केपीले दनक दिएपछि वामदेव मर्माहत
काठमाडौं । पार्टी संयन्त्र प्रयोग गरेर निकै मिहिनेत र तामझामका साथ सोमबार भृकुटीमण्डपमा आयोजना गरिएको गुटको भेलामा वामदेव गौतमले सबैलाई माथ गर्ने गरी अराजनीतिक, गैरजिम्मेवार र उत्तेजक भाषण गरे । तर, एकछिनपछि उनले जमिन छोडेर प्रचार गरिरहेका नेता केपी ओलीले नै उल्टो दनक दिँदा सहभागीहरूले मुखामुख मात्र गरेनन्, गौतम स्वयम् कालोनीलो भएको देख्न सकिन्थ्यो ।
अहिले ओलीलाई अध्यक्ष बनाएमा १५ दिनभित्र उनले संसदीय दलको नेता छोडिदिने, बिरामी भएका कारण ओली पार्टी कार्यालय पनि जान नसक्ने भएकाले उपाध्यक्षका रूपमा बीचमा हालीमुहाली गर्न पाउने र दुई वर्षभित्र आफूलाई अध्यक्ष बनाउने लिखित सम्झौता भएका कारण निकै हौसिएका गौतमले सहभागीलाई लाज लाग्ने गरी भाषण गरेका थिए । वरिष्ठ नेता माधव नेपालसँग आफू प्रत्येक मोर्चामा पराजित हुँदै आएको तीतो विगत बोकेका गौतमले कार्यक्रममा निकै उत्तेजक रूपमा भने– ‘माधव नेपालले अहिलेसम्म पार्टीमा हार्नुभएको छैन । यसपटक अब कहिल्यै उठ्न नसक्ने गरी हराउनुपर्छ । उहाँ पार्टीका लागि अपरिहार्य नेता होइन ।’ गौतम यसरी बर्बराउँदा सहभागीहरूले मुन्टो बटारेका थिए । तर, त्यसबापत ओलीबाट निकै प्रशंसा पाउने आशा राखेका गौतमको सपनामा तब पानी खनियो, जब उनले ओलीबाट उल्टै कटाक्ष पाए ।
प्रदीप ज्ञवाली, विष्णु रिमाल, शंकर पाखरेलहरूले तीन दिन लगाएर लेखेको मन्तव्य वाचन गर्दैै ओलीले भने– ‘…हामीभित्र माओवादी उग्रवामपन्थसँग लहसिने, नेकपा (एमाले)लाई मुख्य शक्तिका रूपमा विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास गुमाउने र प्रकारान्तरले पार्टीलाई विसर्जनको दिशातिर धकेल्ने प्रवृत्ति देखा परे ।’ यो वाक्यमा नाम उल्लेख नगरिए पनि एमालेका कार्यकर्तालाई मात्र होइन, आम रूपमा सार्वजनिक रूपमा समेत थाहा भएको कुरा हो– अघिल्लो संविधानसभाको निर्वाचनपछि त्यसरी माओवादी उग्रवामपन्थसँग लहसिने नेता वामदेव गौतम नै हुन् । यतिसम्मकि बर्दियामा चुनाव हारेर राजधानी फर्किंदा विमानस्थलबाट सिधै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नयाँबजारस्थित निवासमा गएर बिलौना गरेका थिए । पछि आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा गौतमले केही फर्जी हस्ताक्षरसहित आफू निकट ६० जना नेता–कार्यकर्ताका नाममा एमाओवादीको अनिश्चितकालीन आमहड्ताललाई समर्थन गर्दै वक्तव्य निकालेका थिए । ओली त्यतिबेला यस कार्यको सख्त विपक्षमा थिए ।
यसरी आफैंले नीति, सिद्धान्त र कार्यक्रमको कुनै पर्वाह नगरी पद पाउने लालसामा आँखा चिम्लेर समर्थन गरेको नेताबाट कटु आलोचना भएपछि गौतम मर्माहत बनेका छन् । गौतम निकट एक नेताले कार्यक्रमबाट निस्किनासाथ बुधबारसँग भने– ‘यसबाट पनि वामदेव कमरेडले पछिका दिनमा आफूमाथि कस्तो व्यवहार हुन्छ भन्ने बुझ्नुपर्ने हो ।’
वामदेव किन उत्तेजित हुँदैछन् ?
कार्यक्रममा भाषण अरू नेताले पनि गरेका थिए । सबैको उद्देश्य माधव नेपाललाई गाली गर्नु नै थियो । तर, ती सबैभन्दा चर्को रूपमा गौतम कुर्लिनुको कारण के होला ? उनी अहिले पनि पार्टीको उपाध्यक्ष छन् भने मुलुकको उपप्रधानमन्त्री । त्यस्तो जिम्मेवारी व्यक्तिले यति धेरै उत्तेजित भएर अखिलको कार्यकर्ताले क्याम्पसमा गर्नेभन्दा पनि तल्लोस्तरमा उत्रिनुमा उनमा रहेको मानसिक समस्यालाई कारक ठानिन्छ । किनभने, धेरै पहिलादेखि नै माधव नेपालसँग व्यक्तिगत रूपमा साह्रै क्रुद्ध छन् । जति गर्दा पनि नेपालजति सकिएन भनेर उनी बेलाबेलामा आफू निकट कार्यकर्तासँग गुनासो पनि गर्ने गर्दछन् । ०५४ सालमा नेपाललाई देखाइदिनका लागि ४६ जना सांसदसहित नयाँ पार्टी बनाएका गौतमले ०५६ को निर्वाचनबाट शून्य सिट ल्याएपछि उनै नेपाललाई ल्याएर ०५८ मा पार्टी बुझाएका थिए । त्यही पीडाका कारण पनि गौतम बेलाबेला नेपालप्रति क्रुद्ध हुने गर्दछन् । पछि नेपाल प्रधानमन्त्री हुँदा एमाओवादीको सडक आन्दोलनलाई समर्थन गरेर राजीनामा दिन बाध्य पार्ने अभियानमा पनि गौतम असफल भएका थिए । एक नेता भन्छन्– ‘यही रिसका कारण गौतमले न्यूनतम मर्यादा पनि गुमाउँदै कुर्लिएका छन् ।’
काउन्टर भेला फितलो
जेठ १७ गते माधव नेपाल समूहले प्रज्ञा भवनमा गरेको भेलालाई काउन्टर दिन ओली समूहले निकै प्रचारबाजी गरेर भेला आयोजना गरे पनि व्यवस्थापन र नेताहरूको प्रस्तुतिका हिसाबले निकै फितलो थियो । देशभरबाट पाँच हजार कार्यकर्ता सहभागी बनाउन एक हप्ता अगाडिबाट निम्तो कार्ड बाँडिए पनि दुई हजारको हाराहारीमा उपस्थिति थियो । त्यसमध्ये पनि करिब ३० प्रतिशत कार्यकर्ता यस्ता थिए, जो नियमितजसो नेपाल विचार समूहको भेलामा सहभागी हँुदै आएका छन् । यस्तोमा खासगरी युवा, विद्यार्थी र सम्पर्क मञ्चसँग आबद्ध कार्यकर्ता थिए । उनीहरू नेता ओलीको शारीरिक अवस्था हेर्न पुगेका थिए । कतिपय कार्यकर्ता उपत्यका बाहिरका जिल्लाबाट झिकाइएको थियो । नेताहरूको प्रस्तुति पनि फितलो थियो ।
पार्टीको आगामी कार्यदिशा समाजवादमा पुग्ने आधार निर्माण हो भने त्यसका लागि के गर्ने, समृद्ध नेपालको सपना भनेको के हो भन्ने जस्ता सैद्धान्तिक कुराभन्दा पनि माधव नेपालमाथि खनिनमा नै नेताहरू केन्द्रित थिए । नेता ओलीले धेरैजसो समय डनवाद र धनवादको बचाउ गर्नमै खर्चेका थिए ।
वामदेवको खिसिट्युरी
वामदेव गौतमले अन्टसन्ट बोलेपछि कार्यकर्ताले खिसिट्युरी गरेका थिए । खासगरी उनले ‘हामी विश्व साम्रज्यवादलाई देखाइदिन्छौं’ भन्दै हावादारी कुरा गरेपछि कार्यकर्ताबीच कानेखुसी चलेको थियो । तर, बोल्न पाएपछि जथाभावी बोलेर मास मात्र तताउने उनले नेता ओलीको आयु सकिन लागेको सन्देश दिने गरी बोलेपछि ‘यसले त झन् भड्काउने भयो’ भन्दै सहभागीहरूले कुरा काटेका थिए । गौतमको भनाइ थियो– ‘ओली कमरेडको दुवै किड्नी फेरिएको छ, यस्तो कार्यक्रमममा हिडाउँदा झनै संक्रमण बढ्छ । चुनावी धपेडीकै कारण आज यो स्थिति भोग्नुपरेको छ । तर, उहाँले मृत्युसँग विजय प्राप्त गरेर पनि अध्यक्ष बन्नुहुन्छ ।’
पहिला किटनाशक औषधि
ओलीको स्वास्थ्यलाई ख्याल गरेर कार्यक्रम स्थलमा किटनाशक औषधि छर्किएको थियो । कार्यक्रमस्थलमा सहभागीहरूलाई बस्नका लागि १८ सय कुर्सी राखिए पनि पूर्वतिरका कुर्सी सबै खाली थिए । किटनाशक औषधिको गन्धका कारण बस्न नसकेर सहभागीहरू यत्रतत्र लागेका थिए । हिँड्दा पनि लरखराएका ओलीलाई मञ्चमा लैजाँदा केही युवाले डोर्याएका थिए ।
सिंहप्रति कौतूहल
कार्यक्रममा सबैभन्दा कौतूहल पार्टीको सल्लाहकार समितिका सभापति सिद्धिलाल सिंहप्रति थियो । उनी १७ गते प्रज्ञामा भएको भेलामा पनि गएर बोलेकाले के बोल्छन् भनेर उत्सुकताका साथ सहभागीहरूले पर्खिएका थिए । तर, जब उनी बोल्न थाले, उनले त सबैलाई चक्मा दिए । सुरुमै उनले आफू त्यहाँ आउनाको र बोल्न लाग्दाको रहस्य खोले । वामदेव गौतमको ढिपीका कारण बोल्न लागेको बताएका थिए । सहमतिमा नेतृत्व निर्माणमा जोड दिएका उनले धेरैजसो समय माधव नेपालको प्रशंसामा खर्चेपछि आयोजक नै स्तब्ध बनेका थिए ।
युवा संघका नाममा नाराबाजी
कार्यक्रमलाई जबर्जस्ती उत्तेजित बनाउन युवा संघको एउटा समूह निर्माण गरिएको थियो । अबको नेता केपी ओली लेखिएको प्ले कार्ड बोकेका करिब ३० जनाको समूह कार्यक्रम सुरु हँुदा पनि नारा जुलुस लगाएर कार्यक्रमलाई उत्तेजित बनाइरहेको थियो । शंकर पोखरेलले बोल्दा पनि नारा जुलुस नरोकिएपछि उनले त्यो बन्द गर्न आग्रह गरेका थिए । यस्तो होहल्लाले कार्यक्रमलाई नै प्रभावित पार्छ, रोक्नुस् भनेपछि बल्ल उनीहरू छेउतिर लागेका थिए ।
गाली गर्न प्रतिस्पर्धा
बृहत् कार्यकर्ता भेलाका नाममा सोमबार भुकुटीमण्डपको ‘मिनी गौशाला’ मा स्थायी कमिटी सदस्य ओली पक्षधरको भेलामा नवौं महाधिवेशनका लागि अध्यक्षमा तयार पारिएका ओलीले केहीबेर सम्बोधन गरे । कार्यकर्तालाई कुर्सीमा बस्न सकसक लागिरहेको थियो । परेवाको विष्टा, गाईवस्तुको पिसाब र गोबरको गन्ध अनि टिनको छानोमुनि गुम्म भवनमा कसरी टिक्ने भन्ने चिन्ता थियो । धन्न खुद्रा व्यापारीले पटके व्यापारमा कमाइ गर्ने सोचमा पानीका बोतल कुर्सीसम्म ल्याइदिएपछि कार्यकर्तालाई केही राहत भएको थियो ।
सम्बोधनका क्रममा ओलीको बोलीमा जुन जोशको फोहोरा हुन्थ्यो र कार्यकर्ता ओलीको जोशिलो शब्द फोहोराले नुहाएर शीतलता महसुस गर्थे, तर त्यहाँ त्यसो भएन । उनले बिरामीको नाममा आक्रमण भयो, आदिइत्यादिमै सम्बोधन सकाएका थिए । उनी अध्यक्षको उम्मेदवार भएकाले तेजिलो स्वर, धारिलो प्रस्तुति र कार्यकर्तामा ऊर्जा आउने रहरमै सीमित भयो । लिखित सम्बोधन केहीबेर गरेर उनले बाँडिएको पर्चा पढ भनेका थिए । उनले स्फूर्तिका साथ जोशिएर कार्यकर्तामा हौसला दिन खोजे पनि कार्यकर्तामा कुनै उत्साह थिएन ।
कार्यक्रमको अधिकांश समय माधव नेपाललाई गाली गरेरै बिताइएको थियो । माधव नेपाललाई कसले बढी गाली गर्न सक्छ भनेर वक्तृत्वकला राखिएझैं नेताहरू जोशिएर माधव नेपाललाई यसपटक ‘धूलो चटाइन्छ’ भन्ने शैलीमा उत्रिए । कार्यकर्तामा विचार बाँड्ने, योजना बाँड्ने र एमालेलाई मुलुकको वैकल्पिक पार्टी बनाउने कुरामा नेताहरूको तुक आएन । बरु सचिव नपाए कुनै पनि बेला क्याम्प बदल्न खुट्टा उचालेर बसेका पृथ्वीसुब्बा गुरुङले कार्यक्रम सञ्चालक भएर बोलिरहँदा बिजुली आएकाले टर्चलाइटको काम नभएको बताए भने केपी ओलीको विकल्प माधव नेपाल नभएको भनेर हँसाए ।
नेपाल आयल निगम घाटामा गए पनि बोनस बाँड्नुपर्छ भनेर चर्चामा आएका र अख्तियारको थुनामा परेका देवीप्रसाद घिमिरेले ओलीका लागि कविता प्रस्तुत गरे ।
वामदेव त भइहाले, ईश्वर पोखरेलले मदन भण्डारीको मलामी जाँदा आँसु झारेको फुँदा जोडेर अबको नेता ओली भनेर त्यतिखेर नै योजना बनाएको तर अहिलेसम्म नसकेको बताए ।
One response to “केपीले दनक दिएपछि वामदेव मर्माहत”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
बाहिर चारो देखेर जल भित्र फस्ने चरालाई कठै भन्न सकिन्छा ………… जसले सर अवसर दिन कन्जुस्याई कहिल्याही गरेन उसैलाई थोक दियर गया पछि घर न घाटको बन्ने पर्छ