डेढ दशकमा सुबिसुले कमाएको विश्वसनीयता
डेढ दशकअघि अहिले जस्तो इन्टरनेटको व्यापकता थिएन । इन्टरनेटमा सीमित व्यक्तिको पहुँच थियो । तर, यो अवधिमा नयाँ–नयाँ प्रविधिको तीव्र विकासले गर्दा सहरदेखि ग्रामीण भेकका व्यक्तिसमेत इन्टरनेटको संसारमा भेटिन्छन् । सन् २००१ मा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको स्थापना गर्दा संस्थापकमध्ये एक सुधीर पराजुलीले त्यतिबेलै इन्टरनेटको तीव्रतर विकासको परिकल्पना गरेका थिए ।
सुबिसु केबल नेट प्रालिका अध्यक्ष पराजुली आफूहरू इन्जिनियरिङ पृष्ठभूमिका भएका हुँदा यो व्यवसायमा पाइला टेकेको बताउँछन् । भन्छन्– ‘सुरुमा हामीले नेपालमा नयाँ प्रविधि भियभयाउने चाहनाअनुरूप यो व्यवसायमा पाइला राखेका हौं । त्यतिबेला हाम्रो उद्देश्य नै केबलबाट इन्टरनेट दिने थियो । हामीले कम्पनी सुरु गरेको चार–पाँच वर्षसम्म केबलबाट इन्टरनेट सेवा उपलब्ध गरायौं । त्यतिबेला अरूले यस्तो सुविधा दिने नगरेको हुँदा हामीले वर्चस्व नै कायम गर्यौं ।’ पराजुलीको पृष्ठभूमि इन्जिनियरिङ त छँदै थियो, अरू चार जना साझेदारहरू पनि इन्जिनियर नै भएका हुँदा नयाँ प्रविधि भियभयाएर ग्राहकहरूको विश्वास जित्ने र सुबिसुलाई भरपर्दो, विश्वसनीय र नयाँ प्रविधि भियभयाउन सक्षम कम्पनीका रूपमा स्थापित तुल्याउन त्यति समय लागेन ।
अध्यक्ष पराजुली भन्छन्– ‘हामीले केबलबाट पनि इन्टरनेट दिन सकिन्छ भन्ने सोच लिएर यो व्यवसायमा हात हालेका थियौं । आजको स्थितिमा सम्पूर्ण इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरू केबलबाटै इन्टरनेट सेवा दिने पक्षमा पुगिसकेका छन् । हामीले यो उद्योगमा ठूलो परिवर्तन पायौं कि भन्ने लागेको छ ।’ हुन त साझेदारयुक्त कुनै कम्पनी वा उद्योगले फड्को मार्न थालेपछि साझेदारहरू अलग भएर त्यही प्रकृतिका कम्पनी खोली आफ्नै स्थान बनाउन चाहन्छन् । यस्तो प्रवृत्ति संसारको हरेक देशका व्यक्तिमा रहेको पाइन्छ र नेपालीहरूमा नहुने भन्ने प्रश्नै उठ्दैन । तर, सुबिसुको डेढ दशकको यात्रामा भने पाँच जना साझेदारहरू एकै थलोमा उभिएर सफलताको नयाँ–नयाँ गोरेटो पहिल्याइरहेका छन् । पराजुली भन्छन्– ‘यो कम्पनीले गति नलिउन्जेलसम्म हामी सबै नै हरेक दिन बस्थ्यौं र छलफल गथ्र्यौं । तर, पछिल्लो अवधिमा कम्पनीको कामको दायरा बढेको हुँदा हामी सबैले आ–आफ्नो जिम्मेवारी लिएर त्यही अनुरूप काम गरिरहेका छौं । कसैले कुनै विधा र कसैले कुनै विधा सम्हालिरहेका छन् । तर पनि, अहिलेसम्म हामी सामूहिक नेतृत्वमा नै अगाडि बढिरहेका छौं ।’
एउटा सफल कम्पनी चलाउन कुशल व्यवस्थापनको पाटोलाई नकार्न सकिँदैन । तर, इन्जिनियरिङ अध्ययन गरेका अध्यक्ष पराजुलीसामु व्यवस्थापकीय चुनौती नआएको होइन । उनी भन्छन्– ‘हामीले अहिले जुन क्षेत्रमा काम गरिरहेका छौं, यो नितान्त प्राविधिक क्षेत्र हो । नेपालमा कुन प्रविधि ल्याउने, कुन प्रविधिको इभोलुसन भइरहेको छ भन्नेबारे हामीले सामूहिक रूपमा चर्चा गर्छौं । र, व्यवस्थापन चाहिँ एउटा पढेर र अर्को परेर गरिने चिज हो । हामीले पन्ध्र वर्षदेखि जुन कम्पनीको कामलाई व्यवस्थापन गर्दै आएका छौं, यो हामीले यसअवधिमा सँगालेका अनुभवहरूकै कारण यो बिन्दुसम्म आइपुगेको हो ।’
अहिले बजारमा थुप्रै इन्टरनेट सेवा प्रदायक कम्पनीहरू मौजुद छन् । प्राय: सबै कम्पनीले नयाँ–नयाँ स्किम र सेवा प्रदान गर्ने कुरा गर्न चुक्दैनन् । तर, सुबिसुले भने आफूलाई अरू कम्पनीभन्दा केही हदसम्म फरक रूपमा प्रस्तुत गर्दै आइरहेको छ । अध्यक्ष पराजुली फरकपना औंल्याउँदै भन्छन्– ‘नयाँ–नयाँ उच्चस्तरीय प्रविधि त हामीले भियभयाइरहेका छौं । हाम्रो इतिहास हेर्ने हो भने हामीले नेपालमा नभइरहेका प्रविधिहरू हरेक दुई–दुई वर्षमा भियभयाइरहेका हुन्छौं । तर, हाम्रो मुख्य तारो भनेको ग्राहकलाई सन्तुष्ट तुल्याउने नै हो । जब हामी नयाँ प्रविधि भियभयाउँछौं, त्यसले ग्राहकलाई सन्तुष्ट तुल्याउन भरमग्दुर प्रयास गरे पनि यो क्षेत्र नै प्राविधिक परेको हुँदा कहिलेकाहीँ प्राविधिक समस्या झेल्नुपर्ने अनुभव पनि उनले सँगालेका छन् । उनी भन्छन्– ‘हामीले शतप्रतिशत ग्राहकलाई सन्तुष्ट तुल्याउन त नसकौंला । तर, ग्राहकका गुनासाहरू र उनीहरूलाई परेको मर्काप्रति ध्यानाकृष्ट गरेर त्यसलाई कसरी सल्टाउने भन्नेमा हामीले निकै ठूलो ध्यान दिएका छौं । र, यसमा हामी सफल पनि भएका छौं ।’
कतिपय सन्दर्भमा ग्राहकहरूले पनि गल्ती गर्छन् तर आफूहरूले उनीहरूका गल्ती भए पनि गल्ती भएकोमा कुनै टिप्पणी नगर्ने पराजुली बताउँछन् । उनी भन्छन्–‘ग्राहकहरूले भाइरसहरू ठीक समयमा नमेटाउने, आफ्ना डिभाइसहरू ठीक भएको वा नभएको बारे जाँच नगर्ने तर कम्पनीलाई गाली गर्ने प्रवृत्ति ग्राहकहरूमा छ । तर, हामी त्यस्ता ग्राहकहरूकहाँ पुगेर यस्तो समस्या आएको रहेछ भने सुधार गर्न लगाउँछौं ।’
काठमाडौं, डिल्लीबजारमा सन् १९७२ जुलाई ३ मा जन्मिएका पराजुलीले ०४५ सालमा सेन्ट जेभियर्स स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि भारतको बैंगलोर युनिभर्सिटीलाई रोजे । उक्त युनिभर्सिटीबाट बीई गरेपछि उनले सन् १९९६ मा नेपाल विद्युत् प्राधिकरणमा केही समय र त्यसपछि एउटा निजी कम्पनीमा काम गरे । निजी कम्पनीमा काम गर्दागर्दै उनी भारतको रुड्कीस्थित आईआईटीमा एमबीए गर्न गए । एमबीएको अध्ययन पूरा गरेर फर्किएपछि भने उनले आफै केही गर्नुपर्छ भन्ने मान्यता राख्दै सुबिसुको जग बसाले । अहिले वार्षिक रूपमा नेपाल दूरसञ्चार प्राधिकरणलाई ३ करोड रोयल्टी बुझाउने उक्त कम्पनीको सुरुआत भने डेढ लाख रुपियाँबाट भएको थियो । पराजुली भन्छन्– ‘हामी पाँच जना साझेदारले ३०/३० हजार रुपियाँ उठाएर यो व्यवसाय सुरु गरेका हौं ।’
प्रविधिको तीव्रतर विकासले गर्दा आजभन्दा केही वर्षअघि कल्पना नै गर्न नसकिने ढंगले सूचना प्रविधिको क्षेत्रमा विकास भइरहेकोमा पराजुली गर्व गर्छन् । उनी भन्छन्–‘आजभन्दा पाँच वर्षअगाडि ल्यापटप, आइप्याड वा स्मार्ट टेलिभिजनमा नै युट्युबबाट फिल्म हेर्न सकिने कल्पना नै गर्न सकिँदैनथ्यो । तर, आज हामीले त्यसलाई साकार तुल्याएका छौं । हामीले एकपछि अर्को फड्को मार्दै गइरहेका छौं ।’
सुबिसुले वर्तमान समयसम्म आइपुग्दा सफलताको बिन्दु चुम्नुमा कर्मचारीहरूको लगनशीलता र सञ्चालकहरूको प्रतिबद्धतालाई नै मूल कारक ठान्छन् उनी । भन्छन्– ‘यो एउटाले मात्र बनाउने चिज होइन । हामी एउटा टिम छौं र टिमवर्कमा नै चलिरहेका छौं । आज कतै फाइबर ब्रेक भयो भने घरमा सुतेको बेला भए पनि उठेर आएर काम गर्नुपर्छ भन्ने जाँगर हामीमा छ ।’ र, आफ्ना कर्मचारीहरूलाई ग्राहकलाई सेवा दिनेतिर बढी ध्यानाकृष्ट गरेको हुँदा पनि सफलताका सिँढीहरू उक्लिन सुबिसु सक्षम रहेको पराजुली बताउँछन् ।
नेपालमा प्राय: सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ग्राहकलाई आकर्षित तुल्याउनेतिर मात्रै ध्यान दिने गरेका छन् । तर, सुबिसुले ग्राहकलाई आकर्षित तुल्याउन चाहे पनि ग्राहकलाई भरपूर सेवा र सुविधा दिन भने चुकेको देखिँदैन । अध्यक्ष पराजुली भन्छन्– ‘एउटा त हाम्रो विश्वसनीयता नै हो । कतै समस्या छ भने हामी छ भन्छौं । ग्राहकलाई समस्या आएको हुँदा सल्टाउन २४ घन्टा लाग्छ भने त्यति समय नै लाग्छ भन्छौं । कतै फाइबर ब्रेक भएको हुन्छ, त्यस्तो ठाउँमा डोजर चलिरहेको हुन्छ र काम गर्ने वातावरण हुँदैन । अर्को चाहिँ, हामी ग्राहकलाई कहिल्यै ठग्दैनौं । वान एमबीबीएस हो भने हामी त्यति नै हो भनेर बेच्छौं । अरू कम्पनीले १०, १५ वा १०० एमबीबीएस भनेर बेचिरहेका छन् । के त्यो सम्भव छ त ? जसको जम्मा एमबीबीस नै एक सय छ भने उसले ग्राहकलाई त्यति नै भनेर बेचिरहेका छन् । तर, हामी ग्राहकलाई झुक्याएर कहिल्यै पनि व्यवसाय गर्दैनौं ।’
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाले कार्यभार
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
Leave a Reply