किन रोजे दाहालले सिद्घिने बाटो

काठमाडौं । सही कार्यदिशा अँगाल्न नसक्दा ०५१ यता पाँच पटक विभाजन भइसकेको एमाओवादी (तत्कालीन माओवादी)ले अन्नत: आफंै सिद्घिने बाटो तय गरेको छ । पहिलो संविधानसभामा पहिलो ठूलो दल भए पनि जातीय संघीयताको मुद्दा उचालेकै कारण दोस्रो संविधानसभामा ऊ तेस्रो स्थानमा खुम्चिएको थियो । तर, विगतको यो गल्तीबाट पाठ सिकेर आफूलाई सच्याउनुको सट्टा उल्टै आफूलाई जबर्जस्ती संविधान निमार्णको विरोधी कित्तामा उभ्याएर आफैं सिद्घिने सम्भावनालाई बढाएको हो ।
संविधानको विषयमा एमाओवादी दुई ध्रुवमा विभाजित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल कसरी हुन्छ संविधान निर्माणको वातावरण बिथोल्ने ध्याउन्नमा छन् भने नेता बाबुराम भट्टराई भने नेतृत्वको चेपुवामा परेका छन् । पालुङटार भेलापछि मोहन वैद्यले लिएको सशस्त्र युद्घमै जानुपर्ने कार्यदिशा छाडेर भट्टराईले अँगालेको संविधान निर्माणको कार्यदिशामा समाहित भएका दाहाल अहिले कसरी हुन्छ नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वमा संविधान निर्माण हुन नदिने खेलमा लागेका छन् । त्यसका लागि बरु परे भट्टराईलाई छाडेर भए पनि मधेसवादी दलहरूको साथ लिने निष्कर्षमा उनी पुगेको बताइन्छ ।
अघिल्लो साता रोल्पा पुगेर फेरि बंकरमै जाने उत्तेजित गफ हाँकेका दाहालले हिजो मात्रै कांग्रेस गतिलो झापड हान्नुपर्ने भन्दै तथानाम गाली गरेका थिए । उनका पछिल्ला गतिविधि, भेटघाट र अभिव्यक्तिहरू हेर्दा कसरी हुन्छ माघ ८ मा कुनै हालतमा संविधान आउन नदिने एक मात्र ध्याउन्नमा दाहाल रहेको प्रस्ट बुझ्न सकिन्छ ।
कांग्रेस, एमालेले माओवादीलाई पनि साथमा लिएर संविधान निर्माण गर्न अन्तिम समयसम्म पनि प्रयत्न गरिरहेका छन् । एमाले अध्यक्ष केपी ओलीले हिजै पनि दाहाललाई भेटेर सम्झाउने प्रयास गरेका थिए । तर, दाहालले कांग्रेस–एमालेका कुरा सुन्नमा भन्दा केही जनजाति भेटेर उनीहरूलाई पनि संविधानविरोधीका रूपमा उचाल्नमा रमाउने गरेका छन् । हिजै बिहान मात्रै पनि उनले जातीय संघीयता पक्षधर पद्मरत्न तुलाधर, पासाङ शेर्पा, ओम गुरुङलगायतलाई आफ्नै निवासमा बोलाएर आन्दोलन चर्काउन अनुरोध गरेको स्रोतले बतायो ।
दाहाल एक्लिने
अहिले दाहालले मधेसी मोर्चालाई साथमा लिएर संविधानविरोधी वातावरण निर्माण गर्दै हिँडेका छन् । तर, भित्रभित्रै उनी मधेसी दलहरूसँग सशंकित देखिएका छन् । उनले पटक–पटक ‘म आन्दोलनकको मोर्चाको नेतृत्व गर्छु तर मलाई बीचमा अलपत्र नछाडिदिनुहोला’ भनेर सार्वजनिक रूपमै हारगुहार गर्नुका पछाडि पनि त्यही शंकाले काम गरेको छ । आफूले जति गर्दा पनि भारतले पनि पार्टीभित्र भट्टराईलाई नै विश्वास गरेको भन्दै उनले आफू निकटहरूसँग पनि गुनासो गर्ने गरेको स्रोतले बतायो । भारत पनि अहिले नेपालमा संविधान निर्माण भएको हेर्न चाहन्छ । भारतकै कारण मधेसी दलहरूले पनि आफूलाई छाड्ने हुन् कि भन्ने त्रासले दाहालमा बलियो जरा गाडेको बताइन्छ ।
त्यसो त पछिल्ला दिनमा मधेस केन्द्रित दलहरूभित्र पनि आफूलाई दाहालको पछि–पछि लागेर संविधानविरोधी कित्तामा उभ्याउन नहुने विषयमा छलफल केन्द्रित हुन थालेको छ । बरु मधेसका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे कांग्रेस एमालेसँग निचोड निस्कने गरी घनीभूत छलफल गरेर संविधान निर्माण प्रक्रियामा लाग्नुपर्ने आवाज ती दलभित्र सुरु भएको छ । कांग्रेस–एमालेका नेताले पनि मधेसी दलहरूसँग निरन्तर छलफल चलाइरहेका छन् । एमालेका सभासद् रवीन्द्र अधिकारीले हालै सार्वजनिक रूपमै ‘कुनै अप्रत्याशित घटनाक्रम नभए अबका केही दिनमै मधेसकेन्द्रित दलहरू एमाओवादी मोर्चा छाडेर संविधान निर्माणमा आउनेछन्’ भन्नुले पनि त्यहाँभित्र केही खिचडी पाकिरहेको सहजै अनुमान लगाउन सकिन्छ । त्यसो भएमा एमाओवादीको भविष्य अझै अन्धकारमय हुने निश्चित छ । तर, यति हुँदाहँुदै दाहालले आफंै सिद्घिने बाटो किन रोजे त ? एमाओवादीका एक नेताले भने–‘हिजो आफैंसँग छुट्टिएको मोहन वैद्य समूहलाई फेरि रातो कार्पेट बिछ्याएर भित्र्याउनका लागि मात्र दाहालले यस्तो बाटो रोजेका हुन् ।’ वैद्यलाई भित्र्याए पनि उनको अस्तित्व नरहने भन्दै ती नेताले भने– ‘त्यो स्थितिमा पनि मुद्दाका हिसाबले कि संविधानका पक्षधर बाबुराम बाँकी रहन्छन् कि विरोधी विप्लव ।’
संविधान ल्याइछाड्ने कसरत
सकेसम्म एमाओवादीलाई पनि साथमै लिएर संविधान जारी गर्ने प्रयत्न गरिरहेका एमाले कांग्रेसले एमाओवादी अन्तिम समयसम्म पनि सहमतिमा नआए दुई तिहाइबाट भए पनि संविधान जारी गर्ने तयारीमा छन् । दुई दल मात्र हुँदा पनि सुविधाजनक दुई तिहाइ पुगेको अवस्थामा सत्तारुढ राप्रपा, दुई स्वतन्त्र सभासद्ले पनि यिनै दललाई साथ दिएका छन् । संघीयताको विरोधी भए पनि राष्ट्रिय जनमोर्चाले पनि कांग्रेस–एमालेको संघीयताको प्रस्ताव ठीक भनिरहेको अवस्थामा उसको पनि समर्थन पाउने पक्कापक्की छ ।
भट्टराईका लागि निर्णायक घडी
एमाओवादी नेता तथा व्यवस्थापिका–संसद्अन्तर्गतको राजनीति संवाद तथा सहमति समितिका सभापति रहेका भट्टराईका लागि आफूलाई संविधान निर्माणको पक्षपातीका रूपमा प्रस्तुत गर्ने कि दाहालको चेलाको रूपमा भन्ने कित्ताकाट गर्ने निर्णायक घडी आएको छ । संविधानका विवादित विषयमा कांग्रेस–एमालले प्रस्तुत गरेको प्रस्तावलाई संविधानसभाको पूर्ण बैठकमा लगेर आफूलाई संविधान निर्माणको पक्षपातीको भूमिकामा प्रस्तुत गर्ने साहस गर्नुपर्ने बेला आएको छ । आफ्नो समितिका बहुमत सदस्यले हस्ताक्षर गरेर सो प्रस्ताव संविधानसभामा लैजान दबाब दिएका बेला भट्टराईले समितिको बैठक केही दिनका लागि स्थगित गरेका छन् । उनकै पार्टीका अध्यक्ष दाहालले भने बरु समितिको सभापतिबाट हट्न भट्टराईलाई घुमाउरो पाराले संकेत गरेका छन् । विगतमा आफंैले पार्टीभित्र बोकेको संविधान निर्माण प्रक्रियाको लाइनबाट भाग्ने कि अध्यक्ष दाहालसामु घुँडा टेकेर पार्टीसँगै आफ्नो राजनीतिक भविष्य पनि दाउमा राख्ने भन्ने प्रश्नको छिनोफानो गर्ने बेला आएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply