माथिको अनुमति नै नलिएर कार्यालय छोडेका थिए । यस पटक गृहमन्त्री गौतमलाई अप्ठेरो परेको थियो । आफूलाई भेट्न आएन भनेर गौतमले सार्वजनिक रुपमै आक्रोश व्यक्त गरेका थिए । तर, लोकप्रिय छवि भएका अधिकृत खरेललाई सरुवा गर्न उनी डराइरहेका थिए । यस्तो अवस्थामा खरेलले बेप्रसंगमा सार्वजनिक रूपमा बोलेर गौतमलाई नै सजिलो बनाइदिएका छन् । सुधार गर्नु र भाषण गर्नु फरक कुरा हो । पक्कै पनि खरेल अझ माथिल्लो तहमा पुग्ने र भविष्यमा प्रहरीको नेतृत्व गर्न सक्ने अवस्थामा छन् । यस्तो अवस्थामा भाषण गरेर विवादमा आउनुको के अर्थ रहन्छ र ? भनिन्छ नि– बढी बाठो हुनुहुँदैन †
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply