प्रज्ञा भवनमा कसले के भने ?
राजेन्द्र पाण्डे
पोलिट्ब्यूरो सदस्य
पार्टी कस्तो बनाउने, त्यसको नेतृत्व कसले गर्ने, यतिबेला हाम्रो अभिभारा के हो ? यी तीनवटा प्रश्न खोज्यौं भने हामीले नवौं महाधिवेशनमा गर्ने काम के हो भन्ने निक्र्यौैल गर्न सक्छौं । हामीे गत संविधानसभा निर्वाचनमा दोस्रो भएका छौं । दोस्रो भएको पार्टीलाई पहिलो बनाएर देशको नेतृत्व गर्न सक्ने शक्ति नेकपा (एमाले)लाई बनाउनु पर्नेछ । त्यसका लागि हामीलाई योग्य नेतृत्व चाहिएको छ । ०६२ /६३ को जनआन्दोलनका बेला राजतन्त्रका विरुद्ध शीरमा कफन कसेर गणतन्त्र ल्याउनका लागि कसले नेतृत्व गर्यो ?
भीम रावल
केन्द्रीय सदस्य
आजभन्दा २२ वर्षअगाडिको माघ महिनामा जुन बेला सोभियत संघ ढल्दै थियो, यही ठाउँबाट नेपालीका सार्वभौमसत्ता, नेपाली जनताको जनजीविका र लोकतन्त्रका लागि नेकपा (एमाले) ती सबै प्रतिकूलता चिर्दै जनताको बहुदलीय जनवादको उद्घोष गरिरहेको थियो । जबजको प्रतिपादन गर्न माधवकुमार नेपालले जननेता मदन भण्डारीसँग धेरै ठाउँमा सहकार्य गर्नुभएको थियो । आज त्यही जबजका सिद्धान्त र मान्यता अगाडि बढाउन माधव नेपाललाई नवौं महाधिवेशनमा अध्यक्षका रूपमा अगाडि सारिरहेका छौं ।
राष्ट्रिय स्वाधिनता, नेपाली जनताको हित स्थापित गर्नका लागि एउटा सक्रिय नेता, गणतन्त्र र जनक्रान्तिका उपलब्धिलाई संस्थागत गर्ने, विभिन्न राजनीतिक दलहरूसँग वार्ता गरेर शान्ति प्रक्रियालाई पूर्णता दिने, एमालेलाई सक्रिय र गतिशील नेतृत्व प्रदान गरेर अब आउने कुनै पनि निर्वाचनमा प्रथम स्थानमा पुर्याउनका लागि हामी त्यस्तो नेतृत्वको खोजी गरिरहेका छौं । मान्छेहरू त्यस्तो नेतृत्वको खोजीमा धेरैतिर भौतारिन्छन् । तर, समयका विभिन्न चुनौतीलाई सामना गर्नुभएका माधव नेपाल हाम्राबीचमा हुनुहुन्छ ।
परशुमेघी गुरुङ
केन्द्रीय सदस्य
एउटा युगान्तकारी, ऐतिहासिक महाधिवेशन हुँदैछ । यो महाधिवेशनले ०६२/६३ को जनक्रान्तिलाई सैद्धान्तिकृत गर्दै पुँजीवादी क्रान्ति पूरा भएको छ, अब समाजवाद निर्माणतर्फ नवौं महाधिवेशनले उद्घोष गर्दैछ ।
नेतृत्वको सन्दर्भमा हामी युवाहरूले जोडतोड गर्दै अबको युगलाई अघि बढाउन कस्तो नेता आवश्यक पर्छ भन्नेबारे लामो बहस, छलफल र विश्लेषण गर्यौं । त्यसका लागि बिहान कुखुरा बस्नुभन्दा अगाडि जागेर साँझ जुन झर्दासम्म खट्न सक्ने सक्रिय र व्यवस्थापकीय क्षमता भएको नेता चाहिन्छ भन्ने निष्कर्षमा पुग्यौं । अनि, हामीले माधवकुमार नेपाललाई आग्रह गर्यौं । हामी युवाहरूले सक्दै नसक्ने भएर आग्रह गरेका होइनौं ।
हाम्रो समाजमा एउटा मनोविज्ञान छ– ८५ वर्षको बाउले ५५ वर्षको छोरा जन्ती गयो भने ‘ए बाबु टोपी हटाउलास् है’ भन्छ । त्यो मनोविज्ञान पनि हामीले हेरौं । आज यो मुलुकलाई एकढिक्का बनाउनका निम्ति, वाम आन्दोलनलाई एक ढिक्का बनाउनका निम्ति, नेपालमा रहेका राजनीतिक दलहरूलाई एकढिक्का बनाउनका निम्ति अहिलेको पुस्तामा सबैले विश्वास गरेको नेता माधव नेपाल नै हो । दक्षिणतर्फ लभ परेको, उत्तरतर्फ कन्ट्रास्ट परेको नेतृत्वले मुलुक र पार्टी हाँक्न सक्दैन । सबैतिर समान दृष्टिकोण राख्न सक्ने नेता हामीलाई चाहिएको छ । त्यस्तो नेताको नाम हो– माधव नेपाल ।
गोकर्ण विष्ट
केन्द्रीय सदस्य
हामी को केन्द्रीय कमिटीमा आउने वा नआउने भन्ने महत्त्वपूर्ण विषय होइन । त्यो भन्दा ज्यादै महत्त्वपूर्ण विषय भनेको आज हामीले हाम्रो पार्टीलाई हाम्रो आन्दोलनलाई कहाँ पुर्याउने, एमालेलाई कस्तो पार्टीका रूपमा जनताको बीचमा उभ्याउने भन्ने हो । किताबमा पढिने रूपमा मात्र यो पार्टीलाई विकास गर्ने कि खान/लाउन नपाएका श्रमजीवी वर्गको प्रतिनिधि पार्टीको रूपमा विकास गर्ने ? अब हामीले यो पार्टीलाई नयाँ सोच, गति र मान्यताका साथ विकास गर्न जरुरी छ । त्यसका लागि हामीले विगतका हाम्रा धेरै कुरा समीक्षा गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने गरी एमालेलाई विकास गर्न जरुरी छ । यसकारण नवौं महाधिवेशन इतिहासमा ज्यादै महत्त्वपूर्ण जडको रूपमा खडा भएको छ ।
समय र समुद्रको छालले कसैलाई पर्खदैन । एमालेले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणमा इमानका साथ नेतृत्व गर्न सकेन भने समयले हामीलाई पनि पर्खने छैन । यसर्थ, एमालेलाई श्रमजीवी वर्गका अगुवा पार्टीको रूपमा विकास गर्न जरुरी छ । त्यसका लागि माधवकुमार नेपालको साथमा उपस्थित भएका छौं ।
घनश्याम भुसाल
केन्द्रीय सदस्य
नेपालमा राष्ट्रियता र जनजीविकाका मुद्दाहरूलाई एकसाथ निरन्तर उठाइरहेका कारणले दुनियाँभर कम्युनिस्ट पार्टी ढलिरहँदा पनि झन्झन् बलियो र लोकप्रिय भएको, टिकेको र यहाँसम्म आइसकेको गौरवशाली इतिहास भएको पार्टी नेकपा (एमाले) हो । यो पार्टी अहिले नवौं महाधिवेशनको पूर्वसन्ध्यामा छ । यो महाधिवेशन भनेको इतिहासले नेकपा (एमाले)को लिँदै गरेको परीक्षा हो । ऊसँग इतिहास र समयद्वारा सोधिने केही प्रश्नहरू छन् । पहिलो प्रश्न– तँ नेपाली समाज, नेपाली जनता इतिहासको जुन बाटो र उकालो–ओरालीबाट हिँडेर आए, जुन संघर्ष व्यहोरे त्यसलाई तँ बुझ्छस् ? त्यसको विश्लेषण गर्छस् ? त्यसमा आएका परिवर्तनलाई तैले चिन्न सक्छस् ? यो भनेको सिद्धान्तको प्रश्न हो । हामीले यो प्रश्नको जवाफ दिनुपर्नेछ । सबैलाई चित्त बुझाउने गरी सत्य कुरा भन्नुपर्नेछ । यसमा असफल भएपछि जति ठूलो संगठन भए पनि जति राम्रो नेतृत्व भए पनि अगाडि बढ्न सकिँदैन । र, भन्नुपर्नेछ, हामीले सामन्तवादलाई तोडिसक्यौं । हिजोका नारा र त्यसको वरिपरि बनेका सिद्धान्तले अबको डुंगा तान्दैन । इतिहास मान्छेले बनाउँछन् । त्यसमा पनि सचेत मान्छेले बनाउँछन् । त्यसरी तिम्रो कम्युनिस्ट पार्टीले बनाएको छ ? भनेर सोधिने अर्को प्रश्न हो । यो प्रश्नको पनि दुनियाँलाई आफ्नो संरचना, पल्टन देखाएर जवाफ दिनुपर्छ । यस्तो योग्य संगठनलाई नेतृत्व गर्नसक्ने योग्य मान्छे तिमीसँग छ ? भनेर सोधिने अर्को प्रश्न हो । त्यसको पनि हामीले सबैभन्दा राम्रो उत्तर दिनुपर्नेछ । यदि हामीले इजलासमा बसेर इतिहासले सोधेका यी प्रश्नको सही उत्तर दिनसक्यौं भने अब एमाले र मुलुकको भविष्य कायापलट हुनेवाला छ ।
तर सिद्धान्त, संगठन र नेतृत्वको यो शृंखलामा कहीँ पनि संगति मिलेन भने बर्बाद हुन्छ । इतिहास सोझो बाटो हिँड्दैन । बेला–बेलामा त्यसले कुइनेटो बदल्छ । त्यो कुइनेटो बदल्दा यदि पछाडि परियो भने त्यो युगभरि त्यो शक्ति, त्यो पार्टी, ती मान्छे पछाडि पर्छन् ।
जगन्नाथ खतिवडा
केन्द्रीय सदस्य
जनताको बहुदलीय जनवाद माक्र्सवादको नेपाली संस्करण हो । आजको सन्दर्भमा माक्र्सवाद समयानुकूल ढंगले अगाडि बढ्न सकेन भने त्यसलाई जीवित राख्न सकिँदैन । जनताका न्याय र समानताका चाहनालाई पूरा गर्न सकिँदैन । जनताको न्याय र मुक्तिको कुरालाई जबजले सम्बोधन गरेको छ । विकसित र समृद्ध गरेको छ ।
हामी खुसी छौं । यही दक्षिण एसियामा संसारका धेरै देशहरूमा कम्युनिस्ट आन्दोलनको विकास र त्यसको रक्षात्मक अवस्थालाई मूल्यांकन गर्ने हो भने नेपाली जनताको ढुकढुकीमा जब–जब कम्युनिस्ट आन्दोलन पस्दै गयो, सगरमाथाको चुचुरोमा झन्डा फहराउँदै गयो, धेरै–धेरै कम्युनिस्ट शासन सत्ता ढल्दै गए । समयानुकूल परिवर्तन र समृद्धिकै कारण नेकपा (एमाले)ले यो स्थान प्राप्त गरेको हो । यही सन्दर्भमा हामी नवौं महाधिवेशन सम्पन्न गर्न गएका छौं । माधवकुमार नेपाललाई पार्टी अध्यक्षको रूपमा विजयमाला पहिर्याउनका निम्ति देशव्यापी रूपमा अगाडि बढिरहेका छौं । उहाँलाई विजय गराउनु आजको आवश्यकता हो । उहाँ आजको नेकपा (एमाले)को सर्वोत्तम छनोट हो । सबै योग्य हुनुहुन्छ । योग्यहरूमध्ये योग्यतम्को खोजी माधव नेपाल हो । हामी युवाहरूले उहाँलाई प्रस्ताव गर्यौं । किनकि हामी विकास चाहन्छौं, निषेध होइन ।
राजेन्द्र राई
केन्द्रीय सदस्य एवम् अनेरास्ववियु, पूर्वअध्यक्ष
महाधिवेशनलाई यहाँहरूले अत्यन्तै गम्भीरतापूर्वक हेरिदिनुस्, बुझिदिनुस् । भावुकताबस निर्णय लिने प्रवृत्ति हामीमा विकास भएको छ । यसबाट मुक्त भएर महाधिवेशनलाई सोचिदिनुस् । महाधिवेशनले गम्भीर निर्णय गर्छ । चाहे त्यो विचारको सन्दर्भमा होस्, चाहे नेतृत्व निर्माणको सन्दर्भमा ।
विचारले नै पार्टी डोर्याउँछ । त्यसपछि नेतृत्वको सन्दर्भमा विगतको समीक्षा गरौं र भविष्यको पनि अनुमान गरौं । विचारको सन्दर्भमा गर्नें विरोध कुरा आइरहेको छ । यो विचारको चरित्र परिवर्तन भयो, एउटा जनक्रान्ति पूरा भयो भन्दा जनताको बहुदलीय जनवादी विरोधी भनेर करार गर्न खोजिन्छ भने अर्कातिर ठाउँ अनुसार हामीमा विचारमा कुनै भिन्नता छैन पनि भनिन्छ । विचार एउटै हो भने कसैलाई जबजविरोधी भनेर आक्षेप लगाउने कोसिस गर्नुभएन । विचारमा बिलकुल भिन्नता छ । पार्टीले समाजको चरित्र परिवर्तन भयो भन्ने कुरालाई बोलिसकेपछि आत्तिएर ‘विचारमा भिन्नता छैन’ भन्दै सुतुरमुर्गे चरित्र अपनाउन खोजिएको मात्र हो ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
भारतमा ९२ सांसद निलम्बित
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री हाइयानबीच भेटवार्ता
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
-
कोप–२८ सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने
-
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
-
राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
-
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव दुताबासमा
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
Leave a Reply