‘मेरो सक्रियतालाई कसैले रोक्न–छेक्न सक्ने छैन’‘

काठमाडौँ । माथिल्ला तहका नेताहरू कसैले साथ दिएका थिएनन् । पार्टीसत्ता र राज्यसत्ता पूरै विपक्षमा प्रयोग गरिएको थियो । पुराना सहकर्मीहरू धमाधम विरुद्धमा बोल्दै थिए । ‘विधानले नै उम्मेदवार बन्न दिँदैन’ भन्ने प्रचार भइरहेको थियो । त्यस्तो बेलामा पनि एमालेका अध्यक्ष पदको उम्मेदवार बनेर माधवकुमार नेपालले जम्मा ५६ मत कम ल्याउनुहोला भन्ने धेरैलाई लागेको थिएन । तर, नियतवश प्यानललाई पूरै मत दिँदा पनि उहाँका नाममा मात्र मत खाली नराखिँदो हो त उहाँको विजय निश्चित नै रहेछ । तर पनि माधव नेपाललाई खास चिन्ता छैन । यसलाई ‘लोकतान्त्रिक अभ्यास’ भनेर पार्टी एकताबद्ध हुनुपर्ने कुरामा उहाँले जोड दिने गर्नुभएको छ । नयाँदिल्लीमा बिरामी बहिनी वसुधालाई भेटेर सोमबार नेपाल फर्किनासाथ गृहजिल्ला रौतहट पुग्नुभएका नेता नेपालसँग बुधबारले टेलिफोनमा कुराकानी गरेको थियो ।
महाधिवेशनमा भएको पराजयलाई कसरी लिनुभएको छ ?
सामान्य रूपमा लिएको छु । प्रतिस्पर्धा स्वीकार गरेपछि त्यसको परिणाम पनि स्वीकार गर्नुपर्छ । प्रतिस्पर्धा कति स्वस्थ भयो, कति अस्वस्थ भयो, मतदानदेखि मतगणनासम्ममा कति चलखेल हुन पुग्यो, त्यो आफ्नै ठाउँँमा छ । त्यसका बाबजुद जुन परिणाम आएको छ, त्यसलाई हामीले सहज रूपमा स्वीकार गर्नुपर्छ । जित र हारलाई अस्वाभाविक रूपमा लिनु हुँदैन । हामीले लोकतान्त्रिक अभ्यास गरेका छौँ । यसबाट नेतृत्वमा केपी ओली आउनुभएको छ । मैले उहाँलाई शुभकामना र बधाई दिएको छु । उहाँको कार्यकाल सफल होस् भन्ने शुभेच्छा व्यक्त गरेको छु । मेरा तर्फबाट सहयोग रहन्छ भनेर पनि बताएको छु ।
अब तपाईंको जोड केमा छ ?
सबैलाई समेटेर लैजाने, सबैको योग्यता–क्षमताको समुचित उपयोग गर्ने, कसैलाई काखा–पाखा नगर्ने र कसैप्रति आग्रह–पूर्वाग्रह नपाल्ने काम होस् भन्ने कुरामा मैले जोड दिन चाहेको छु । पार्टीलाई समेटेर लिएर जाने जिम्मेवारी मुख्यत: उहाँको काँधमा छ । गुटगत सोच अनि आग्रह–पूर्वाग्रहबाट मुक्त भएर कति जान सक्नुहुन्छ ? ती सबै आगामी दिनमा प्रस्ट हुँदै जालान् ।
त्यस्तो सम्भावना कत्तिको देख्नुहुन्छ ?
मौका दिनुपर्छ । आशंकाबाट सुरु गर्नु हुँदैन । पहिले के गर्नुभएको थियो वा इतिहास कस्तो थियो भन्ने कुराका आधारमा होइन, अब के गर्नुहुन्छ भन्ने कुराका आधारमा हामीले धारणा बनाउनुपर्छ ।
पार्टीको प्रमुख भइसकेको मान्छे, प्रतिस्पर्धामा आएर पराजित हुनुभयो, यसले उचाइ घटायो भनिन्छ नि ?
त्यस्तो हुँदैन । किनभने, प्रतिस्पर्धामा म मात्रै होइन, संसारका धेरै नेताहरू उत्रेका हुन्छन् । सधैँ जित्दैनन्, कहिले हार्छन् पनि । जित्दा मात्तिने र हार्दा आत्तिने काम गर्नु हुँदैन । अरू पार्टीमा पनि यस्ता कुराहरू स्वाभाविक रूपमा चलिरहेका हुन्छन् भने कम्युनिस्ट पार्टीमा अस्वाभाविक रूपमा लिनुपर्ने कुनै आवश्यकता छैन । प्रतिस्पर्धामा उत्रँदा उचाइ घट्दैन । जित्दा मात्र उचाइ बढ्ने पनि हुँदैन । हार्दा पनि कसरी चल्छ भन्ने हुन्छ । मैले हारेपछि परिणाम स्वीकार गर्दिनँ, धाँधली भयो, मतदान र मतगणनामा गडबडी भयो भनेर कहीँ पनि भनेको छैन । मैले जितिसकेको थिएँ, जबरजस्ती हारेको घोषणा गरियो पनि भनेको छैन । मतपत्रमा मतको स्थिति कस्तो रह्यो भन्ने पनि सबैलाई थाहा छ । त्यसका बाबजुद मैले त्यसका बारेमा कहीँकतै केही कुरा उठाएको पनि छैन । मैले यसलाई सहज परिणामकै रूपमा लिएको छु ।
व्यक्तिगत रूपमा तपाईंको भूमिका कस्तो रहन्छ अब ?
मेरो भूमिका भनेको राष्ट्र, जनता र पार्टीको हितमा समर्पित रहन्छ । मेरो आवश्यकता जति रहन्छ वा मैले जिम्मेवारी जति पाउँछु, त्यस आधारमा म लागिरहन्छु । पार्टीले कुनै काममा लगाएन भने पनि राष्ट्र र जनताको काममा म लागिरहन्छु । मेरो सक्रियतालाई कसैले रोक्न–छेक्न सक्ने छैनन् । पार्टी केन्द्रीय कमिटीले कति आवश्यकता महसुस गर्छ, त्यो पार्टी संगठनले नै जान्ने कुरा हो ।
तपाईंलाई व्यक्तिगत रूपमा साथ दिने पनि ठूलो पंक्ति छ, त्यो पंक्तिलाई के भन्नुहुन्छ ?
म सिंगो पार्टी पंक्तिलाई के भन्न चाहन्छु भने चुनावभन्दा पहिले जे भयो, भयो । यो परिणामलाई ध्यानमा राखेर अगाडि बढ्नूस् । पार्टीले सबैलाई अवसर दिनेछ, आग्रह पाल्ने छैन भन्ने मैले आशा पनि राखेको छु । आफ्ना तर्फबाट सहयोगको हात बढाउनूस् । निराश र निष्क्रिय नभई सक्रियताका साथ अगाडि बढ्नूस् । मलाई थाहा छ– जस्तो किसिमले मतपत्र छाप्ने व्यवस्था भएको थियो र मतदातामा जस्तो किसिमको सचेतना गराउनुपर्ने थियो, त्यसको कमीले गर्दा झन्डै ४०–४२ जना हाम्रा कमरेडहरूले जित्न सक्नुभएन । नत्र स्थिति अर्कै हुने थियो । जित्दा जित्दैका साथीहरू पनि हार्नुभएको छ । यी सबैबाट अब समीक्षा गर्ने हो,
शिक्षा लिने मेरो सक्रियतालाई ….
र आगामी दिनमा त्यसबारे सचेत हुने हो ।
० तपाईं हालै भारत भ्रमणबाट फर्कनुभएको छ, त्यो भ्रमण व्यक्तिगत मात्र थियो कि केही अरू कुराकानी पनि भए ?
– मेरो निजी भ्रमण थियो । त्यसभन्दा बाहिर कुनै राजनीतिक उद्देश्य थिएन ।
० अध्यक्ष उपचारका लागि बाहिर जाँदै हुनुहुन्छ, तपार्इंसँग केही कुराकानी भएको छ ?
मसँग केही कुराकानी भएको छैन र मलाई जानकारी पनि छैन ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply