विद्याले सम्हालिन् केपीको कमान्ड
वामदेव असन्तुष्ट, ईश्वरलाई उपेक्षा
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको आन्तरिक कमान्ड सम्हाल्ने जिम्मा उपाध्यक्ष विद्यादेवी भण्डारीले लिएकी छन् । कार्यकर्ता व्यवस्थानदेखि आर्थिक स्रोत परिचालनसम्मको जिम्मेवारी भण्डारीले हातमा लिएपछि अहिले बालकोटदेखि बल्खुसम्म उनकै एकछत्र चलेको एमाले कार्यकर्ताहरू टिप्पणी गर्छन् ।
ओलीलाई अध्यक्ष बनाउन दिनरात नभनी सबै प्रकारले लाग्नेमध्येकी अगुवा भण्डारी स्वयम्को प्रभाव अहिले एमालेभित्र बढिरहेको अनुभूति ओली समूहमै रहेका नेता–कार्यकर्ताले गरिरहेका छन् । अध्यक्ष ओलीको बिहान ढिलो उठ्ने, एक जनासँग कुरा गर्न थालेपछि घन्टौं बिताउने, भनेको समयमा कार्यक्रममा नपुग्ने, समय दिएर पनि नभेट्ने जस्ता बानीबाट आजित भएका कार्यकर्ताले उपाध्यक्ष भण्डारीबाट राहत पाएका छन् । यतिसम्म कि, ओली अध्यक्ष निर्वाचित हुँदा भण्डारीले आफूकहाँ बधाई दिन आउने कार्यकर्ताका लागि १० दिनसम्म बिहानैदेखि घरमा टेन्ट हालेर कार्यकर्तालाई खानपिनको व्यवस्था गरेकी थिइन् । त्यतिबेलाको प्रसंग सम्झिँदै एक नेताले भने– ‘विद्या कमरेडको त्यो कार्यकर्तालाई एक छाक खुवाएर पठाउने योजना मात्र थिएन । त्यो त ओलीका नाममा पार्टीमा आफ्नो प्रभाव बढाउने मनोवैज्ञानिक तरिका थियो, जसले अहिले काम गरेको छ ।’
भावी नेताको अभ्यास †
पार्टीभित्र ओली अप्ठेरोमा पर्दा पनि साथ दिने थोरै नेतामध्ये भण्डारी एक हुन् । ०५० सालमा जननेता मदन भण्डारीको निधनपछि राजनीतिमा लागेकी भण्डारीको ओलीसँग सुरुदेखि नै सहज र हार्दिक सम्बन्ध रहँदै आएको छ । छैटौं महाधिवेशनदेखि नै ओलीको पक्षमा अनवरत उभिएकी भण्डारीले आठौं र नवौंबाट उनकै प्यानलबाट उपाध्यक्ष जितेकी छन् । वरिष्ठताका आधारमा हेर्दा वामदेव गौतम र उनी मात्रै दोहोरिएका उपाध्यक्ष भएकाले पनि स्वाभाविक रूपमा वरिष्ठ हुने नै भइन् । यही आधारमा पनि अहिले पार्टीका कार्यक्रममा केन्द्रबाट पठाउँदा भण्डारीलाई प्राथमिकता दिने गरिएको छ ।
स्रोतका अनुसार, एमालेमा नवौं महाधिवेशन सकिँदा नसकिँदैदेखि दसौं महाधिवेशनको अभ्यास सुरु भइसकेको छ । अर्को महाधिवेशनबाट अध्यक्ष बनाइदिने आश्वासनसहित आफ्नो गुटमा तानिएका ईश्वर पोखरेललाई पछि पार्दै अहिले भण्डारी सक्रिय बनेपछि भावी नेतृत्वका रूपमा ओलीले उनलाई अघि सारेको अनुमान एमाले पंक्तिमा गर्न थालिएको छ । ओलीनिकट एक केन्द्रीय सदस्यले बुधबारसँग भने– ‘वामदेव कमरेडलाई उमेरले साथ दिँदैन । वरिष्ठताका आधारमा त्यसपछि विद्या र ईश्वर कमरेडको कुरा हो ।’ उनले ती दुई जनाको तुलना गर्दै भने– ‘विद्या कमरेडमा कार्यकर्ताका समस्या समाधान गर्ने र त्यसको जिम्मेवारी लिने बानी छ भने ईश्वर कमरेडमा समस्या पन्छाउने र नेताहरूलाई भन्नूस् भन्ने बानी छ ।’ पोखरेलको भूमिकामाथि प्रश्न उठाउँदै उनले भने– ‘दोस्रो पटक महासचिव हुँदा पनि अरूलाई नै नेता भनेर देखाउने हो भने उहाँले अरू नेतालाई पालो दिनुपर्छ ।’
जताततै छाउँछिन् विद्या
अहिले एमालेका कुनै पनि यस्ता महत्त्वपूर्ण कार्यक्रम छैनन्, जहाँ विद्या भण्डारी नदेखिएकी होऊन् । संसद्को पहिलो लहरमा बस्ने नै भइन् । कांग्रेस, माओवादी वा मधेसी कुनै दलसँग भएका छलफलमा पनि उनी छुट्दिनन् । यतिसम्मकि, ओलीले उपत्यका बाहिर जाँदा वा आफू उपस्थित हुन नसक्दा शीर्ष तहका बैठकमा पनि भण्डारीलाई पठाउने गरेका छन् । राजनीतिक संवाद र सहमति समितिमा माधव नेपाल, झलनाथ खनालजस्ता वरिष्ठ नेता हुँदा पनि भण्डारीलाई नै प्राथमिकता दिएर पठाउने गरिन्छ । स्रोतका अनुसार, ओलीले खासखास शक्तिकेन्द्रहरूसँगका भेटहरूमा पनि भण्डारीलाई छुटाउने गरेका छैनन् । उनलाई राज्य व्यवस्था समितिको सभापति बनाउनसमेत ओलीले कोसिस गरेका थिए ।
आर्थिक स्रोतको ढुक्कै जिम्मा
उसो त ओली अध्यक्ष निर्वाचित हुनुभन्दा पहिला पनि ओलीले आफ्नो समूहको आर्थिक व्यवस्थापानको जिम्मेवारी विद्या भण्डारीलाई नै दिएका थिए । मदन भण्डारीका पत्नी भएका कारण उनलाई नेपालका उच्च व्यापारिक घरानाहरूले सुरुदेखि नै सम्मान गर्दै आएका छन् । संविधानसभाको गत निर्वाचनमा समेत ओलीले आफूपक्षीय उम्मेदवारहरूलाई छुट्टै रकम पठाउने जिम्मेवारी भण्डारीलाई नै दिएका थिए । त्यतिबेला भण्डारीलाई रकम बुझाएका एक व्यापारीका अनुसार, एमालेका तर्फबाट संस्थागत अनुरोध नआए पनि भण्डारीले रकम बुझ्ने गरेकी थिइन् । जितेपछि आफू अनुकूल बनाउन उम्मेदवार हेरी भण्डारीले दुईदेखि पाँच लाख रुपियाँसम्म निर्वाचनमा सहयोग गरेकी थिइन् ।
अहिले पनि पार्टी र गुट चलाउनका लागि ओलीका तर्फबाट भण्डारीले नै व्यापारीसँग डिल गर्ने गरेकी छन् । अन्तर्राष्ट्रिय रूपमा समेत नाम चलेका केही व्यापारीले भण्डारीमार्फत नै सहयोग गर्ने गरेका छन् । पार्टीमा आर्थिक विभागको औपचारिक जिम्मा लिनका लागि विष्णु रिमाललाई अनुरोध गरिए पनि ओलीको आर्थिक स्रोतको सम्पूर्ण जिम्मा भने भण्डारीकै हातमा छ ।
वामदेव असन्तुष्ट
पार्टीभित्र अध्यक्ष ओलीले पार्टी सञ्चालनमा देखाएको आफू र गुटकेन्द्रित कार्यशैलीका कारण उपाध्यक्ष वामदेव गौतम असन्तुष्ट बनेका छन् । ओलीलाई जिताउनका लागि आफू नांगिएर चुनावी मैदानमा उत्रिएका गौतमले पाँच महिनामै बनाउन त बनाइयो, अब कसरी हटाउने हो भन्ने चिन्ता आफ्ना कार्यकर्तासँग जाहेर गर्न थालेका छन् । ओलीले अध्यक्ष बन्नासाथ गौतमलाई संसदीय दलको नेता बनाउने सम्झौता गरेका थिए । तर, पाँच महिनासम्म त्यसका बारेमा सामान्य छलफल पनि नभएपछि गौतमको असन्तुष्टि चुलिएको बताइन्छ । तेस्रो पटक गृहमन्त्री हुँदा कुनै उल्लेखनीय र प्रभावकारी काम गर्न नसकेर निराश बनेका गौतमले पार्टीमा अब आफ्नो भविष्य नरहेको तीतो प्रतिक्रिया दिन थालेको एक नेताले बताए । एमालेको नयाँ विधान अनुसार, एमालेको नेतृत्वमा गौतमको यो अन्तिम कार्यकाल हो । ६७ वर्षमा हिँडिरहेका गौतम ७० वर्षको उमेर हदका कारण अर्को महाधिवेशनमा उम्मेदवार बन्नै पाउने छैनन् । मन्त्री हटाउँदा, सभासद् मनोनीत गर्दा र संसदीय समितिका सभापति बनाउँदासमेत एक पटक नसोधिएकाले झस्किएका गौतम अहिले सबै कुरामा भण्डारीलाई अघि सारिएपछि झन् झस्किएका छन् ।
ईश्वरको बेवास्ता
अध्यक्षपछि एमालेमा विधान अनुसार महासचिव शक्तिशाली मानिन्छ । पार्टीभित्रको वरिष्ठता, दोस्रो पटक निर्वाचित र योग्यताका हिसाबले यसै पनि ईश्वर पोखरेल शक्तिशाली नै हुनुपर्ने हो । तर, ओली समूहले उनलाई लगातार उपेक्षा गरेका कारण उनी ‘लो प्रोफाइल’मा बस्न बाध्य छन् । पार्टीमा के गर्ने र के नगर्ने भन्नेबारेमा ओली समूहका शंकर पोखरेल, विद्या भण्डारीहरूबीच कुराकानी भएपछि मात्र खटाइखटाई पोखरेलसम्म सूचना आइपुग्ने गरेको छ । उनीनिकट एक पूर्वकेन्द्रीय सदस्यका अनुुसार, आफैंले समर्थन गरेको र आफ्नै निर्णायक पहलकदमीका कारण अध्यक्ष निर्वाचित भएपछि ओलीले गरेको व्यवहारबाट महासचिव पोखरेलले उपेक्षित महसुस गरेका छन् । पोखरेलकी श्रीमती मीरालाई सभासद् बनाएर सदासयता देखाए जस्तो गरे पनि उनलाई थप आलोचित र विवादित बनाउनकै लागि त त्यसो गरिएको होइन भन्ने पनि उनका समर्थकहरूले आशंका गरेका छन् । पार्टीमा सधैं संस्थागत निर्णयको वकालत गर्ने पोखरेल ट्रयापमा परेकै कारण केपी ओलीले व्यक्तिगत र गुटका आधारमा गरेका हरेक निर्णयहरूको महेश बस्नेतकै तहमा झरेर बचाव गर्न बाध्य भएको उनको बुझाइ छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply