मन्त्रीलाई मन परेन चिया–कफी
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाउँदै गइरहेको नेपालका चिया र कफीले कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीको हचुवा निर्णयका कारण फेरि मार खेप्नुपर्ने भएको छ । चिया र कफी क्षेत्रको विकासका लागि गठित राष्ट्रिय चिया तथा कफी विकास बोर्ड खारेज गर्ने निर्णय मन्त्री पराजुलीले हठात् रूपमा गरेपछि त्यसको दीर्घकालीन असर पर्ने देखिएको छ ।
केही दिनअघि मन्त्रालयले बोर्ड खारेज गरेर चिया र कफीको बेग्लाबेग्लै समिति बनाउने निर्णय गरेको थियो । बोर्ड खारेज गरेर चिया र कफीको छुट्टाछुट्टै समिति गठन गर्ने टुंगोसँगै सबैभन्दा बढी चिया किसानहरू आक्रोशित हुन पुगेका छन् । चार महिनाअघि कफी उत्पादनसित सम्बन्धित किसानहरूले चिया र कफी विकास बोर्ड बेग्लाबेग्लै बनाइनुपर्ने माग मन्त्रालयमा पेस गरेका थिए । तर, मन्त्रालयले भने बेग्लाबेग्लै बोर्ड गठन गर्नुको साटो समितिमा सीमित राख्न खोजेको छ । समिति गठन गर्ने निर्णयसँगै चिया किसानहरूले विरोध जनाइसकेका छन् र सरकारले समिति गठन गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने तयारी गरिरहेका छन् । तर, अहिलेसम्म बोर्ड खारेजीको निर्णयप्रति कफी किसानहरूले भने आधिकारिक रूपमा कुनै विरोध जनाएका छैनन् । नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारी भने आफूहरूले चिया र कफीको बेग्लाबेग्लै बोर्ड माग गरेको हुँदा समिति स्वीकार्य नहुने बताए । ‘चिया र कफी फरक प्रकृतिका वस्तु भएको हुँदा हामीले फरक–फरक बोर्डको माग गरेका हौं । हामीले समिति मागेका होइनौं’– उनले भने ।
बोर्ड खारेजी गर्नुअघि मन्त्रालयले बोर्डको सञ्चालक समितिलाई कुनै जानकारी दिएको थिएन । सञ्चालक समिति मात्र होइन, चिया र कफीसित सरोकार राख्ने संस्था र किसानहरूलाई पनि कुनै जानकारी नगराई बोर्ड खारेजी गर्ने निर्णय गरिएको थियो । बोर्डको कर्मचारी युनियनका अध्यक्ष सुमन त्रिखत्रीले आफूहरूलाई चिया र कफीको बेग्लाबेग्लै बोर्ड बनाएको भए स्वीकार्य हुने बताए । तर, समिति बनाइँदा आफूहरूलाई स्वीकार्य नहुने उनको तर्क थियो । ‘बोर्डकै आधारमा हाम्रो अन्तर्राष्ट्रिय चिया तथा कफी बोर्डसित राम्रो सम्बन्ध रहेको छ । त्यही कारण, हामीले चिया र कफीको अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गर्न पाइरहेका छौं । तर, समितिमा सीमित तुल्याएपछि हामीलाई उनीहरूले मान्यता दिँदैनन्’– त्रिखत्रीले भने ।
सरकारले नेपालको चिया र कफीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नकै लागि एक करोडभन्दा बढी रुपियाँ खर्च गरेर ट्रेडमार्क प्राप्त गरेको थियो । ट्रेडमार्क प्राप्त गरेपछि नेपालको चिया र कफीले अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गर्दै आएको थियो । अहिले नेपालमा उत्पादित २ करोड ५ लाख ८८ हजार १ सय ४५ मेट्रिक टन चियामध्ये करिब २ अर्ब ४३ लाखको निर्यात मात्रै हुन्छ । त्यस्तै, कफी चाहिँ ४ करोड ४२ लाखबराबरको निर्यात हुन्छ । नेपालमा कफी चाहिँ वार्षिक ४ सय ५७ मेट्रिक टन मात्रै उत्पादन हुने गर्दछ ।
बोर्डका कार्यकारी–निर्देशक रमणप्रसाद पाठक बोर्ड गठन गरेर समिति बनाइँदा त्यो त्यति प्रभावकारी हुन नसक्ने र यसले नेपालको चिया र कफीको विकासमा दीर्घकालीन असर पुर्याउने बताउँछन् । छुट्टाछुट्टै बोर्ड बनाउँदा उचित हुने बताउँदै सामान्य समिति बनाउँदा त्यसले चिया र कफीका किसानहरूलाई मर्का पर्ने उनले बताए । ‘बोर्डले जति काम गर्न सक्छ, समितिले त्यति गर्न सक्दैन । तसर्थ, यो किसानहरूको हितमा छैन र बोर्ड नै गठन हुनुपर्छ’– उनले भने ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply