सिम्पानीदेखि बालुवाटारसम्म

ग्रामीण भेगमा अझै पनि शिक्षण पेसालाई सम्मानित नजरले हेर्ने गरिन्छ । झन् तीन दशकअघि त ग्रामीण क्षेत्रमा शिक्षकहरूको बेग्लै सान, मान्यता र सम्मान थियो । पूर्वी नेपालको विकट पहाडी जिल्ला खोटाङ, सिम्पानीका महाप्रसाद अधिकारीले प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि शिक्षण पेसा अँगाल्न पुगे । तर, त्यही पेसामा लामो समय रमाउन उनको मनले मानेन । यदि, त्यही पेसामा अल्झिरहेका भए उनी अहिले कुनै क्याम्पसका प्राचार्यसम्म हुन्थे होलान् । देशका वित्तीय संस्थाहरूको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरजस्तो सम्मानित पद उनका निम्ति टाढाको कुरा हुन्थ्यो ।
तर, जीवन–यात्रामा उनले कर्मलाई नै पहिलो प्राथमिकतामा राखे । उनको फराकिलो सोच, क्रियाशीलता र समर्पणभावले नै अहिलेको बिन्दुसम्मको यात्रा तय गरेको हो । भन्छन्– ‘मैले जिन्दगीमा कामलाई नै सर्वोपरि विषय ठानें । अरू कुरामा मेरो ध्यान गएन ।’ कुनै पनि जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरियो भने उच्च शिखरमा पुग्न सकिने अनुभव बटुलेका अधिकारी आफ्नो इमानदारिता, निष्ठा, लगनशीलताले नै सफलताको गोरेटो पहिल्याएको बताउँछन् । वि.सं. २०२० सालमा खोटाङको सिम्पानीमा जन्मिएका अधिकारी भन्छन्– ‘म गाउँमा हुर्किएको मान्छे हुँ । गाउँमै बसिरहँदा क्यारियर त्यही रोकिने देखेपछि मैले उच्च शिक्षाका लागि काठमाडौंसम्मको यात्रा रोजेको हुँ ।’ हुन त, काठमाडौं आउनुअघि उनमा राजविराज वा विराटनगरमा उच्च अध्ययन गर्ने विचार नपलाएको होइन, तर, साथीहरूको प्रेरणाले उनले काठमाडौंलाई नै रोजे ।
०३९ सालमा गाउँकै सिम्पानी माविबाट द्वितीय श्रेणीमा उत्तीर्ण भएपछि केही समय शिक्षण पेसामा अल्झिएर काठमाडौं आएका उनले नमुना मच्छिन्द्र कलेजबाट आईए उत्तीर्ण गरे । अध्ययनरत रहेकै बेला उनले नेपाल राष्ट्र बैंकमा सहायक तहको काम सुरु गरे । ‘त्यतिबेला थुप्रै ठाउँमा जागिर खुलेको थियो । मेरो नाम राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकमा एकै पटक निस्कियो । तर, मैले राष्ट्र बैंकलाई नै रोजें’– तत्कालीन क्षण सम्झिँदै भन्छन् उनी । जागिरसँगै उनले नेपाल कमर्स क्याम्पसबाट बीकम पास गरे । तर, शंकरदेव क्याम्पसमा स्नातकोत्तरको अध्ययन चलिरहेकै बेला उनलाई भारतमा चार्टर्ड एकाउन्टेन्ट पढ्ने औसर जुर्यो । भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेर नेपाल फर्किएपछि आफूले जागिर सुरु गर्दाताकाको वित्त विभागमा उनी निर्देशक भएर काम गर्न थाले । उक्त विभागमा ६ वर्ष बिताएपछि २ वर्ष काठमाडौं बैंकिङ कार्यालयमा कार्यरत रहे । त्यसपछि भने, राष्ट्र बैंकले उनलाई अर्थ मन्त्रालयमा खटायो । मन्त्रालयमा उनले निजीकरण कार्यक्रम कार्यान्वयनसित सम्बन्धित काम हेरे, अढाई वर्षसम्म । राष्ट्र बैंकमा फर्किएपछि नियमन विभाग, लेखा विभाग हुँदै सुपरीक्षण विभागमा बसे । सुपरीक्षण विभागमा करिब आठ वर्ष कार्यरत रहेपछि पुन: नियमनमा एक वर्ष बसे । र, ०६७ पुसदेखि भने उनले डेपुटी गभर्नरको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने मौका पाए ।
चार्टर्ड एकाउन्टेटको अध्ययन सिध्याएर नेपाल फर्किएपछि आफूमा काम गर्ने आत्मविश्वास झनै बढेको बताउने अधिकारी जीवनमा थुपै्र अवसर आए पनि राष्ट्र बैंकको विकास र उत्थानमा नै आफूलाई समर्पित तुल्याउन लागिपरेकोमा गौरव गर्छन् । हुन पनि उनले राष्ट्र बैंकमा करिब तीन दशक समय व्यतीत गरिसकेका छन् ।
लामो समय राष्ट्र बैंकका विभिन्न विभागहरूको नेतृत्व सम्हालेर डेपुटी गभर्नरको तहसम्म पुगेका अधिकारीले अहिले समग्र वित्तीय क्षेत्रलाई कसरी नियालिरहेका छन् त ? भन्छन्– ‘नेपाल राष्ट्र बैंकले समग्र वित्तीय संस्थालाई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । बेलाबखत कैयांै उतार–चढावको सामना गर्नुपरिरहे पनि नेपालको वित्तीय क्षेत्र सबल रूपमा अगाडि बढिरहेको छ । कैयौं जोखिमहरूलाई सम्बोधन गर्ने गरी कामहरू भइरहेका छन् ।’ हुन पनि अहिले निक्षेप १५ सय अर्बको हाराहारी पुगेको छ भने कर्जा प्रवाह पनि ११ खर्बजति भइसकेको छ । यसले नै नेपालको वित्तीय क्षेत्र सबल रहेको संकेत गर्दछ । यसरी नै, पुँजी क्रमश: बढाउँदै लैजाने राष्ट्र बैंकको नीति रहेको हुँदा अहिले त्यही दिशातिर बैंकको ध्यान केन्द्रित रहेको अधिकारी बताउँछन्– ‘बैंकहरू सबल होऊन् र कुनै पनि किसिमको जोखिमबाट बच्न सकोस् भनेर पुँजीकोष वृद्धिको नीति ल्याइएको हो ।’
देशका दुर्गम स्थानमा वित्तीय पहुँच पुर्याउन वित्तीय संस्थाहरूलाई प्रोत्साहित तुल्याउने र वित्तीय साक्षरतामा जोड दिने नीति पनि राष्ट्र बैंकले ल्याएको छ । उनी भन्छन्– ‘अधिकांश नेपालीको वित्तीय क्षेत्रसित सम्पर्क होस् र व्यापार एवम् उद्यमहरूका लागि बैंकहरूबाट नै ऋण सुविधा पाओस् भन्ने चाहना बैंकको रहेको छ ।’ त्यसो त, अहिले पनि दुई तिहाइ सर्वसाधारणका बीचमा बैंकिङ पहुँच पुगेको छैन । तर, सन् ०१६/१७ सम्ममा भने दुई तिहाइ जनताबीच बैंकिङ पहुँच पुर्याउने लक्ष्य राष्ट्र बैंकले लिएको छ ।
सहरी क्षेत्रमा वित्तीय संस्थाहरुको उपस्थिति बढी देखिएको हुँदा मर्जरको नीति ल्याएको पनि अधिकारीले बताए । राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि अहिलेसम्म ६८ वटा बैंक मर्ज भएर २५ वटा बनेका छन् । अझै १२/१३ वटा पाइपलाइनमा रहेका छन् । अहिले पनि केही वित्तीय संस्था संकटबीच गुज्रिरहेका छन् । किन यस्तो भयो त ? अधिकारी भन्छन्– ‘बैंकिङ प्रणालीमा सुशासन कायम नभएको कारण संकटमा परेका हुन् । तर, हामीले केहीलाई सच्याउन सफल पनि भएका छौं । केही वित्तीय संस्था प्रणालीभन्दा बाहिर गएको भए पनि हामीले व्यवस्थापन गरेका छौं ।’ तर, केही वित्तीय संस्थामा समस्या उत्पन्न भए पनि त्यस्ता समस्याहरू सुल्झाउन सकिने क्षमता हामीसित छ कि छैन भन्नेचाहिँ मुख्य कुरा रहेको अधिकारी बताउँछन् ।
तथापि, राष्ट्र बैंकको क्षेत्राधिकारभित्र नपरे पनि अधिकारीले अहिले सहकारी संस्थाहरूमा उत्पन्न संकटलाई नजिकैबाट नियालिरहेका छन् । सहकारीको राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका रहे पनि र बैंकहरूले सेवा नपुर्याइरहेको ठाउँमा सहकारीले योगदान दिए पनि सहर–बजारमा ऋण तथा बचतको कारोबार गर्ने ठूला सहकारीहरू सहकारीको मर्म र सिद्धान्तअनुरूप नचलेको उनी बताउँछन् । भन्छन्–‘सहकारीको सिद्धान्त र भावनाविपरीत बचत संकलन गर्ने र दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले धेरै बचतकर्ताहरूलाई असर पुर्याएको छ र यसको फलस्वरूप बचतकर्ताहरूको विश्वाससमेत घट्दै गएको छ ।’ उनी थप्छन्– ‘अहिले समस्याग्रस्त संस्थाहरूका कारण वित्तीय प्रणालीलाई थप चुनौती दिइरहेको छ । सहकारीहरूमा देखिएको समस्या निराकरणका लागि आफ्नै क्षेत्रभित्र नपरे पनि राष्ट्र बैंकले सरकार र सम्बन्धित निकायसित आवश्यक समन्वय गर्दै आइरहेको छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply