सहकारीमा डेढ दशकको आरोह–अवरोह

वित्तीय संस्थाहरूलाई सुदृढ, सबल र समृद्ध तुल्याउन मर्जरको नीतिले उल्लेख्य काम गरेको तथ्य विदितै छ । बितेको एक वर्षयता नेपालका दर्जनौं वित्तीय संस्थाहरू मर्ज हुँदा त्यसले वित्तीय क्षेत्रमा उत्साह थपिनुका साथै सकारात्मक सन्देशसमेत प्रवाहित भएको छ । वित्तीय संस्थाहरू मर्ज हुँदा त्यसले प्रवाह गरेको सकारात्मक सन्देशलाई पछ्याउँदै, पछिल्लो समयमा केही सहकारी संस्थाहरूले पनि मर्जको माध्यम अपनाएर एकीकृत कारोबार प्रारम्भ गर्न थालिसकेका छन् ।
काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा राम्रै कारोबार गरिरहेका नौ वटा सहकारी संस्था गाभिएर अहिले ‘हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था’ बन्न पुगेको छ । बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले सोह्र वर्षअघि स्थापित सगरमाथा सहकारी नै अहिले बहुउद्देश्यीयमा विस्तारित भएर व्यापक सेवाग्राहीबीच पुग्न लागिरहेको हो । उक्त सहकारीका प्रबन्ध–सञ्चालक देवराज पराजुली भन्छन्– ‘हिजोका दिनसम्म हामीले एक्लाएक्लै कारोबार गरिरहेका थियौं । अब एकीकृत रूपमा कारोबार थालेपछि ग्राहकहरूले थप सुविधा पाउने निश्चित छ ।’
हाम्रो सगरमाथा बहुउद्देश्यीयमा जनता बहुउद्देश्यीय, भ्याली बहुउद्देश्यीयका साथै शुभलक्ष्मी, हौसला, हाम्रो गाउँ, स्वयम्भू डल्लु, हिमशिखर र मेघा सामेल हुन पुगेका हुन् । नौ वटा सहकारी एकीकृत भएपछि अब उपत्यका र काभ्रेपलाञ्चोकका २२ हजार सदस्यले सेवा प्राप्त गर्नेछन् । साथै, कोटेश्वर, कौसलटार, जोरपाटी र बनेपामा समेत सेवाकेन्द्र विस्तार गरेर आफ्ना सदस्यहरूलाई सेवा दिन लागिपरेको पराजुली बताउँछन् । उक्त सहकारीको कार्यक्षेत्र देशैभरि रहे पनि सेवा भने उपत्यकाभित्र बसोवास गरिरहेका सदस्यहरूलाई मात्र दिइरहेको छ ।
काभ्रेपलाञ्चोकको भुम्लुसल्लेमा वि.सं.०३६ साल जेठमा जन्मिएका पराजुलीले सहकारी क्षेत्रमा करिब दुई दशक समय बिताइसकेका छन् । शारदा माध्यमिक विद्यालयबाट ०५१ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी छिरेका उनले सरस्वती क्याम्पसबाट आईए र पाटन संयुक्त क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गरेपछि सहकारी आन्दोलनमा आफूलाई होमे । पराजुलीकै पहलमा ०५५ साल वैशाख ६ गते सगरमाथा सहकारी स्थापना भएको हो । सुरुदेखि नै प्रबन्ध सञ्चालक रहेका उनलाई अध्यक्ष डा.रामचन्द्र भट्टले तीन कार्यकाल साथ दिए भने अहिले अध्यक्षमा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध–सञ्चालक केबी उप्रेती रहेका छन् ।
सहकारी स्थापना गर्दाका दिनहरू सम्झिँदै पराजुली भन्छन्–‘हामी त्यतिबेला भर्खरका युवा थियौं । र, केही काम गर्नुपर्छ भन्ने भावना पनि हामीमा प्रबल रूपमा रहेको थियो । मैले दुई वर्षसम्म एउटा सहकारीमा काम गरेको अनुभव पनि बटुलेको थिएँ । तसर्थ, सहकारी स्थापना गर्दा रोजगारी पनि सिर्जना हुने देखेर सुरु गरेका थियौं ।’ आफूहरूले १० लाख रुपियाँमा सुरु गरे पनि अहिले १५ करोड पुँजी पुर्याउन सफल भएको पराजुली बताउँछन्– ‘हामीले वार्षिक डेढ अर्बको कारोबार गरिरहेका छौं ।’
अहिले राष्ट्रिय सहकारी बैंकको सञ्चालकसमेत रहेका पराजुली बितेको डेढ दशकको अवधिमा सहकारी क्षेत्रले मारेका छलाङप्रति अचम्भित मात्र छैनन्, उत्तिकै गर्व पनि गर्छन् । भन्छन्– ‘डेढ दशकअघि हामीले सहकारीकर्मीहरूलाई संगठित गर्न पहल गर्दा मुस्किलले पाँच सात जनाभन्दा बढी भेटिँदैनथ्यो । तर, अहिले संख्यात्मक रूपले ठूलो फड्को मारेको छ । सहकारीको वृद्धिसँगै सहकारी आन्दोलन पनि गतिशील रूपमा अगाडि बढिरहेको छ ।’
०५५/५६ सालतिर कुनै व्यक्तिले सहकारी स्थापना गर्दा ‘फलानाले फाइनान्स खोलेछ’ भन्थे । पराजुली बताउँछन्–‘अब सहकारी भन्नेबित्तिकै सामान्य मानिसले पनि कति पुँजी र ग्राहक छन् भनेर सोध्न थालेका छन् । पन्ध्र वर्षको अवधिमा सहकारी क्षेत्रले फड्को मार्नुको पछाडि सहकारीबारे आम जनतामा बढेको चासोले काम गरेको छ । अहिलेका जनतालाई सहकारीबारे त्यति बुझाइरहनु पर्दैन ।’
तथापि, पछिल्लो समयमा सहरी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू समस्याग्रस्त देखिए । सहकारी संस्थाहरूमा देखिएको संकटग्रस्ततासँगै धेरै सेयर र निक्षेपकर्ताहरूले मुनाफा र ब्याजको अपेक्षा राखेर जम्मा गरेको रकम डुब्नु स्वाभाविकैजस्तै ठानिँदै आएको छ । केही सहकारी सञ्चालकहरूको लापर्बाहीको कारण संस्था डुब्दा त्यसले नराम्रो सन्देश मात्र प्रवाहित गरेको छैन, आम जनतामा सहकारीप्रति क्रमश: विश्वाससमेत घट्दै गइरहेको छ । पराजुली भन्छन्– ‘केही सहकारी संस्थामा समस्या देखिएको छ । तर, बजारमा हल्ला भएजस्तो सबै सहकारीमा त्यस्तो समस्या रहेको छैन ।’ त्यसो त, सहकारी संस्थाहरूबीच देखिएको अस्वस्थ प्रतिस्पर्धाले पनि समस्या उत्पन्न गराएको उनको बुझाइ छ– ‘एउटै व्यक्तिले दस वटा संस्थाबाट ऋण लिन्छन्, ती व्यक्तिको व्यवसाय धराशायी हुनेबित्तिकै ती दस वटै सहकारी संस्थालाई असर पुग्छ ।’ कुनै पनि सहकारी आफ्नो उद्देश्यअनुरूप सञ्चालन भएको खण्डमा समस्या नआउने उनको धारणा छ । भन्छन्– ‘सहकारीमा आएको समग्र विकृति कम गर्न सदस्यहरूमा जनचेतना हुनुपर्छ । आफ्नो संस्थामा के भइरहेको छ भनेर सदस्यहरूले चासो दिने हो भने विकृति न्यूनीकरणमा फाइदा पुग्ने देखिन्छ ।’
उपत्यकाभित्र धेरै नै सहकारी संस्था भएको तर नियमन भने त्यति नहुने भएको हुँदा समस्या आएको पराजुली बताउँछन्– ‘सहरमा व्यवसायीहरूको व्यवसाय पहिचान नगरी जथाभावी ऋण प्रवाह गर्ने गरिएको हुँदा समस्या आएको हुनसक्छ ।’ त्यसो त, सहकारीहरू विभिन्न प्रकृतिका भए पनि नियमन गर्ने निकाय भने एउटै भएको हुँदा त्यसले अप्ठेरो परेको पनि उनले बताए ।
सहकारी संस्थाहरूबीच मर्ज हुँदा त्यसले सहकारी क्षेत्रमा देखिएको समस्यालाई केही न्यूनीकरण गर्ने पनि पराजुली बताउँछन् । भन्छन्– ‘अब उपत्यकाका साथै ग्रामीण क्षेत्रहरूमा समेत मर्ज गरेर नजाने हो भने सहकारीहरू चल्न सक्ने स्थितिमा छैनन् । भविष्यमा मर्ज गरेर जानुबाहेक अर्को विकल्प देखिँदैन । तसर्थ, भूगोल र उद्देश्य हेरेर मर्जको दिशामा अघि बढ्नु आवश्यक देखिन्छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply