डनवाद र धनवादविरुद्ध नेपाल मैदानमा
काठमाडौं । पार्टीमा मौलाउँदै गएको डनवाद र धनवादविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपाल मैदानमा उत्रिनुभएको छ । आसन्न महाधिवेशनबाट नेतृत्वमा आउन देशभरिका कार्यकर्ताबाट अनुरोध भएपछि उहाँ त्यसका लागि तयार हुनुभएको हो ।
शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित विशेष कार्यक्रममार्फत उहाँको उम्मेदवारी घोषणा गरिएको छ । युवा नेताहरूको अग्रसरतामा अध्यक्षका लागि नेपालको उम्मेदवारी घोषणा गरिए पनि बाँकी पदहरूमा भने सहमतिका लागि छलफल भइरहेको छ । आगामी असार १९ बाट आयोजना हुने नवौं महाधिवेशनका बारेमा देशव्यापी रूपमा कार्यकर्ताका सुझाव लिएपछि सम्भावित टिमका साथ उहाँले मैदानमा उत्रिने घोषणा गर्नुभएको हो ।
अध्यक्षका अर्का आकांक्षी नेता केपी ओलीले यसअघि पटक–पटक मौका पाएका, पदाधिकारी भएका र सरकारमा समेत गएकाहरूलाई लिएर पदाधिकारीहरूको टिम बनाएपछि नेपालले भने अहिलेसम्म पदाधिकारी नभएका, कार्यकर्तापंक्तिमा राम्रो पकड भएका र तुलनात्मक रूपमा नयाँ नेताहरूलाई लिएर टिम बनाउने कसरत थाल्नुभएको छ । पुरानालाई सम्मान र नयाँलाई जिम्मेवारी दिने गरी बनाइने उक्त टिममा युवाहरूको बाहुल्य हुने देखिएको छ ।
पुरानाको साथ यथावत्
एमालेमा यस पटक सातौं महाधिवेशनकै जस्तो समीकरण बन्ने भएको छ । त्यसबेला तत्कालीन महासचिवका रूपमा नेपाललाई साथ दिनेहरू अहिले पनि उहाँसँगै छन् । तर, कहिले यता कहिले उता हुने चरित्रका र अन्तिम बेलामा हारिन्छ भनेर नेपालतिर जस्तो देखिएका केही नेता भने यस पटक ओलीका पक्षमा खुलेर लागेका छन् । नेपाललाई साथ दिँदै आएका पुरानो पुस्ताका भरतमोहन अधिकारी, अमृतकुमार बोहरा, सिद्धिलाल सिंहदेखि नयाँ पुस्ताका गोकर्ण विष्टसम्मको संयोजन नेपालले गरिरहनुभएको छ । सातौं महाधिवेशनका बेला ओलीलाई वामदेव गौतमलगायतले साथ दिनुभएको थियो ।
ओलीसँग पनि उहाँका परम्परागत सहयोगीहरूको टिम छ । विद्या भण्डारी, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतले उहाँलाई साथ नदिने कुरा भएन भने विगतमा ओलीलाई ‘मुखको तरबार चलाउने’ भन्दै मानमर्दन गर्दै आएका ईश्वर पोखरेल पनि दसौं महाधिवेशनबाट नेतृत्व पाउने आशामा ओलीका पक्षमा खुलेर लाग्नुभएको छ । एउटै पक्षमा रहे पनि संसदीय दलको चुनावमा ओलीका पक्षमा लाग्नुभएका महासचिवका स्वाभाविक दाबेदार सचिव विष्णु पौडेललाई कसरी बदनाम गराउने भन्नेबारेमा पोखरेलले ध्यान केन्द्रित गरिरहनुभएको छ ।
वरिष्ठ नेता नेपालसँग कार्यकर्ता भेटघाटमा अहिले युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, उर्वादत्त पन्त, भानुभक्त जोशी, प्रकाश ज्वाला, ठाकुर गैरे, नागेन्द्र चौधरी, बेदुराम भुसाल, गंगालाल तुलाधर, तुलबहादुर गुरुङ, चूडामणि जंगली, अष्टलक्ष्मी शाक्य, श्रीमाया थकाली, जगन्नाथ खतिवडालगायतले साथ दिइरहनुभएको छ ।
अध्यक्षको चाहना
वरिष्ठ नेता नेपालले यसअघि पार्टी प्रमुखका रूपमा एक कार्यकाल काम गर्नुभएको छ । ०५० मा मदन भण्डारीको निधनपछि उहाँ महासचिव हुँदा मनमोहन अधिकारी अध्यक्ष हुनुहुन्थ्यो भने ०५४ मा नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट पनि अधिकारी अध्यक्ष र उहाँ महासचिव निर्वाचित हुनुभएको थियो । ०५६ मा अधिकारीको निधन भएपछि ०५९ मा पार्टी प्रमुखका रूपमा उहाँ जनकपुरबाट महासचिवमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला युद्धको बेला भएको र संकटकालसमेत भएकाले पार्टी कार्यकर्ताको रक्षा नै प्रमुख विषय थियो । ०६४ को संविधानसभाको निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नैतिकताका आधारमा पद छोडेर उदाहरण देखाउनुभएका नेपाललाई अघिल्लो महाधिवेशनमा पनि अध्यक्षमा लड्न चर्को दबाब परेको थियो । तर, भर्खरै छोडेको र अरूलाई पनि मौका दिनुपर्ने भन्दै उहाँले त्यतिबेला ओलीलाई समर्थन गर्नुभएको थियो । तर, त्यसका बाबजुद ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।
अर्का नेता ओलीले लामो समयदेखि पार्टी प्रमुखका लागि आकांक्षा राख्दै र त्यसका लागि कोसिस गर्दै आउनुभएको छ । सातौं महाधिवेशनमा त्यही आकांक्षाका लागि कोसिस गर्नुभएका उहाँले सफलता नपाउने स्थिति देखिएपछि आफ्नो प्रस्ताव स्थगित गर्नुभएको थियो भने आठौं महाधिवेशनमा पराजित हुनुभएको थियो । यस पटक पनि उहाँले जुनसुकै हालतमा अध्यक्ष हुने आकांक्षाका साथ १५ जना साक्षीका बीचमा मदन भण्डारी फाउन्डेसनको कार्यालयमा मध्यरातमा १० वर्ष पछिसम्मका लागि वामदेव गौतम र ईश्वर पोखरेलसँग लिखित सम्झौता नै गर्नुभएको छ ।
कार्यकर्ताबीच नेपालको पकड
पटक–पटक अवसर पाएका र पदाधिकारी भएकाहरूको साथ ओलीलाई देखिए पनि कार्यकर्ता तहमा नेपालको पकड राम्रो छ । पार्टीभित्र गुट निर्माण नगर्ने, कार्यकर्तामाथि पूर्वाग्रह नराख्ने र योग्यताका आधारमा जिम्मेवारी दिने स्वभावका कारण नेपाल कार्यकर्ता पंक्तिमा लोकप्रिय हुनुहुन्छ । ‘यही नै उहाँको योग्यता हो, यही नै विशेषता हो’– अछाम जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले भन्नुभयो– ‘त्यही कारण उहाँलाई कार्यकर्ताले मान्दछन् ।’
उता, ओलीमाथि भने सीमित घेरामा रहने र अनुदार घेराकालाई मौका दिने गरेको आरोप छ । पछिल्लो पटक मन्त्रिपरिषद् गठन गर्दा खगराज अधिकारी र कर्णबहादुर थापा जस्ता अनुदार घेराकाहरूलाई अवसर दिनु र माधव नेपाल पक्षधरमध्ये एउटालाई पनि मौका नदिनुले पनि कार्यकर्तालाई झस्काएको छ । जबकि, माधव नेपाल प्रधानमन्त्री हुँदा ओली र खनालका तर्फबाट पनि आफ्नै बराबर मन्त्री बनाउनुभएको थियो ।
वैचारिक रूपमा माथि हात
एमालेले परम्परागत रूपमा गर्दै आएको विश्लेषणलाई बदल्ने र बदलिँदो परिस्थिति अनुरूप नयाँ विश्लेषण गर्ने सवालमा वरिष्ठ नेता नेपाल समूह अघि देखिएको छ । यस समूहले उठाउँदै आएको नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिकको साटो पुँजीवादी चरणमा प्रवेश गरेको भन्ने कुरालाई अध्यक्ष झलनाथ खनालसहित पार्टीले आत्मसात् गरेपछि ओली समूह वैचारिक मुद्दामा रक्षात्मक बन्न पुगेको छ । बढी पुरातन कुरा गर्दै आएको यस समूहका नेताहरू अहिले वैचारिक बहस गर्नुको साटो ‘विचारमा केही समस्या छैन, व्यवहारमा समस्या हो, नेतृत्व नयाँलाई दिनुपर्छ’ भन्न रुचाउँछन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply