एक उत्कृष्ट युवा व्यवस्थापक

११ वर्षअघि कर्मचारी सञ्चय कोषमा प्रवेश गर्दा कृष्णप्रसाद आचार्यले कुनै दिन यसको बागडोर आफैंले सम्हालूाला भन्ने कल्पना सायदै गरेका थिए । तर, करिब अढाई वर्षअघि कोषको नेतृत्व गर्ने जिम्मेवारी उनको कााधमा आइपर्यो । हरेक जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने क्षमता भएकै कारण अहिले प्रशासक आचार्यको नेतृत्वमा कोषले नयाँ गति र दिशा समात्न सकेको छ ।
यस आर्थिक वर्षमा कोषले १ अर्ब ७० करोड मुनाफा कमाएको छ । भर्खरै मात्रै कोषको लेखापरीक्षण सिध्याएपछि केही हलुंगो महसुस गरेका प्रशासक आचार्य भन्छन्– ‘कोषलाई सामाजिक सुरक्षा प्रदायक संस्थाका रूपमा रूपान्तरण गर्नेतिर अबका दिनमा मेरो विशेष पहल हुनेछ ।’ राजनीतिक नियुक्ति र अनावश्यक हस्तक्षेपले सार्वजनिक संस्थानहरू थिल्थिलो बनिरहेका बेला सरकारले केही वर्षअघि सार्वजनिक संस्थान बोर्ड गठन गरेर नियुक्ति प्रक्रियालाई पारदर्शी र वैज्ञानिक ढाँचामा ढाल्ने प्रयत्न प्रारम्भ गरेको थियो । त्यस क्रममा खुल्ला प्रतिस्पर्धाका आधारमा सार्वजनिक संस्थानहरूमा योग्य र क्षमतावान् व्यक्ति छान्न सुरु पनि भयो । पछिल्लो समयमा फेरि अर्थमन्त्री डा.रामशरण महतले बोर्डबाट नियुक्त भएका केही संस्थानका प्रमुखहरूमाथि बक्रदृष्टि राखेर हटाउने क्रम सुरुआत गरे पनि केही संस्थानहरूले भने सक्षम व्यक्ति पाएकै कारण अपेक्षाकृत रूपमा सफलता बटुल्न सकेका छन् । कोषका प्रशासक आचार्य पनि तिनै सक्षम कार्यकारी हुन्, जो संस्थान बोर्ड गठन भएपछि नियुक्त भएका पहिला व्यक्ति हुन् । प्रशासकमा नियुक्त भएका डेढ वर्षपछि नै उनले कोषलाई नयाँ गति प्रदान गरिसकेका थिए । त्यही कारण, उत्कृष्ट कार्यसम्पादन गरेकोमा सरकारले उच्च मूल्यांकन गर्दै गत वर्ष उनलाई एक लाख रुपियाँ नगदसहित पुरस्कृत गरेको थियो ।
पाँच वर्षका लागि प्रशासकमा नियुक्त आचार्यले आफ्नो कार्यकालको अढाई वर्ष टेक्नै लाग्दा कोषलाई गतिशील तुल्याउन केही योजनाहरू ल्याएका छन् । उनले आफ्नो कार्यकालमा सीमित तथा निश्चित आयमा जीवनयापन गरिरहेका सञ्चयकर्ताहरूको स्वास्थ्यसम्बन्धी अन्तरनिहित जोखिमबाट सञ्चयकर्ता वा उनीहरूका आश्रितलाई पर्नसक्ने आर्थिक असर न्यूनीकरण गर्न स्वास्थ्य बिमा ल्याउने तयारी गरिरहेका छन् । सरकारको सहयोगमा सञ्चालन गरिने सञ्चयकर्ता स्वास्थ्य सुविधा योजना निकट समयमै आउने उनले बताए । अर्को योजना पनि उनले सुनाए– ‘निजी क्षेत्रमा कार्यरत कामदार कर्मचारी र स्वरोजगारहरूको अवकाशपश्चातको जीवन यापनका लागि सामाजिक सुरक्षाको अवधारणा अनुरूप योगदानमा आधारित निवृत्तिभरण योजना सञ्चालन गर्नेतिर पनि हामी लागिरहेका छौं ।’
थुप्रै क्षेत्रहरूमा कोषले लगानी गरे पनि मुख्य लगानी भने सञ्चयकर्तामाथि नै गरेको छ । अहिले विशेष सापटी, घर सापटी, शैक्षिक कर्जा र सरल चक्र कर्जा गरी चार किसिमको लगानी गरिरहेको छ । ‘यो हाम्रो लगानीमध्ये मुख्य लगानी हो’– आचार्य भन्छन् । कोषले ९१.५ अर्ब बिलियन सञ्चयकर्तामाथि नै लगानी गरेको छ । त्यसपछि, कोषले वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा लगानी गरेको छ । २६.६ अर्ब रुपियाँ त्यस्ता बैंकहरूको मुद्दती खातामा राखिएको छ । कोषको लगानीको अर्को ठूलो क्षेत्र चाहिँ ठूला–ठूला परियोजनाहरू हुन्, जसमा २५ अर्ब रुपियाँ लगानी छ । कोषले नेपाल वायुसेवा निगम, नेपाल आयल निगम, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, चिलिमे जनविद्युत् आयोजनाअन्तर्गतका सान्जेन, रसुवागढी र मध्य भोटेकोसीमा पनि लगानी गरेको छ भने करिब १४ अर्बजति चाहिँ सरकारी सुरक्षण पत्रमा लगानी गरेको छ ।
कोषको लगानीको दायरा फराकिलो भएको हुँदा जोखिम पनि उत्तिकै हुने सम्भावनालाई नकार्न सकिँदैन । जोखिम व्यवस्थापनका के–कस्ता योजनाहरू रहेका छन् त ? प्रशासक आचार्य भन्छन्– ‘मैले जिम्मेवारी सम्हालेपछि सरकारको स्वामित्वमा रहेका संस्थाहरूले विकास गरेका निर्माण परियोजनाहरूलाई प्राथमिकतामा राखेर लगानी गर्न थाल्यौं ।’ आफूले जोखिमको त्यति अनुभव नगरेको बताउँदै उनले भने– ‘म आएपछि जोखिम व्यवस्थापन विभाग गठन गरेँ । त्यससँगै जोखिम व्यवस्थापन निर्देशिका तयार गरेर लागू पनि गरेका छौं ।’ कोषले बोर्डस्तरीय जोखिम व्यवस्थापन समितिको समेत व्यवस्था गरी जोखिमको नियमित रूपमा मूल्यांकन र अनुगमन गर्ने परिपाटी सुरु गरिसकेको हुँदा जोखिम व्यवस्थापनमा कोष सचेत रहेको पनि उनले बताए । यति हुँदाहुँदै पनि केही चुनौती रहेकोतिर आचार्य औंल्याउँछन्– ‘खासगरी, बैंकिङ क्षेत्रमा लामो समयसम्म रहिरहेको उच्च तरलता, मुलुकको न्यून आर्थिक वृद्धिदर एवम् वित्तीय क्षेत्रमा देखिएको अनिश्चितता, अस्थिरता तथा लगानीको उपयुक्त वातावरणको अभावका कारण कोषको स्रोत परिचालन थप चुनौतीपूर्ण हुँदै गएको छ ।’
वि.सं.२०३० असार ३१ गते नुवाकोटको खानीगाउँमा जन्मिएका आचार्यले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट पूरा गरेका हुन् । ०४५ सालमा त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि उनले काठमाडौंको सरस्वति बहुमुखी क्याम्पस रोजे । उक्त क्याम्पसबाट बीकम सिध्याएपछि उनी चार्टर्ड एकाउन्टेन्ट अध्ययनका लागि भारत गए । भारतबाट सन् ००३ मा चार्टर्ड एकाउन्टेन्ट पूरा गरेका उनले सञ्चय कोषमा पहिलो पटक ०६० सालमा नवौं तहमा प्रवेश गरे । कोषमा प्रवेश गर्नुअघि उनले करिब चार वर्षजति विभिन्न निजी फर्महरूमा परामर्शदाताका रूपमा काम गरे । कोषको दसौं तहमा बढुवा भएलगत्तै उनी ०६५ सालमा नेपाल औद्योगिक क्षेत्र लिमिटेडको महाप्रबन्धकमा काजमा गए । लिमिटेडलाई खारेज गर्ने त्यसअघिको सरकारको निर्णय उल्टाउनमा तत्कालीन महाप्रबन्धक आचार्यको पनि हात छ । उनी भन्छन्– ‘म जानुअघि एनआईडीसीलाई खारेज गर्ने निर्णय भएको थियो । तर, म त्यहाँ गएपछि उक्त निर्णयलाई उल्टाउने काम गरियो ।’
आफ्नो यात्राको ५३औं वर्षमा हिँडिरहेको कोषको जीवनावधिमा थुप्रै उतार–चढाव आए । तर, कुशल व्यवस्थापनका कारण कोषले ४ लाख ९० हजार सञ्चयकर्ताहरूको विश्वासलाई कहिल्यै धुमिल हुन दिएन । राष्ट्रिय हित र सरोकारसँग गाँसिएका ठूला परियोजनाहरूमा लगानी गर्ने कार्यमा पनि कोषले अग्रता नै लिएको छ । ऊर्जा संकट झेलिरहेको राष्ट्रलाई त्यसबाट मुक्ति दिलाउन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीमा गरिएको लगानी होस् वा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमलाई दिइएको ऋण नै किन नहोस्, कोष आफ्नो दायित्वबाट चुकेको छैन । अझ, प्रशासक आचार्यको नेतृत्व पाएपछि त कोषले रणनीतिक रूपमै परिवर्तित हुने दिशातिर कदम चालेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
एनसेल प्रकरण छानविन गर्न समिति गठन
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
-
खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
-
दसैँका लागि आजदेखि नयाँ नोट सटही
-
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply