वामदेवको कोपभाजनमा सशस्त्र प्रहरी

काठमाडौं । जागिर खाएपछि अवकाश पाउनु स्वाभाविक हुन्छ । तर, काम गर्ने रहर, योग्यता र माथिल्लो पद पनि खाली हुँदै घर जानुपर्दा कस्तो हुन्छ होला ? गृहमन्त्री वामदेव गौतमको कोपभाजनमा परेर सशस्त्र प्रहरी बलका पाँच नायव महानिरीक्षक (डीआइजी) असोजको तेस्रो साताबाट घर जाने सम्भवना देखिएको छ ।
सशस्त्र प्रहरीमा ठाकुरमोहन श्रेष्ठ, ऋषभदेव भट्टराई र सुशील श्रेष्ठले अवकाश पाएपछि तीन रिक्त अतिरिक्त महानिरीक्षक (एआइजी) मा यिनै पाँच जनामध्ये तीनको बढुवा गर्नुपर्छ । तर, असोज २१ गते डिआइजी भएको पाँच वर्ष पुग्न लागेकाले पाँचै जनालाई घर पठाएर चलखेलका आधारमा कनिष्टलाई बढुवा गर्ने गृहमन्त्री गौतमको योजना छ । पाँच वर्षअघि एकै दिन डिआइजीमा बढुवा भएका प्रकाश ओझा, प्रेमकुमार शाही, सिंहदबहादुर श्रेष्ठ, भिष्मकान्त अर्याल र देवेन्द्रकुमार सुब्बा एआइजी बढुवा नभएमा सँगै घर जानेछन् । आफ्ना व्याजीलाई बढुवाका लागि पहल नगरेको भन्दै उनीहरु आइजी कोषराज वन्तसँग पनि सन्तुष्ट छैनन् ।
प्रधानमन्त्री सुशील कोइराला असोज ३ गते अमेरिका जाने र असोजको तेस्रो साता मात्र फर्किने भएकाले त्यतिबेलासम्म क्याबिनेट बस्ने कुरा भएन । १६ गते प्रधानन्त्री कोइराला फर्किने कार्यक्रम रहे पनि त्यसपछिका चार दिन समेत यसैगरी कटाउने योजनामा गृहमन्त्री गौतम छन् ।
गृहमन्त्रीको योजना सफल भएमा दुई वर्षअघि डिआइजी भएको ब्याचका जीतबहादुर पुन, उत्तम खड्का, शैलेन्द्र खनाल, नारायणवावु थापा र पुष्पराम केसीमध्ये तीन जना एआइजी हुनेछन् । स्रोतका अनुसार, गृहमन्त्री गौतमले हरेक कुरामा आर्थिक दृष्टिले मात्र हेर्ने गरेको बुझेका प्रधानमन्त्री कोइरालाले भने फर्केपछि हस्तक्षेप गरेर भए पनि बढुवा गर्ने सोच बनाएको उच्च स्रोतको दावी छ ।
सशस्त्र प्रहरीमा अधिकारीहरुले अवकाश पाउने तीन नियम छन् । डिआइजीका हकमा उमेर अवधि ५६ वर्ष, जागिर अवधि ३० वर्ष वा त्यस पदमा बढुवा भएको पाँच वर्षमध्ये जुन पहिला आउँछ, त्यही आधारमा अवकाश पाइन्छ । यसअघि ठाकुरमोहन श्रेष्ठ, ऋषभदेव भट्टराई र सुशील श्रेष्ठले ३० वर्षे नोकरी अवधिका कारण विदा पाएका थिए ।
‘अख्तियारको दुरुपयोग’
पैसा खाएर भ्रष्टाचार गर्नु मात्र अख्यितारको दुरुपयोग होइन । एक पूर्वप्रहरी अधिकृत भन्छन्– ‘आफूसँग भएको अधिकार प्रयोग नगरी अरुलाई दु:ख दिनु र त्यसबाट अनुचित लाभ लिनु पनि अख्तियारको दुरुपयोग हो ।’ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमै निर्णय नगरी फाइल पेन्डिङमा राखेको भनेर ऊर्जा मन्त्रालयका तत्कालीन सहसचिव (हाल राष्ट्रपति कार्यालयका सचिव) अनुप शर्मा र नेपाल ट्रस्टका तत्कालीन सचिव श्रीधर गौतममाथि कारवाहीको सिफारिश गरेको छ । ती पूर्वअधिकारी भन्छन्– ‘वामदेव गौतमले पनि अख्तियारको दुरुपयोग गर्नुभएको छ । निर्णय गर्नुपर्ने विषयमा समयमै निर्णय नगरेर उहाँले संवेदनशील निकायमाथि खेलबाड गर्नुभएको छ ।’
हरेक निर्णयलाई पैसाका आधारमा हेर्ने बानी परेका गृहमन्त्री गौतमले यसअघि सात महिनासम्म नेपाल प्रहरीमा पनि सात एआइजी रिक्त राखेका थिए भने पछि सातको साटो नौ जनालाई बढुवा गरेर हाँसोका पात्र बनेका थिए । उनले राष्ट्रिय अनुसन्धान विभागमा पनि दुई रिक्त एआइजी रोकेर राखेका छन् । त्यहाँ पनि कनिष्टलाई बढुवा गर्ने उनको योजना छ ।
गृहमन्त्री गौतमलाई नजिकबाट चिन्ने एक सरकारी अधिकारीले भने– ‘बढुवा हुने सम्भावनै नभएकालाई बढुवा गर्दा आर्थिक लाभ हुने र त्यस्तो मानिस आफूप्रति बढी कृतज्ञ हुने कुरा उहाँले बुझ्नुभएको छ ।’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply