नेपालको बढ्दो लहरले तिलमिलाउँदै ओली समूह
काठमाडौं । नेकपा (एमाले)को आसन्न नवौं महाधिवेशनको मिति नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा देशव्यापी रूपमा बढेको लहरले अर्का प्रत्यासी केपी ओली समूहमा खैलाबैला मच्चिएको छ । जसका कारण ओली समूह अहिले रक्षात्मक अवस्थामा पुगेको छ भने सो समूहका नेताहरूबाट आउने विचारमा पनि एकरूपता देखिन छाडेको छ ।
नेता नेपालको सक्रियता, क्रियाशिलता, स्वच्छ छवि र उहाँको विचार समूहले बोकेको विचार नै पार्टीको आधिकारिक विचारका रूपमा सर्वस्वीकार्य भएपछि उहाँको पक्षमा माहौल बलियो बन्दै गएको हो । नेपाल समूह अहिले पनि पार्टीले स्वीकार गरेको आफ्नो विचारबारे कार्यकर्तालाई प्रशिक्षित गराउन देश दौडाहामा छ भने ओली समूह केही पत्रकारलाई भेला गरेर नेपाल समूहले उठाएका कुराको खण्डन मण्डन गर्नमा नै केन्द्रित भएको देखिन्छ ।
प्रारम्भिक अध्ययन अनुसार अहिलेसम्म ५० भन्दा बढी जिल्ला अध्यक्ष नेपालको पक्षमा खुलेर लागेका छन् । विकास क्षेत्रका हिसाबले ओली समूह आफ्नै गृह क्षेत्रमा मुख देखाउन नसक्ने अवस्थामा पुगेको छ । १६ मध्ये त्यहाँका १३ जिल्ला अध्यक्ष नेपालको पक्षमा छन् । मध्यमाञ्चलमा पनि नेपालको पक्षमा राम्रो माहौल बनेको छ । मध्यमाञ्चलमा ओली समूहले आफ्नो पकड रहेको भनेर बढी गर्व गर्ने जिल्ला काभ्रे हो । तर, केही दिनअगाडि एकै समयमा भएको दुवै समूहको कार्यक्रममा ओली समूहको कार्यक्रम नेपाल समूहको भन्दा धेरै नै फितलो रहेपछि यो समूह थप विक्षिप्त बनेको बताइन्छ । काठमाडौंमा दुवै समूह हाराहारीमा भए पनि अरू जिल्लामा नेपाल समूह निकै अगाडि देखिएको छ । मध्यपश्चिमाञ्चलमा दुई समूहबीच हाराहारीको अवस्था छ भने सुदूरपश्चिममा ओली समूह शून्यको अवस्थामा छ । अञ्चलका हिसाबले लुम्बिनी र गण्डकीलाई मात्र ओली समूहले आफू अगाडि रहेको क्षेत्र माने पनि त्यहाँ पनि बिस्तारै नेपालको पक्षमा माहौल बन्दै गइरहेको छ । रघुवीर महासेठका कारण तराईमा पनि ओली समूह पत्तासाफ भएको स्रोतको दाबी छ । जनवर्गीय संगठनहरूमा पनि प्रमुख ओली पक्षधरको बाहुल्यता रहे पनि प्रतिनिधि नेपाल पक्षको बढी आउने देखिएको छ । १४ अञ्चलमध्ये लुम्बिनी र गण्डकीमा प्रतिस्पर्धा छ भने १२ अञ्चलमा नेपाल अगाडि छन् ।
विगतमा गणतन्त्र स्थापना गर्न नेता नेपालले खेलेको अग्रणी भूमिका, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पुर्याएको योगदान र नयाँ पुस्ता जन्माउने अभियानले मात्र होइन, नेतृत्व कब्जा गर्न ओली समूहले गरेको आलोपालो सिन्डिकेटले पनि नेपालको पक्षमा कार्यकर्ताको लहर बढेको हो ।
ओली समूहको विशेष आग्रह र जोड बलमा आएको विधान संशोधन प्रस्तावबाट पनि कार्यकर्ता चिढिएको बताइन्छ । पार्टीमा उपमहासचिव जस्ता पद सिर्जना गरेर कर्मचारीतन्त्रमा जस्तो उपसचिव, सचिव हँुदै मुख्यसचिव हुने र त्यही पुस्ता नेतृत्वमा बसिरहने ‘ग्रान्ड डिजाइन’का रूपमा यसलाई कार्यकर्ताले लिएका छन् ।
नेतापिच्छे फरक कुरा
ओलीलाई अध्यक्ष बनाएर पालैपालो आफू अध्यक्ष हुने लाइनमा उभिएका नेताका फरक–फरक धारणाले पनि नेपाल समूहलाई बलियो बनाएको छ । प्रायजसो नेतृत्व हस्तान्तरणको कुरालाई खण्डन गरेर नथाक्ने यो समूहका नेताहरूमा वामदेव गौतम, ईश्वर पोखरेल र शंकर पोखरेलका धारणाहरू नै बाझिने गरेका छन् । गौतमले सार्वजनिक रूपमै ‘ओलीलाई सिसाको घरमा राखेर आफूले अध्यक्ष चलाउने’ बताउने गरेका छन् । महासचिव पोखरेलले नेतृत्व हस्तान्तरण दोस्रो पुस्तामा हुनुपर्छ तर यो एकैचोटी फुत्त हुँदैन भन्ने गरेका छन् । उता, सचिव पोखरेलको यसबारेमा धारणा भने पहिलो पुस्ता सधैं नेतृत्वमा रहनुपर्ने आशयको छ । पहिलो, दोस्रो र तेस्रो पुस्ताको संयोजनबाट मात्र पार्टी चल्ने भन्दै उनले घुमाउरो पाराले सिन्डिकेट स्वीकारेका पनि छन् । जे जस्तो भए पनि सबैले ओलीपछि नेतृत्वमा आफैलाई केन्द्रमा राखेका छन् ।
कसको पछि कस्ता
आचरण, अनुशासन, संगठन र नेतृत्वका हिसाबले नेता नेपाल आफै अब्बल मानिन्छन् । त्यसमाथि अहिले उनलाई अध्यक्ष बनाउन लागेको टिम पनि त्यस्तै आचरण र व्यवहार भएको हुनाले पनि कार्यकर्ताले दुई नेताको समूहका अरू कार्यकर्तालाई तुलना गरेर नेपाललाई सघाउने निर्णय लिने गरेका छन् । नेपाल समूहमा मन्त्री हुँदा वाहीवाही कमाएका गोकर्ण विष्ट, लालबाबु पण्डितदेखि संगठनमा योग्य युवाहरूको पंक्ति छ । उता, ओली समूहमा संगठनमा नभएका, सुमेरु पर्वत घुमिरहने र नेताको चाकडी मात्र गर्ने प्रवृत्ति भएका र बल्खुमा बसेर नेताहरूको मानमर्दन गर्ने झुण्ड हावी रहेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply