प्रुडेन्सियलको एक दशक

एउटा पोखरीमा साना, ठूला र मझौला आकारका माछा छन् । विभिन्न आकारका ती माछाहरूलाई आहारा हालिदिँदा कस्तो स्थिति उत्पन्न हुन्छ होला ? निश्चय नै, ठूला माछाले धेरै आहारा खान्छन् र साना माछाले छट्पटाउनुबाहेक अरू विकल्प हुँदैन । अहिले नेपालका फाइनान्स कम्पनीहरूले तिनै साना माछाहरूको जस्तै नियति भोगिरहेका छन् भने वाणिज्य बैंकहरूको भूमिका चाहिँ ठूला माछाहरूको जस्तै छ ।
प्रुडेन्सियल फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी–अधिकृत अजयकुमार मिश्र समग्र फाइनान्स कम्पनीहरूको अवस्था साना माछाको भविष्यसित तुलना गर्न रुचाउँछन् । उनी भन्छन्– ‘नेपालका ठूला र साना वित्तीय संस्थाहरू एउटै ऐनद्वारा निर्देशित छन् । ठूला र साना, दुवै वित्तीय संस्थाको बजार एउटै हो, तर हामी तीनथरि संस्थाबीच प्रतिस्पर्धा गरिरहेका छौं । वाणिज्य बैंकको क्षेत्र व्यापक भएको हुँदा उसको बजार पनि ठूलो छ तर फाइनान्स कम्पनीहरूको क्षेत्र सीमित भएको हुँदा खुम्चिनुपर्ने अवस्थामा छन् ।’ विगत ६ वर्षदेखि प्रुडेन्सियलको बागडोर सम्हाल्दै आएका मिश्रलाई यतिबेला भने फाइनान्स चलाउन कठिनाइ उत्पन्न भइरहेको महसुस भएको छ । फाइनान्स कम्पनीहरूले वर्तमानमा के–के कठिनाइहरू भोग्नु परिरहेको छ ? उनको निष्कर्ष छ– ‘कमर्सियल बैंकको ब्रान्ड इमेज बलियो हुन्छ, तर फाइनान्स कम्पनीको त्यस्तो हुँदैन । र, समाजमा पनि कम विश्वास हुन्छ । कमर्सियल बैंकको आकारले गर्दा त्यसबाट जनताले पाउने सेवा र सुविधा व्यापक हुन्छ तर सानो भएकै कारण फाइनान्सहरूले जनताको अपेक्षालाई पूरा गर्न सक्दैनन् ।’ तर, बैंक र फाइनान्स कम्पनीहरूका जोखिम र चुनौती भने बराबर रहेको उनको बुझाइ छ ।
‘वाणिज्य बैंकहरूले दिने ब्याजदर फाइनान्स कम्पनीले दिन सक्दैनन्’– उनी स्पष्ट रूपमा भन्छन्– ‘ब्याजदरमा अहिले जुन अन्तर देखिएको छ, त्यसलाई कसरी मिलान गराउने भन्ने चुनौती अहिले हाम्रसामु प्रखर रूपमा आएको छ ।’ अहिलेकै ऐनअनुरूप फाइनान्स कम्पनीहरू चलाउन नसकिने पनि मिश्रको अनुभव छ । उनी भन्छन्– ‘हिजो वाणिज्य बैंकहरूले ठूला क्षेत्रहरूमा लगानी गर्थे र फाइनान्स कम्पनीहरूले साना क्षेत्रमा लगानी गर्थे । तर अहिले वाणिज्य बैंकहरूले पनि साना क्षेत्रहरूमा लगानी गर्न थालेका छन् । यसले पनि समस्या निम्त्याएको छ ।’ तर, फाइनान्स कम्पनीहरूमा अहिले पर्याप्त निक्षेप रहेको हुँदा समस्या नभए पनि लगानी गर्ने अवस्थामा भने नरहेको मिश्र बताउँछन् । भन्छन्– ‘लगानी नगर्ने हो भने बैंकिङ क्षेत्र फस्टाउँदैन ।’
२०२४ सालमा सर्लाहीको बलरामा जन्मिएका मिश्रको बैंकिङ क्षेत्रमा प्रवेश भने ०६३ सालपछि मात्रै भएको हो । अध्ययन पूरा गरेपछि विभिन्न क्षेत्रमा आबद्ध रहेका मिश्रले पछिल्लो समयमा बैंकिङ क्षेत्रबाट आफूलाई स्थापित तुल्याउने आधारहरू देखेपछि बैंकिङ करिअर सुरु गरेका हुन् । माछापुछ्रे बैंकमा प्रबन्धक स्तरबाट काम थालेका उनले त्यहाँ डेढ वर्ष अनुभव सँगाल्दै प्रुडेन्सियलमा सीईओ भएर आएका हुन् । त्यसो त, तराईको बाग्मती किनारमा अवस्थित देहात बलरामा जन्मिए पनि उनको शिक्षादीक्षा भने काठमाडौंमा नै भयो । प्रारम्भिक शिक्षा काठमाडौंको बागबजारस्थित सहिद शुक्र माध्यमिक विद्यालयबाट पूरा गरेका उनले एसएलसी भने ०३९ सालमा बालकुमारी मावि, नारायणगढबाट उत्तीर्ण गरे । र, एमबीए र एमफिल चाहिँ उनले काठमाडौं विश्वविद्यालयबाट पूरा गरेका हुन् । काठमाडौंमा बसेर अध्ययन गर्ने सौभाग्य चाहिँ उनले बुबाको काठमाडौंमा जागिरे भएको हुँदा प्राप्त गरेका हुन् । उनका बुबा ०१५ सालदेखि नै जागिरको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । शिक्षा मन्त्रालयका जागिरे बुबाकै कारण सानैदेखि काठमाडौंको वातावरणमा हुर्किने र अध्ययन गर्ने मौका पाए उनले । तर, वर्षमा एक पटक दसैंमा मान्यजनहरूको आशीर्वाद ग्रहण गर्न भने उनी सर्लाहीको बलरा पुगेकै हुन्छन् । भन्छन्– ‘वर्षाद्को दसैं भयो भने त हामीलाई घर जानै समस्या पर्छ, बाटो राम्रो हुँदैन । बाग्मती नदीमा पुल बन्यो भने हामीलाई गौर हुँदै घर जान नजिक पर्छ ।’
आफू मध्यम खालको विद्यार्थी रहेको बताउँदै मिश्र भन्छन्– ‘हाम्रो समयमा उत्तम विद्यार्थीहरूले चिकित्सक र इन्जिनियरिङ अध्ययन गर्थे भने हामीजस्ता मध्यम स्तरकाले कमर्स विषय लिएर पढ्थ्यौं ।’ अध्ययन सिध्याएलगत्तै लेखा अधिकृत भएका उनले सरकारी सेवा परित्याग गरेर यूएनडीपी र प्लान इन्टरनेसनलमा काम गरे । ती दुई संस्थामा काम गरेपछि उनले पत्रकारिता क्षेत्र रोजे । नेपाल टेलिभिजनमा पाँच वर्षसम्म व्यापार महाशाखा हेरेका उनले पछि एभिन्युज टेलिभिजनमा जनरल म्यानेजर भएर काम गरे । सरकारी सेवा, अन्तर्राष्ट्रिय गैरसरकारी र पत्रकारिता आदि क्षेत्रको समेत अनुभव बटुलेपछि उनले वित्तीय क्षेत्र रोजेका हुन् । बैंकिङ क्षेत्र नै
किन ? उनी भन्छन्– ‘बैंकिङ क्षेत्र नेपालमा दु्रत गतिमा विकास भएको क्षेत्र हो । अरू क्षेत्रमा भन्दा यो क्षेत्रमा अवसरहरू धेरै छन् । काम गर्न चाहनेहरूका लागि पनि यो उत्तम क्षेत्र हो । त्यही भएर मैले यो क्षेत्र रोजेको हुँ ।’ बैंकिङ क्षेत्रमा काम गर्ने वातावरण रहेको, राम्रँे सेवा र सुविधा भएको तथा क्षमतावान् व्यक्तिहरूले चाँडै प्रगति गर्न सक्ने मिश्रको निचोड छ ।
नेपालका फाइनान्स कम्पनीहरूले आफ्नो ब्रान्ड बलियो बनाउने हो भने वाणिज्य बैंकहरूभन्दा कम नहुने उनको दाबी छ । भन्छन्– ‘जनताको विश्वास जित्न र बजारमा स्थापित हुन सकियो भने फाइनान्स कम्पनीहरू वाणिज्य बैंकहरूसित प्रतिस्पर्धा गर्न सक्षम हुनेछन् ।’ साथै, अहिले फाइनान्स कम्पनीहरूले आफ्नो क्षमता वृद्धितर्फ अग्रसरता देखाएको पनि उनको भनाइ छ । फाइनान्स कम्पनीहरूले निक्षेपको ब्याजदर कम गर्दै गएको र विस्तारै जनताको मन जित्न सफल हुँदै गएकाले हिजोका दिनहरूमा भन्दा बलियो हुँदै गएको मिश्रको अनुभव छ । उनी भन्छन्– ‘फाइनान्स कम्पनीहरूको कार्यक्षेत्रका बारेमा पुनर्विचार गर्नुपर्ने हो कि भन्ने मलाई लागेको छ । कार्यक्षेत्र विस्तार हुने हो भने संस्थाको विकासमा सहयोग पुग्थ्यो र कार्यक्षेत्र विस्तार गर्दा फाइनान्स कम्पनीहरूको पनि वित्तीय जमानत सरकारी निकायले स्वीकार गर्नुपर्छ ।’ केही नीतिगत त्रुटि रहेको हुँदा त्यसलाई सरकारले सच्याएमा जनताको विश्वास जित्न सहज हुने उनको तर्क छ । तथापि, सर्वसाधारण जनतामा फाइनान्स र सहकारी एउटै हुन् भन्ने धारणा व्याप्त रहेको हुँदा पनि फाइनान्सप्रति जनताको विश्वास कम भएको उनको भनाइ छ– ‘विगतमा सहकारी क्षेत्रमा देखापरेको समस्याको असर फाइनान्स कम्पनीहरूलाई परेको छ । किनकि, यी दुवै एउटै हुन् भन्ने धारणा छ । तर, सहकारी र फाइनान्स फरक–फरक कुरा हुन् । सर्वसाधारणमा देखिएको भ्रम चिर्न सरकारले ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूका लागि बैंक लेख्न दिनुपर्छ ।’
०६१ सालमा स्थापित प्रुडेन्सियलले एक दशकको यात्रा पार गरेको छ । उक्त फाइनान्सको वित्तीय अवस्था पनि राम्रो छ । गत आर्थिक वर्षमा ६ करोड रुपियाँ मुनाफा कमाउन सफल उक्त फाइनान्सले आउँदो आर्थिक वर्षमा भने ११ देखि १२ करोड मुनाफा कमाउने लक्ष्य लिएको छ । १ अर्ब २ करोड निक्षेप रहेको उक्त फाइनान्सले ८० करोड कर्जा लगानी गरेको छ । सबै क्षेत्रमा लगानी गरेको उक्त फाइनान्सको भविष्यमा राष्ट्रिय स्तरको वाणिज्य बैंकसित मर्जरमा जाने योजना रहेको सीईओ मिश्र बताउँछन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply