बहुमत प्रतिनिधि आएपछि नेपाल उत्साहित

काठमाडौं । एमाले महाधिवेशनका लागि २ हजार २ सय १४ मध्ये बहुसंख्यत प्रतिनिधि आफ्नो पक्षमा आएपछि अध्यक्षका उम्मेदवार माधवकुमार नेपाल उत्साहित हुनुभएको छ । बानेश्वरस्थित सम्पर्क कार्यालय र कोटेश्वरस्थित घरमा बिहानदेखि रातिसम्म कार्यकर्ताबाट घेरिइरहनुभएका वरिष्ठ नेता नेपालले बुधबारसँग भन्नुभयो– ‘खुसी लागेको छ । हाम्रो विचारका आधारमा बहुसंख्यक साथीहरू छानिनुभएको छ । यसमा विजयलाई सुनिश्चित बनाएको छ ।’
वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउन चाहने समूहले पार्टीलाई नीतिका आधारमा अघि बढाउनुपर्ने कुरा अघि सार्दै आफ्नो नीति पारित भएका कारण त्यही आधारमा नेतृत्वको दाबी गरिरहेको छ भने अर्का नेता केपी ओलीलाई अध्यक्ष बनाउन चाहने समूहले नेतृत्व हस्तान्तरणको मुद्दालाई जोडतोडका साथ उठाइरहेको छ । नीतिका बारेमा एमालेमा जुन रूपमा बहस हुनुपर्ने थियो, कम्युनिस्ट आन्दोलनको समग्र अवस्था र भविष्यका बारेमा जुन रूपमा चर्चा हुनुपर्ने थियो र नयाँ युगको आवश्यकता अनुरूप पार्टीलाई अद्यावधिक गर्नुपर्ने गरी जुन रूपमा आवाज उठ्नुपर्ने थियो, यसका बारेमा खास छलफल नभएर एमालेमा को व्यक्ति भन्नेबारेमा जुन रूपमा बहस भइरहेको छ, यसले महाधिवेशनलाई व्यक्तिको बहसमा सीमित गरेको छ । आजका दिनसम्म पनि एमालेका निर्वाचित भएर आएका प्रतिनिधिहरूमध्ये अधिकांशले राजनीतिक प्रतिवेदनको अनुहार देख्न पाएका छैनन् र राजनीतिक बहसमा स्वाभाविक रूपमा उनीहरूको रुचि छैन ।
कम्युनिस्ट पार्टीमा नीतिका आधारमा नेतृत्व चयन हुन्छ र हुनुपर्छ भन्ने आम मान्यता स्थापित छ । यस आधारमा हेर्दा सीमित रूपमा भए पनि एमालेमा चलेको पछिल्लो बहसमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अघि सारेको नीति विचार स्थापित भएको छ । खासगरी, नेपाली समाजको चरित्र विश्लेषणका सन्दर्भमा चलेको बहससमा यस समूहले अघि सारेको नयाँ मान्यतालाई सिंगो केन्द्रीय कमिटीले स्वीकार गरेको छ र त्यो दृष्टिकोण सिंगो एमालेको दृष्टिकोण बनेको छ । २००६ सालमा पार्टी स्थापना गर्दा पुष्पलालले चयन गरेका वाक्य र शब्दावलीलाई एमालेले पहिलो पटक नेपाली समाजको विकास अनुसार अद्यावधिक गरेको छ र अब नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिकको साटो पुँजीवादी चरणमा प्रवेश गरेको निष्कर्ष निकालेको छ । यस आधारमा हेर्दा यस बहसमा माधव नेपाल पक्षले आफ्नो जितका रूपमा लिएको छ तर, अर्को पक्षले यसमा आफ्नो हात तल पर्ने ठानेर एमालेमा विचारमा खास बहस छैन, व्यवस्थापनको मात्रै समस्या हो भन्ने हल्काफुल्का कुरा गरेर नेतृत्व हत्याउने सजिलो उपायका रूपमा नेतृत्व हस्तान्तरणको नारा चर्को स्वरमा उठाइरहेको छ ।
अहिले आदर्शका रूपमा चीनको नेतृत्व हस्तान्तरणको चर्चा गर्ने गरिन्छ । चीनमा १० वर्षमा नेतृत्व हस्तान्तरण हुने गरेको उदाहरण दिँदै नयाँमा नेतृत्वमा जानुपर्ने दाबी गरिरहँदा चिनियाँ कम्युनिस्ट पार्टी र एमालेबीचको अभ्यास र समानताबारेमा पनि हेर्नुपर्छ । चीनमा प्रतिस्पर्धाबाट नेतृत्वमा जान नपाइने हुनाले त्यहाँ हस्तान्तरणको बेग्लै अभ्यास छ । तर, नेपालमा एमालेमा प्रतिस्पर्धाको अभ्यास छ । यतिसम्मकि, एमालेको अध्यक्षमा सुवोधराज प्याकुरेलले समेत उम्मेदवारी हालेको विगतलाई स्मरण गर्दा काफी हुन्छ । राजतन्त्र वा भाइ अंश जस्तो नेतृत्व कसैले लिने र कसैले दिने विषय होइन । कार्यकर्ताले जसलाई पत्याउँछन्, जसबाट पार्टीका आम र आधारभूत नीतिहरूलाई अघि बढाउने विश्वास कार्यकर्तालाई हुन्छ, त्यसले नेतृत्व गर्दछ ।
माधवकुमार नेपालले विगतमा नेतृत्व गरेको हुनाले र अघिल्लो संविधानसभाको निर्वाचनपछि राजीनामा दिएका कारण फेरि नेतृत्वमा आउन नहुने तर्क पनि जोडदार रूपमा उठाउने गरिन्छ । विगतमा कार्यकर्ताको विश्वास जितेको नेता अयोग्य हुने र विगतमा कार्यकर्ताबाट पटक–पटक अस्वीकृत नेता चाहिँ योग्य हुने कुरालाई कसरी न्यायोचित मान्न सकिन्छ ? नयाँका रूपमा अघि सारिएका केपी ओलीले ०५९ मा जनकपुरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि निकै कसरत गर्नुभएको थियो तर आफ्नो पक्षमा स्थिति बलियो नदेखे पनि उहाँले अन्तिममा निर्वाचन लड्नुभएन भने ०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा अध्यक्षमा चुनाव लडेर उहाँ कार्यकर्ताबाट अस्वीकृत हुनुभएको थियो । यस आधारमा पटक–पटक असफलता हासिल गर्नेलाई सफल, योग्य र अपरिहार्य अनि कार्यकर्ताको विश्वास प्राप्त गर्नेलाई असफल, अयोग्य र अनावश्यक रूपमा प्रस्तुत गर्नु पूर्वाग्रह मात्र हुन्छ । हो, प्रतिस्पर्धामा जाने, विश्वास हासिल गर्ने र त्यस आधारमा नेतृत्वमा पुग्ने कोसिस हुनुलाई कसैले पनि अस्वाभाविक रूपमा लिनु हुँदैन । प्रतिस्पर्धा गर्ने प्रत्येक नेता कार्यकर्ताको बराबर अधिकार छ । त्यसलाई सबैले ख्याल गर्नुपर्छ ।
एमालेले उच्चस्तरको लोकतान्त्रिक अभ्यास गरेको छ । नेपालका राजनीतिक दलहरूमध्ये आधारभूत तहसम्म लोकतान्त्रिक अभ्यास गर्ने एमाले नै हो । कांग्रेस र एमाओवादीले समेत एमालेको यस अभ्यासलाई पछ्याउन खोजेका छन् । तर, जुन रूपमा लोकतान्त्रिक अभ्यास भएको छ, त्यस अनुरूपको लोकतान्त्रिक संस्कार भने प्रदर्शन हुन सकेको छैन । एउटा नेता विशेषलाई केन्द्रमा राखेर अराजनीतिक आरोप–प्रत्यारोप लगाउने, कसैलाई निषेध गर्न खोज्न, प्रतिनिधिलाई प्रभावित पार्नका लागि शासनसत्ताको दुरुपयोग गर्ने जस्ता प्रवृत्तिहरू देखिएका छन् । वास्तवमा यी कामले एमालेलाई बलियो होइन, कमजोर बनाउँछन् र समग्र लोकतान्त्रिक अभ्यासलाई नै विकृत बनाउँछन् । जनकपुरतिरको चुनाव हेर्दा त छिमेकमै रहेको विहारतिरको ग्राम पञ्चायतको चुनाव हो कि एमालेको प्रतिनिधि चयन ? छुट्याउन गाह्रो परेको छ । यस्तो प्रवृत्तिलाई एमालेले खास कार्यविधि बनाएर बेलैमा रोक्ने होइन भने यही लोकतान्त्रीकरणको गलत अभ्यासले एमालेलाई कमजोर बनाउनेछ ।
नेतृत्व हस्तान्तरणको आकर्षक नाराभित्र खासखास नेताहरूबीच भागबन्डा गर्ने नियत लुकेको छ । सन्दर्भ नवौँ महाधिवेशनको भइरहेको छ तर भागबन्डा १०औँ महाधिवेशनसम्मका लागि भइसकेको छ । जंगबहादुर राणाले आफ्ना १७ भाइलाई पालैपालो प्रधानमन्त्री पदको व्यवस्था गरेझैँ एकपछि अर्को भन्दै भागबन्डा गर्दा बाँकी नेताहरूलाई चित्त नबुझ्नु अस्वाभाविक होइन । ठीक छ, समयक्रममा ती नेताहरूले नै जिम्मेवारी प्रस्तुत गर्लान् । तर, अहिले नै फलानोपछि फलानो भनेर जुन भाडबन्डा गरिएको छ, त्यो नेतृत्व हस्तान्तरण होइन, सिन्डिकेट हो । पार्टीलाई संस्थागत गुटबन्दीको चंगुलमा फसाउने, आफूलाई मन परेका व्यक्तिलाई माथि तान्ने, मन नपरेकालाई समाप्त पार्ने र पार्टीलाई प्राइभेट लिमिटेड जस्तो व्यक्तिको निजी संस्थाका रूपमा विकास गर्ने खतरनाक प्रवृत्ति लुकेको छ । नेतृत्व हस्तान्तरण नै गर्ने हो भने भइरहेका भन्दा बूढा, अशक्त, अल्छी, विचारमा पछ्यौटे र सक्रियतामा कमजोरलाई होइन, नयाँ पुस्तामा जान सक्नुपर्छ ।
पदाधिकारीमा को–को ?
महाधिवेशन आउन एक दिन मात्र बाँकी रहँदा दुवै समूहले आ–आफ्नो टिम कस्तो बनाउने भन्ने गृहकार्यलाई तीव्रता दिए पनि अन्तिम रूप भने दिइसकेका छैनन् । खासगरी १४ जना पदधिकारीका लागि अध्यक्षबाहेक को–को रहने भन्ने चर्चा सुरु भइसकेको छ । वरिष्ठ नेता नेपाल समूहबाट उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित, बेदुराम भुसाल, महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा रघु पन्त, घनश्याम भुसाल र सचिवमा परशुमेघी गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, प्रकाश ज्वाला, पशुपति चौलागाईं, अरुण नेपाललगायतको नाम चर्चामा छ । ओली समूहबाट उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी, वाचस्पति देवकोटा, प्रदीप नेपाल, मुकुन्द न्यौपाने, रघुवीर महासेठ महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल तथा सचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भानुभक्त जोशी, भानुभक्त ढकाल, विष्णु रिमाल, धर्मनाथ साहलगायतको नाम चर्चामा छ । तर, दुवै समूहबाट पदाधिकारीको केही सिटमा कडा उम्मेदवार उठाएर केहीमा प्रतिस्पर्धालाई खुकुलो बनाउने गरी तयारी भइरहेको पनि बुझिएको छ ।
‘जित निश्चि छ’
हामी हाम्रो पार्टी नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनको संघारमा छौँ । देशभरका हाम्रो पार्टीका संगठित सदस्यहरूले लोकतान्त्रिक प्रक्रियाबाट प्रतिनिधि चयन गर्नुभएको छ । पार्टीका लाखौँ–लाख सदस्यहरूको विश्वास जितेर महाधिवेशन प्रतिनिधि चयन हुनुभएकोमा सम्पूर्ण अगुवा कमरेडहरूलाई म हार्दिक बधाई दिन चाहन्छु ।
यस महाधिवेशनका सन्दर्भमा हामीले केही महत्त्वपूर्ण सैद्धान्तिक विषयहरू उठाएका थियौँ, जसलाई केन्द्रीय कमिटीले स्वीकार गरेर आधिकारिक रूपमा दस्तावेजका रूपमा अघि सारेको छ । प्रतिनिधि छनोटका क्रममा हाम्रा तिनै विचारमा आधारित भएर बहुसंख्यक प्रतिनिधिहरू चयन हुनुभएको छ, जसबाट हामी उत्साहित भएका छौँ । अग्रगामी नीति, सन्तुलित नेतृत्व र एकताबद्ध पार्टीका पक्षमा अभिव्यक्त यस मतले हामीलाई थप जिम्मेवार र गम्भीर बनाएको छ । यसबेला म जोड दिन चाहन्छु– पार्टीमा सबैलाई योग्यता, क्षमता र आवश्यकता अनुसार समेटेर अघि बढ्ने कुरामा म हिजो जति प्रतिबद्ध थिएँ, आज पनि त्यत्तिकै छु र भोलि पनि रहिरहनेछु । सबैलाई यथोचित व्यवस्थापन गरेर अघि बढ्ने कुरामा विश्वस्त रहन म सबैलाई अनुरोध गर्दछु ।
नेपालमा कम्युनिस्ट आन्दोलनको स्थापना र त्यसलाई पुनर्गठित गरी आजको नेकपा (एमाले)का रूपमा विकास गर्नका लागि तीन पुस्ताको श्रम र पसिना खर्च भएको छ । कमरेड पुष्पलालको नेतृत्वमा पार्टी स्थापना गर्ने बेलाको पुस्ता आज पनि हाम्रो सल्लाहकार पुस्ताका रूपमा छ भने झापा आन्दोलनको पृष्ठभूमिमा को–अर्डिनेसन केन्द्र हुँदै नेकपा (माले) को स्थापना गर्ने पुस्ता नेकपा (एमाले)को नेतृत्वमा छ । साथै, ०३६ र ०४६ सालको आन्दोलनबाट हुर्किएको पुस्ता पार्टीको ठूलो ऊर्जा र भविष्यका रूपमा खडा छ । त्यसैले आज यस बिन्दुमा तीनै पुस्तालाई संयोजन, समन्वय र सक्रिय बनाउने उद्देश्यसहित हामीले पुरानो पुस्ताको विश्वास र नयाँ पुस्ताको भरोसाका साथ नेकपा (एमाले)लाई अघि बढाउने अभियान थालेका छौँ । यस अभियानमा हाम्रा प्रतिनिधिहरूको पूर्ण साथ, समर्थन र सहयोग रहनेछ भन्नेमा म विश्वस्त छु ।
नेकपा (एमाले)का अगाडि अनेकौं चुनौतीका साथै राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने सम्भावना र अनेकौं अवसरहरू छन् । तिनलाई राष्ट्र र जनताका हितमा उपयोग गर्न एकताबद्ध, सुसंगठित, गतिशील र चुनौतीहरूलाई सामना गर्दै अघि बढ्न सक्ने नेतृत्व आजको आवश्यकता हो । उग्रवामपन्थ, यथास्थितिवाद र अराजक प्रवृतिका विरुद्ध संघर्ष गर्दै राष्ट्रलाई एकताबद्ध बनाएर समृद्धि र विकासको बाटोमा अघि बढाउने कार्यको नेतृत्व नेकपा (एमाले)ले मात्र गर्न सक्छ । यो महाधिवेशनले यी महत्त्वपूूर्ण विषयहरूमा आफ्नो ध्यान केन्द्रित गर्नेछ र सम्पूूर्ण प्रतिनिधिहरूले आफ्नो विवेकको सही प्रयोग गर्नुहुने अपेक्षा गरेको छु ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply