एमाले अध्यक्षमा ओली निर्वाचित
पदाधिकारी बराबरी
काठमाडौं । नेकपा (एमाले)को नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी वरिष्ठ नेता माधवकुमार नेपाललाई ३९ मतको अन्तरले पछाडि पार्दै ओली विजयी हुनुभएको हो । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा छुट्टाछुट्टै विचार समूहसहित मैदानमा उत्रिए पनि निर्वाचनको परिणामले पदाधिकारीमा भने बराबरी संख्या निर्वाचित गरेको छ ।
यही असार १९ गतेबाट सुरु भई २७ गते सम्पन्न नवौं महाधिवेशनको मतगणना २८ गतेबाट सुरु भएको थियो । चार दिनको लगातार मतगणनापछि हिजो साँझ सम्पन्न १४ पदाधिकारीको परिणामअनुसार, अध्यक्षमा ओलीले १ हजार २ मत प्राप्त गर्नुभएको थियो भने वरिष्ठ नेता नेपालले ९ सय ६३ मत प्राप्त गर्नुभएको थियो । पाँच उपाध्यक्षमा ओली समूहबाट वामदेव गौतम र विद्यादेवी भण्डारी निर्वाचित हुनुभयो भने नेपाल विचार समूहबाट भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित हुनुभयो । गौतमले १ हजार ७७, भण्डारीले १ हजार ५७, रावलले १ हजार ८२, ज्ञवालीले १ हजार २६ र शाक्यले १ हजार ६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डेले ९ सय ९७, प्रदीप नेपालले ९ सय ६६, किरण गुरुङले ९ सय ६३, लालबाबु पण्डितले ९ सय ७७ र धर्मनाथप्रसाद साह ९ सय प्राप्त गर्नुभएको थियो ।
महासचिवमा ईश्वर पोखरेलले १ हजार ५१ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले १ हजार २३ मत प्राप्त गर्नुभयो । त्यसैगरी, दुई उपमहासचिवमा ओली समूहका विष्णु पौडेल र नेपाल समूहका घनश्याम भुसाल निर्वाचित हुनुभयो । पौडेलले १ हजार ४१ र भुसालले १ हजार ४९ मत प्राप्त गर्नुभयो । उपमहासचिवमा पराजित शंकर पोखरेलले ९ सय ९८ र रघुजी पन्तले ९ सय ३६ मत प्राप्त गर्नुभयो ।
पाँच सचिवमा ओली समूहबाट प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभयो भने नेपाल समूहबाट गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य निर्वाचित हुनुभयो । ज्ञवालीले ११ सय ६, गुरुङले ९ सय ९६, विष्टले १२ सय ७, भट्टराईले १ हजार ३८ र आचार्यले ९ सय ८७ मत प्राप्त गर्नुभयो । सचिवमा पराजित परशुमेघी गुरुङको ९ सय ७७, विष्णु रिमालको ९ सय ६८, केशवलाल श्रेष्ठको ९ सय १७ र रघुवीर महासेठको ८ सय ९९ मत आएको थियो ।
पदाधिकारीमा आएको यो मिश्रित परिणामले फेरि पनि नेताहरूलाई मिलेर पार्टी चलाउन कार्यकर्ताले सन्देश दिएका छन् । बाँकी केन्द्रीय सदस्यहरूको परिणाम भने आज बिहानसम्म आउने बताइएको छ ।
माधवको ४४ मत क्रस
वरिष्ठ नेता नेपाल मात्र ३९ मतले पराजित हुनुभयो । तर, उहाँका पूरै प्यानललाई मत आए पनि ४४ मतमा भने नेता नेपाललाई मत नदिएको पाइएको थियो । पदाधिकारीमा वरिष्ठ नेता नेपालको समूहले मत पाउने तर अध्यक्षका उम्मेदवार नेपाललाई भने मत नदिने प्रवृत्तिले नेपालले अध्यक्ष पद उम्काउनुपरेको हो । अध्यक्षलाई मत नदिने तर उहाँका समूहबाट उठेका पूरै टिमलाई मत दिने मतदाताहरूकै कारण नेपालले झिनो मतान्तरले अध्यक्ष पद गुमाउनुपरेको थियो ।
सत्ता गठबन्धनमा असर पर्ने
एमाले महाधिवेशनबाट अध्यक्षमा को निर्वाचित हुन्छ, त्यसले वर्तमान सत्ता गठबन्धनमा असर पुर्याउने कुरा महाधिवेशन सुरु हुनुअघि नै सर्वत्र चर्चामा थियो । महाधिवेशनअघि गरिएको अनुमानले अब भने सार्थक रूप लिने देखिएको छ । अध्यक्षमा ओली निर्वाचित भए वर्तमान सरकार ढल्ने र ओली नै प्रधानमन्त्रीका प्रबल दाबेदार हुने कुरा अब नेपालको राजनीतिमा लागू हुने देखिएको छ ।
प्रधानमन्त्री सुशील कोइराला अस्वस्थ हुनुभएको हुँदा पनि उहाँले अब सरकार चलाउन नसक्ने निष्कर्ष निकालिइरहेका बेला र ओली नै अध्यक्षमा निर्वाचित हुनुभएको हुँदा अबको प्रधानमन्त्रीको सशक्त दाबेदार उहाँ नै हुने देखिएको हो । तसर्थ, ओलीको विजयसँगै सरकार परिवर्तन हुने बाटो खुला भएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply